चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन  | Khabarhub Khabarhub

दशैँ वार्ता

चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन 

निम्ता गरेको घरमा मात्र टीका



महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन काठमाडौंका रैथाने नेवार हुन् । उनी काठमाडौं विभिन्न संस्कार संस्कृति र जातजातिले भरिपूर्ण सहर भएकाले यसको संरक्षण गर्नु जुनसुकै व्यक्तिको पनि दायित्व भएको बताउँछन् । कुनै बेलाको  दशैंमा काठमाडौंमा नेवार जातिहरू मात्र हुने तर अहिले अन्य जातिहरू पनि उतिकै भएकाले यो हुन् सकारात्मक पक्ष रहेको महर्जनको मान्यता छ ।  महर्जन काठमाडौंबाट निर्वाचित हुने जुनसुकै जनप्रतिनिधिले पनि यहाँको भूगोल र परिवेशलाई संरक्षण गर्नुपर्ने दायित्व भएको बताउँछन् । पछिल्लो समय केही अराजक गतिविधि गर्ने जनप्रतिनिधिहरू आएकाले यहाँको सांस्कृतिक र सम्पदाको संरक्षण नहुने हो कि भनेर चित्ता व्यक्त गर्छन् ।
उनीसँग हामीले काठमाडौँमा नेवार जाति र महर्जन परिवारले मनाउने दशैंका विषयमा कुराकानी गरेका छौँ । उनी दशैंको बेला घरको छानामा भिजिरहेको चङ्गा मिस गर्छन् ।

बच्चा बेलाको दशैं र अहिलेको दशैंबीच कस्तो भिन्नता पाउनुहुन्छ ?
बच्चा बेलामा मैले नोटिस गरेको दशैंमा छाना माथिको चङ्गा हुन्थ्यो । त्यो चङ्गा बिहान उठ्दा पानीले ल्याफ्फ भिजिसकेको देखिन्थ्यो । त्यो बेला दशैँमा चिसो बढिसकेको हुन्थ्यो । उतिबेला अहिले जस्तो मौसममा परिवर्तन आएको थिएन । त्यो मौसम अहिले पनि म मिस गरिरहेको छु । पहिला दशैंमा काठमाडौंका सबैले मोहनी मात्र मनाउने गरेका थिए । अहिले त ४०, ५० वर्षमा दशैं मनाउने दसरा मनाउने चलन छ । मल्टी कल्चरल भएको छ । अहिले काठमाडौंमा दशैंमा नेवार मात्र हैन, सबै व्यक्ति हुन्छन् । काठमाडौं अब नेवार समुदायको मात्र रहेन । सबै मिलेर बस्ने यहाँका हरेक संस्कृति र सम्पदा जगेर्ना गर्नुपर्छ ।

नेवार समुदायले दशैं कसरी मनाउँछन्  ?

यहाँको स्थानीय नेवार समुदायले दशैंलाई मोहनी भन्छ । मोहनी घटस्थापनाको दिनदेखि (दसैँ) सुरु हुन्छ । त्यो बेला स्थानीयले शक्ति पीठहरूमा आँगन घरबाट पाय खड्कगुठी दशैंघरमा लिएर जान्छन् । कोही वैनवी, कोही ज्यवीनी, कोही सिनि, चाबुन्दा, मुख खला लगाएर परम्परागत भेषभुषामा परिक्रमा गर्ने चलन छ । हाम्रो दशैको सुरुवात घटस्थापनाबाट नै हुन्छ । कल्चरल हिसाबले हेर्दा नेवारको दसैँ अरूको भन्दा फरक हुन्छ ।

दशैलाई मोहनी भनेर विशेष रूपमा हेर्छन् । मोहनी भनेको कालो टीका हो । यो बत्ती दियो बाल्दा माटोको भाँडाले छोपेर त्यसको धुवाँ जम्मा पारेर लगाइन्छ । त्यसको विशेष महत्व छ । नेवार संस्कृतिमा कालो रङलाई शुद्धताको प्रतीक मानिन्छ । त्यो कारण नेवारले आफ्नो शुभ कार्यमा कालो रङ प्रयोग गर्छन् । मान्छे शुद्ध हुन मोहनी लगाउँछन् । हामीले थाहा पाए अनुसार मोहनी पूजा कोठामा बनाइन्छ । आफ्नो पूजा कोठामा मोहनी बनाएर आफन्तलाई लगाइदिने चलन छ ।

यहाँहरूले त खड्कजात्रा पनि मान्नुहुन्छ क्यारे ?

हो । जहाँसुकै त होइन अधिकांश नेवार बस्तीको पुरानो नेवार भएको ठाउँमा पाया पा भनेको खड्का या भनेको जात्रा खड्का जात्रा मनाइन्छ । त्यो बेलामा शक्तिको प्रतीकको अर्थमा ब्याली, स्याङ, चामुण्डा, नवदुर्गा सबैको मखुन्डो लगाएर पूजा घरका भिक्षुहरूले आ आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । निकै रमाइलो हुन्छ ।

त्यसखाले परिक्रमा कुन दिनमा हुन्छ ?

दशमीको दिन हुन्छ । दशमीमा निकै रमाइलो लाग्छ । म चाहिँ संस्कृतिमा अत्यन्त रमाउने मान्छे हो । हामीले आफ्नो संस्कृति बचाउनका लागि यो कार्यक्रमहरू विशेष रूपमा काठमाडौंका नेवार समुदायले एक भएर मनाउने गरेका छौँ । यदि सम्बन्ध बिग्रिएको छ भने मुख फर्काएर भए पनि नजिकका आफन्तकोमा गएर टीका लगाउँछौँ ।

अहिले त पहिलाको तुलनामा चाडपर्व, संस्कृति मान्ने चलनमा कमी आयो होला नि हैन ?

अहँ नेवारमा त्यो छैन । मैले केही समुदायमा त्यस्तो देखेको छु । काठमाडौंको नेवार समुदायले संस्कृतिलाई विशेष महत्व  दिएका छन् । युवाले पनि पारिवारिक कल्चरका कारण संस्कृतिको रक्षा नै गर्ने गरेको देखिन्छ । हामी त संस्कारको संरक्षण गर्न जस्तोसुकै त्याग पनि गर्न तयार हुन्छौँ ।
ज्येष्ठताको आधारले विशेष सम्मान गर्ने परम्परा नेवारी समुदायमा हुन्छ । दशैंको बेला अरुबेला बिग्रिएको सम्बन्ध पनि टीका लगाउँदा सुधार्नुपर्छ । नबोलिकनै भए पनि टीका लगाइन्छ । अरुबेला झगडा भए पनि दशैंमा आफन्त मिल्छन् । आँगन घरको कालो टीका लगाइन्छ ।

निम्ता गरेको घरमा मात्र टीका लगाउन गइन्छ । अरूको घरमा गइँदैन । आफन्तले बोलाएको खण्डमा मात्र जाने चलन छ । इष्ट मित्रकोमा गइन्न । तीजमा हिन्दुले खाने दर जस्तै ‘नख्टे’  भनेर खाने चलन छ । ज्वाइँ, चेली बोलाएर खन्डे खाइन्छ । खड्कजात्रा टीकाको दिन कुभिन्डो काटिन्छ । कुभिन्डो हरेक घर घरमा काटेर दशैंको टीका लगाइन्छ ।

स्थानीय तीर्थयात्रा गर्ने प्रचलन कतिको छ ?
हो । घटस्थापना भएको ९ दिनसम्म यहाँका स्थानीय मठ मन्दिरमा तीर्थयात्रा गरिन्छ । स्थानीय तीर्थ नवमीसम्म हुन्छ । ९ वटा तीर्थ विष्णुमती, बागमती, सपन तीर्थ टोखा, चण्डेश्वरी, टेकू दोभान, भद्रकाली, पुरानो गुह्येश्वरी लगायत गइन्छ । यो पुरानो मान्छेले चलाएको राम्रो चलन हो । कुन दिन कुन मन्दिर जाने भन्ने हुन्छ । टोलभरिको मान्छे भेला भएर तीर्थ गइन्छ । कति रमाइलो हुन्छ । यो चलन चाहिँ नजिकको तीर्थ यात्रालाई संरक्षण र समाधान गर्न पनि विशेष रूपमा लिइन्छ । म पनि परिवार र समुदायसँगै तीर्थयात्रा गर्छु ।

नेवार समुदायमा दशैंको टीका लगाउने र परिकार खाने परम्परा कस्तो छ ? 
टीका पूर्णिमासम्म नै लगाइन्छ । तर कसैले टीकाको दिन मात्र पनि लगाउँछन् भन्ने सुनेको छु । हामी त पाँच दिन नै लगाउँछौँ । खानमा त नेवारहरू सोखिन नै छन् । मासु मुख्य हो । नेवारहरूको पनि दसैँ मनाउने चलन फरक हुन्छ । आरन परम्परा भए, नभएको हुन्छ । आरन पूजा भनेको घरका मात्र भएर गर्ने पूजा हो । त्यो पूजामा अरू छिर्दैनन् । आरन पूजाका बेलामा चाहिँ अरूलाई बोलाइँदैन । व्यक्ति परिवार बाहेक अरू कोही हुँदैनन् ।

यहाँ त जनताको प्रतिनिधि चाडबाडमा जनताका कस्ता चाहाना हुँदा रहेछन् ? 
कसैका व्यक्तिगत चाहाना हुन्छन् । त्यो काम म गर्दिन । व्यक्तिलाई म कहिले खुसी पार्दिन । सामाजिक राजनीतिक जीवनमा मैले धेरै अनुभव छन् । म सामाजिक रूपमा काम गर्छु । दसैँ भनेको नेपालको भूगोलमा सबैभन्दा राम्रो समय र मौसमको चाड हो । यो बेला यत्तिकै मान्छेको मन फुरुङग हुन्छ । स्थानीय मठ मन्दिर शक्ति पीठको सरसफाइ र रङ रोकन हुन्छ ।

दशैंमा त साथीभाइ भेला भएर रमाउने, खाने योजना बनाउनु भएको छ कि ? 
अरूको जस्तो म हाईफाई गर्दिन । साथीभाइलाई अरुबेला समय दिन्छु । दशैँमा परिवारलाई दिन्छु । नेताहरूको घरमा पनि जान्न । परिवारमा मात्र जान्छु । मामा घर, ससुराली जान्छु । धेरै रमाइलो गर्छु ।  नेवारमा आर्य र मंगोल, समुदायको हिसाबले हेर्दा नेवारहरू विभिन्न संस्कृति मान्ने भएकाले धेरै रमाइलो हुन्छ । म परम्परा तोडेर ठूला मान्छे खोजेर टीका लगाएर हिँड्दिन । नेता बनेर अरू साथीभाइलाई घरमा  बोलाउँदिन । चाडपर्व परिवारसंग मनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

दशैंको लागि वडाले कस्ता सुरक्षा सावधानी अपनाएको छ ? यहाँको वडा त व्यावसायिक क्षेत्रमा पर्छ । 
हो मेरो वडा विशेष भएकाले सबैभन्दा धेरै सीसी क्यामेरा छन् । भूगोलको हिसाबले सुरक्षित छ । सामानहरू पनि सुरक्षित हुन्छ । तर सुरक्षित हुन्छ भनेर सावधानी अपनाउनु पर्दैन भन्ने पनि होइन । सावधानी पनि गर्नुपर्छ । तर मैले सके जति सावधानी अपनाएको छु । ढुक्क हुनुपर्छ । यसो भन्दै लापरबाही भने गर्नु हुँदैन ।

काठमाडौँ महानगर त सांस्कृतिक सहर हो । महानगरका मेयर पनि संस्कृति बचाउन लाग्नु भएको देखिन्छ । बाहिर मात्र देखिएको हो कि उहाँले साँच्चै यहाँहरूसँग सहकार्य गरेर पुराना संस्कृति जगेर्ना गर्नुभएको छ ?

म कसैको बारेमा टिप्पणी गर्दिन । तर काम गरेजस्तो गर्नु र नगर्नु अलग हो । इन्द्रजात्रामा महानगरको मेयर कहाँ थिए ? हामी त लाग्यौँ नि उनलाई यहाँका स्थानीयले नै जिताएका हैनन् ? यहाँको संस्कार मान्नु पर्दैन ? हाम्रो त भूगोल यही हो नि । हाम्रो चाहाना त नगर बनाउने हो नि । तर उहाँले त मठ मन्दिर बाटोमा भए भनेर मास्न खोज्नु हुन्छ । नगरप्रमुख उपस्थित हुने कार्यक्रममा सनक देखाएर हिँड्नु हुन्छ । जनताले त यो कुरा बुझे नि ।
कम्तीमा आफूले जितेको भूगोललाई त सम्मान गर्नुपर्थ्यो नि । राजनीतिक संस्कार खै ? कोही बेला आफ्नो क्षेत्राधिकार नै मिचेर वडाध्यक्षमाथि आक्रमण गर्ने । मलाई त यस्ता खरानी धस्ने मान्छेहरूले काठमाडौंको सभ्यता बिगार्लान कि जस्तो लाग्छ । तर यस्तो हुन हामी कदापि दिने छैनौँ । किनकि हाम्रो माटो र पुर्खाले बनाएको काठमाडौंप्रति सधैं गर्व छ । संस्कृतिमाथि कसैले आक्रमण गर्न खोजे त्यो मान्य हुँदैन । हामी अरूको संस्कृतिलाई उतिकै सम्मान गर्छौं ।

न्यूरोड फुटपाथ विस्तारको विवादले यहाँ र महानगर प्रमुखबीच दूरी बढेको हो ? 
हेर्नु म पनि पुराना लिडर सच्चिनु पर्छ राम्रो काम गर्नुपर्छ भनेर हिँडेको मानिस हो । त्यसकार मैले उनलाई नयाँ हुन भनेर सधैँ सहयोग गरेको हो । ऊर्जावान् थिए । साँच्चिकै काठमाडौँ बन्छ भनेर निरन्तर सहयोग गरें । तर हरेक वडाध्यक्षमाथि सनक चढेर खनिन थाले । हामी एउटा सानो बाटोमा ढुङ्गा छाप्न त दुईचार पटक छलफल गर्छौँ । उनी त आफू खुसी मपाईँ गर्न थाले । विकास गर्ने कार्यशैली त उहाँले सुधार्नु पर्छ नि । तानाशाही प्रवृत्ति गरेर हुँदैन । म मात्र ठिक भन्ने प्रवृत्ति त्याग्नु पर्‍यो ।

मैले पेटी चौडा नगर्नु भनेको हैन । गर्नुपर्छ । तर सल्लाह छलफल र सहमतिमा हुनुपर्छ । हाम्रो पुर्खाले बनाएको मन्दिरमा दियो सफा गर्न आउने ? दियो राखेको मान्छेको मतलब छैन । कुन चाहिँ काम अरू मेयरले नगरेको गरेको छ ? फल्चा बनाउने त हाम्रो आइडिया हो । यस्ता मान्छेसँग के आस गर्नु ? मैले रत्नपार्कमा बनाउन लागेको फल्चा अन्तै बनाएको छ । बनावटी गरेर हुन्छ ? अहिलेको एआई र बालेन उस्तै हो । अनि मलाई अनावश्यक मान्छे लगाएर थर्काउने ? मार्ने धम्की दिने ।

के भनेर थर्काए , अरू मान्छे पनि परिचालन गरे भन्नु त गम्भीर आरोप भएन र ?
म जस्तो सोसल मान्छे नभएको भए बालेन र उनका मान्छेले दिएको टर्चरले मान्छे उहिले डिप्रेसनमा पुग्ने थियो । विवाद आएपछि हरेक राती कल आउँछ । मार्ने, टाउको काट्नेसम्मको धम्की आउँछ । तर म यस्ता मान्छेबाट किन डराउने भन्नु त । नबिराउनु , नडराउनुको नीति पछ्याएको हो मैले । म सँग सबै रेकर्ड छ । म्यासेज गरेको कल गरेको । बालेनसंग विवाद आएपछि मात्र यस्तो अवस्था देखिएको हो । यस्ता मान्छेको पछि लाग्नु छैन । म आफ्नो काम गर्छु । उसले चिनीकाजी भन्ने मान्छे चिनेको छैन हेला । यस्तो पाराले हुँदैन ।

अहिले यहाँहरूको सम्बन्ध कुन स्थितिमा छ ?
बोलचाल छैन । म राजनीतिक चरित्र नभएका मान्छेलाई वास्ता पनि गर्दिन । विरोध लामा, रञ्जित श्रेष्ठ भन्ने लगाएर अनेक दुख दिएका छन् ।

जम्मा २९ प्रतिशत खर्च गरेको छ महानगरले । स्टन्ट गरेको छ । वडाध्यक्षको कार्यमाथि धावा बोलेको छ । हिम्मत भए त काम गरेर देखाउने हो । यहाँबाट आएर फाइल लाने, दुख दिने गर्नु ठिक होइन नि । बालेन सुध्रिनुपर्छ । म चाहन्छु उनी सुध्रिउन । सबैको कुरा सुनून् । म राम्रो काम गर्ने मेयरलाई सहयोग गर्नुपर्छ भनेर नै लागेको हो । म सहयोग गर्छु भनेर अभियान नै चलाएको हो । तर शैली ठीक भएन ।  संस्कृति बचाउन पनि यिनको स्टन्ट नै रहेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : ४९ बजे

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा

भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा

काठमाडौं – भारत र क्यानडाका बीचमा लामो समयदेखि चलिरहेको तनाव

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

बर्दिया– बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया

कतिसम्म गर्न सक्छ एउटा वडाध्यक्षले ?

काठमाडौं – हातमा कागजपत्रको झोलासहित काठमाडौंको सडकमा भेटिए भोजपुर नगरपालिका–५