रविविरुद्ध खनिए एमाले सांसद, गृहको सर्कुलर सच्याउन माग | Khabarhub Khabarhub

रविविरुद्ध खनिए एमाले सांसद, गृहको सर्कुलर सच्याउन माग

एउटै व्यक्ति एमालेको सांसद, परिवार दलको अध्यक्ष


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजनीतिमा एकजना रहस्यमय पात्र छन्। प्रतिनिधिसभाको वेबसाइटमा उनको नाम नेकपा एमालेको सांसदका रुपमा दर्ता छ । निर्वाचन आयोगको रेकर्डमा भने उनी अर्कै पार्टीका केन्द्रीय अध्यक्ष छन् । अर्थात, एमालेले अर्कै पार्टीका अध्यक्षलाई आफ्नो दलबाट रहस्यमय तरिकाले समानुपातिक सांसद बनाएको छ ।

प्रशंग हो- नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको । निर्वाचन आयोगले ०८० चैत २२ सम्म अपडेट गरेको राजनीतिक दलको सूचीमा एकनाथ ढकालको नाम नेपाल परिवार दलको अध्यक्षका रुपमा रहेको छ । तर,उनी नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

अचम्म छैन त ? एउटै व्यक्ति नेकपा एमालेको सांसद पनि छन् र अर्कै दलको अध्यक्ष पनि ।

दोहोरो भूमिकामा रहेका सांसद ढकाल आइतबार काठमाडौंको सम्वाद डबलीमा आयोजित कार्याक्रममा नेपाल परिवार दलको अध्यक्षका रुपमा प्रस्तुत भए । त्यहाँ एमाले सांसद ढकालले रवि लामिछाने नेतृत्वको गृह मन्त्रालयले जारी गरेको एउटा सर्कुलरको विरोध गरे र त्यसलाई सच्याउन सरकारसँग मागसमेत गरे । जब कि यो सरकार एमाले सांसद एकनाथ ढकालको समेत समर्थनमा बनेको हो ।

संविधानसभाको चुनावपछि परिवार दल खोलेर अध्यक्ष बनेका ढकाल ठूला पार्टीका नेताहरुलाई विश्वासमा लिन सफल पात्र मानिन्छन् । त्यही आधारमा उनी विगतमा सहकारी मन्त्रीसमेत बन्न सफल भएका थिए ।

कानूनकाे छिद्र प्रयोग गरेर ढकाल एमालेको सांसद बनेको देखिन्छ । तर, एमालेमा होनहार एव‌ं इतिहास बोकेका नेता हुँदाहुँदै केपी ‌ओलीले परिवार दलकाे अध्यक्षलाई नै किन सांसद बनाए ? यो प्रश्न निरुत्तरित छ

गोर्खाको बोर्लाङमा जन्मेका ढकालले कोरियाका धर्मगुरुलाई नेपालमा बोलाएर नेताहरुलाई ‘होली वाइन’ खुवाएको भन्दै एक समय चर्को आलोचना भएको थियो । खास गरी एमाले कार्यकर्ताहरुले माधवकुमार नेपाललाई ‘होली वाइन’ सँग जोडेर जिस्काउने गरेका थिए ।

तर, अचम्म के भयो भने परिवार दलका अध्यक्ष रहेका तिनै ढकाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सूचीको अग्रणी नम्बरमा राखे । उनी अहिले एमालेका तर्फबाट सांसद हुनुका साथै परिवार दलको अध्यक्ष पनि कायमै छन् ।

हेर्नुहोस् संसद र निर्वाचन आयोगमा रहेकाे ढकालको  दोहोरो भूमिका-

केपी ओलीले ढकाललाई के योगदानका आधारमा सांसद बनाएका हुन् ? सो पार्टीका अन्य नेताहरु नै यसमा रनभुल्ल छन् । यस विषयमा प्रश्न गर्दा एमालेका एक जिम्मेवार नेताले यसबारे आफूले केही बताउन नसक्ने प्रतिक्रया दिए ।

यसबारे हामीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई साेध्याैं, एउटा दलको सा‌ंसदले अर्को दलको अध्यक्ष बन्न मिल्छ ?

जवाफमा थपलियाले अब बन्ने कानूनले यसमा बन्देज लगाउने बताए । अर्को राजनीतिक दलको सदस्य रहेको व्यक्तिले बेग्लै दलको सांसद बन्न नपाउने र दल त्याग गरेको निश्चित अवधि पार गरेको हुनुपर्ने नयाँ मापदण्ड प्रस्तावित कानूनमा रहेकाे थपलियाले खबरहबलाई बताए ।

विद्यमान कानूनले अर्को दलको नेतालाई बेग्लै पार्टीबाट सा‌ंसद बन्न नरोकेको हुनाले कानूनकाे छिद्र प्रयोग गरेर ढकाल एमालेको सांसद बनेको देखिन्छ । तर, एमालेमा होनहार एव‌ं इतिहास बोकेका नेताहरु हुँदाहुँदै केपी ‌ओलीले परिवार दलकाे अध्यक्षलाई एमालेमा प्रवेश नै नगरी किन सांसद बनाए ? यो प्रश्नचाहिँ अहिलेसम्म निरुत्तरित नै छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार अहिलेको कानूनले समानुपातिक सांसदका लागि योग्य ठहर्‍याउन पाँचवटा पक्ष मात्र हेर्छ । एक- उ नेपाली नागरिक हो कि हैन, दुई- उमेर पुगेको छ कि छैन, तीन- मतदाता नामावलीमा नाम छ कि छैन, चार- समानुपातिक सूचीकाे क्लष्टर मिलेको छ कि छैन र पाँच- कानूनले उसलाई अयोग्य ठहर्‍याएको छ कि छैन ।

यो त भयो सांसद ढकालको दोहोरो भूमिकाको । अब चर्चा गरौं, गृहमन्त्रालयको प्रशंग–

गत चैत १२ गते गृहमन्त्रालयले ‘आवश्यक कारवाही सम्बन्धमा’ शीर्षकमा देशैभरिका सिडियो कार्यालयहरुलाई एउटा सर्कुलर पठायो । विभिन्न जिल्लामा धर्म परिवर्तनका नाममा विभिन्न व्यक्ति र संस्थाहरु सक्रिय रहेको भन्दै कानूनविपरीतका गतिविधिमा निगरानी गरी आवश्यक कारवाही गर्न सो सर्कुलरमा निर्देशन दिइएको छ ।

गृहको परिपत्रमा भनिएको छ, ‘धर्म प्रचार–प्रसार तथा धर्म परिवर्तनका नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भएका विदेशी नागरिकहरु गैर कानुनीरुपमा धर्म प्रचार प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न हुने गरेको साथै कतिपय विदेशी नागरिकहरु विना प्रवेशाज्ञा हिँडडुल गर्ने गरेको पाइकाले विदेशी नागरिकहरुको कानुन विपरीतका गतिविधिहरुको सूक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्न हुन आदेशअनुसार अनुरोध छ ।’

हेर्नुहोस् सर्कुलर

गृहमन्त्रालयको सोही सकुर्लरको विरोध गर्दै आइतबार काठमाडौंको सम्वाद डबलीमा एक कार्यक्रमको आयोजना भयो, जहाँ नेकपा एमालेका सांसद एकनाथ ढकालसमेत उपस्थित थिए ।

कार्यक्रममा एमाले सांसद ढकालले परिवार दलको अध्यक्षको हैसियतमा भाषण गरे । उनले आफ्नै समर्थनमा बनेको सरकारले जारी गरेको सर्कुलरमाथि विरोध जनाए ।

एउटा दलको अध्यक्ष भएर अर्को पार्टीको सांसद बनेका ढकालले कार्यक्रममा बोल्दै गृहमन्त्री रवि लामिछानेसँग संविधानको सामान्य ज्ञानसमेत नभएको समेत भन्न भ्याए ।

ढकालले संसदमा यस विषयमा बोल्नका लागि सभामुखसँग समय मागेको तर संसद अधिवेशन अन्त्यको निर्णयले यो सर्कुलरको विषयमा बोल्न नपाएको सुनाए ।
उनले गृहमन्त्रालयको यस्तो परिपत्रले देशको अन्तराष्ट्रिय छविमा समेत नकारात्मक असर पर्ने बताए ।

गृहमन्त्री लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित गृहमन्त्रालयले परिपत्र जारी गरेको कार्यक्रममा सहभागीहरुले आरोप लषएका थिए ।

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले कुनै एक धार्मिक सम्प्रदायले कार्यक्रम गर्ने, अर्कोले उजुरी हाल्ने त्यसमा प्रहरी हस्तक्षेपको क्रमले देशमा शान्ति भंग हुने बताएका थिए । उनले सरकारलाई चेतावनी दिँदै भनेका थिए, ‘यस किसिमको परिपत्रले शान्ति सुरक्षा हैन, धार्मिक द्वन्द्व चर्कन्छ, रविजीलाई कि त ज्ञान नभएर हो या देश विभाजन गर्ने सुनियोजित योजना, गम्भीर आशंका छ ।’

कार्यक्रममा जनजाति नेता आङकाजी शेर्पाले देशलाई गम्भीर द्वन्द्वमा फसाउने नियतले गृहमन्त्रालयले परिपत्र जारी गरेको जिकिर गर्दै तत्काल खारेज नगरे सडक तताउने चेतावनी दिए ।

पूर्वमन्त्री डा.केशवमान शाक्यले देश धर्म निरपेक्ष भइसक्दा पनि हिन्दु–ब्राह्मणवादी शासकहरुले अल्पसंख्यकहरुलाई आफ्नो फाइदाका लागि प्रयोग गर्ने, नत्र दबाएर राख्ने गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष उद्धव प्रसाद चिमोरियाले गृह मन्त्रालयद्वारा जारी परिपत्रप्रति दुःख व्यक्त गरे । गृहको परिपत्रमा अल्पसंख्यक धार्मिक समुदायलाई हतोत्साहित पार्दै दबाबमा राख्ने आशय लुकेको उनको भनाइ थियो ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार सरोकार मञ्चका अध्यक्ष जितबहादुर घलेले राज्य सबैको साझा हुने बताउँदै सबैलाई समान व्यवहार गरिनुपर्ने धारणा राखे ।

अर्का अभियन्ता मानबहादुर राईले गृहको परिपत्र अविलम्ब खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै, मस्टो धर्म संस्कृति संरक्षण समिति अध्यक्ष थर्कबहादुर बस्नेतले सबै धर्म तथा समुदाय मिलेर बसिरहेको समाजमा गृहको परिपत्र विभाजन र द्वन्द्व निम्त्याउने योजनासहित आएको आरोप लगाए ।

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका केन्द्रीय संयोजक भव घलेले नेपालमा राज्य प्रशासकहरु संकीर्ण हुनु दुर्भाग्य भएको बताए ।

आयोजक संस्था राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठ, महासचिव ज्ञानेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार दीपेश श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ३६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले