नेताहरू सत्ताका लागि जे गर्न पनि तयार हुन्छन् : महेन्द्रबहादुर शाही | Khabarhub Khabarhub

नेताहरू सत्ताका लागि जे गर्न पनि तयार हुन्छन् : महेन्द्रबहादुर शाही



आफ्नो पार्टीसंग सत्ता र शक्तिको ‘जादू’ रहेको भन्दै आफू नेतृत्वको सरकारले पुरै अवधि शासन गर्ने बताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनपेक्षित शैलीमा सरकारबाट बाहिरिएका छन् । सत्ताका लागि जस्तोसुकै दाउपेच गर्ने भनी आलोचना खेपेका प्रचण्डमाथिको यो धक्का सिंगो पार्टी पंक्तिका लागि चुनौतीपूर्ण हुने विश्लेषण गर्न थालिएको छ । पार्टी नेतृत्व सत्ता केन्द्रित हुँदा संगठन खुम्चिएको, पार्टी कार्यकर्ता सुविधा भोगी हुँदै गएका, चुनावमा अरु पार्टीसंगको एकताले पार्टीको सांगठनिक र वैचारिक धरातल खस्किएको विश्लेषण स्वयं माओवादी नेताहरुले गर्ने गरेका छन् । अबको माओवादी रोडम्याप के हो ? नेतृत्वप्रतिको दृष्टिकोण कस्तो रहन्छ ? माओवादीकै नेताहरू कहिले कांग्रेस, कहिले एमालेको गोटी किन भए ? यिनै विषयमा जोडिएर नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाहीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश  :  

तपाईँहरूले  सुरुवातीमा विश्वास गर्नुभएको राजनीतिक शक्तिले नै विश्वासघात गर्नुपर्ने परिस्थिति कसरी विकसित भयो ?

यसको एउटा कारण त  नेपालको भू–राजनीतिकरण हो । जसले गर्दा राजनीतिक स्थायित्व कायम हुन सकेन । धेरै शक्ति राष्ट्रहरूले चलखेल गर्ने, रातारात परिस्थिति बदलिने स्थिति बन्यो । अर्कोतर्फ नेताहरूलाई चाहिएको सत्ता नै हो । सत्ताभन्दा बाहिर कोही एक छिन अडिन नसक्ने र सत्तामा पुग्नको लागि जे पनि गर्न सक्ने स्थिति सिर्जना भएको छ ।

अर्को कारण भनेको केही शक्तिकेन्द्रहरूले अहिलेको व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, समावेशी सहभागितालाई रुचाएका छैनन् । यिनको संविधान निर्माणदेखि कार्यान्वयनसम्म आइपुग्दा अवरोध सिर्जना गर्ने नियत छ । र यो व्यवस्था परिवर्तन गरेर प्रतिगमन तिर लैजान चाहन्छन् ।  यही कारण अहिलेको गठबन्धन तलमाथि भयो ।

पहिला गरेको सात बुँदे समझदारीबाट नेकपा एमाले किन बिच्कियो ?

हामीले संविधान निर्माणपछि धेरै ठूलो चुनौतीको सामना गर्नु पर्‍यो । दुई वटा संविधान सभाले मात्रै यो संविधानलाई कार्यान्वयन गर्न सके ।  नेपालमा राजनीतिक ध्रुवीकरणको आवश्यकता चाहिँ छ । त्यसो हुँदा वामपन्थी शक्तिहरूको एउटा र लोकतान्त्रिक व्यवस्था चाहने शक्तिहरू दुई ध्रुवमा खडा भएर राजनीति अगाडि बढाउँदा यो अवस्थाको केही अन्त्य गर्न सकिन्थ्यो । कमसेकम ५ वर्ष एकल शासन चलायो भने मात्रै यो देशमा विकास, आर्थिक संवृद्धि, सामाजिक न्याय सहित  जनचाहना पुरा गर्न सकिन्छ । फास्टट्रयाकमा त्यसलाई पुरा गर्न सक्छौँ भनेर हामीले ध्रुवीकरणको एजेण्डा उठायौँ ।

संविधान कार्यान्वयन गर्ने प्रारम्भिक चरणमा नेकपा पनि बन्यो तर त्यो टिकाउन सकिएन । पछिल्लो चुनावमा नतिजा आइसकेपछि कांग्रेस संसदको ठूलो पार्टी नै बन्यो । र उभित्र ठूलो पार्टी हो भनेर अहंकार पलायो । फलस्वरुप तेस्रो ३२ सिट भएको माओवादीलाई किन प्रधानमन्त्री दिने, आफ्नै सरकार बनाएर काम गर्नुपर्छ भन्ने सोचले काम गर्‍यो । र कांग्रेससँगको विश्वास पनि टुट्यो र पछि फेरि एमालेले हामी एक हौँ भनेर एक भएका थियौँ ।

०६४ साल पछि १३ वटा सरकार बनेछन् । तीन वटा बाहेक १० वटा सरकारमा निरन्तर सहभागी हुनुहुन्छ । सरकारमा बाक्लै सहभागी हुँदा शान्ति प्रक्रियाका मूलभूत एजेण्डामा संवेदनशील हुनुभएन । आफू उभिएको जमिन बिर्सिएको जस्तो लाग्दैन ?

राष्ट्रियता र जनताको पक्षमा दरोसंग उभिने पार्टी हो माओवादी ।  माओवादीकै कारण समाजका विभेद अन्त्य भएका छन् । मुलुकले नयाँ व्यवस्था पाएको छ । त्यसो हुँदा अहिले माओवादी पार्टीबाट बाह्य शक्तिहरूले पनि बढी खतरा देखे । आन्तरिक शक्ति कांग्रेस र एमाले पनि माओवादीबाटै त्रसित भए । माओवादी विरोधी शक्तिहरूले  घेराबन्दी गरेकै कारण उसले गरेका राम्रा काम ओझेलमा परे । बरु माओवादी राक्षस नै हो भनेर जनतामा भ्रम फैल्याउन माओवादी विरोधीहरू सफल भए ।  आफूले गरेका काम जनतामा स्थापित गर्न नसक्नु हाम्रो पनि गम्भीर कमजोरी भयो । जनताको चाहना विकास र रोजगारी हो । शान्ति प्रक्रिया र  सत्य निरूपणको काम माओवादीको पालामा नै पुरा होस् भन्ने पनि जनताको चाहना हो । यो हामीले शतप्रतिशत गर्न नसक्दा पार्टीप्रति जनतामा यसले  पनि गर्न सकेन भन्ने छाप पर्‍यो।
पटक पटक सरकारको नेतृत्व हामीले गर्‍यौँ । तर हाम्रो एकल बहुमतको सरकार बनेन ।  गठबन्धनको सरकार बन्यो । त्यहाँ रहेका दलहरूले ब्रेक लगाएर काम गर्न दिएनन् । हाम्रो मात्रै मतले टिआरसी विधेयक पास हुँदैन ।

घेराबन्दीको कटु अनुभव हुँदाहुँदै सत्ताको अंकगणितमा सधैं खेल्न रुचि राख्नुपर्ने कारण के हो ? प्रतिपक्षमा बसेर जनमतको कदर गर्न सकिँदैनथ्यो र ?

हामी लगातार सत्तामा मात्रै छैनौँ ।  प्रतिपक्ष भएर पनि जनताको एजेन्डा पुरा गरेका छौँ । संविधान निर्माणको बेला पनि प्रमुख प्रतिपक्ष भएर ३२ दलसहितको नेतृत्व गरेर सत्ता बाहिर बस्यौँ ।

हामी सरकार बाहिर बस्दा कांग्रेस, एमालेले सरकार त बनाउलान् तर भोलिको खतरा के हो भनेर जनताले बुझ्नु पर्छ । अहिले पनि संविधान संशोधनको विषयमा आएर सहमति भयो । भोलि संघीयता र समावेशीको अन्त्य गर्ने जस्ता विषयहरू आउलान् । यो संविधान माथिको प्रहार भयो । त्यसैले संघीयताको रक्षा गर्न भए पनि हामी सरकारमा जान आवश्यक÷अनिवार्य छ ।
नत्र प्रतिपक्षमा बसेर जनतालाई तागत दिएर सडकमा उतारेर मात्रै  जनताका विरुद्ध हुने निर्णय सत्ता, सदन र सडकबाट मात्रै रोक्न सक्छौँ ।

एकातिर सडकमा बसेर नारा लगाउने अर्कातिर सरकारमा बसेर खबरदारी गर्ने भन्ने तपाईँहरूको द्वैध चरित्र त एमसीसीमा नराम्ररी देखियो । भरोसायोग्य गतिविधि गर्न नसक्दा जनताको आड भरोसा टुटेको किन स्विकार्नुहुन्न ?

एमसीसीको सम्झौतामा जे प्रावधान राखिएका थिए, त्यसमा संशोधन भन्यौँ । यो यो यो विषय हटाउने भनेर स्वीकृति भयो । उनीहरूले गरेको मस्यौदा शतप्रतिशत त स्विकारिएको छैन । यो विषयमा सरकारमा सामेल भएका सबै दलसँग सहमति भएर नै गरेका छौँ । पहिला देखीका अन्य सबै सन्धि सम्झौता खारेज गराउन त माओवादीलाई बहुमत दिएर सत्तामा पुर्‍याउनु पर्छ ।

तीन पटक प्रधानमन्त्री हुँदा प्रचण्ड दर्जन चोटि भारत भ्रमणमा जानुभयो । अरु त कुरै छोडौं न इपीजीको एउटा प्रतिवेदन ‘स्वीकार गर नत्र सार्वजनिक गर्छौं’ भन्ने हिम्मत देखाउन सक्नु भएन । सन्धि सम्झौता खारेजीका एजेन्डा कुन तागतले खारेज हुन्छ ?

एकल सरकार हाम्रो होइन ।  गठबन्धनमा सरकार बनाइरहेका हुँदा गठबन्धनमा सल्लाह गरेर छलफल गरेर सहमतिको आधारमा मात्रै प्रधानमन्त्रीले बोल्ने सन्धि सम्झौता गर्ने हो । कि त हामी बाहिरिनु पर्‍यो कि दुई तिहाइ बहुमत हाम्रो हुनु पर्‍यो । अनि मात्रै सन्धि सम्झौता कार्यान्वयन गर्न सक्छौँ  । अरुको सहारामा सरकार चलाउनु परेको स्थितिमा यी विषय कार्यान्वयनमा जटिलता आएको हो ।

आन्तरिक रूपमा शल्यक्रिया गरेर आचरण र कार्यशैलीमा सुधार गरेर जानुपर्छ भन्ने आवाज तपाईँहरूकै पार्टीमा उठेको छ । त्यसको सुरुवात कसरी होला ?

माओवादीमा तत्काल विभाजनको सम्भावना छैन ।  पार्टी पूर्ण एकताबद्ध छ । पार्टीमा केही मत भने छन् । ती मत बारे पार्टी भित्रै छलफल गरेर निरूपण गर्नुपर्छ । माओवादी पहिलो संविधान सभामा आउँदा पहिलो भएको पार्टी यति ठूलो मत भएको पार्टी अहिले एकाएक यो ठाउँमा किन आयो ? भन्ने प्रश्न आम रूपमा उठेको छ । यसको गहिरो समीक्षा हुन जरुरी छ ।  यसको लागि हामीले विशेष महाधिवेशन गरेर व्यापक छलफल बहस सहित पार्टीलाई नयाँ ढंगबाट अघि बढाउँछौँ । अब देश विकासको नयाँ मोडल, समृद्धिको मोडल र स्रोत साधनका विषयमा छलफल हुन्छ ।  हामीले अब मूल नेतृत्व हुनुको नाताले नेतृत्व आफूतिर फर्किनु प¥यो । किन दिन प्रतिदिन मलाई छोड्दै गइरहेका छन् ? हिजोको बलियो मान्छे अहिले कमजोर भएँ भन्ने कुराको आत्मसमीक्षा हुनुपर्छ । त्यसपछि पार्टीमा पुनर्जागरण आउँछ र फेरि शक्तिशाली बन्छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ०७ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

काठमाडौं–  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको

कर्णालीको नीति तथा कार्यक्रममा आकर्षक नारा : बसोबास गाउँमा, भविष्य आफ्नै ठाउँमा

सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

एजेन्सी– पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा

चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने