सबैको पर्व बन्दैछ दशैँ | Khabarhub Khabarhub

सबैको पर्व बन्दैछ दशैँ



पछिल्लो समय आदिवासी जनजातिमा दशैँ बहिष्कारको प्रचलन आएको छ । विशेष गरी २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था आएपछि दशैँबारे फरक अभियान चल्न थाल्यो । पृथ्वीनारायण शाहले किराँती राज्यहरू मासेपछि खुशीयालीमा किराँतीको रगतको टीका लगाएर शुरूआत गरेको भन्ने तर्कहरू आए ।

तर पनि धेरै जनजातिहरूले दशैँ मान्दै आएका छन् । उनीहरूले असत्यमाथिको जीत मनाउने पर्व र आफूभन्दा ठूलाको आशीर्वाद लिनेलाई बहिष्कार गर्न नहुने तर्क छ । रंगहरुको विकास नभइसकेको अवस्थामा जनजाति तथा ब्राह्मण क्षेत्री सबैले सेतो टीका लगाउने चलन थियो ।

बूढापाकाका अनुसार सबैभन्दा पहिले व्यापार व्यवसायमा संलग्न नेवार जातिले दशैँमा रातो टीका लगाउन थालेको बताउँछन् । आज हामीले जनजातिहरूले कसरी दशैं मनाउँछन् भन्ने सामग्री प्रस्तुत गरेका छौ ।

गुरुङ : करिब डेढ दशकदेखि गुरुङ जातिका केहीले दशैँ बहिष्कार अभियान चलाइरहेका छन् । तर पनि अधिकांशले दशैं मान्दै आइरहेका छन् । गुरुङ समुदायमा भिन्न–भिन्न तरिकाले दशैं मनाउने चलन छ । कसैले टीका लगाएर मनाउँछन् । कोही यो पर्वलाई भेटघाट, दुःखसुख साटासाट, भाइचारा सम्बन्ध विकासको अवसरको रूपमा लिन्छन् । उनीहरू दशैंलाई धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाउने गर्दछन् ।
दशैँमा सेतो टीका लगाउने प्रचलनमा यो समुदायमा छ । उनीहरू विवाह र ल्होसार लगायतका शुभ कार्यमा पनि दहीमा चामल मिसाएर रातो अबिर प्रयोग नगरी सेतो टीका लगाउने गर्दछन् ।

परम्परागत रूपमा टीका लगाउनेहरूले घटनास्थापनाको दिन जमरा राख्छन् । नवदुर्गाको नियमित पूजा गर्छन् । र उनीहरू विशेष गरी पाँच दिन दशैँ मनाउँछन् ।

मधेश : मधेशमा दशैँ लाई दशहरा भन्ने गरिन्छ । दशहराको तयारी करिब एक महिना अगाडिदेखि हुन्छ । ग्रामीण भेगमा सामूहिक पूजा गर्ने परम्परा छ भने नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा जमरा राख्ने चलन छ ।

भाकल गरेकाहरूले विभिन्न जनावरको बली समेत दिने गरेका छन् । शाकाहारीहरूले भने कुभिन्डो लगायतका तरकारी प्रसादको रूपमा चढाउने गरेका छन् । दशहरा सुरु भएको दिन घटस्थापनादेखि दश दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन रहेको छ । दशहरा मेलामा नेटुवा नाच पनि गरिन्छ ।

दशैँको अन्तिम दिन वा पूर्णिमाको दिन यो नृत्य समाप्त हुने गर्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । आश्विन शुक्ल सप्तमीमा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । पण्डालसहित दुर्गा भगवतीको आकर्षक मूर्तिलाई भव्य रूपमा सजाइन्छ ।

भाकल गरेकाहरू नवरात्रिको ९ दिनसम्म व्रत बस्ने परम्परा समेत रहेको छ । दुर्गा भगवतीको माटोको मूर्तिलाई विभिन्न ठाउँमा पण्डाल बनाइ स्थापना गरिएको हुन्छ । नवमीको दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । दुर्गा भवानीलाई खोइच भर्ने परम्परा यो समुदायमा प्रसिद्ध छ ।

थारु : थारुहरू प्रकृतिपूजक हुन्छन् । प्राचीनकालदेखि थारुले आफ्नो देवीदेवतालाई गाईको दूधले पूजा गर्थे । पृथ्वीमा कुनै कृत्रिम रङको उत्पादन नहुँदा सेतो रङकै वर्चस्व थियो भन्ने मान्यताले उनीहरूले रातो रङको टीका लगाउँदैनन् ।

गाईको दूध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन भयो । उनीहरू  चामलको पीठोको टीकासहित जमरा, दौना, बेबुरी (बाबरी) को फूल ग्रहण गर्छन् । अरुबेला दौना बेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैँमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । उनीहरूले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लगाउँछन् । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैताला बलियो होस्, शरीर स्वास्थ्य होस् भन्ने मनोकामना गरिन्छ ।

पहिरन र परिकार पनि उनीहरू सेतै लगाउँछन् । थारुको दशैँमा नाचिने विशेष नाच सखियामा समेत नचनियाहरुले सेतो फरिया र गुन्यू प्रयोग गर्छन् । अर्को दशैंमा नभई नहुने परिकार हो ढिक्री । ढिक्री नयाँ चामलले तयार पारिन्छ ।

थारु समुदायमा बली दिने प्रचलन छैन । उनीहरू देवीले कुनै जीवको बली नमाग्ने कुरामा विश्वास गर्छन् । त्यसकारण उनीहरू कुभिण्डोको बली दिन्छन् । मासु खाए पनि उनीहरू जीवको बली दिँदैनन । थारुहरू गाउँमा साझा रूपमा रजमर्वा (देवथान) को पूजा गर्छन् । उनीहरूको समुदायमा चार दिनसम्म दशैँ मनाइन्छ ।

मगर : नेपाली समाजमा मगर जातीले सबैभन्दा ठूलो पर्वको रूपमा दशैँ मनाउँछन् । यस जातमा पनि बलीको बारेमा आ–आफ्नै व्याख्या छ । कसैले तरकारी फलफूल चढाउँछन् भने कसैले जीबको बली दिने परम्परा छ ।

मगरहरूले विशेष सुँगुरको बली दिने प्रचलन रहेको छ । सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन छ । त्यस छापले भूतप्रेत अथवा नकारात्मक शक्तिले घरभित्र प्रवेश पाउँदैन भन्ने मान्यता छ ।

यस्तै उनीहरूले पनि प्रकृतिलाई नै देवता मान्ने भएकाले दशैँमा सेतो टीका लगाउने गर्दछन् । तर पछिल्लो समय जातीय पहिचानको मुद्दा उठ्दै गर्दा केही मगरहरूले दशैँ आफ्नो पर्व नभएको वकालत गर्दै आएका छन् ।

नेपालका मगर पुर्खाहरूको सत्य इतिहासलाई नष्ट गरी ब्राह्मणहरूको इतिहासलाई जबरजस्ती लादेको उनीहरूको आरोप छ । मगरहरूले रामायणलाई हिन्दुहरूको साहित्य भनिरहेका छन् । र त्यसमा लेखिएका अधिकांश प्रथाहरू काल्पनिक भएको बताउँछन् ।

त्यसैअनुरुप रामायणमा लेखिएको अयोध्याको रामले लंकाका राक्षस रावणलाई दशौँ दिनमा हराई लंका विजय गरी अयोध्यामा राम फर्केको खुशीयालीमा मनाइएको बुझिन्छ । त्यसैलाई दशैँको रूपमा मनाउन थालिएपछि नेपालका हिन्दुले अथवा ब्राह्मणले मगर समुदायमा आफ्नो पर्वको प्रचार गरेको भनी विवाद छ । नेपालमा मगर जातिहरूको इतिहास हेर्दा उनीहरू हिन्दुको चाडपर्व मान्ने समुदाय होइनन् भनिएको छ ।

राई : राई समुदाय नेपालको मूलवासी किराँत समुदाय भित्र पर्ने जाति हो ।  यो जाति नेपालको एक भूमिपुत्र मूलवासी प्रमुख समुदाय हो । राईहरूको महान् चाड साकेला हो ।

राईहरु अष्टमीको दिन सुँगुरको बली दिन्छन् । त्यस्तै, नवमीको दिन सबैजसो घरमा कुखुराको बली दिइन्छ । पहिले पहिले कुखुराको भोग दिएपछि बन्दुक पड्काउने चलन थियो ।

राईहरू रातो रङ मन पराउँदैनन् । उनीहरू रातो रङलाई अपवित्र र बनावटी मान्छन् । त्यसकारण सेतो रंगको टीका लगाउँछन् । सेतोलाई उनीहरू शुभ र प्राकृतिक मान्छन् । चामल र दही मात्रै मिसिएको टीका लगाउँछन् ।

उनीहरूको जमरा राख्ने चलन हुँदैन । सेतो टीका र दुबो कानमा सिउरिने चलन छ । पछिल्लो समय दशैँ मनाउने राईहरूले जमरा सिउरेको पनि देख्न सकिन्छ । टीका थाप्न जानेले कोसेलीका रूपमा मासु नै लैजानुपर्ने चलन छ । त्यो पनि सुँगुरकै लैजानु पर्छ ।

राईहरूमा पनि दशैं मनाउने र नमनाउने विवाद छ । केहीले दशैँ बहिष्कार गरेका छन् । त्यही विषयलाई लिएर ‘दश थुम, दश राई, दश कुरा, दश रीति, एक चुला’ भन्ने उक्ति समेत बनेको छ । राज्यले दमनपूर्वक किराँतीलाई दशैं मान्न बाध्य पारेको उनीहरूको भनाइ छ । हाल राई समुदायमा अघिल्लो पुस्ता दशैं मनाउनुपर्नेमा अडिग छन् । त्यस्तै युवाहरू बहिष्कार गरिरहेका छन् ।

दशैँ सबैको पर्व : जगमान गुरुङ संस्कृतविद्

संस्कृतिविद् डा. जगमान गुरुङ दशैँ सबैको साझा पर्व भएको बताउँछन् । उनी भन्छन्, ‘असत्यमाथि सत्यको जीत, अधर्मको पराजय भएको दिन कुनै निश्चित जाती वा समुदायको मात्रै रहन्न । त्यसकारण दशैं सबैको साझा पर्व हो ।’

जनजातिहरूमा अन्य बाहिरी धर्म मान्नेहरुले दशैँ तिमीहरूको होइन भनेर भ्रम फैलाएको उनको आरोप छ । सदियौँदेखि मिल्दै भाइचारा राख्दै आएका जनजातिलाई भड्काएर दशैं बहिष्कारमा लगाउनु गलत भएको गुरुङले बताए ।

‘नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजातिबीचमा विभेद नभएको र दशैँ सबै समुदायको पर्व हो’ उनले भने । उनले आफ्नै गुरुङ समुदाय र अन्य जनजातीलगायतलाई दशैं बहिष्कार नगर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ०५ बजे

आइपीएल : सुरुवाती खेलमा परागले राजस्थानको नेतृत्व गर्ने

काठमाडौं – शनिबार सुरु हुने आइपीएलको राजस्थान रोयल्सको सुरुवाती तीन

भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

 भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

लुम्बिनी– सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य

नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष विसं २०८२ वैशाख

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि