खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड रुपैयाँ आम्दानी | Khabarhub Khabarhub

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड रुपैयाँ आम्दानी


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका– २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटाले बताए । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक दुई करोड बढी रुपैयाँ रकम भित्रिने गरेको उनी बताउँछन् ।

विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरेले बताए । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खरबारीमा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । ‘केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।’

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी केराखेती गर्दै आएका छन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक सात लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको बताए ।

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम ३० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनले बताए । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित

एजेन्सी– तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा

प्रधानमन्त्रीले डाकिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको