किन बढिरहेको छ सुनको मूल्य ? | Khabarhub Khabarhub

किन बढिरहेको छ सुनको मूल्य ?

धेरै सुन भण्डार गर्ने देशको पहिलो सूचीमा अमेरिका


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले दोब्बरले वृद्धि भएको छ ।
नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य चालु आर्थिक वर्ष (आव) को बैशाखसम्म आइपुग्दा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसरी हेर्दा पाँच वर्षको अन्तरालमा सुनको मूल्य ७८ हजारले वृद्धि भएको देखिन्छ ।

आव २०७६ मा प्रतितोला ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ०७७ मा एकैपटक तोलामा ३१ हजार पाँच सय रुपैयाँले वृद्धि भएर तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । आव २०७८ सालमा भने सुनको मूल्यमा सामान्य कमि आएर ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, २०७९ सालमा तोलामा आठ हजार तीन सय रुपैयाँले उकालो लागेको सुनको मूल्य २०८० वैशाख २१ सम्म आइपुग्दा तोलामा १३ हजार दुई सय रुपैयाँले वृद्धि भएर १ लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार हुन पुगेको थियो ।

हिजो बैशाख २ गतेसम्म आइपुग्दा अघिल्लो दिनको तुलनामा केही घटेर सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ ।

पछिल्लो केही वर्षदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आगामी दिनमा थप बढ्ने सङ्केत देखिएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो । अहिले फेरि नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ ।

तथ्यांकअनुसार साउनदेखि माघसम्मको सात महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको कुल १५ सय किलोग्राम सुन आयात भएको देखिन्छ ।

एक किलोग्राममा भन्सार शुल्क करिब १२ लाख रुपैयाँ तिर्नुपर्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पुस मसान्तसम्मको विवरणमा चाहिँ सुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको देखिन्छ ।

सामान्यतया सुन सबैले प्रयोग गर्न रुचाउने धातु हो । यसको मूल्य निरन्तर उकालो लाग्नुमा २०७६ सालमा फैलिएको कारोना महामारी र रुस र युक्रेनको युद्ध रहेको व्यवसायीले बताउँदै आइरहेका छन् । त्यसयता सुनको भाउ लगातार बढ्दै गइरहेको छ ।

अहिले चीनले तीव्र रुपमा सुनको माग गरेका कारण पनि सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, सुनको मूल्य अमेरिकी डलरको भाउसँग पनि सम्बन्धित रहँदै आएको देखिन्छ । यसले गर्दा विश्वमा अमेरिकी डलर कमजोर हुँदै गएको कारण पनि सुनको मूल्यमा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरुले तर्क गरेका छन् ।

केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको जानकारहरुको भनाइ छ ।

एक अनुसन्धानले पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा चलेको द्वन्द्व र अनिश्चितताले सुनको मूल्यमा अझै वृद्धि हुने देखाएको छ । यसबाहेक बेरेनबर्गका विश्लेषकहरूले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावित विजयले पनि सुनको मूल्य वृद्धिको सम्भावनालाई बढावा दिने बताएका छन् ।

आईएनजीका विश्लेषकहरूले फेडको नीतिले गर्दा पनि सुनको मूल्य लगातार बढेको तर्क गरेका छन् । अर्थ लगानीकर्ताको छोटो अवधिको कर कटौतीका गर्ने भनिएसँगै सुनको मूल्यले निरन्तरता पाउने उनीहरुको भनाइ छ ।

खस्कियो आन्तरिक माग

सुनको भाउ अत्यधिक बढ्दै गएका कारण आन्तरिक बजारमा माग भने निकै खस्किएको व्यवसायीहरुको गुनासो छ । विवाहको मौसममा दैनिकरुपमा ३०–४० किलोग्राम सुनको व्यापार हुनुपर्नेमा अहिले १५/२० किलोग्राम पनि नभएको व्यवसायीहरु बताउँछन् ।

ग्राहकहरूले नयाँ सुन किनेर गहना बनाउनुको साटो पुरानोमार्फत् नयाँ गहना बनाउने क्रम बढेको उनीहरु बताउँछन् ।

अघिल्ला वर्षहरुमा ४०/५० किलोग्रामसम्मको सुनको थियो भने अहिले २०/२५ हुन पनि गाह्रो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्य बताउँछन् । ‘पहिलेको तुलनामा त अहिले ६० प्रतिशत पनि व्यापार भएको छैन’ उनले भने ।

सुनको भाउ महँगिएसँगै ग्राहकहरुले पुरानै सुनलाई नयाँ डिजाइनमा बनाएर लैजाने र सुन किन्न नमान्ने गरेको शाक्यले बताए । मानिसहरुसँग पैसा पनि छैन अनि सुनको भाउ दिनहुँ बढिरहेका कारण सुन किन्न नसकेको उनको भनाइ छ ।

कुन देशले गरिरहेका छन् सबैभन्दा बढी सुन भण्डार ?

विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ ।

यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ ।

यसैगरी, तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३७ टन, रसियासँग २ हजार ३३३ टन छ ।

इटालीले अहिलेसम्म भएका कुनै पनि सम्झौता बमोजिम सुन बेचेको छैन भने राष्ट्रिय वासलातलाई सन्तुलनमा ल्याउनमा सरकारी बैंकले अझै सुन किन्ने योजना बनाएको छ । फ्रान्सले भने सन् २००४ मा ५७२ टन सुन बेचेको थियो र त्यसपछि पनि थप १७ टन सुन बेचेको थियो ।

रुससँग १ हजार ९४ दशमलब ७ टन सुन रहेको छ । यो वर्षको सुरुबाटै रुसले सुन सञ्चितीलाई बढाएको छ र थप भित्र्याउने तयारीमा रहेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले पछिल्लो १ वर्षमा मात्रै ४३.८६ टन सुन किनेको छ । हाल चीनसँग विश्वको छैटौं धेरै २ हजार २३५ टन सुन छ ।

यसैगरी, विश्वमा धेरै सुन भण्डारण हुने देशहरूमा क्रमशः स्वीट्जरल्याण्ड १०४० टन, जापान ८४६ टन, भारत ८०४ टन, र नेदरल्याण्ड ६१२ टन, सातौंदेखि दशौं स्थानमा रहेका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : १९ बजे

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ

सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई

एक्सका भिडियो कसरी डाउनलोड गर्ने ? 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल एपको रूपमा एक्स (पहिलेको ट्विटर)