लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी | Khabarhub Khabarhub

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

एकै दिन ९ अर्बभन्दा बढी लगानी स्वीकृत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी क्षेत्रले विदेशी साझेदारहरूसँग प्रमुख आठ समझदारी गरेका छन् । सम्मेलनको पहिलो दिन दुईवटा र दोस्रो दिन ६ गरी ८ वटा समझदारी गरिएका हुन् ।

सम्मेलनको पहिलो दिन बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डाटा सेन्टर स्थापना गर्न समझदारी भएको थियो । सो समझदारीमा बीएलसी ग्रपकी निर्देशक मेगा चौधरी र योटा डाटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे । डाटा सेन्टरको लागत करिब ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको थियो । सो समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाली उद्योग वाणिज्य महासंघका अध्यक्ष टन सी डाटो सोटियानले हस्ताक्षर गरेका थिए ।

लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन नेक्सन म्यानेजमेन्ट सोलुसन प्रालि र एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालि कोरियाको बीचमा समझदारी भएको छ । नेपालमा लगानी भित्र्याउन भन्दै भएको सो समझदारीमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी र एमएबीसी इन्भेष्टमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग ली ले हस्ताक्षर गरे ।

नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवद्र्धन गर्ने विषयमा स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वल्र्ड एशोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एशोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिनर्स (नाप)का बीच पनि सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्याय र वापका तर्फबाट अध्यक्ष जियाद अलेक्ज्यान्डर हायकले हस्ताक्षर गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्स र लगानी सम्मेलनमा सहभागी हुन आएको क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच पनि समझदारी भएको छ । व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबीच समझादारी भएको हो ।

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा साखः एन्ड कम्पनी र अनफरमन ग्रुपबीच समझदारी भएको छ । गोरुसिंगेमा २२ बिगाहा जग्गामा २ अर्ब रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः ग्रुप र हङकङको अनफरमन ग्रुपबीच समझदारी भएको छ । समझदारीमा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरे ।

मुगुको रारामा रिसोर्ट बनाउन विषयमा रारा होल्डिङ्स प्रालि र अष्ट्रेलियाको एक्सपर्ट ग्रुपबी पनि आजै समझदारी भयो । मुगुको छायानाथ नगरपालिकास्थित मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरी ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गर्नेगरी एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल तथा सञ्जीव शर्मा र रारा होल्डिङ्सको तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्नेगरी चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले कोशी एनके मोटर्ससँग समझदारी गरेको छ । सिमेन गोल्ड ड्रागनले ३ अर्ब रुपैयाँ बराबर लगानी गरी वार्षिक ५ हजार गाडी उत्पादन गर्ने लक्ष्यसाथ समझदारी भएको हो ।

उद्योग विभागद्वारा ९ अर्ब बढी लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले दिएको जानकारी अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब र काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २०० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ ।

निजी क्षेत्रले देखायो उत्साह

लगानी सम्मेलन–२०२४ मा उद्योगी व्यवसायी देखाएका छन् । विभिन्न देशबाट आएका लगानीकर्ताहरूले देखाएको चासोसँगै नेपालका उद्योगीहरू पनि उत्साहित भएका हुन् ।

सरकार र निजी क्षेत्रको तर्फबाट प्रस्तुत गरिएका आयोजनाहरूमा विदेशी लगानीकर्ताले देखाएको चासोसँगै नेपाली उद्योगीहरू पनि उत्साहित देखिए । सम्मलेन क्रममा खबरहबलाई प्रतिक्रिया दिँदै उद्योगीहरूले सम्मेलनले उत्साह थपेको र राम्रो सन्देश दिएको बताए । आफूसँग जोडिएको लगानीकर्ताले लगानी गर्न सकारात्मक धारणा व्यक्त गरेको उनीहरूले बताएका छन् ।

चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले पनि लगानी सम्मेलनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूबीचमा सकारात्मक सन्देश दिएको बताएका छन् । यहाँको वातावरण तथा मौसम महसुस गरेर पनि पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरू उत्साहित भएको अग्रवालले बताए । ‘दुई दिन सम्मेलन गरेर लगानी आउने होइन’, अग्रवालले खबरहबसँग भने, ‘यसले निरन्तरता पायो भने उहाँहरूले लगानी गर्नुहुन्छ ।’

विदेशी लगानीकर्ताले यहाँका निजी क्षेत्रसँग सहकार्य गरेर लगानी गर्ने भएकाले पनि निजी क्षेत्र साथमा नै रहेको अग्रवालको भनाइ छ । पछिल्लो समयमा नेपालमा निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने विषयमा सरकार पनि सकारात्मक भएकाले लगानी आउने सम्भावना बढी रहेको अग्रवालको भनाइ छ ।

भारत, चीन, अमेरीका, बेलायत लगायत देशबाट आएका लगानीकर्ताहरूले निकै सकारात्मक धारणा राखेकोे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । दातृ निकायहरूले पनि पनि सकारात्मक प्रतिक्रिया दिएको ढकालको भनाइ छ ।

‘राजनीतिक दलको तर्फबाट पनि लगानी भित्र्याउने विषयमा एकमत सहित धारणा आयो, निजी क्षेत्रको पहिले देखिकै लगानी भित्र्याउनुपर्छ भन्ने धारणा छँदै थियो’, अध्यक्ष ढकालले भने, ‘सम्मेलनमार्फत निकै सकारात्मक सन्देश गएको छ, यसले नेपालमा लगानीको सम्भावना छ भन्ने स्पष्ट सन्देश दिएको छ ।’

उक्त सन्देश नेपालमा लगानी गर्नेका लागि धेरै सकारात्मक भएको ढकालको भनाइ छ । विगतको वर्षमा भएको सम्मेलनमा भन्दा यो वर्ष ८ वटा कानून नै संशोधन भएकाले पनि उत्साह थपिएको ढकालले प्रतिक्रिया दिएका छन् ।

सम्मेलनमा आएकाले बढी उर्जा क्षेत्रमा लागनी गर्ने चासो देखाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए । सम्मेलनमा बोलेका वक्ता र युयनले दिएको भिडियो सन्देशमा पनि नेपालमा ऊर्जालाई प्राथमिकता दिएको जस्तो देखिएको कार्कीको भनाइ छ ।

‘लगानीकर्ताले जसरी चासो देखाएका छन् त्यो हिसाबले सरकारले पनि ऊर्जा क्षेत्रलाई लैजाने हो भने उर्जा क्षेत्रमा धेरै लगानी आउने देखियो,’ कार्कीले खबरहबसँग भने, ‘ऊर्जामा लगानी आयो भने त्यसले अन्य क्षेत्रमा पनि लगानी आकर्षित गर्न सहयोग पुर्‍याए ।’

अहिले पनि कतिपय उद्योगमा बिजुली नपुगेको र त्यसले गर्दा ऊर्जा क्षेत्रलाई प्राथमिकता गरेर लगानी गर्नुपर्ने कार्कीको भनाइ छ । ‘सरकारले नेपालका निजी क्षेत्रलाई पनि समेटेर ऊर्जा क्षेत्रलाई पाथमिकता दिएर लगानी ल्याउन चाह्यो भने सरकारले भनेको २८ हजार मेगावाट विद्युत उत्पादन हुन धेरै समय लाग्दैन’, अध्यक्ष कार्कीले भने, ‘अन्तिम अवस्थामा भए पनि सरकार हामी लगानीकर्ताको पक्षमा छ भन्ने सन्देश यो सम्मेलनमार्फत् गएको छ ।’

राजनीतिक रूपमा सत्तापक्ष र प्रतिपक्षले आर्थिक एजेण्डामा एकै ठाउँमा छौं भनेर देखाएको विषयले पनि सम्मेलनमार्फत् थप सकारात्मक सन्देश गएको उनले बताए । साथै विदेशी लगानीकर्ताहरूले पनि कतिपय सेसनमा कुरा गर्दा विद्युत विधेयकको कुराहरू उठाएको भन्दै सरकारले पेश गरेको विधेयक पनि लगानीमैत्री हुनुपर्ने धारणा सहभागीहरूले राखेको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ०२ बजे

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ