भूकम्प र क्षतविक्षत मन : अझै चेतेन काठमाडौँले | Khabarhub Khabarhub

भूकम्प र क्षतविक्षत मन : अझै चेतेन काठमाडौँले



हरेक वर्ष माघ २ गतेलाई हामी भूकम्प सुरक्षा दिवसका रुपमा मनाउँछौँ । ९० सालको महाभूकम्प कस्तो थियो धेरैलाई थाहा छैन । तर, ८ वर्षअघि ०७२ बैशाख १२ गते शनिबारको भूकम्पको प्रत्यक्षः अनुभूति नगर्ने नेपाली कोही भएनन् । अहिले जाजरकोट भूकम्पले अर्को घाउ बल्झाएको छ । भूकम्पको घाउ पुरिन अझै धेरै समय लाग्छ ।

नेपालमा १९९० सालमा जम्माजम्मी ३ लाख १५ हजारको जनसंख्या हुँदा भूकम्पमा मर्नेहरूको संख्या ४ हजार २ सय ९६ थियो । ९० सालको भूकम्पपछिको ठूलो र कहालीलाग्दो विनाशकारी भूकम्प ७.६ रेक्टर स्केलको ०७२ को महाभूकम्प रह्यो । लगातार ५२ सेकेन्डभन्दा बढी कम्पन भएको यो भूकम्पले राजधानीलाई सर्लक्कै निल्न लागेको थियो । काठमाडौंको जोखिमबारे पछि कुरा गरौँला, शुरुमा नेपालका भूकम्पको विपत्ति एकचोटि सम्झौँ ।

नेपालमा भूकम्पको रेकर्ड
विक्रम सम्वत् १३१० देखि नेपालमा भूकम्पको अभिलेख छ । त्यतिबेलाको भूकम्पमा काठमाडौँमा रहेका एक तिहाइ मानिसको मृत्यु भएको र सँगै राजा अभय मल्ल पनि मरेका थिए ।

त्यसपछि केवल ६ वर्षको अन्तरालमा आएको भूकम्पले काठमाडौँको हजारौं पुरातात्विक भवन ध्वस्त भएका थिए । त्यसपछि संवत् १४६३ अर्थात् झण्डै डेढ सय वर्षपछि भूकम्प आउँदा काठमाडौंका थुप्रै संरचना ध्वस्त भई सहकालका देवता रातो मच्छेन्द्रनाथको मन्दिरसमेत ध्वस्त भएको थियो ।

त्यसपछि झण्डै पौने एक शताब्दीपछि श्रीनिवास मल्लका पालामा आएको भूकम्पले पनि काठमाडौंमा व्यापक क्षति भएकै हो ।

त्यसको झण्डै सवा सय वर्षपछि १८६६ मा गीर्वाणयुद्धका पालामा आएको भूकम्पले ठूलै क्षति पुर्‍याएको थियो । त्यसको १४ वर्षपछि सम्वत् १८८० मा अर्को भूकम्प आयो । त्यसको १० वर्षपछि सम्वत् १८९० मा राजेन्द्र विक्रमका अर्को भूकम्प आयो, जसमा १८ हजार घर ध्वस्त भएको अनुमान छ । लगत्तै १ वर्षपछि सम्वत १८९१ मा आएको भूकम्प वर्षाको समय परेकाले बागमती नदी पूरै थुनिएको थियो । त्यसको सयवर्ष पछि १९९० सालको भूकम्पको पीडा भोग्नेहरु त अहिले पनि ज्युँदै छन् ।

संखुवासभालाई केन्द्र विन्दु बनाएर आएको ९० सालको भूकम्पले ८ हजार ५ सय १९ व्यक्तिलाई निलेको थियो भने ८० हजार ८ सय ९३ घर ध्वस्त भएको अनुमान छ । १ लाख २६ हजार ३५५ घरमा आंशिक क्षति पुगेको थियो ।

त्यसपछि नेपालमा २०३१, २०३७, २०४५, २०५०, २०५१, २०५२, २०५४, २०५८, २०५९, २०६० र २०६८ मा पनि सानातिना भूकम्पहरू आइरहे ।

भूकम्पको धक्का सुरु हुने भूसतह मुनिको केन्द्रविन्दुलाई हाइपोसेन्टर र त्यसको ठीक माथिको भूविन्दुलाई इपिसेन्टर भनिन्छ । नेपालको भूकम्पको इतिहासमा एउटै इपिसेन्टर देखिएका छैनन् ।

वैशाख १२ को महाभूकम्पको इपिसेन्टर गोर्खाको बारपाक थियो भने ठीक १ दिनपछि १३ गते आएको ठूलै भूकम्पको भने लमजुङ इपिसेन्टर थियो । दुवै भूकम्पका कारण गोर्खा, लमजुङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं र भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई क्षतविक्षत बनायो ।

अस्तिमात्रै कात्तिक १७, मध्यरातको समयमा जाजरकोटमा ६.७ रेक्टर स्केलको भूकम्प गयो । तीन दिनपछि ५.८ रेक्टर स्केलको परकम्प गयो । जाजरकोट र रुकुममा गरी ८३ जना बालबालिकासहित १ सय ५३ जनाको मृत्यु भयो । दशैँ लगत्तै तिहारको पूर्वसन्ध्याको सो भूकम्पले देशलाई फेरि रुवायो ।

काठमाडौँले अझै चेतेन
काठमाडौं उपत्यकामा गगनचुम्बी महलहरू निर्माण गर्दा प्राविधिक दृष्टिकोण राखिएन, माटो परीक्षण गरिएन, घर, भवन बनाउँदा आधारभूत विषयहरू पानी, विद्युत, सडक, खुल्ला स्थान, निर्माण सामग्रीको परीक्षण कुनै कुरामा ध्यान दिइएन ।

विपदका बेला आकस्मिक सेवा एम्बुलेन्स, दमकलको आवागमन, फायर फाइटिंग इक्वीपमेन्टतर्फ कुनै ध्यान दिइएन । छतमा राख्ने पानी टङ्की, घर भवनको उचाइ, जग अनुसारको सन्तुलित वजन बारे पनि सोचिएन । सबैतिर भार सन्तुलन पद्धतिलाई होस गरिएन ।

त्यसपछिका दिनहरूमा राजधानीको खुलाक्षेत्र टुँडिखेल अतिक्रमणको मारमा पर्न गयो । काठमाडौँमा बस पार्कको अभाव छ । कुनै कुरामा हाम्रो पूर्वयोजना छैन ।

अहिले पनि काठमाडौँ महानगरका गल्लीहरू खुलेका छैनन् । बिरामीका लागि, एम्बुलेन्स, दमकल, पानी ट्याङ्की र फोहोरका गाडी नपुग्ने स्थान धेरै छन् । निर्माणकर्तालाई यसबारे चेतना र कुनै तालिम दिइएन । नेपाली शैलीका घर, नेपालीपनका भवनहरूबाट जिन्दगी राम्ररी चल्छ भन्ने कुराहरू कसैले बुझेन ।

अमेरिकाका कैयन स्थानमा सानासाना घरहरू छन्, सबैतिर पूर्वाधारको सुविधा छ । हाम्रो सरकारले राजस्वतिर मात्र ध्यान दियो, प्रविधि र डिजाइन, अध्ययन र अनुसन्धानतिर ध्यान दिएन ।

दुबईमा समुद्रभित्र सयौँ तला घर बन्न सक्छन् भनेकै भरमा काठमाडौँमा विदेशी शैलीको नक्कल गरियो । गोङ्गबु जस्तो उब्जनीको उर्बर अनि अत्यन्त हिलो र कमलो माटोमा तीनदशक अघिसम्मको अवस्थालाई मध्यनजर गरिएन ।

लगानीकर्ताहरुले पनि कत्ति होस् पुर्‍याएको पाइएन । फलतः धेरैको ज्यान गयो । आकलन नै गर्न नसकिने भौतिक संरचनाहरू ध्वस्त भई अपुरणीय क्षति भयो । पुनर्निर्माणमा यसको मूल्य थप चर्काे भयो ।

वैशाख १२ को प्रलयकारी भूकम्पले हाम्रो आर्थिक विकासलाई ठाडै चुनौति दियो भने राजधानीबासीहरु दिनरात खुला आकासमुनि रहे । भूकम्पले ८ हजार बढी मानिसलाई त सर्लक्कै निल्यो नै, तर बाँचेकाहरूको हालत मरणको भन्दा कम भएन ।

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा छ । तर, खुला जमिन कतै बाँकी छैन । शनिबार सार्वजनिक बिदा, मौसम अनुकूल, मध्याह्नको समय भएकाले मानवीय क्षति कम भयो, नभए धेरै मानिसको स्वाहा हुने थियो । राम्रै भयो कि लाइफ लाइनहरू बिग्रेनन्, अन्तर्राष्ट्रिय विमानस्थल, ठूला भनिएका राजमार्गहरू, अस्पताल भवनहरु, विद्युत प्रसारण लाइनहरु, टेलिफोनका ठूला टावरहरु, खानेपानीको ठूला लाइनहरु, विद्युतका ठूला जलाशयहरु फुटेका, भत्केका भए हाम्रो हालत के हुने थियो ?

सो भूकम्पले हाम्रा बालकालिकाहरु धेरै जोगिए विद्यालयहरू बन्द भएको कारण । तर, पनि मनोवैज्ञानिक असर धेरै परेको छ अहिलेसम्म कारण त्यसपछिको लगत्तै बैशाख २९ गतेको भूकम्पले पनि धेरैको ज्यान लियो करोडौँ सम्पत्तिको क्षति भयो । त्यसपछि हालसम्म सयौँ परकम्पहरू भइ नै रहेका छन् ।

विदेशमा भूकम्पमा के गर्ने भनेर सिकाइएको हुन्छ  । यस्तो कार्यमा प्रधानमन्त्रीदेखि आम नागरिक बाल, वृद्ध सबैलाई सहभागी गराइन्छ । नयाँ भवनमा कसैको प्रवेशपूर्व नै आगलागी, भूकम्प वा आपतकालीन अवस्थामा भाग्ने इस्केप रुटबारे सूचना दिइन्छ, रुटहरु बारे जानकारी गराइन्छ । आपतका बेला घर, विद्यालय, सपिङ सेन्टर, मलहरुमा भाग्ने बाटो पहिले नै तय गरिएको हुन्छ । घरेलु सामानको कोठामा सजावट गर्दा पनि यसको पूर्ण तयारी तालिम दिइएको हुन्छ । तर, हाम्रो अवस्था यस्तो रहेन र अझै छैन । ठूला भवनदेखि धरहरा चढेकाले समेत निमेषभरमै ज्यान गुमाए ।

भूकम्पको स्केल कम हुँदैमा क्षति कम हुन्छ भन्ने पनि होइन । सन् २०१० मा हाइटीमा गएको ७ रेक्टर स्केलको भूकम्पले अढाई लाख मान्छेलाई निलेको थियो । काठमाडौं उपत्यकाको भूमि सतहभन्दा ५ सय मिटर तलसम्म माटो र बालुवा छ, त्यसमुनि चट्टान छ । चट्टानमा आउने कम्पनभन्दा माटो बालुवामा १० गुणा कम्पन बढी हुन्छ र तरंग बढ्छ । त्यसैले काठमाडौं बढी जोखिममा छ ।

अनियन्त्रित र अव्यवस्थित बसोबासले भू-सतहको पानीलाई जबर्जस्ती निकाल्ने गर्नाले काठमाडौं उपत्यकालाई थप कमजोर बनाएको छ । भारतसमेत भूकम्पको जोखिममा छ । जमिन सतहमुनि रहेको भारतीय प्लेटप्रति वर्ष उत्तरतिर दुई सेमीका दरले धकेलिरहने गर्नाले हिमालको फेदीमा बढी शक्ति सञ्चय हुने गरेको र त्यो शक्ति चट्टानले थेग्न नसकेपछि चट्टान काटेर ऊर्जा तरंगित हुँदा कसैले नसोचेको कम्पन महसुस हुने गर्छ । काठमाडौँमा त्यही भयो ।

नेपाली भूभागमध्ये चुरे क्षेत्रको १ सय ७० किमि पूर्व–पश्चिम भाग नसर्ने तर दक्षिणतिरबाट धकेलिरहने गर्दा उत्तरतिरको युरोसियन तिब्बती प्लेटसँग ठक्कर खाँदा हामीकहाँ भूकम्प आउने गर्छ । त्यसैले कहालीलाग्दो र बिर्सनै नसक्ने त्यो वैशाख १२ र २९ कालो दिनको अनुभूति गरिरहनु परेको छ । पछिका परकम्पनहरूले पनि तर्साउन छोडेको छैन ।

विश्वमा भूकम्पको महाविपत्ति
विश्वमा भूकम्पले कहालीलाग्दो वियोगान्त रेकर्ड बनाउँदै आएको छ । सन् ११५ डिसेम्बर १३ मा टर्कीमा भूकम्प गयो । त्यसमा रोमन सम्राट ट्राजन सहित २ लाख ६० हजार मरेको अनुमान छ । बाँच्नेहरू खान नपाएर मरेका थिए ।

त्यस्तै, सन् ५०५ मा अर्को भूकम्प भयो, जसलाई एन्टाक्या भूकम्प भनिन्छ । त्यसमा २ लाख २० हजारको ज्यान गएको अनुमान छ । भूकम्पपछि आगलागी र आँधीबेहरीले स्तब्ध बनाएको थियो ।

सन् १७७६ मा ताइवानको भूकम्पमा ३ लाख ४२ हजार ७ सय ६९ को मृत्यु र १ लाख ६४ हजार ८५१ मानिस घाइते भएका थिए ।

रुसको सुदूर पूर्वको काकचटमा सन् १९५२ नोभेम्बर ४ मा ९ रेक्टर स्केलको भूकम्प गएको थियो । समुद्रमा १५ मिटर उचाइसम्म छाल उठेको थियो । यो भूकम्पमा परी १५ हजारको ज्यान गएको थियो ।

सन् १९६० मे २२, स्थानीय समय दिउँसो ३ः१५ बजे । ९.५ रेक्टर स्केलको भूकम्प, जसलाई ग्रेट चिली भूकम्पले चिनिन्छ । यो भूकम्पमा समुद्रमा २५ मिटरसम्मको छाल उठेर विशाल सुनामीसमेत आएको थियो । त्यो भूकम्पमा ६ हजारसम्मको मृत्यु भएको अनुमान छ ।

अर्को भूकम्प हो– ग्रेट अलास्का । त्यो ९.२ रेक्टर स्केलको थियो । सन् १९६४ को गूड फ्राइ डेमा गएको भूकम्पका बेला ८.२ मिटरको सुनामी आएको थियो ।
सन् २००४, २६ डिसेम्बरमा सुमात्रा भूकम्प आयो । हिन्द महासागरको यो भूकम्पमा ३० मिटर अग्लो सुनामी आयो । ९.१ रेक्टर स्केलको यो भूकम्पमा २५ हजारको ज्यान गएको अनुमान छ ।

सन् २०११ मा जापानमा तोहोकु भूकम्प आयो । ९.१ रेक्टर स्केलको यो भूकम्पमा जापानको तटीय क्षेत्रमा साढे ४० मिटर अग्लो छाल उठेको थियो । यो घातक भूकम्पबाट उत्तरपूर्वी जापानमा व्यापक क्षति भएको थियो । सडक, रेलमार्ग, विकासका तमाम संरचना ध्वस्त भएका थिए । डेढ लाख घरमा क्षति पुगेको थियो । थुप्रै आणविक भट्टीहरु पनि नष्ट भएका थिए । ९ हजार ८ सय ९४ जनाको ज्यान गएको थियो भने ६ हजार १ सय ५२ घाइते र २ हजार ५ सय ६२ जना बेपत्ता भएका थिए ।

सन् २०११ मै हाइटीको भूकम्प संसारको दोस्रो सबैभन्दा घातक थियो । पहिलेको भन्दा दोब्बरले ज्यान गुमाएको अवस्था रह्यो । सन् २०१० जनवरी १२ मा पनि हाइटीमा ७ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यस मा करिव ३० लाख मानिस प्रभावित भए । मर्नेहरूको संख्या ३ लाख १६ हजारको रह्यो । तीनमा पनि भूकम्पले त्यस्तै ठूलो क्षति पुर्‍याउँदै आएको छ । पछिल्लो समय टर्कीमा कहालीलाग्दो भूकम्प गएको छ ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : ३१ बजे

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ