समाचार

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

By खबरहब

September 15, 2024

काठमाडौं – सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको हो ।

महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई पठाइएको छ । गत ५ माघमा परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए ।

मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सूचना तथा प्रसारण विभागका महानिर्देशक बलाराम रिज्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।

त्यस्तै उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेसमा कार्यरत राजीव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ । राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौलागाईको पोखरा महानगरपालिकामा सरुवा गरिएको छ ।