अन्तर्राष्ट्रिय

कोलकोता बलात्कार प्रकरण : मेडिकल कलेजका पूर्व प्रमुख र प्रहरी इन्चार्ज प्रक्राउ

By खबरहब

September 15, 2024

कोलकाता– भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्या प्रकरणमा दुईजना सरकारी अधिकारी पक्राउ परेका छन् ।

सीबीआईले मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई शनिबार पक्राउ गरेको हो ।

समाचार अनुसार सीबीआईले उनीहरुलाई प्रमाण मेटाउन खोजेको, बेपत्ता पार्ने र ढिलो गरी जाहेरी दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो । अब यी दुवैजनालाई आइतबार अदालतमा पेश गरिँदैछ ।

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सीबीआईको हिरासतमा छन् । हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ । अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने छ ।

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो ।

त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो । शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो ।

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन् । उनी हाल सीबीआईको हिरासतमा छन् ।

अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन् । घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ ।

यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए । उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो ।

बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ । यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन् । उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन् ।