‘भ्रष्टाचारीलाई उन्मुक्ति दिन पाँच वर्षे हदम्याद राखिनु राष्ट्रघात’ | Khabarhub Khabarhub

‘भ्रष्टाचारीलाई उन्मुक्ति दिन पाँच वर्षे हदम्याद राखिनु राष्ट्रघात’



भ्रष्टाचारका कारण अहिले देश सबैभन्दा बढी कुशासनतर्फ गइरहेको छ । नेपाल विश्वका अत्यन्त भ्रष्टाचार भएका देशमध्येकै सूचीमा पर्छ । भ्रष्टाचार नियन्त्रण नगरी सुशासन कल्पना गर्न सकिँदैन । त्यस्तो अवस्थामा हामीले भ्रष्टाचारीलाई उन्मुक्ति दिन हदम्यादको व्यवस्था गर्‍यौँ भने सुशासन कायम गर्न सम्भव हुँदैन ।

भ्रष्टाचारीलाई हदम्याद राखिए त्यति अवधि उसलाई मुद्दा चलाउन पाइँदैन । तर भ्रष्टाचारी हो भन्ने कुरा पछि कतैबाट पत्ता लाग्यो भने के गर्ने ? त्यसैले राख्नु हुँदैन, किनकि भ्रष्टाचारीले सधैँ मुटुमा ढङ्ग्रो ठोकोस् । मैले भ्रष्टाचार गरेको छु भोलि कुनै पनि बेलामा सरकारले प्रमाण फेला पार्‍यो भने मुद्दा चल्छ भनेर ऊ नमरुन्जेल मुटु ढुकढुक हुनु परोस् ।

अर्को भ्रष्टाचार जस्तो जघन्य अपराधमा तलमाथि गर्नु हुँदैन । यहाँ कसैले कसैको ज्यान मार्‍यो भने त्यसलाई जहिले अनुसन्धान गरेर मुद्दा चलाउन सकिन्छ । यो त त्योभन्दा कम खतरनाक कुरा होइन । त्यसकारण प्रमाण जहिले फेला पर्छ, त्यहीँबाट मुद्दा सुरु गर्ने व्यवस्था गर्नु पर्छ ।

व्यवहारमा राष्ट्रियसभालाई अत्यन्तै कमजोर बनाइयो । त्यहाँ त राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउने काम भयो ।

गोविन्दराज जोशीदेखि मोतीलाल बोहरा लगायतको धेरैजना भ्रष्टाचार मुद्दामा पर्नुभएको छ। रवीन्द्रनाथ शर्मालगायतका धेरै उदाहरणका रुपमा छन् । हाम्रो अभ्यास व्यवहारिक भएन भनेर संशोधन गर्ने अवस्थामा हदम्याद राख्नु हुँदैन भन्ने कुरा जानु गलत हो ।

जसले जस्तोसुकै कुरा गरे पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन । भ्रष्टाचारीलाई कहिले उन्मुक्ति दिनु हुँदैन ।  जहिले प्रमाण फेला पर्छ, त्यहीँबाट अनुसन्धान गर्ने गरी कानुनमा निश्चित गर्नुपर्छ । भ्रष्टाचारीलाई मुद्दा चलाउन हदम्याद राख्नु पर्छ भन्ने गलत कुरा हो ।

हाम्रो राष्ट्रियसभा विज्ञहरूको सभा हो । सल्लाहकार परिषद् अथवा प्रतिनिधि सभाबाट भएका त्रुटि पनि सच्याउने विज्ञहरू बस्ने थलो हो भन्छौँ हामी । अब राष्ट्रिय सभाबाट पारित भएर अवकाश वा पदबाट हटेपछि भ्रष्टाचारको मुद्दा पाँच वर्षभित्र चलाइसक्नु पर्ने भनेर आयो । राष्ट्रिय सभाको परिकल्पना त राम्रै भएको हो । तर व्यवहारमा राष्ट्रियसभालाई अत्यन्तै कमजोर बनाइयो । त्यहाँ त राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउने काम भयो । त्यहाँका कुनै सदस्यले नेताको कुरा नसुनी नबोल्ने अवस्था भएकाले राष्ट्रियसभाको गरिमा राम्रो छ भनेर सोच्ने अवस्था छैन ।  यहाँसम्म कि राष्ट्रिय सभा हुनु र नहुनुमा अन्तर छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश, संवैधानिक पदाधिकारी, प्रधानन्यायाधीश, सभामुख, संवैधानिक आयोगका सदस्यमाथि पदमै हुँदा भ्रष्टाचारको आरोपमा सोधपुछ र अनुसन्धान गर्न पाउँदैन भन्ने ब्याख्या गरिँदैछ । अख्तियारले उनीहरू अवकाश भएपछि मात्रै अनुसन्धान गर्न पाउँछ भनिँदैछ । यो भ्रष्टाचार मैत्री कानुन बनाउने कुरा भयो । नेताहरूको हाउभाउबाट उनीहरू पनि भ्रष्टाचार मैत्री देखिन्छन्, मुखले एउटा र व्यवहारले अर्को गरेका छन् ।

अख्तियार पनि कोहीप्रति जिम्मेवार छैन । उसले चाहे कुनै किसिमबाट मुद्दा चलाउँछ चाहेन भने जसरी पनि दबाउँछ । अख्तियार जस्तो संस्था अहिले जुन अवस्थामा छ, यो लोकतान्त्रिक व्यवस्थाका लागि आवश्यक छ कि छैन त ? पहिला त्यही प्रश्न आएको छ । अहिले त संविधान संशोधन गर्न दुई ठूला दलको गठबन्धन सरकार बनेको छ ।

अख्तियार जस्तो संस्था रहनु पर्ने हो कि होइन बहस आवश्यक छ । यदि नरहने हो भने त्यसका काम जिम्मेवार कुन संस्थाले कसले गर्ने ? यो गम्भीर प्रश्न छ ।

ती दुई दलको सरकार बनेपछि अख्तियारलाई यस्तै राख्ने वा बलियो बनाएर क्षेत्राधिकार विस्तार गर्ने कुरा अहिले महत्वपूर्ण हुन्छ । त्यसकारण अहिले यसतर्फ नगएर मूलतः अख्तियारको औचित्य छ भने कस्तो चाहिने हो बृहत् छलफल गर्नुपर्छ ।

असल नियतबाट गल्ती भए त्यसलाई भ्रष्टाचारमा राखिनु हुँदैन । भ्रष्टाचार भनेको त बदनियतसाथ कसैले गलत काम गर्छ भने त्यो हो । त्यस्तोमा जोसुकैमाथि मुद्दा चलाउनुपर्छ । त्यो कुरा अहिलेसम्म अख्तियारले गरेको छैन । बदनियतका साथ गरिने कुनै पनि कुरा भ्रष्टाचार हुनुपर्छ । अहिलेसम्म अख्तियारले त्यस्तो व्याख्या गरेर कसैलाई मुद्दा चलाएको छैन।

शैक्षिक योग्यताको सन्दर्भमा नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएमा अख्तियारले हेर्ने हो कि प्रहरीले अनुसन्धान गर्दा हुने हो ? । त्यसैले यसमा अख्तियार जस्तो संस्था रहनु पर्ने हो कि होइन बहस चाहिएको छ । यदि नरहने हो भने त्यसका काम जिम्मेवार कुन संस्थाहरूले कसले गर्ने हो ?

अर्को, अख्तियालाई अहिले जुन किसिमको अधिकार दिइएको छ, कटौती गर्नुपर्ने कुराहरू के के हुन् छुट्ट्याउनु पर्नेछ । यसमा सबैको ध्यान जान जरुरी छ । कुनै पनि उजुरी परिसकेपछि त्यसको अवस्था अनुसार कति गम्भीर प्रकृतिको अपराध हो भन्ने छुट्याएर अनुसन्धान सुरु हुनुपर्छ । र, यति समयभित्र अनुसन्धान सकेर कानुनी कारबाही हुनुपर्छ भन्ने व्यवस्था चाहिन्छ ।

एउटा उजुरी परिसक्यो अनुसन्धान गर्दै छ भनेर १० औँ वर्ष राख्नु हुँदैन । त्यसले अस्थिरता कायम गर्छ । तर भ्रष्टाचार गरेको कुरा धेरै वर्षपछि पत्ता लाग्यो भने त्यसलाई अनुसन्धानबाट उन्मुक्ति दिनु हुँदैन भन्ने मेरो मान्यता हो ।

अख्तियारमा वा निर्वाचन आयोगमा राजनीतिक रूपले पूर्वाग्रह राखेर आफूअनुकूल र विपक्षीप्रतिकुल पदाधिकारी नियुक्ति गरेको कुरा छर्लङ्ग छ । जसविरुद्ध उजुरी परेको छ, उसैले आफ्नाविरुद्ध अनुसन्धान गर्ने कुरा हुँदैन । नियुक्ति गर्ने संवैधानिक परिषद् छ, त्यसले ठिक ठाउँमा गलत मान्छे राखिएको भएर ती संस्था बदनाम भइरहेका छन् ।

अहिले संवैधानिक परिषद्कोको कामको विषयलाई पनि मूल्याङ्कन गर्नुपर्ने अवस्था छ । जथाभावी नियुक्ति दिएकोले समस्या भएको छ । ५२ जना मान्छेलाई संवैधानिक परिषदमा नियुक्ति गरिदिएको छ । त्यो मुद्दालाई अनेकौँ किसिमबाट अदालतमा अल्झाएर राखिएको छ । त्यसकारण यो सबै कुरा सुधार गर्न नेतृत्व लाग्नु पर्ने हो । तर विडम्बना जसले सबै बिगारेको छ, उसैको हातमा नेतृत्व छ ।

अहिले प्रचलनमा रहेका भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ का कानुनी व्यवस्था प्रत्यक्ष- अप्रत्यक्ष हदम्यादका सन्दर्भमा राष्ट्रिय सभाबाट पारित भएर जानु नै यिनलाई कमजोर बनाइयो भन्ने हो।

एउटा उजुरी परिसक्यो अनुसन्धान गर्दै छ भनेर १० औँ वर्ष राख्नु हुँदैन । त्यसले अस्थिरता कायम गर्छ । तर भ्रष्टाचार गरेको कुरा धेरै वर्षपछि पत्ता लाग्यो भने त्यसलाई अनुसन्धानबाट उन्मुक्ति दिनु हुँदैन भन्ने मेरो मान्यता हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५४/४५ मा सरकारी र सार्वजनिक सम्पत्तिको नोक्सानीसम्बन्धी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद नहुने व्यवस्था छ भनिएको छ, तर हामीले नयाँमा हदम्याद राख्न खोज्यौँ । भएका कुरालाई कमजोर बनाउने र बलिया कुरा राख्न कोसिस नगर्ने समस्या नै कुशासनको प्रमुख कारण हो ।

सरकार केही महिनाकै फरकमा फेरिन्छन् । प्रवृत्ति एउटै भएका व्यक्ति सत्तामा बस्दा राम्रो भएको केही देखिँदैन । यसमा नागरिक समाज बुलन्द हुनुपर्छ । संवैधानिक निकायले पनि यसमा ध्यान दिनुपर्छ । सार्वजनिक सम्पत्ति नोक्सानीका सन्दर्भमा हदम्यादको व्यवस्था गर्नु भनेको विशेष समयपछि क्षमादान दिनु जस्तै हो । अपराधीलाई कहिले पनि क्षमादान दिनु हुँदैन । त्यस्तोलाई क्षमादान दिनु राष्ट्रघात जस्तै हो ।

पहिलादेखिकै हेर्दा राजनीतिक दलहरूको निर्णयलाई भर गर्न सकिँदैन । भर गर्ने भनेको यी नेतृत्वहरूले संसदमा गएर आफ्ना धारणा थाँती राखेर बोलेअनुसारको गर्नसके मात्रै विश्वास गर्न सकिन्छ ।

धेरै अगाडिदेखि नेपालको अवस्था दयनीय छ । भ्रष्टाचार नियन्त्रणमा कानुन संशोधन गर्नुपर्ने हो । त्यो कानुन संशोधनमा जाँदा पनि भ्रष्टाचारलाई संरक्षण गर्ने विधेयकहरू संसदले पास गर्न लाग्नु भनेको सुधारको लक्ष्य हुँदै होइन । यही रूपमा गए भविष्यमा भ्रष्टाचार झन् बढ्छ भनेर बुझ्दा हुन्छ ।

सन् २०२० को प्रतिवेदन सार्वजनिक हुँदा केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । तर त्यो प्रतिवेदन तत्कालीन सरकारले अस्वीकार गरेर खारेज नै गरेको थियो । अहिले तिनै ओली प्रधानमन्त्री छन् ।

राजनीतिक मान्छेले भ्रष्टचारको फाइल खोल्छु भनेर कुनै अर्थ छैन । भ्रष्टाचारको फाइल खोल्नुपर्ने अख्तियारले हो । कुनै गृहमन्त्रीले, प्रधानमन्त्रीले भ्रष्टाचारको फाइल खोल्छु भनेर खोलिने कुरा होइन । कानुन बमोजिम संवैधानिक निकायले फाइल खोले मात्र भ्रष्टाचार घट्न सक्छ ।

अब संविधानबाटै सुधार गर्नुपर्छ । संवैधानिक परिषद्‍बाट नियुक्ति गर्ने जुन परिपाटी छ, त्यसमा सुधार नगरी भ्रष्टाचार नियन्त्रण गर्ने ठाउँमा उचित योग्यताको मान्छे पुग्न सक्दैनन् ।

अर्को, अख्तियार कोप्रति जिम्मेवार छ त ? कोहीप्रति छैन । त्यो जिम्मेवार नहुनुको कुरा त्यहाँ नियुक्त हुने पदाधिकारीहरू वा अरु संवैधानिक निकायका पदाधिकारी जनताप्रति जिम्मेवार छैनन् ।

अर्को कुरा, देशमा जुन निर्वाचन प्रणाली छ, त्यो नै एउटा भ्रष्टाचार बढाउने माध्यम भएको छ । चुनावको बेला खर्च २५ लाख भनेर राखिएको छ । तर करोडौँ खर्च हुन्छ, राजनीतिक नेताहरू चुनाव खर्च भने २४ लाख मात्रै देखाइदिन्छन् ।

राजनीतिक दलले कुनै व्यक्तिलाई उम्मेदवारी दिन्छ भने त्यो उम्मेदवारी अनुसारको जिम्मा दलले लिनुपर्छ कि पर्दैन ? उसलाई टिकट दिएर मात्रै पुग्दैन । उ भ्रष्टाचारमा लिप्त छ, छैन, चरित्र ठिक छ कि छैन ?  बेठिक भए राजनीतिक दलले सही मान्छेलाई मात्रै टिकट दिनुपर्छ । टिकट जसले पायो, त्यसले करोडौं खर्च गरेर जितेपछि भ्रष्टाचार नगरे के गर्छ त ?

त्यसकारण राजनीतिक दलसम्बन्धी कानुन पनि बदलिनु पर्‍यो । निर्वाचन आयोग कानुन पनि बदलिनु पर्‍यो । सरकारलाई जिम्मेवार बनाउन संविधान संशोधन गर्नुपर्छ । तबमात्रै सुधार हुँदै जान्छ ।

(भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षको हदम्याद राख्ने कानुनी प्रबन्धबारे वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश  )

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ९ : २४ बजे

अनुशासनमा नरहेपछि कारबाहीमा परे भीम रावल : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा – चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा

तिलावे पुल मर्मत सम्भारको माग

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज