विपरीत लिंगका वा एउटै लिंगका दुई व्यक्तिहरु आपसी समझदारी र सम्झौता अनुसार (बिहे नगरी) एउटै भान्छा र एउटै बेडरुम सेयर गरेर श्रीमान-श्रीमतीकै रुपमा रहेको अवस्थालाई हामी लिभिङ टुगेदर भन्छौं । लिभिङ टुगेदरको नेपाली अर्थ खोज्यो भनेचाहिँ भेटिँदैन रहेछ ।
लिभिङ टुगेदरलाई को–ह्याबिटेसन भनिँदोरहेछ । कतै–कतै सहबास भनेर प्रयोग गरिएको छ । तर, लिभिङ टुगेदर भनेको सहबास हो भन्ने म स्वीकार्दिनँ । सहबास भनेको साँघुरो अवधारणा हो । लिभिङ टुगेदर भनेको एकदमै ‘बोल्ड’ अवधारणा हो ।
नेपालको ग्रामीण क्षेत्रमा त लिभिङ टुगेदर छँदै छैन । लिभिङ टुगेदरमा बस्ने शहरी जनसंख्या धेरै छ । तर, शहरका मान्छे भन्दा पनि बाहिरबाट शहरमा आएकाहरु लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ ।
शहरका कतिपय मान्छेहरुमा कस्तो पाइयो भने काठमाडौंको नयाँ बसपार्कमा घर छ भने भक्तपुर गएर लिभिङमा बस्ने । तर, बढीचाहिँ काठमाडौं बाहिरबाट आउनेहरु नै लिभिङ टुगेदरमा बसेको भेटियो । काठमाडौंको केही–केही केसहरु मात्र भेटियो ।
बाहिरबाट पढ्नका लागि काठमाडौं आएका विद्यार्थीहरु र काठमाडौं नजिकैका जिल्लाबाट भागेर काम गर्न आउने कम उमेरका किशोर–किशोरीहरु लिभिङ टुगेदरमा बस्ने गरेको पाइयो । केटी मान्छेहरु होटलमा काम गर्ने अनि साहुसँगै बस्ने । वा, अर्को विवाहित मानिससँग बस्ने । यस्ता केसहरु पनि पाएँ मैले अनुसन्धान गर्दा ।
आखिर यसले समाजलाई कता लैजान्छ ? यसले दुर्घटना निम्त्याउन सक्छ । त्यसैले कानून बनाएर विवाहित व्यक्ति एवं कम उमेरकोलाई लिभिङमा टुगेदरमा बस्न नदिने व्यवस्था गर्न जरुरी छ ।
कम उमेरमा हुने सहमतिकै सम्बन्धलाई पनि कानूनले बलात्कार नै मान्छ । त्यसर्थ, यो उमेर समूहका बच्चाहरुको संरक्षण गर्न जरुरी छ । श्रीमतीहरुले अनाहकमा मर्नुपर्दैन । यसकारण मैले लिभिङ टुगेदरलाई बैधानिकता दिइनुपर्छ भन्ने इस्यु उठाएकी हुँ ।
नेपालमा लिभिङ टुगेदरलाई नियमन गर्ने कुनै पनि कानून छैन । यसले गर्दा धेरै समस्या आएका छन् । लिभिङ टुगेदरलाई सम्वोधन गर्ने कानून नभएपछि अरु–अरु कानून खोजेर उपचार खोज्न जानुपर्ने अवस्था छ ।
म एउटा बलात्कारसम्बन्धी केसलाई उदाहरण दिन चाहन्छु ।
सहमतिमा सम्बन्ध कायम भएकोलाई बलात्कार भयो भनेर जान मिल्दैन । तर, अहिले मसँग त्यस्ता दुई–तीनजना ‘क्लाइन्ट’हरु छन् । उनीहरुमाझ सहमतिमा शारीरिक सम्बन्ध कायम भएको छ । उनीहरु लिभिङ टुगेदरको सम्बन्धमा छन् । तर, यसलाई सम्वोधन गर्ने कानून नभएपछि केटाले बेइमानी गरेको अवस्थामा केटीहरु मलाई बलात्कार भयो भनेर आइरहेका धेरै केसहरु छन् ।
लिभिङ टुगेदरमा बसेको कारणले मान्छेलाई मारेका मुद्दाहरु पनि छन् । ठूलो मान्छेले प्रेमिकाका कारण आफ्नी श्रीमतीलाई मारेको र आफू लिभिङ टुगेदरमा थिएँ भनेर स्वीकारेको केस पनि सर्वोच्च अदालतसम्म पुगेको छ ।
लिभिङ टुगेदरमा अहिले विवाह गर्ने उमेर नै नपुगेकाहरु पनि बसेका छन् । विवाहितहरु पनि बसेका छन् । तर, म कानूनले योग्य मानेको व्यक्तिलाई मात्र लिभिङ टुगेदरमा बसेको मान्छु । कानूनले योग्य भन्नाले १८ वर्षभन्दा माथिको हुनुपर्यो । अविवाहित हुनुपर्यो ।
मैले आफ्नो रिट निवेदनमा १६ वटा बुँदामा मागदाबी गरेकी छु । लिभिङ टुगेदरलाई लिएर कानून बनाउँदा के–के कुरा समेट्ने भन्ने यसमा राखेकी छु ।
पहिलो– १८ वर्षमाथिकालाई मात्र लिभिङ टुगेदरमा बस्ने अनुमति दिइनुपर्छ ।
दोस्रो– विवाहित र अविवाहित जो पनि अहिले लिभिङ टुगेदरमा बसेका छन् । विवाहितहरुलाई मान्यता दिइनुहुँदैन भन्ने मेरो मागदाबी छ । श्रीमती हुँदाहुँदै अर्की केटीलाई लिएर लिभिङमा बस्यो भने समाज विखण्डनतिर जान्छ ।
तेस्रो– मैले सम्पत्तिको कुराहरु पनि उठाएकी छु । लामो समय सँगै बसेकी छ भने केटीलाई पनि सम्पत्तिको अधिकार देऊ भन्ने मेरो मागदाबी छ । अन्तराष्ट्रिय अभ्यास पनि यही छ । भारतको अभ्यास पनि यही छ ।
चौथो– मैले वैयक्तिक गोपनीयताको कुरा गरेको छु । लिभिङ टुगेदरबाट केटा र केटी छुट्टिएपछि केटाहरुले भिडियो, फोटो लिक गर्दिने गरेका छन् । यसमा गोपनीयताको संरक्षण गरिनुपर्छ भन्ने मेरो मागदाबी हो ।
पाँचौं– लिभिङ टुगेदरमा सँगै बस्ने अनि केटाहरुविरुद्ध बलात्कारको मुद्दा लगाउने गरिएको छ । नेपालको सन्दर्भमा लिभिङ टुगेदरमा राख्नु भनेको बिहे गर्छु भनेरै हो । वीचैमा छाडियो भने त्यो त धोका त हो ।तर, त्यो बलात्कार होइन । धोका र बलात्कारमा फरक हुन्छ । बलात्कार भनेको त एकदमै जघन्य अपराध हो ।
लिभिङ टुगेदरमा बसेकाले धोका दियो भने उसलाई कारवाही गर्नुपर्छ, तर त्यही अनुसारको कारवाही गर्नुपर्छ । तर, यसलाई बलात्कार भन्न पाइँदैन भन्ने मेरो मागदाबी छ ।
छैठौं– हाम्रो देशमा जति नै समानताको कुरा गरे पनि महिलालाई हेर्ने दृष्टिकोण फरक छ । केटा र केटी लिभिङ टुगेदरमा बस्ने, सहमतिमा सम्बन्ध कायम गर्ने तर केटा मान्छेको प्रतिष्ठा उसले के काम गर्यो भनेर तुलना हुन्छ । तर, छोरीमान्छेको चाहिँ कोसँग बस्यो भनेर हेरिन्छ । उसले गरेको काम, योगदान सबै त्यसमा गएर सकिन्छ । पितृसतात्मक समाजको संरचनाको कारणले यस्तो भएको हो ।
यो अवस्थामा केटा मान्छेले फाइदा लिएर केटी मान्छेलाई विलासिताका रुपमा प्रयोग गर्ने गरिएको छ । यो कानून बन्यो भने केटाहरुले लिभिङमा राख्नुभन्दा अगाडि त्यो मापदण्ड पालना गुर्न कि गर्दिनँ भनेर सोच्छ । यदि सोचेन वा परिणाम नराम्रो आयो भने यही लिभिङ टुगेदरको कानूनले गाइड गर्छ । केटा होस् या केटी, जो पीडित छ, उसलाई यो लिभिङको कानूनले सम्वोधन गर्छ । सजाय दिने, क्षतिपूर्ति भराइदिने अथवा जे गर्नुपर्ने हो, कानूनले गर्छ ।
यिनै कारणले गर्दा हामीलाई लिभिङ टुगेदरसम्बन्धी कानून अति जरुरी छ । लिभिङ टुगेदरमा भएको विकृतिलाई सम्वोधन गर्न, नियमन वा व्यवस्थापन गर्न कानून जरुरी छ । समाजमा यसको कानून नभएकाले यी मागदाबी लिएर म सर्वोच्च अदालत गएकी हुँ ।
लिभिङ टुगेदरको कानून सन्तुलित हुनुपर्छ भन्ने मेरो भनाइ हो । किनभने पीडित भनेको केटी मात्रै पनि हुँदैन, केटा पनि हुँदैन । म वकालत पेशामा पनि भएकी हुनाले पीडितले चाहिँ न्याय पाउनुपर्छ भन्ने मेरो मान्यता छ । पीडित केटा पनि हुन सक्छ, केटी पनि हुन सक्छ । हाम्रो पितृसत्तात्मक समाजका कारणले केटी अलि बढी पीडित देखिन्छन् । तर, केटाहरु पनि पीडित देखिएकै छन् ।
लिभिङ टुगेदरमा बस्नेले डेरा पाएनन्
जसका बच्चाहरु लिभिङ टुगेदरमा छन्, उहाँहरुका अभिभावकलाई आफ्ना बच्चाहरु लिभिङमा भएको थाहै छैन । यसमा म आफ्नो थेसिसका लागि पनि डाटा संकलन गरिरहेकी छु । मेरो घर वरिपरि बस्नेहरु नै लिभिङ टुगेदरमा हुनुहन्छ, तर उहाँहरु स्वीकार्नुहुन्न ।
मेरो छिमेकमा एकजोडी लिभिङमा बस्थ्यो, घरबेटीले निकालिदिनुभयो । यस्ता केसहरु धेरै छन् । केटा र केटी यसरी बसेका छन्, बिहे गरेको छैन भनेर निकालिदिनुभयो । तर, उहाँहरुले यो समस्या खुलेर बताउन सक्नुहुन्न । यो कारणले गर्दा पीडितहरु कति छन् भनेर यकिन गर्ने अवस्था नै छैन । तर, कानून बन्यो र रेगुटेल भयो भने उहाँहरु म पनि छु भनेर खुल्ला रुपमा आउनुहुन्छ । नेपालमा कानून बन्यो र बैधानिकता भयो भनेपछि हिम्मत बढ्छ ।
जस्तै– समलिङ्गीहरु अहिले खुलेर आउनुभएको छ । अहिले उहाँहरुको पनि हक हित र सुरक्षा ग्यारेन्टी भएको छ । कानून बन्यो भने लिभिङ टुगेदरको पनि यस्तै अवस्था आउँछ ।
मैले दुईजनाको पीएचडी थेसिस पनि राखेकी छु । उहाँहरुले पाँच वर्ष अगाडि गरेको अनुसन्धानमा यसबारे कानून आवश्यकता छ है भन्नुभएको छ । आजको दिनमा म यसबारे थप अनुसन्धान गर्दैछु, अझै सकिएको छैन । यसमै म लागि परिराखेकी छु ।
समाजमा सचेतना आवश्यक
नेपाली समाजको संस्कृतिले लिभिङ टुगेदरमा नबस नै भन्छ जस्तो मलाई लाग्दैन । किनभने, हाम्रो कल्चरमा कहीँ पनि यस्तो ‘कोट’ नै गरिएको छैन । तर, फेरि व्यवहारिक अभ्यासमा लिभिङ टुगेदरलाई राम्रो मानिएको छैन ।
यतिसम्म कि यो मुद्दा उठाइरहँदा मेरो व्यक्तिगत जीवनसमेत मानिसहरुले बुझ्न खोजिरहेका छन् । तपाई लिभिङमा हो ? भन्ने टाइपका प्रश्न गरिरहेका छन् । पढेलेखेका, ठूला मानिसहरुलाई पनि म लिभिङ टुगेदरमा हो कि हैन भनेर जिज्ञासा भएको छ । यो हाम्रो संस्कृति र हुर्काइका कारणले भएको हो ।
यसमा के बुझाउन जरुरी छ भने लिभिङ टुगेदरमा छन् है भनेर मैले जसलाई बुझाउन सकें, उहाँहरुले एकदमै स्वभाविकरुपमै लिनुभएको छ । किनभने, मैले नेपालमा नभएको अभ्यासलाई बैधानिकता देऊ भनेकी होइन । मैले त नेपालमा प्राक्टिस भइरहेको छ र यसबाट विभिन्न समस्याहरु आएको हुनाले त्यसलाई सम्वोधन गर्न कानून चाहियो भनेकी हुँ ।
मैले लिभिङ टुगेदर चाहियो भनेकी होइन । जो लिभिङ टुगेदरमा छन्, तिनीहरुलाई व्यवस्थापन गर भन्न खोजेकी हुँ । केटी मान्छेलाई गर्भवती बनाएर, पैसा खाइदिएर भाग्ने गरेका समाचारहरु धेरै समयदेखि आइरहेका छन् ।
मैले रिट दायर गरेपछि धेरै सकारात्मक टीकाटिप्पणीहरु नै आएका छन् । मिडियाले पनि एकदमै सकारात्मक रुपमा लिइदिनुभएको छ । केही मानिसहरुले चाहिँ देशलाई पश्चिमीकरण गर्न खोजियो भन्ने आरोपहरु पनि लगाउनुभएको छ । तर, यस्तो आरोप एकदमै कम छ । मैले जसलाई बुझाउन सकें, उहाँहरुले चाहिँ समर्थन नै गर्नुभएको छ ।
प्रतिक्रिया