समाचार

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

By खबरहब

September 15, 2024

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आइतबार कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

मन्त्री भण्डारीले भने, ‘इमानदारीपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।’

सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रूपले समाधान गर्न सकिने धारणा राखे। ‘यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुपर्छ भनेर गरिएको होइन, वास्तविक रूपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौँ’, उनले भने ।

वर्तमान अवस्थामा विभिन्न चुनौतीहरू रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गरे । उनले भने, ‘काम गर्ने क्रममा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमानदारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहज रूपले समाधान गर्दै जानुपर्छ ।’

मन्त्रालयका सचिवद्वय राउत र कार्कीले उक्त कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए  ।