ललितपुरको टिकाथलीबाट दोलखा हिँडेका वृद्धको काभ्रेमा वीभत्स हत्या, दाँतबाट खुल्यो पहिचान | Khabarhub Khabarhub

ललितपुरको टिकाथलीबाट दोलखा हिँडेका वृद्धको काभ्रेमा वीभत्स हत्या, दाँतबाट खुल्यो पहिचान


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका, टिकाथलीस्थित निवासबाट एक्लै हिँडेका विष्णुप्रसाद सुवेदीको काभ्रेमा विभत्स हत्या भएको खुलेको छ ।

मर्निङ वाक सकेपछि घरबाट निस्किएका ५४ वर्षीय सुवेदीको शव बेपत्ता भएको ५ दिनपछि वैशाख २८ मा पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

सुरुमा उक्त शव २२ देखि २५ वर्षका युवाको रहेको अनुमान प्रहरीले गरेको थियो । तर पोस्टमार्टम रिपोर्ट र आफन्तले सनाखत गर्दा दोलखाको भीमेश्वर नगरपालिका–२ राप्पा घर भई हाल टीकाथली बस्दै आएका सुवेदी रहेको खुलेको हो ।

वैशाख २८ मै शव भेटिए पनि प्रहरीले त्यसलाई युवाको शव भनेको थियो । तर जेठ १ गते मात्रै आएको पोस्टमार्टम रिपोर्टले उक्त शव सुवेदीको भएको पुष्टि गरेको हो ।

कसरी भयो पहिचान?

टिकाथलीबाट हराएका उनको खोजीका लागि छोरा सौगात सुवेदीसहितले सामाजिक सञ्जालदेखि प्रहरीसम्मको सहयोग लिएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत हुलिया जारीसमेत गरेका थिए । साता बित्न लाग्दा पनि बुवाको अत्तोपत्तो नभएपछि काभ्रेको पाँचखालमा एउटा शव विभत्स अवस्थामा भेटिएको खबर आयो । तर प्रहरीले उक्त शव २२ देखि २५ वर्षीय युवकको रहेको खबर दिएपछि परिवारले बुवा जीवितै रहेको आशमा खोजी तीव्र पार्‍यो ।

यसबीचमा धुलिखेल अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टले शव युवकको नभइ ५५ देखि ६० वर्षका वृद्धको भएको विवरण दियो ।

उक्त रिपोर्टमा सुवेदीका तल्लोतर्फका ६ वटा र माथिल्लोतर्फका ३ वटा दाँत नक्कली रहेको खुलायो । त्यस्तै छातीमा कोठी रहेको रिपोर्ट पनि आयो । उक्त शव सुवेदीकै रहेको भन्ने पहिचान उनले प्रोस्टेटको अपरेसन गर्दा चिरेको घाउको खतबाट पनि हुन पुग्यो ।

प्रहरीले पोस्टमार्टम रिपोर्टको विवरण दिएसँगै परिवारका सदस्यले पनि सुवेदीको सनाखत गरे ।

कस्तो अवस्थामा थियो शव?

प्रहरीका अनुसार सुवेदीलाई विभत्स रुपमा हत्या गरिएको पाइएको छ । उनको मुखमा ढुंगा कोचिएको थियो भने छातीमा फलामे तारले बाँधिएको थियो । मुखमा ढुंगा कोचिएपछि बाहिरतर्फ फलामे तारले कसिएको थियो ।

सुवेदीका दोलखास्थित छिमेकी जगदीश खरेलले घटनास्थल हेरेपछि उनलाई जिउँदै जलाइएको आशंका गरे ।

‘शव मुखमा ढुंगा हालिएको, मुख र छातीमा तारले बाँधिएको अवस्थामा थियो । उहाँको कहीँ कतै विवाद थिएन । बुवा एकडेढ महिनादेखि विक्षिप्त रहेको छोराहरूले बताएका छन्’, खरेलले भने, ‘दुईवटा छोराले व्यवसाय धानेका थिए ।’

फोन गरेका थिए

सुवेदी वैशाख २३ गते आफू मात्रै निस्किएका थिए । मोबाइल पनि घरमा छाडेर एक्लै निस्केको खुलेको प्रहरीले जनाएको छ ।

सुवेदी घरबाट निस्किँदा उनको साथमा ३५ सय रुपैयाँ रहेको परिवारका सदस्यहरूले जनाएका छन् । उनले घरबाट निस्किएपछि काभ्रेको जिरोकिलो आसपास पुगेर फोन गरेका थिए ।

घरमा फोन छाडेर गएका उनले अपरिचित नम्बरबाट फोन गरेर आफूले राम्रो काम पाउन लागेको भन्दै खुसी प्रकट गरेका थिए ।

‘उहाँ एक एकदुई महिनादेखि विक्षिप्त र तनाव भएको देखिएको छ । तर घरबाट निस्केर गएपछि अपरिचित नम्बरबाट फोन गर्नु भएको रहेछ । मैले गतिलै काम पाउने भएँ भनेर फोन गरेपछि उहाँ सम्पर्कविहीन हुनु भएको थियो’, परिवारका एक सदस्यले भने ।

उक्त दिन फोन गरेदेखि उनी गायब भए । भोलिपल्ट दिनभर परिवारका सदस्यले खोजी गरे। तर कतै भेट्टाउन सकेनन् ।

त्यसपछि धुलिखेलमा पुगेर परिवारका सदस्यले जाहेरी दिए । खोजीकार्य जारी राख्दा नभेटिएपछि परिवारले प्रहरी गुहारेको थियो ।

अहिले उक्त घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । सुवेदीको शव पशुपति आर्यघाटमा पोस्टमार्ट भइसकेको छ । डीएसपी श्रेष्ठले घटनाबारे अनुसन्धान अघि बढेको बताउँदै अहिलेसम्म कोही पक्राउ परिनसकेको जनाएका छन् ।

खुलाएका थिएनन् तनाव

केही महिनादेखि तनाव र चिन्तामा रहेका उनले परिवारका सदस्यलाई केही पनि खुलाएका थिएनन् । उनका दुवै छोराले केही वर्षदेखि व्यवसाय धानेका थिए ।

छोराहरूले व्यवसाय धानेदेखि उनी करिब फुर्सदिला थिए । व्यसायिक तनाव पनि नबोकेका उनको वीभत्स हत्यापछि परिवार शोकमा परेका छन् ।

घर छाडेर हिँड्दा पनि उनले मोबाइल लगेका थिएनन् । चरिकोटस्थित घर जान्छु भनेका सुवेदी किन काभ्रेको जिरोकिलोमा उत्रिए भन्ने कुरालाई प्रहरीले अनुसन्धानको केन्द्र बनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : २३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार