भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता, पार्टी नछाड्न दबाब | Khabarhub Khabarhub

भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता, पार्टी नछाड्न दबाब


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

टीकापुर – नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् ।

रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र छलफल गरेका छन् ।

रावलका कुरा सुन्न एमालेका अगुवा कार्यकर्ताहरू जम्मा हुन थालेका छन् । छलफलमा एमालेका प्रदेश, जिल्ला, गाउँ तथा नगर र वडाको जिम्मेवारीमा रहेका अगुवा कार्यकर्ताले अब नयाँ पार्टी बनाएर अघि नबढ्न पनि सुझाएका छन् ।

अर्को थरीले कुनै पार्टीमा जाने कुरा उचित नहुने बताउँदै पार्टी नछाड्न, बरु टिकेर बसिरहन पनि सुझाएका छन् ।

शुक्रबारको टीकापुरमा भएको भेलामा पुराना नेता शिवदत्त उप्रेतीले भने, ‘यहाँ तपाईंको गृहजिल्ला अछाम पुर्ख्यौली थलो भएकाहरू धेरै छन् । उनीहरू तपाईंलाई भन्न सक्दैनन् तर, सबैको चाहना तपाईंले एमाले छोड्न हुन्न भन्ने छ ।’

उप्रेतीले एमालेमै रहेर संघर्ष गर्दा पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने सम्भावना रहेको पनि रावललाई सुझाए । रावलको क्षमता, विद्धता र देशभक्तिको प्रशंसा गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग कसरी मिलेर जान सकिन्छ भन्ने कुरामा प्रयत्न गर्नुपर्ने सुझाव दिए ।

चितवनमा भएको दशौँ महाधिवेशनपछि धेरै एमाले अगुवाहरू नेता रावलसित खुलेर भेट्न नमानिरहेका बेला टीकापुरमा भने प्रायः सबै पुराना र अगुवा नेता उपस्थित थिए ।

टीकापुरमा प्रेम साउद , भोजराज शर्मा, नगरका पूर्व मेयर तपेन्द्र रावल, दानबहादुर विक चित्रण, खड्क साउद, मातृका तिमिल्सेना, नगर अध्यक्ष लक्ष्मण थापा, टीकापुर नगरपालिका–१ का वडाअध्यक्ष मोहन विक, दीपक रावल, ध्रुवराज खत्री, जनकराज खड्का, सरिता रावल थापा, धनबहादुर रावल, लगायत रावलका कुरा सुन्न जम्मा भएका थिए ।

टीकापुरमा रावललाई भेट्न उनी बसेको होटलमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेसनिकट नेता कार्यकर्ता पनि पुगेका भेटिए ।

लम्कीचुहाको कार्यक्रममा पनि पूर्वमेयर महादेव बजगाईँ, लालबहादुर बोगटी लगायत नेताले रावलका कुरा सुने । नेता बजगाईंले आफ्ना नेताको कुरा सुन्दा गल्ती नहुने बताउँदै आफू फलेको हाँगो मात्रै हेर्ने अवसरबादी नभएको बताए ।

बर्दगोरिया गाउँपालिकामा एमालेबाट निर्वाचित पालिका अध्यक्ष कर्णबहादुर कुँवर, गोदावरीको अत्तरियामा पूर्व प्रदेशमन्त्री एमव् एमालेका पुराना नेता कृष्णराज सुवेदी लगायतले रावललाई भेटेका थिए ।

रावलले भेटमा नेकपाका संस्थापक पुष्पलालले कम्युनिष्ट पार्टी स्थापनादेखि राष्ट्रियता र जनजीविकाको सवाल उठाएर पार्टी बलियो बनाएको बताउँदै त्यही कुरा आफूले उठाउँदा अहिले पेलानमा पारिएको बताए ।

उनले नेता कार्यकर्तासँग एमालेको राजनीति, देशको अवस्था र भूराजनीतिक जोखिमबारे पनि बोल्ने गरेका छन् ।

‘नेपालमा सात महिनामा सात पटक अमेरिकी सेनाका जहाज आए । ती जहाजमा हजारौँ टन हातहतियार थिए । शिवपुरी माविमा अमेरिकी सेना ड्रम बजाएर बस्छन् । जबकी हाम्रो सेना, प्रहरी पनि स्कुलमा छिर्नु हुँदैन’, रावलले भने, ‘नेपालको कानुनभन्दा माथि कुनै कानुन छैन र हुँदैन ।’

उनले राष्ट्र, राष्ट्रियताका कुरा उठाउँदा आफूलाई देश र पार्टीविरुद्ध बोलेको जस्तो व्यवहार गरिएको भन्दै चित्त दुखाए ।

‘त्यही मेरो गल्ती हो भने कारबाही गर्नुस् भनेर मैले भनेको हुँ’, उनले भने, ‘रावललाई नभेट्नु, रावलका कार्यक्रममा नजानु, माइनस हुन्छस् भनिन्छ रे ! यस्तो के गर्न खोजिएको हो ?’

डा.सीके रावत, उपेन्द्र यादव, कमल थापा, राजेन्द्र महतोलाई एमालेले समर्थन गर्दा विधि, प्रक्रिया पुर्‍याएर सिफारिस भएको आफ्नो उम्मेदवारी रोकिएको भन्दै रावलले चित्त दुखाए ।

उनले त्याग, समपर्ण, इमान्दारिता, सिद्धान्तले मात्रै पार्टी बन्ने बताउँदै आफूले कुनै चरित्रहीन काम र आर्थिक अनियमितता नगरेको पनि बताए । त्यहीकारण आफूलाई तल्लो तहबाट समर्थन मिलेको बताए ।

काठमाडौंमा गौरा पर्व मनाउँदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरोध हुँदा आफूलाई आरोप लागेको पनि बताए । ‘भीम रावलका मान्छेले गरे ठिक पार्नुपर्छ भनेर पक्राउ गरियो । ती त विप्लव र बालेनका मान्छे रहेछन्’, उनले भने, ‘कहाँ सच्चिनु पर्ने हो भन्ने ध्यान दिन छाडेर विरोधलाई दबाउन खोज्नु ठिक होइन ।’

उनले एमाले छोड्ने कुनै मनस्थिति नबनाएको बताए । यदि एमाले छाड्न बाध्य बनाइए पनि आफू एकीकृत समाजवादीतिर नजाने उनले बताए ।

‘म समाजवादी हुने भए माधव नेपाल दलबलसहित मेरो घरमा आएको बेला सुरुमै जान्थेँ’, उनले भने, ‘मैले पार्टी कमजोर बनाउनु हुन्न, पार्टीमा वाद, विवाद र सम्वाद हुनु स्वभाविक हो भन्ने ठानेँ । तर मलाई वर्ग शत्रु मान्न थालिएको छ ।’

वर्तमान सरकारबारे टिप्पणी गर्दै रावलले यो सरकारलाई शंकाको सुविधा दिने पनि बताए ।

‘तर हिजो हामीले कांग्रेसले नदीनाला बेच्यो भन्यौँ । अब भोलि चुनावमा एमालेले कसरी कांग्रेसको विरोध गर्छन् ? के भनेर एकअर्काको विरोध गर्ने ?’, उनले भने, ‘अहिलेको संविधानअनुसार ठूला दलको सरकार बनाउन नहुने हो ।’

उनले अहिलेको अवस्था २०४८ को अन्तरिम सरकार, ०५६ को चुनावी सरकार र ०६३ पछिको परिवर्तनकालको जस्तो नभएको पनि जिकिर गरे ।

कांग्रेस र एमाले ठूला दल मिल्न नहुने बताउँदै उनले मिलिसकेपछि देशले निकास पाउनुपर्ने बताएका छन् । ‘नेपाल नै नमान्ने डा. सीके राउत र संविधान नमान्ने रेशमहरूलाई किन सरकारमा राखियो ?’, उनले भने, ‘दुईतिहाइकै लागि हो भने उपसभामुख इन्दिरा राना मगरलाई हटाउन त दुईतिहाइ पुगेन नि ?’

उनले भारतसँगका असमान सन्धिमा फरक आए, सीमा समस्या समाधान भए, युवा पलायन रोकिए, भारत लगायत देशबाट आउने खाद्य पदार्थको गुणस्तर मापन गरे, बाजुरा र कर्णालीका स्याउ नकुहिने वातावरण तयार भए, गेटाको भौतिक संरचना अनुसार सेवा सञ्चालन भए यो सरकारको खुला समर्थन गर्ने उनले बताए । शक्तिशाली सरकारले चाहे ती काम हुने उनको बुझाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : २१ बजे

अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ ।

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको

नेपाल एयरलाइन्सले फूलपातीमा काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज