माओवादी नेता कालीबहादुर मल्ल
काठमाडौं- नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि यतिबेला आन्तरिक विवादमा परेको छ । माओवादीको मूल नेतृत्व २०६२/६३ को जनआन्दोलनपछि बृहत् शान्ति सम्झौतायता निरन्तर सरकारमा रह्यो । माओवादीले धेरै पटक सरकारको नेतृत्व नै गर्यो। तर उसको सत्तायात्राले उसलाई सधैँ ओरालोतिर लगिरहेको देखिन्छ । यही प्रश्न माओवादीको मूल नेतृत्वतिर तेर्सिराखेको छ ।
उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको बैठकमा उठाएका सवाल र बहस हेर्ने हो भने माओवादी अब उठ्नै नसक्ने धरातलमा पुग्यो भन्नेसम्मको टिप्पणी भइरहेको छ । शर्माको दस्तावेज कति सत्यको नजिक छ वा अथवा छैन ? शर्मा माओवादीको मूल नेतृत्वप्रति कति पूर्वाग्रही भए या यथार्थपरक हुन् ? यसबारे माओवादीले तल्लो तहमा छलफल गर्ला या नगर्ला ? माओवादी यी प्रश्नहरु अहम बनेका छन् ।
महासचिव देव गुरुङले शर्माको प्रतिवेदनको औपचारिक रूपमै प्रतिवाद गरेका छन् । तर, के माओवादी केन्द्र सुध्रिनै नसक्ने गरी बिग्रिएको हो त ? अब सुधारको सुरुवात कताबाट गर्ने ? जगबाट या धुरीबाट ? यिनै विषयमा जोडिएर माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानी :
स्थायी समिति बैठकमा गर्मागर्मी बहस भयो । अब हामी सिद्धिने भयौँ, उठ्नै नसक्ने भयौँ, जग नै खलबलियो, धुरी खाँबो नै मकायो, दलिन नै भाँचिने भयो भन्ने बहसमा तपाईंहरू हुनुहुन्छ । खास यो बहस गर्नुपर्ने अवस्था यति छिट्टै किन आयो ?
यो त स्वाभाविक प्रक्रिया हो । अब परिस्थितिसँगै पार्टी पनि रूपान्तरण हुनुपर्छ । अरु पार्टी र कम्युनिस्ट पार्टीमा धेरै फरक हुन्छ । अरु पार्टीमा बनिबनाऊ कुरा मात्रै हुन्छ । कम्युनिस्ट पार्टी भनेको एउटा लक्ष्यसँग जोडेर आफूलाई रूपान्तरण गर्दै अघि बढ्नेमा पर्छ ।
अहिले पनि हाम्रो बैठक चलिरहेको छ । माओवादी तल जाँदै छ भन्ने कुरा पनि स्वाभाविक हो । अब हामीले उकालो लाग्ने तयारी गर्नु पर्छ भन्ने बैठकको मूल उद्देश्य हो
पुरानो धार छोडिसकेर नयाँ धार समाउन नसकेको अवस्था हो ? अहिले माओवादी अलमलको अवस्थामा हो ?
नेपालको राजनीति अस्थिरताबाटै गुज्रिएको छ । हामी शान्ति प्रक्रियामा आएपछि सरकारमा पटक पटक नेतृत्व गरिसकेको स्थिति छ । अब प्रतिपक्षमा भएपछि पार्लियामेन्टमा जनताका कुरा राख्ने, जनताका कुरा सुन्ने कुरामा हाम्रो भूमिका हुनुपर्छ । त्यो कामको लागि पार्टीलाई नयाँ ठाउँमा पुर् याउनु पर्छ भन्ने हो । अध्यक्षले पनि त्यही कुरा राख्नु भएको छ ।
पार्टी नेतृत्वमाथि घेराबन्दी गर्ने एउटा रणनीतिअनुसार यो कुरा बहसमा आएको त होइन ?
होइन, हामी बैठक बसिरहन्छौँ । बिचारको विकास गर्ने बेलामा बहसहरू विभिन्न कोणबाट हुनुपर्छ । यो सही छ, त्यो सही छ भनेर हुने बहस नराम्रो होइन । छलफल गरेर हाम्रो पार्टीलाई गति दिनु आवश्य छ । पुरानो बिचार त छुटिसक्यो, हामीले एउटा चरण पार गरिसक्यौँ ।अब अर्को कोर्ष सुरु भइसकेको छ ।
त्यो सुरुवात हुनेबित्तिकै विचारको विकास, पार्टी रूपान्तरणको कुरा र सबै तहका पार्टी संरचनामा बदलिँदो परिस्थितिअनुसार आफूलाई उभ्याउनु पर्छ भनेर लागिरहेका छौँ । कुन विचारले नेतृत्व गर्न सक्छौँ भनेर उठेका प्रश्न हुन् यी ।
माओवादीमा विचारको विकास हुँदै गर्दा मूल नेतृत्वविरुद्ध खरो रूपमा उत्रिने कुनै पनि नेता राजनीतिमा टिक्दैनन्, सकिन्छन् भन्छन्, अब जनार्दन शर्मा पनि त्यही बाटोमा हिँडेका हुन् त ?
हामी लामो समयदेखि सँगै छौँ । महत्त्वाकांक्षा भएका र विचार मिलेर भनेर केही साथीहरू विगतमा छाडेर जानुभयो । विषय वस्तु सबै उठान भएका छन् । साथीहरूले आफ्नो मत कहिले लिखित त कहिले मौखिक राख्नु हुन्छ । लिखित प्रस्तावलाई बाहिर ल्याउने होइन । नेतृत्वलाई दिएको सुझाव भनेको सबै साथीहरूको मतको सुझाव हो । पार्टीलाई नेतृत्वलाई सुझाव पनि चाहिन्छ, आलोचना पनि चाहिन्छ, यो पार्टीको बनावटको कुरा पनि हो ।
मूल नेतृत्व कर्णाली प्रदेशमाथि किन रुष्ट भएको हो ?
नेतृत्वले कर्णाली प्रदेशलाई त्यस्तो गरेको जस्तो आभास छैन । एमालेसँग सहकार्य भइसकेपछि प्रदेशका सबै मुख्य मन्त्री फेरिए । प्रदेश बाँडफाँका बेला कर्णाली पहिलो चरणमा एमालेको भागमा परेको हो । अघिल्लो चोटी कर्णाली हाम्रो भागमा थियो । त्यो मूल्याङ्कन गरेर नै निर्णय लिएको हो । कर्णाली प्रदेशमा पार्टीको अवस्था पनि ख्याल गरेर हामीले पहिलो पटक नेतृत्व लिएका हौँ ।
पछिल्लो गठबन्धन बदल्ने बेला कर्णाली प्रदेश हाम्रोमा परेन, एमालेको भाग लाग्यो । हामीले पहिले नै भनेको हो । मुख्य भनेको नेतृत्वको कुरा हो । अघिल्लो चोटीको कुरा नहेर्ने त । त्यसैले अहिलेको बाँडफाँटको अवस्था हेरेर कर्णालीलाई नेतृत्वले कर्के नजरले हेरेको भन्नु उचित होइन ।
खास गरी पार्टी निर्माणको अभ्यास हाम्रो भिन्न प्रकृतिको छ । त्यसैले डेमोक्राटिक ढङ्गले जानु पर्छ भन्ने हो । यो विधि युद्धदेखि अहिलेसम्म आयो, यसले मात्रै पार्टी निर्माण हुँदैन भन्नेमा हामी सबै लागेका छौँ । कसैले लेखेर भन्ला, कसैले बोलेर भन्ला, विषय पार्टी निर्माण नै हो । विधिमा चल्नु पर्छ भन्ने हो, त्यही कुरा जनार्दनले बेला बेला राख्नु हुन्छ ।
उहाँले आफूलाई नेतृत्वले पार्टी फुटाउन लाग्यो भन्ने गुनासो गर्नुभयो । एमालेमा जान लाग्यो भनेर प्रचार गरियो भन्नुभयो । समानान्तर कमिटी बनाएको, पार्टी फुट्ने भनेर भ्रम फैल्याएको, अन्तरविरोध समाधानको सट्टा चर्काएको, परिवारवाद हावी भएको, जनताबाट सङ्गठनलाई अलग गरेको सहितका पार्टी जीवनसँग जोडिएका सङ्गीन प्रश्नहरू रहेछन् नि ?
यी प्रश्नबारे अध्यक्षले जवाफ दिनु होला । बाहिर आइसकेका कुरा लुकाउने काम छैन । यसको समाधानको विकल्पसहित जवाफ दिनेबारे छलफल भइरहेको छ । आरोप लागिसकेको छ अध्यक्षले प्रष्ट पार्नु हुन्छ ।
मूल नेतृत्व परिवर्तन नै गर्नुपर्छ भन्ने कुरा के हो ? बहुमत सदस्यले फेर्न खोजेकै हुन् त ?
अहिले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मत हो यो । यो कुरा पहिला पनि उठेको थियो । बैठकमा सबैको सल्लाह र सुझावसहित निर्णय हुन्छ, तत्काल नेतृत्व परिवर्तन नगर्ने भन्ने छ ।
कम्युनिस्ट पार्टीको नेतृत्वको आधार विचार हो । त्यही कारण वैचारिक प्रश्न बढी हुने गर्छन् । जुनबेला पनि नेतृत्व फेरेर विचारको रिकभर गर्ने स्थिति होला कि नहोला ? त्यताबाट पनि हेर्नुपर्छ । विषय उठेपछि एउटा प्रकृयामा पुर् याएर टुंग्याउनु भने पर्छ ।
बृहत् शान्ति सम्झौतासम्म आउँदा माओवादीको विचार, नीति भनेको प्रचण्डपथ थियो । संसदीय अभ्यासमा आइसकेपछि त्यो विचार, नीति र नेतृत्वले काम गरेन भन्ने स्वीकार्नु पर्ला नि ?
काम गरेन भनेर हुँदैन । संसद्भित्रको अङ्कगणितका आधारमा मूल्याङ्कन गर्दा राम्रो हुन्छ । संसदमा पुग्न कार्यदिशा र बाटो चाहियो । माओवादी लामो समय संक्रमणकालबाटै गुज्रियो । जस्तोः संविधान निर्माणका बेला सुरुमै भएन, दोस्रो संविधानसभा बनाउनु पर्यो, हामी अलमलमा पर्यौँ । संविधान जारी भएर त्यो प्रयोगमा पनि आएको छ ।
अहिले पनि संविधानअनुसार ऐन-कानुन बनाइएको छैन । संविधानअनुसार चल्ने प्रदेश बनेका छैनन् । धेरै ऐन–कानुन प्रदेशमा बनेको छैन । यस्ता आन्तरिक कुरामा समय लागेकाले त्यता ध्यान पुगेन । मुख्य नेतृत्व यता ब्यस्त भए हामीजस्ता नेता गाउँमा जाने भयौँ । त्यही पनि आठौँ महाधिवेशनले कार्यदिशा पास गर्यो । त्यसलाई व्यवस्थित रुपमा व्याख्या गर्न बाँकी छ । यही कार्यदिशाको आधारमै जनताले हामीलाई नबुझ्दा कमजोर भएका हौँ ।
जनार्दन शर्मा
अब जे भए पनि माओवादीलाई माथि लैजान बहस गर्नु पर्छ । सबैको चिन्ता छ, पार्टीप्रति लेखेर मात्रै हुँदैन । आफ्नो कार्यकर्ताले आफ्नो कमजोरी कहाँ चुके भनेर पनि बुझ्नु पर्यो, सबै अध्यक्षको थाप्लोमा हालेर पन्छिने कुरा हुँदैन ।
पार्टी नेतृत्व कत्तिको चिन्तनशील छ त यसमा ? शेख हसिनालाई जस्तै मलाई पनि अमेरिकाले हटायो भनेर तपाईँको पार्टी अध्यक्षले भन्नुभयो क्यारे । चिन्ता पार्टी कमजोर भयो भन्दा पनि सरकारबाट बाहिरिनु पर्यो भन्ने परे जस्तो देखिन्छ ?
कतिपय कुरामा दुई अर्थ लाग्छन् । परिस्थितले पनि त्यो स्वीकृत गरेको हो । नेतृत्वको वरिपरिका टिमहरूले, विज्ञहरूले सोचेर अगाडि बढ्नु पर्छ ।
शान्ति प्रक्रियाको कुरामा पनि माओवादीले पूरा गर्नुपर्ने काम गरिसक्यो । र, अहिले हाम्रो पार्टीमा उठेका विषय वस्तु र सदस्यहरूका राय सुझाव समेटेर समृद्ध बनाएरै अगाडि बढौँ भन्ने धारणासहति अब पार्टी नफुट्ने हाम्रो निष्कर्ष हो ।
अहिले माओवादीहरुको केन्द्रीकरणको आवश्यकता हो । यहाँभित्रका सबै कुरा सुदृढ गरेर जाने हो । अरूले जे भने पनि सप्रिने, बिग्रिने आफैँमा भर पर्छ, माओवादीमै भर पर्छ ।
प्रतिक्रिया