समाज र व्यक्तिका अनेक पक्षमा सामाजिक सञ्जालभित्र बहस चलिरहेको हुन्छ । त्यसैले बदलिँदो युगमा भर्चुअल सामाजिक सञ्जाललाई समाजकै ऐना पनि भन्न थालिएको छ । सञ्जालमा पस्दा घरभित्रको कुरादेखि आफन्त, साथी, समाज र राष्ट्रका विषयमा अन्तरक्रिया भइरहेको पाइन्छ । आफ्ना विचार व्यक्त गर्ने र तुरुन्त प्रतिक्रिया पाइने भएकाले यो सञ्जाल लोकप्रिय छँदैछ ।
सामाजिक सञ्जालको उचित प्रयोग गर्न सकिएको खण्डमा यो विज्ञानको अद्भूत उपलब्धि हो । तर, पछिल्लो समय यसको सदुपयोग भन्दा पनि दुरुपयोग भएको देखिन्छ । वैचारिक बहसभन्दा बढी अराजकता, हिंसा र अश्लीलता फैलाउने माध्यम बनिरहेको छ । सामाजिक सञ्जालको यस्तो प्रयोगले समाजलाई कता डोहोर्याउँदैछ ? यसको नियमन र निगरानी कति आवश्यक छ ? यसै सन्दर्भमा त्रिचन्द्र कलेजमा अध्यापनरत समाजशास्त्रकी प्राध्यापक ऋद्धि आचार्यसँग गरिएको कुराकानीः
सामाजिक सञ्जालमा भइरहेका बहसलाई कसरी हेर्नुभएको छ ?
यतिबेला सामाजिक सञ्जाल अभिव्यक्तिको ठूलो माध्यम भएको छ । मानिसहरूले आफूलाई मन लागेको कुरा तुरुन्तै सम्प्रेषण गर्न सकेका छन् । तर, आफूलाई प्रस्तुत गर्दैगर्दा कुनै कुरामा पनि नबाँधिएको जस्तो भएको छ ।
यसो हुनु राम्रो होइन । कुनै कुरा चित्त नबुझे स्वच्छ आलोचना गर्ने भन्दा पनि शब्दले प्रहार गरी विक्षिप्त बनाउने किसिमले बदलाको भाव पस्किएको पाइन्छ । सञ्जालमा निराशा र गालीगलौज निकै देखिन्छ ।
कुन मनोभावले मानिस यसो गरिरहेका छन् ?
यो अत्यन्त अस्वस्थ संस्कार हो । अराजकतालाई बाँध्ने कुनै शास्त्र छैन । अभिव्यक्ति स्वतन्त्रताको लागि हाम्रा अग्रजले कयौँ आन्दोलन गरे । तथापि अराजकतालाई बाँध्ने केही चिज त समाजमा हुनुपर्छ । सभ्य समाजलाई पनि निर्देश गर्न नियम आवश्यक पर्छ ।
तर, पछिल्लो समय मान्छेलाई बाँध्न सक्ने शास्त्र नै भेटिएन । यो कुरा भन्नु हुँदैन अथवा यस्ता शब्दमा उत्रिनु हुँदैन भन्ने नै छैन । हरेक मान्छेको आफ्नो आदर्श हुन्छ । त्यसमा अरू प्रतिको सम्मान छैन भने के काम !
मानिसभित्र रिस, आवेग, प्रेम र सद्भाव सबै हुन्छ । तर रिसमा पनि संयमित हुन सक्ने मात्रै सभ्य मानिस हो । रिसको झोँकमा जे पनि अभिव्यक्ति दिने बानीले स्वयमलाई हानी गर्छ । मेरो अभिव्यक्तिले अरूप्रति कस्तो असर गर्छ भनी सोच्न सक्नुपर्छ ।
सञ्जालको अभिव्यक्तिलाई लिएर हाम्रो राज्य संयन्त्रले नै काम गर्न सकिरहेको छैन । हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्र एक संयन्त्र हो । यही संयन्त्रले काम गर्न नसकेको हो । अराजकता हटाउनतिर लागिरहेको छैन । मानवीय गुण भनेको नै ‘अरूका खातिर बाँच, अरूको भलाइका लागि काम गर’ भन्ने हो ।
अभिव्यक्ति स्वतन्त्रताको कुरा गरिरहँदा कानूनले नबाँधेको छाडातन्त्रले अस्थिरता पैदा गर्छ । अहिले नबाँधे कति भएपछि बाँध्ने ? एक न एकदिन त यसतर्फ कडाइ गर्न सकिएन भने समाज सोच्नै नसकिने अवस्थामा पुग्छ
तर, हामी अरू भन्दा आफूमै केन्द्रित छौँ । आफ्नो बाहेक अरूको भावनाबारे सोच्न नसक्दा नै व्यक्तिभित्र अराजकताको जन्म हुने हो । अरूलाई दुखाएर आनन्दले लिने प्रवृत्ति हो । इगो लिएर हिँड्ने, अरूको सामाजिक प्रतिष्ठा गिराउन लागिपर्ने भनेको नकारात्मक सोच हो ।
मानिसको बानी वा आचरण सुधार्न पनि विशेष कानूनको आवश्यकता पर्छ । कानून कठोर हुन्छ, तर कानून अनुशाासन पालना गराउनकै लागि निमार्ण गरिएको हो । सम्झाएर र बुझाएर नहुने अवस्थाको लागि नै कानून निमार्ण हुने हो ।
पहिले धर्मले मानिसलाई अनुशासित बनाउँथ्यो । मान्छेको कर्म पाप र पूण्यसँग जोडिन्थ्यो । तर, त्यस संयन्त्रले काम गर्न नसकेर नै कानूनी व्यवस्था आयो । ‘म बाहेक अरू केही होइनन्’ भन्ने भावले नै कानून निमार्ण गर्नुपरेको हो ।
अहिले अभ्यास हेरौँ न ! रिस उठ्यो भने राज्यका प्रमुखहरूप्रति जथाभावी अभिव्यक्ति दिएको पाइन्छ । प्रमुखमाथि प्रश्न उठाउनै पाइन्न भन्ने होइन । तर, कानूनी राज्यमा प्रश्न र आलोचनाका पनि सीमा र दायरा हुन्छन् । हामी जङ्गली युगबाट सभ्य समाजको निमार्णमा जुटेका हौँ ।
मानिसको चेतनाले जङ्गलबाट समाजको स्थापना गर्यो । त्यो चेतनाले अरूलाई सम्मान गर्नुपर्छ भन्ने पनि हेक्का राख्नुपर्छ । देशको कार्यकारीमाथि अपशब्द ओकल्नुले हाम्रो संस्कारलाई प्रतिनिधित्व गर्छ । ‘समाज रूपान्तरण गर्छु, सरकार चलाउँछु’ भन्नेहरूमा पनि संस्कार आवश्यक छ । असभ्य र बोलीमा संस्कार नभएको व्यक्तिले नेतृत्व गर्न सक्दैन । यदि त्यस्ता व्यक्तिलाई राज्यको अभिभारा सुम्पियो भने धेरै असर गर्छ ।
अभिव्यक्ति स्वतन्त्रताको कुरा गरिरहँदा कानूनले नबाँधेको छाडातन्त्रले अस्थिरता पैदा गर्छ । अहिले नबाँधे कति भएपछि बाँध्ने ? एक न एकदिन त यसतर्फ कडाइ गर्न सकिएन भने समाज सोच्नै नसकिने अवस्थामा पुग्छ । गालीगलौजको डरले मानिसहरूले आफ्ना विचार नै व्यक्त गर्न छोड्छ । त्यसले झनै डरलाग्दो स्थिति सिर्जना गर्छ ।
विधिको शासनसँग चल्न नसक्ने समाज राम्रो होइन । कतिसम्म भन्न पाइने वा नपाइने त ? मापदण्ड वा निगरानी चाहिन्छ । अस्वस्थ आलोचनाले स्वस्थ मानिसलाई मानसिक रूपमा बिरामी बनाइदिन्छ । त्यसको जिम्मा आलोचना गर्नेले लिँदैन । तर, राज्यले लिनुपर्छ ।
अहिले एक बालक जन्मिँदै सामाजिक सञ्जालको निकट आइपुग्छ । सञ्जालको अराजक गतिविधि सिक्न उसलाई धेरै समय लाग्दैन । परिवेशबाटै सिक्ने हो । तपाईंले पोख्ने रिस र देखाउने आवेगबाट अर्को ठूलो समूह प्रभावित हुन्छ
आलोचनाले मानिसलाई मर्न सक्ने स्थितिसम्म पुर्याइदिन्छ । प्रविधिको युग हो, आधुनिक युग हो, आधुनिकताले मानवीय सम्मानको अर्थ राख्नुपर्छ । राम्रो कुरा सिकाओस्, भिजन देओस्, त्यो हो आधुनिकता । नकारात्मकतातिर डोहोर्याउने कुनै पनि तत्व, प्रविधि या सोच राम्रो होइन । स्वतन्त्रताको नाममा अराजकता स्वीकार्य हुनुुहुँदैन ।
के कुराले मानिसलाई अराजकतातर्फ आकर्षित गरिरहेको हुन्छ ?
पहिलो त परिवार नै हो । परिवारभित्रका अग्रज सदस्यको सोच कस्तो छ, मानिस त्यसैअनुरूप हुँदै जान्छ । सोचले नै घरभित्रको वातावरण तय गर्ने हो । परिवारमा कुनै सदस्यले गल्ती गर्यो र त्यसको सजायस्वरूप गालीगलौजमा उत्रने प्रवृत्ति देख्यो भने बालबालिकाले त्यही सिक्छन् ।
आफ्नो विपरीत हुने बित्तिकै प्रतिरोधमा अराजक गतिविधि गर्ने परिवारभित्रका बालबालिका पनि पछि त्यस्तै हुँदै जान्छन् । त्यसरी नै समाज र साथीसङ्गातीबाट सिक्दै जाने हो ।
अहिले एक बालक जन्मिँदै सामाजिक सञ्जालको निकट आइपुग्छ । सञ्जालको अराजक गतिविधि सिक्न उसलाई धेरै समय लाग्दैन । परिवेशबाटै सिक्ने हो । तपाईंले पोख्ने रिस र देखाउने आवेगबाट अर्को ठूलो समूह प्रभावित हुन्छ । सामाजिक सञ्जालमा तपाईंको कुविचारले समग्र समाज र राष्ट्रलाई असर गर्छ ।
हामी समाजबाट पृथक रहन सक्दैनौँ । हाम्रा हरेक क्रियाकलाप र विचारले समाजलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । समाजमा बस्दै गर्दा त्यहाँ शान्ति, मेलमिलाप र भाइचारा आवश्यक पर्छ ।
व्यक्तिले नै राम्रो व्यक्तित्व निमार्ण गर्ने हो । नराम्रो व्यक्तित्व निमार्ण गर्नु हुँदैन । राम्रो कुराको पो अर्थ हुन्छ । समाज खण्डीकरण गर्ने कुविचारले गलत बाटो पछ्याउँछ ।
राजनीतिक वृत्तमा पछिल्लो समय आफ्ना नेताले गलत भने पनि सहमति जनाउने प्रवृत्ति देखापरेको छ । अर्को नेताले भनेको सही कुरामा पनि असहमति जनाउने गरेको देखिन्छ । यो अभ्यास पनि राज्यको लागि निकै घातक हुन्छ ।
आफू विद्यार्थी हुँदा र अहिले शिक्षक भएर आफ्ना विद्यार्थी हेर्दा के फरक पाउनुभएको छ ?
हामी विद्यार्थी हुँदाको अवस्था र अहिलेका विद्यार्थीको अवस्थाबीच आकाश–जमिनको फरक छ । हामी सही र अहिलेका विद्यार्थी खराब भन्न खोजेको होइन । पहिलेको पाठ्यक्रम र अहिलेको पाठ्यक्रमबीच नै फरक छ । तर, हिजो र आज पनि शिक्षक र विद्यार्थी बीचको आदर्श वा गुरु र चेला बीचको सम्बन्धको अर्थ एकै हो ।
विरोधको पनि आदर्श हुन्छ । तपाईंको एउटै खराब अभिव्यक्तिले त्यक्तित्वलाई त असर गर्छ–गर्छ, राष्ट्रको शाख समेत गिराउने काम गर्छ । तपाईंले प्रहार गरेको शब्दले तपाईंलाई पनि प्रहार गरिरहेको हुन्छ
हिजो हामीले शिक्षकलाई जसरी सम्मान गर्थ्यौै, अहिले धेरै फरक छ । पहिले शिक्षा आर्जन निम्ति गुरुलाई आग्रह गर्नुपर्थ्यो । अहिले विद्यार्थीलाई शिक्षकले पढ्नका लागि आग्रह गर्नुपर्छ । कतै विद्यार्र्थीले सिक्दैन कि भन्ने डर छ । सिक्ने र सिकाउने विधि नै परिवर्तन भयो ।
राम्रा र नराम्रा विद्यार्थी हिजो पनि थिए र आज पनि छन् । तर, अधिकांशका हकमा कुरा गर्ने हो भने हालका विद्यार्थी सतही छन् । सबै अरूले गरिदेओस्, आफू कम दुःख र मेहनतमै उत्तीर्ण हुन सकियोस् भन्ने छ । तयारी हालतमा चाहिएको छ सबैथोक ! प्रविधिको उच्चतम प्रयोगले विद्यार्थीलाई सहयोग गरेको छ, तर विद्यार्थीको सिर्जनशीलतामा असर गरिरहेको छ ।
बोल्ने र लेख्ने कुरामा हरेक व्यक्तिले ध्यान दिनुपर्छ । कानून क्षम्य हुँदैन, त्यसकारण आफैँ कानूनी फन्दामा पर्ने कुरामा सजग हुनुपर्छ । जिउँदो मानिसलाई हार्दिक श्रद्धाञ्जलि भन्ने, अन्तराष्ट्रिय उत्सवमा देशको कार्यकारीलाई मुर्दावाद भन्ने संस्कारले नेपालीको चेतनास्तरको मापन गर्छ ।
विरोधको पनि आदर्श हुन्छ । तपाईंको एउटै खराब अभिव्यक्तिले त्यक्तित्वलाई त असर गर्छ–गर्छ, राष्ट्रको शाख समेत गिराउने काम गर्छ । तपाईंले प्रहार गरेको शब्दले तपाईंलाई पनि प्रहार गरिरहेको हुन्छ । त्यसैले सकरात्मक विचार सम्प्रेषणमा जोड दिनुपर्छ ।
प्रतिक्रिया