लामो कपाल विद्रोहीको स्वभाव हो : सिके राउत | Khabarhub Khabarhub

लामो कपाल विद्रोहीको स्वभाव हो : सिके राउत

‘चार–पाँचजना नेताले देशलाई बन्धक बनाएका छन्’



काठमाडौं – सप्तरीबाट उपेन्द्र यादवलाई हराएर प्रतिनिधिसभा सदस्य बनेका डा. चन्द्रकान्त राउत आफ्नो छोटकरी नाम ‘सिके राउत’बाट बढी परिचित छन् । करिब १४ वर्षअघि अमेरिकाबाट फर्केर मधेसलाई अर्कै देश बनाउने अभियानमा हिँडेका राउत अहिले ६ वटा सिटसहित राष्ट्रिय पार्टी बनेर संसदीय राजनीतिमा क्रियाशील छन् । एक मन्त्रीसहित सरकारमा समेत छन् ।

चरम विद्रोहदेखि संसदसम्मको सिके राउतको राजनीतिक यात्राबारे ‘रि–भिजिट’ गर्ने उद्देश्यले खबरहबले उनीसँग लामो कुराकानी गरेको छ । यसक्रममा हामीले उनको ‘हेयर स्टायल’का विषयमा पनि सोध्यौं । राउतको पारिवारिक अवस्था र ओशो सम्प्रदायको सन्यासी बन्ने कारण पनि खोतल्यौंं ।

राजनीतिक कुरो गर्दा सिकेले विगतको ‘स्वतन्त्र मधेस आन्दोलन’ बारे कुनै पश्चाताप गरेनन् । नेपाल किन बनेन भन्ने प्रश्नमा उनले तीस/पैंतीस वर्षदेखि चार/पाँच जना नेताले देशलाई बन्धक बनाएको र उनीहरुले अरुलाई प्रधानमन्त्री बन्न नदिने गरेको विश्लेषण सुनाए ।

डा. राउतसँग हामीले शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, रवि लामिछाने, बालेन्द्र शाह र हर्क साम्पाङलाई कसरी हेर्नुहुन्छ भनेर पनि सोध्यौं । मधेसका अन्य दलसँग जनमत पार्टीको एकताको सम्भावना बारे पनि सोध्यौं ।

हवाइजहाज जतिसुकै राम्रो  र महंगो भए पनि पाइलट र प्रशिक्षक राम्रो भएन भने दुर्घटना हुन्छ । हाम्रा पात्र योग्य भएनन् । धेरै पनि होइन, अहिले देश चार/पाँचजना नेताको बन्धक भएको छ 

अन्तरवार्ताका लागि पार्टी कार्यालय नयाँ बानेश्वर हाइटमा पुग्दा उनी कार्यकर्ताहरुसँग अनौपचारिक मिटिङमा थिए । पार्टी कार्यालय बुद्धनगरबाट भर्खरै नयाँ बानेश्वर हाइटमा सारिएको रहेछ । उनले काठमाडौंमा उपलब्ध मधेसका कार्यकर्तासँग हरेक हप्ता भेटघाट तथा छलफल गर्ने गरेको सुनाए ।

प्रस्तुत छ– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सिके राउतसँग गरिएको समसामयिक अन्तरवार्ता –

सिके राउतलाई कतिपय मानिसहरु ‘राजनीतिक चिन्तक’समेत भन्छन् । तपाईको विचारमा के कारणले नेपाल बनेन ? नेपाल विकासमा पछाडि पर्नुको कारण के हो ?

सुरुमै गहन प्रश्न गर्नुभयो । सानो छलफलमा यति गहन प्रश्नको जवाफ दिन मलाई अप्ठ्यारो होला । तर, म तीन/चारवटा ‘फ्याक्टर’ बताउँछु ।

पहिलो : हाम्रो व्यवस्था कस्तो भयो भन्दा हरेक ठाउँमा, राज्यका सम्पूर्ण संयन्त्रमा चार/जना पाँचजना नेताको कब्जा भएको हुनाले नेपाल जुन तरिकाले अगाडि जानुपर्ने थियो, त्यो गएन । जति भ्रष्टाचार गरे पनि कारवाही हुँदैन । जे राम्रो काम हुनुपर्ने थियो, बीचमा मिलेमतो गरेर निजी लाभका लागि टुंग्याइन्छ । सबैभन्दा ठूलो कारण हरेक राज्यसंयन्त्र चार/पाँचजना नेताको कब्जामा छ ।

दोस्रो : स्वेच्छाचारिता देखिन्छ । जस्तो– एउटा कुनै कम्पनी छ । उसले अर्कै प्रोडक्ट निकाले पनि उसलाई कारवाही हुँदैन । अस्पतालमा जे गरे पनि उसलाई कारवाही छैन । बसे पनि, जे गरे पनि मनोमानी चलेको छ । स्वेच्छाचारिता देखिन्छ । कर्मचारीमा पनि यस्तै छ । कर्मचारी, डाक्टर इन्जिनियर राजनीतिकर्मी, व्यापारी मात्र होइन, जनताको पक्षबाट पनि यही भएको छ । हल्ला गरियो भने, मान्छे मारियो हुन्छ कि ? जुलुस नारा गरियो भने हुन्छ कि ? यस्तो खालको स्वेच्छताचारिता नेपालमा मौलाएको छ । मान्छे मारिँदा पनि नसुन्ने भइसक्यो । राज्यले पनि नसुन्ने, जनतामा पनि क्षतिपूर्ति दश लाख लिनु छ भने पहिला सडक जाम, बन्द, तोडफोड गर्नैपर्ने मानसिकता छ । यसले गर्दा देश विकास गर्न गाह्रो परेको छ । अरू पनि उदाहरण धेरै छन् ।

तेस्रो : हामीले परिवर्तन छिटो–छिटो खोजेका छौँ । यसले के गरेको छ भने कुनै पनि सिस्टम टेस्ट हुन पाएको छैन । जनताले आज कसैको जय जयकार गरिरहेको हुन्छ, एक–दुई महिनापछि अर्कोको पछि लागेर जयजयकार हुन्छ । केही गर्नु छ भने दीर्घकालीनरूपमा लागिरहनु पर्छ । त्यसलाई सफल बनाउन लाग्नुपर्छ । तर, मानसिकता त्यो देखिएन । आज एउटा कुरा रह्यो, फेरि दुई महिना पछि अर्को कुरा हुन्छ । यसले गर्दा लगाव तथा ईच्छामा पनि एकरुपता नहुँदा समस्या भएको छ ।

यसमा हाम्रो राजनीतिक प्रणाली नै खराब हो कि नेतृत्वको खराब नियतले गर्दा यस्तो भएको हो ?

नियत त सबैको राम्रो होला र हुनुपर्ने जस्तो लाग्छ । तर, त्यसभन्दा राजनीतिक नेतृत्वमा व्यक्तिगत स्वार्थ सुपरसिट हुनाले समस्या छ । अधिकांश नेतृत्वमा आर्थिक लाभ लिउँ भन्ने देखिन्छ । आर्थिक लाभ कसैलाई चाहिएला, आफ्नो व्यक्तिगत जीवन धान्न पनि चाहिन्छ । कसैलाई सुरक्षाका लागि चाहिन्छ, यो एउटा पक्ष हो । तर, त्योभन्दा पनि हाम्रो नेतृत्व कसै न कसैमा समस्या छ ।

कसैलाई दर्जनौं हत्याको आरोप लागेको छ । कोही दर्जनौं ठूला राष्ट्रव्यापी भ्रष्टाचार काण्डमा मुछिएका छन् । यस्तो कमी कमजोरी भएपछि उसले जहिले पनि आफूलाई सुरक्षा खोज्छ र सम्झौता गर्न तयार हुन्छ । देश विकास गर्न, जनताको काम गर्न ध्यान जाँदैन ।

देश बनाउन प्रणाली नै फेर्नुपर्ने हो त ?

प्रणाली हामीकहाँ राम्रो छ । नभएको होइन । यसमा केही सुधारका पक्षहरू पक्कै छन्, त्यसकारण हामी आवाज पनि उठाउँदैछौँ । यसको उदाहरण के भने हामीसँग गणतान्त्रिक व्यवस्था छ । लोकतन्त्र छ । यो उत्कृष्ट व्यवस्थामा पर्छ ।

तर, हवाइजहाज जतिसुकै राम्रो भए पनि, महंगो भए पनि पाइलट र प्रशिक्षक राम्रो र इमान्दार भएन भने दुर्घटना हुन्छ । हाम्रा पात्रहरू योग्य भएनन् । पात्रमा जनताका लागि गर्नुपर्छ भन्ने भाव भएन । यस कारण पात्र दोषी देखिन्छन् । धेरै पात्र पनि होइन, अहिले देश तीस/पैँतिस वर्षदेखि चार÷पाँचजना नेताको बन्धक भएको छ । ।

ती चार–पाँचजना नेताको नाम भनिदिनु न ?

नाम त अब…. सबैलाई थाहा छ । थाहा नहुने कुरै छैन ।

अब यहाँको व्यक्तिगत विषयमा कुरा गरौं । तपाई निम्न वर्गीय परिवारको मान्छे, अमेरिकामा पढ्न र नासामा जागिर कसरी पुग्नुभयो ? यो कसरी सम्भव भयो ?

यो मेरो व्यक्तिगत लगन हो । सपना बच्चामा देखियो इन्जिनियर बनौँ भनेर । काठमाडौँ आएर इन्जिनियर बनियो । त्यसमा अलिकति राज्यको पनि योगदान छ । छैन म भन्दिनँ । राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । इन्जिनियर पढ्दा पनि राज्यले लगानी गरेको हुन्छ । निःशुल्क जस्तै हुन्छ ।

म यहाँबाट जापान गएँ । त्यहाँबाट क्याम्ब्रिज गएँ । र, क्याम्ब्रिजबाट अमेरिका गएँ । त्यहाँ वैज्ञानिकका रूपमा जागिर खाँदै आए ।

क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको र अमेरिकामै जागिर खाइरहेको मान्छे, केले नेपाल फर्कन बाध्य बनायो ?

म जतिबेला अमेरिकामा काम गर्दै थिएँ । त्यसबेला मैले मेची–महाकाली यात्रा गरेँ । त्यो मेरो लाइफ चेन्जिङ इभेन्ट थियो । यो विषय मैले आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ मा पनि लेखेको छु । त्यसमा धेरै घटना छन् ।

एउटा घटना, आफ्नै गाउँको घटना छ । तपाई अमेरिकामा वैज्ञानिक नै भइसकेपछि पनि, जतिसुकै धनी भइसकेपछि पनि यहाँ जनताको दूरावस्था छ । गरिवी छ । सदाचारीपन छ । यसलाई समाधान गर्नका लागि त्यो पर्याप्त थिएन । मेरै गाउँमा मलाई खानेपानीको एउटा बोरिङ गाडिदिनु पर्‍यो । तर, त्यसै गर्न सकिन्न । त्यसमा सम्बन्धित निकायको अनुमति लिनुपर्‍यो । म राजनीतिमा नआएर कहिल्यै पनि हुँदैन ।

पश्चिमको कञ्चनपुर जिल्लामा कमैया, कमलरी थिए । उनीहरूलाई जसरी पनि आवासको व्यवस्था गरिदिनुपर्‍यो, बसोबासको व्यवस्था गर्नुपर्‍यो भन्दा पनि मैले गर्ने अवस्था थिएन । म अमेरिकामा वैज्ञानिक त छु, तर आफ्नै जनताले जुन आशा गरेका छन्, त्यो पूरा गर्न म असमर्थ छु । त्यो भएर म फिर्ता गएर राजनीतिमा होमिएर नै त्यो काम गर्नुपर्छ भनेर फिर्ता भएँ ।

विदेश कति वर्ष बस्नुभयो ?

मोटामोटी ९–१० वर्ष बाहिर बसेँ ।

नेपाल फर्केपछि तपाईले शुरु गर्नुभएको राजनीतिक यात्राबारे पछि कुरा गरौंला, अहिले अलिकति व्यक्तिगत कुरामै जाऔं । तपाई प्रायः सधैं रातो टाई लगाउनुहुन्छ अनि लामो कपाल नै किन पाल्नुहुन्छ ? यो हेयर स्टायलका बारेमा केही बताउन मिल्छ ?

यो धेरै ठूलो कुरा होइन । सांकेतिक कुरा छ । लामो कपाल विद्रोहीको स्वभाव हो । सबैले यस्तै गरेर आऊ, कपाल छोटो बनाऊ भन्ने हुन्न । समाजले जे सिकाएको हुन्छ, त्यो विद्रोहको स्वरूपमा कपाल देखिन्छ । टिन एजर्सहरुमा हेर्नुभयो भने किन उनीहरुको कपाल लामो हुन्छ भन्दा उनीहरूमा विद्रोही स्वभाव हुन्छ । जानेर गरेको हुँदैन । यो विद्रोहीको प्रतीक हो । रातो टाई बलिदानको प्रतीक हो । क्रान्तिको प्रतीक हो ।

ओशोतिर किन लाग्नुभएको ? रहर कि बाध्यता ?

ओशो मेरा तदगुरु हुनुहुन्छ । मैले जति पनि विश्वदृष्टि बनाएको छु, वल्र्ड भ्यु मेरो छ, त्यो कतै न कतै उहाँबाट प्रभावित भएर बनेको हो । त्यो भएर मार्ग देखाउने गुरु मानेको हुँ । केही समय अगाडि सन्यास पनि धारण गरेको छु । यो बाध्यता होइन ।

ध्यान किन गर्नुहुन्छ ? 

ध्यान आवश्यक छ । शरीरलाई तपाईले आराम चाहिएजस्तै दिमाग र आत्मालाई पनि काम गर्दा थकान महसुस हुन्छ र आरामको आवश्यकता हुन्छ । त्यो आराम भनेकै आत्माको आराम हो ।

यहाँलाई के भनेर चिन्ने ? जोगी कि नेता ?

मान्छेको बहुपहिचान हुन्छ । त्यसमा एउटै पहिचान बोक्नुपर्दैन । जसरी बुझे पनि हुन्छ ।

अनुमति दिनुहुन्छ भने थोरै पारिवारिक अवस्थाबारे सोधौं । तपाई विवाहित कि अविवाहित ?

म विवाहित हुँ ।

बालबच्चा ?

तीनजना छन् । १३ वर्ष भयो विवाह भएको । ठूलो छोरो १२ वर्षको छ । सबैभन्दा कान्छो ६ वर्षको छ ।

परिवारलाई गोप्य राख्नुभएको हो ?

गोप्य हुन गएको हो । गोपनीयता छैन । नजिकका मान्छे सबैलाई थाहा छ ।

 जीवनसंगिनी राजनीतितिर हुनुहुन्छ कि अन्यत्र ?

उहाँ घरपरिवार सम्हाल्नुहुन्छ ।

अब राजनीतिक विषयतिर फर्कौं । सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर तपाई राजनीतिमा नयाँ ढंगबाट प्रस्तुत हुनुभयो । मधेसलाई छुट्टै देश बनाउनुपर्छ भनेर लाग्नुभयो । कारण के थियो ?

उचित कारणहरू थिए र छ । राज्यले जुन किसिमले मधेसमाथि विभेद गर्दै आएको छ, त्यो हाम्रो शब्दमा उपनिवेश शासन हो । जीडीपीको दुईतिहाइ हिसाब र राजस्वको पनि क्षेत्रगत हिसाब मधेसले दिन्थ्यो । यति हुँदाहुँदै पनि मधेसको विकास भएन । त्यसको परिणाम आज देखिएको छ ।

कर्णालीलाई हामी पढ्छौँ, पछाडि थियो । तर, आज कर्णालीको साक्षरता ७६ प्रतिशत छ । सबैभन्दा धेरै सुगम भनिएको मधेस प्रदेशको साक्षरता दर ६३ प्रतिशत छ । त्यस्तै मानव विकाश सूचाङ्क र गरिवीको सूचाङ्कमा पनि मधेस धेरै पछाडि छ । यो हुनुका कारण काठमाडौंले कहिल्यै पनि मधेसतिर विकास हुनुपर्छ भनेर सोचेन ।

‘स्वतन्त्र मधेस’को अभियानबाट के कारण फिर्ता हुनुभयो ? त्यो गलत थियो भन्ने लाग्छ कि लाग्दैन ?

समग्र, एकलाइनमा भन्दा मधेसमा उपनिवेश शासन भएकाले हामीले मुक्ति खोजेका थियौं । त्यसको विकल्प थिएन । किन फिर्ता भएँ भन्दा अहिले जनता त्यो स्थितिमा साथ दिने गरी पुगेका थिएनन् । हामीलाई काम गर्न असहज भयो । राज्यले दमन ग¥यो । भन्नका लागि मात्र लोकतन्त्र भन्छ तर हामीलाई दमन भयो । सामाजिक कार्य पनि गर्न दिएन । मलाई घरमा नजरबन्द गरिदियो । त्यो भएर मूलधारमा आएर जति सकिन्छ, त्यति विकासका कामहरू गरियो ।

विखण्डनको नारा दिएर गल्ती गरेको महसुस हुँदैन ?

हुँदैन । किनभने, तपाई अहिले पनि यसलाई खोज्नुभयो भने त्यसको पर्याप्त कारण भेटाउनु हुन्छ । अहिले पनि कुनै आँकडा नै खोज्यो भने पनि कारण छ । मूलधारमा आइसक्दा पनि काठमाडौंका पार्टीहरूमा मधेसमा राम्रो हुनुपर्छ धन्ने कतै पनि लगाव छैन । म लगभग एक वर्षदेखि सरकारमा छु । यत्ति गठबन्धनका बैठकमा गएको छु, खुलेर भनेको छु, सामाजिक सञ्जालमा लेखेको छु । यो सरकारबाट र यो प्रणालीबाट मधेसका लागि केही हुन्छ भनेर कसैले आकलन गरेको छैन । त्यो मैले देखेको, भोगेको छु ।

सिस्टमले के गछ/गर्दैन हेर्दैैछु नि । मधेसमा राम्रो होस भनेर कुनै पनि सचिवहरूको नियत छैन । मधेसले एउटा परियोजना र शिक्षा पाओस्, अस्पतालहरु खुलुन् भन्ने छैन । स्वतन्त्र भएपछि डिसिजन मेकिङ त उनीहरूको हातमा जान्छ नि । उनीहरूले आफ्ना लागि निर्णय गर्न सक्छन् । स्वतन्त्र भएपछि कहाँ अस्पताल चाहियो, कहाँ विद्यालय चाहियो, कहाँ कस्तो प्रणाली चाहियो, त्यो उनीहरूले निर्णय गर्छन् नि ।

हामीकहाँ केही भयो कि विदेशीको आरोप लगाइहाल्ने चलन छ । आफूतिर हेर्दैनौं । हिजो मधेसमा समृद्धि थियो, त्यसलाई आज राक्षस बनाउने विदेशी हो र ? कम साक्षर बनाउने त यही राज्य हो । यो कमजोरी यिनले हेरेनन् । अब धेरै दिन छैन, मान्छेले बुझ्न थालिसके । मान्छेले मात्र होइनm पहाडी र सीमान्तीकृत वर्गले पनि बुझ्न थालिसके ।

अमेरिकामा त संसारका मान्छे अटाएर बसेका छन् । त्यही अमेरिकामा पढेर फर्कनुभएको तपाई ‘स्वतन्त्र मधेस’ बनाउने अभियानमा कोबाट दीक्षित हुनुभयो ?

मैले भनें, १२ वर्ष जति भयो यो कुरा उठेको । १२ वर्षमा उहाँहरूले ममाथि के–के गर्नु भएन ? मलाई नजरबन्दमा राख्नुभयो । ममाथि सबैभन्दा कडा अनुसन्धान गरियो । कागज–कागज खोजेर, इमेल खोजेर हरेक कुरा गर्न सकिन्छ भनेर देशभरिकै संयन्त्र लागे । १२ वर्षमा एउटा मात्र प्रमाण देखाउन सक्नुभयो मैले विदेशबाट सञ्चालन गरेको ? देखाउन सक्नुभएन । किनभने, म कुनै विदेशबाट सञ्चालित भएको भए ठूला–ठूला मुख्यपृष्ठमा पढ्न पाउनु हुने थियो । अरू पात्रको आएजस्तो मेरो त कहिल्यै आएन । प्रमाण भएको भए आउने थियो नि । तर, केही छैन । त्यसकारण म आफू नै अनुभूति गरेर आएको मान्छे हुँ । यहाँको दुर्दशा देखेपछि फर्केको मान्छे ।

तपाई जनमत पार्टी स्थापना गरेर मूलधारको राजनीतिमा हुनुहुन्छ । प्रतिनिधिसभामा ६ सिटको प्रतिनिधित्व छ । तपाईको पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपाबीच के फरक छ ?

हामी धेरै फरक छौँ । आधार नै फरक छ । हामी कुनै प्रोफेसनल राजनीतिज्ञ हुन्छ नि, त्यो होइन । विरासतको राजनीति हुन्छ नि, बाबु पनि मेयर, छोरा पनि नेता बन्न आयो भन्ने । हामी त्यो होइन । हामी किन राजनीतिमा आयौं भन्दा यो देशको अवस्था सैह्य भएन । देशको अवस्थामा सुधार गर्न सबै काम छाडेर लाग्यौँ ।

काम नपाएर बेरोजगार भएपछि मान्छे राजनीतिमा लाग्छ । वा, बा–आमा राजनीतिमा थिए, नेता थिए अनि लाग्छ । हामी त्यस्तो मान्छे होइन । हामी त्यो मुभमेन्ट हुँदा पार्टीमा थिएनौँ । संसद बनौंला, मन्त्री बनौंला भनेर आएको होइन । हामी त ज्यान जोखिममा पारेर आएका हौं । हामी सबैले सम्मान पाउन् भनेर लागेको हो । पद र प्रतिष्ठा भनेर आएको होइन । त्यसैले रुट नै, कज नै फरक छ ।

हामी सांसद नै बने पनि मन्त्री त म बन्न गइनँ । अरू पार्टीका अध्यक्ष त गए । म मन्त्री बन्न राजनीतिमा आएको होइन । मलाई मतलब छैन । बन्नुपरेको भए बन्ने थिएँ तर खान आएको होइन । त्यो फरक छ ।
हिमाल, पहाड र तराई सबैतिर राम्रो होस् । जहाँ पनि राम्रो होस् । देशमा रोजगारी होस भनेर आएको हो । ८ लाख माछे यो वर्ष मात्र विदेश गएका छन् । तिनलाई यहीँ रोजगारी दिन सकौं भन्ने छ ।

जनमत पार्टी पनि जसपा र लोसपाकै नयाँ संस्करण हो कि तपाईहरुका राजनीतिक एजेन्डा पनि फरक छन् ?

केही एजेन्डामा समानता छ । गणतन्त्र, संघीयता लगायतका कुरामा साझा एजेन्डा छ । यसबाहेक अरू पार्टीले रोजगारीका लागि जुलुस निकालेको देख्नुभएको छ ? हामी निकाल्छौँ । रोजगारी, उद्योग चाहियो भनेर निकाल्छौँ । अरू पार्टीले भ्रष्टाचारको विरोधमा जुलुस निकालेको देख्नुभएको छ ? हामीले प्रदेश सरकार भए पनि, मधेस सरकारमा भए पनि भ्रष्टाचार भयो है, कारवाही हुनुपर्छ भनेर पटक–पटक ज्ञापनपत्र दिएका छौँ । छानबिनको माग गरेका छौँ । हामी सुशासन चाहन्छौँ र त्यसका लागि आन्दोलन गरेका छौँ ।

हामीले किसानका लागि आन्दोलन गर्न भातृ संगठन पनि स्थापना गरेका छौँ । अरु पार्टीले किसानका लागि आन्दोलन गरेको सुनेको छैन तर हामीले ठूलो आन्दोलन गर्‍यौं। किनकि हामी सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्छौं र तिनीहरूका लागि सङ्घर्ष गर्छौँ । पावरमा जानुपर्छ भनेर संघर्ष गरेको होइन ।

फरक छौं मात्र भन्ने तर फरक देखाउन नचाहने जस्तो देखियो नि किनकि अहिले तपाईँहरू पनि सरकारमा त जानुभएकै छ….

सरकारमा भएता पनि मैले बजेटमा भोट गरिनँ त्यो हो फरक । सरकारलाई समर्थन दिएको थिएँ तर बजेटमा धेरै त्रुटि भयो । सरकारबाट होस् या गठबन्धनबाट निकालिदियोस् केही फरक पर्दैन तर हामी यो बजेटलाई भोट गर्न सक्दैनौँ भनेर अडान लियौँ ।

उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उपराष्ट्रपति हुनुपर्ने प्रावधान थियो । खासमा यिनीहरूले राजनीतिकरूपमा प्रभाव पारे । त्यसमा हामीले महिला नै हुनुपर्छ भन्यौँ । त्यहाँ पनि फरक भयौँ ।
अहिले निषेधित क्षेत्रहरू धेरै घोषणा गरियो । त्यो खुल्ला लोकतन्त्रको खिलाफ भयो भनेर हामी त्यसको विरोध गर्‍यौं । यहाँसम्म कि त्यो निषेधित क्षेत्र तोडेर पक्राउ पनि परियो । त्यो मामिलामा पनि फरक भयो । उनीहरू दमन गर्ने भइदिए, म त एकदम दमित पात्र भएँ सरकारमा हुँदाहुँदै पनि ।

जनमत पार्टीलाई राष्ट्रवादी पार्टी भन्ने कि मधेसवादी ?

अहिले त राष्ट्रिय पार्टी हो । राष्ट्रवादी म भन्दिनँ । किनभने, नेपालमा खोक्रो राष्ट्रवाद छ । जो राष्ट्रवादी भनेर सबैभन्दा धेरै कराउँछन्, जुन पोजिसन हुन्छ, त्यो देखिएको छैन । जो सबैभन्दा बढी कराउँछन्, उही सबैभन्दा पहिला गएर आत्मसमर्पण गरिरहेको छ ।

राष्ट्रिय पार्टी भनिरहँदा सातै प्रदेशमा तपाईँहरूको सङ्गठन विस्तार त्यति धेरै राम्रो देखिँदैन नि ? मधेसमा मात्रै केन्द्रित किन ?

हामी सबै ठाउँतिर बिस्तारै गरिरहेका छौँ ।

मधेस केन्द्रित पार्टीभित्र पनि आन्तरिक द्वन्द्व किन ? सबै मधेसी दल एक हुन किन नसकेको ?

एक नै हुनुपर्छ भन्ने छैन । सिद्धान्त मिले पनि नमिले पनि राजनीतिक लोभका लागि एक हुनु पनि राम्रो हैन । हामी सिद्धान्तको राजनीति होस्, न्यायका लागि राजनीति होस्, जनताको सेवा सुविधाका लागि, सर्भिस डेलिभरीका लागि राजनीति होस् भन्ने चाहन्छौँ । यसैमा अडान लिएर हामी बसेका छौँ । खालि, प्रधानमन्त्री बन्न पाइन्छ कि भनेर भएभरको राजनीतिक दललाई मिलाइदिने भन्ने हुँदैन ।

अर्को, राजनीतिक पार्टी भनेको विचारधारमा आधारित हुने हो । राजनीतिक ‘पावर गेन’ गर्नका लागि मात्र हैन । पहाडमा पनि दर्जनौं पार्टी छन्, त्यसैले मधेसमा मात्रै किन एक हुनुपर्‍यो त ।

सत्तामा पुग्न र मधेसबाटै नेतृत्व आउनलाई त पार्टी एक हुनुपर्‍यो नि हैन र ? युवा नेतृत्व भएकाले एक हुनतिर पहल गर्नुपर्दैन ?

केही साझा राजनीतिक एजेन्डामा मिलेर संघर्ष गर्न हामी तयार छौँ । तर, यसको मतलब पार्टी एक नै हुनुपर्छ भन्ने छैन । सिद्धान्त नै मिलेको छैन, एउटाले भ्रष्टाचार गर्न पाउनुपर्छ भन्छ, अर्कोले भ्रष्टाचारको छानबिन गर्नुपर्छ भन्छ अनि कसरी एक हुने त ।

अहिले मधेस प्रदेशमा अर्को दल पुरै भ्रष्टाचारमा लिप्त छ । हामी भ्रष्टाचार गर्नु भनेको जनताको पैसा खानु हो, जति भ्रष्टाचार भयो, त्यति नै जनता गरिब भए, त्यसैले यो हुनु हुँदैन, भ्रष्टाचारीलाई  कारबाही गर भन्छौँ । तर, अर्कोले भ्रष्टाचारीलाई रक्षा गर भन्छ भने हाम्रो कसरी एकता हुन्छ त ? यही भएर सिद्धान्तमा अगाडि बढ्नुपर्छ ।

पार्टी एकताका लागि अहिलेसम्म कसैसँग संवाद नै गर्नुभएको छैन ?

संवाद भएको छैन । कुनै–कुनै मुद्दामा जस्तो – उपराष्ट्रपति चुनावमा सहकार्य हुने कुरा थियो । त्यसका लागि सम्झौता नै भएको थियो । नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि सम्झौता भएको थियो । उहाँहरू नै उपराष्ट्रपति उम्मेदवारमा प्रस्तावक र समर्थक बस्नुभएको थियो तर भोट हाल्ने बेलामा अन्तै जानुभयो । कस्तो खालको राजनीति हो त उहाँहरूको ?

उहाँहरूमा यो गठबन्धनबाट बाहिर निकालिदेला कि ? मन्त्री बन्न नदेला कि ? भन्ने डर थियो । तर, हामीले अडान लिएर निकाले निकाल्नुहोस् हामी त सिद्धान्तमा चल्ने मान्छे हो उपराष्ट्रपतिमा महिला हुनुपर्छ भन्यौँ । अहिले राष्ट्रिय सभाको निर्वाचनमा उनीहरूले पूरा मधेसी र थारुहरूलाई बाइकट गरेर सबैले उम्मेदवार उठाइदिए । जबकि संविधानले नै सबैलाई समावेशी हुने तरिकाले अगाडि बढाउनुपर्छ भनेको छ । तर, उहाँहरूले मधेसमा पनि मधेसीलाई र लुम्बिनी प्रदेशमा पनि थारुलाई राख्नुभएन । हामीले बाध्य भएर आफ्नै उम्मेदवार राखेका छौँ । उहाँहरूले निकालिदिए पनि निकाल्दिनुहोस्, हामी डलाई डर छैन ।

मधेसी दलहरू एक हुन नसकेकोले हामी राज्यसत्ताको नेतृत्वमा पुग्न सकेनौँ र मधेसी जनताको विकास भएन, त्यसैले एकताका लागि संवाद गरौँ भन्ने लाग्दैन ?

संवादका लागि ढोका खुल्ला छ तर सिद्धान्त मिल्नु आवश्यक छ । सानातिना कुरा नमिल्नु ठूलो कुरा हैन तर आधारभूत कुरा नै नमिलेपछि गाह्रो छ । हाम्रो पार्टी भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको पार्टी हो । सुशासन कायम गर्न खोजेको पार्टी हो । अर्को पार्टीले एजेन्डामाथि दमन गर्दै हिँड्छ र उमाथि मुद्दा लाग्नु हुँदैन है भनेर उसको नेताले केही गर्नुहुँदैन भन्छ भने त्यो त भएन नि ।

अर्को कुरा आँकडा नै मिलाई दिए पनि नेतृत्व लिने ठाउँमा पुग्छजस्तो मलाई लाग्दैन । किनभने, सिस्टममा अहिले धेरै विकृति छन् । यहाँ सिन्डिकेट छ । जतिबेला पुग्न खोज्यो, त्यति बेला यिनले पुग्न दिँदैनन् । किनभने, १० सिट भएको पार्टी (एकीकृत समाजवादी) जुन राष्ट्रिय पार्टी पनि हैन, उसले प्रधानमन्त्रीमा दाबी गरेको छ । १२ सिट भएकाले वा हामी सबै मिलाई दियो भने त त्यो भन्दा पनि बढी हुन्छ, तर हामी कसैलाई दाबी गर्न दिँदैनन् । यहाँ त ती ४/५ जनामध्ये छानेरै प्रधानमन्त्री लिने हो, बाहिरकोलाई दिने हैन भन्ने छ ।

यहाँसम्म आइपुग्दा तपाईले विद्रोहको राजनीति र मूलधारको राजनीतिमा कति फरक पाउनुभयो ?

सत्तामा वा मूलधारमा बसेर राजनीति गर्नु धेरै फरक छ । तर, कठिन भए पनि केही काम हुने ठाउँ यही हो । अहिले यहाँ नआइदिएको भए यो कुरा बुझ्न पनि सकिँदैनथ्यो । कहाँ कहाँ फ्लो छ भनेर ।
बाहिर बसेर त टार्गेट फ्लो मात्र लिने हो कि म यहाँ पुगेपछि यस्तो यस्तो गर्छु भनेर । यहाँ आएपछि यो कारणले गर्न सकिने रहेनछ, यहाँ यो ठाउँमा फ्लो छ, कर्मचारी तन्त्रमा यस्तो छ, सिस्टममा, संसदमा यस्तो छ भनेर देख्न पाइयो ।

उसोभए विद्रोही हुनु र संसदमा हुनुमा धेरै फरक रहेछ ?

धेरै फरक छ । विद्रोही हुँदा यो रोड बनाइदेऊ किन बनेन भनेर मसँग सोध्दैनथे । अहिले हाम्रो हातमा भए पनि नभए पनि यो पुल किन बनेन, मेरो घरमा पानी किन आएन, मेरो मुद्दा किन दर्ता भएन भन्ने प्रश्न मात्र हैन, त्यो समाधान गरेर पनि दिनुपर्छ ।

त्यति मात्र हैन, जागिर लगाइदिन पर्‍यो भन्ने र कति त अनुचित आग्रहहरू पनि हुन्छन् । प्रहरीमा फेल भयो, प्रहरीमा लगाइदिनु पर्‍यो । त्यो अनुचित कार्य हो । तर, त्यो अपेक्षा पनि जनताले गरिरहेका हुन्छन् । त्यही भएर बिद्रोहीको राजनीति गर्दा सजिलो छ ।

उसोभए कहिलेकाहीँ विद्रोही नै पो ठिक रहेछ भन्ने लाग्छ ?

व्यक्तिगतरूपमा चाहिँ ठिक थियो । तर, पाउने भनेको त यहीँबाट सिस्टममा सुधार गरेर हुन्छ कि, प्रतिस्थापन गरेर हुन्छ कि, यहीँबाट पाउने हो ।

तपाईँको जनमत पार्टीले महाधिवेशन गरेको सुनिँदैन, कतिन्जेल तपाईँको मात्रै नेतृत्व हुने हो ? अथवा महाधिवेशनको केही तयारी छ कि ?

हामीले महाधिवेशन गरिसक्यौँ । हाम्रो प्रथम महाधिवेशन भनेको जनकपुरमा ०७७ चैत्रमा भएको थियो । हामी त्यहाँबाट निर्वाचित पदाधिकारीहरू छौं । हामीले अरु पार्टीजस्तो गर्दैनौँ । अध्यक्षलाई पूरा जिम्मा दिएर र उहाँले चयन गरेको पनि हैन । हाम्रोमा उम्मेदवार उठाएर, ब्यालेट खसालेर पदाधिकारी निर्वाचित भएको हो । अब अर्को महाधिवेशन दुई वा डेढ वर्षमा हुँदैछ ।

नेतृत्व हस्तान्तरण पनि हुन्छ ?

हुन सक्छ । म नै बसिराख्नुपर्छ भन्ने छैन । म अरुजस्तो होइन, पद छोड्न तयार छु । म अहिले पनि सांसद बन्नेवाला पनि थिइनँ । तर, पार्टी नै डुब्ने अवस्था देखियो । तपाई नउठेपछि जनताले भोट नै हाल्दैनन् र पार्टी नै कोल्याप्स हुन्छ भनेपछि म उठेको हो । हुन पनि म नउठेको भए त्यो सिट जित्दैनथ्यौं । नजितेपिछ आज राष्ट्रिय पार्टी पनि बन्दैनथ्यौं । एउटै संसद् नै प्रतिनिधित्व हुने अवस्था थिएन । त्यसको परिणाम देखियो । त्यसैले मैले कुनै कुर्सीका लागि राजनीति नगरेकाले त्यसमा कुनै आपत्ति छैन । योग्य मान्छे हुनुपर्छ । पार्टीको नेतृत्व लिनुपर्छ र देशको पनि नेतृत्व लिनु पर्छ ।

तपाई सप्तरीबाट ०७९ को निर्वाचनमा उपेन्द्र यादवसँग चुनाव उठ्नुभयो र जित्नुभयो । उपनिर्वाचनमा पनि उपेन्द्र यादवविरुद्ध बारामा उम्मेदवार उठाउनुभयो उहाँसँग तपाईको मनमुटाबको खास कारण के हो ?

मेरो मुखबाट तपाईँले कहिल्यै उहाँका बारेमा नराम्रो सुन्नुभएको छ ? मैले जहिले पनि उहाँलाई ‘एप्रिसिएट’ गरेको छु । बाहिर मान्छेको बुझाइ चाहिँ अर्कै हुन्छ । तर, मैले सुरुदेखि नै उहाँलाई ‘एप्रिसिएट’ नै गरेको हुन्छु । उहाँको योगदानको कदर नै गरेको हुन्छु । संसदको पहिलो भाषणमा पनि मैले उहाँको नाम नै लिएर पनि उहाँको सम्मान गरेको थिएँ । जहाँ पनि मैले उहाँको सम्मान नै गरेको छु ।

भयो के भने– एकै ठाउँमा उम्मेदवारी दिएपछि मान्छेले प्रतिस्पर्धीका रूपमा लिन्छन् । मेरो घर नै त्यहाँ छ, त म के गर्ने ? आफ्नै निर्वाचन क्षेत्रबाट उठ्ने हो । त्यही भएर म उहाँसँग प्रतिस्पर्धामा चुनावमा गएको हुँ । हाम्रो एक सहमति पनि भएको थियो, दुवै एक ठाउँबाट नउठ्ने । तर, उहाँ पछि त्यहीँबाट उठ्नुभयो ।

उपनिर्वाचनमा पनि बारामा उपेन्द्रलाई पछ्याउँदै जानुभयो भन्नुहुन्छ भने, राजनीतिक पार्टी खोलेपछि म के गर्नु त । पार्टी खोलेपछि त स्वभाविक रुपमा हामीले उम्मेदवार जहाँ पनि उठाउने नै हो । राष्ट्रिय सभाको निर्वाचनमा पनि हामीले उम्मेदवार उठाएका छौँ । उपराष्ट्रपतिमा पनि उठायौँ । राजनीतिक पार्टी भएपछि त जहाँ निर्वाचन हुन्छ, उपनिर्वाचन हुन्छ, हामीले आफ्नो उम्मेदवार उठाउँछौँ ।

उपनिर्वाचनमा त तपाईँहरूले सत्ता गठबन्धनको कुरा नमानेर जसपाविरुद्ध उम्मेदवारी दिएको हो नि ? 

त्यहाँ एमालेका पनि उम्मेदवार थिए । गठबन्धनमा भएको समाजवादीले पनि भाग लिएको थियो । हामीले निर्वाचनका लागि गठबन्धन गरेका होइनौँ भनेर मैले सुरुदेखि नै भन्दै आएको छु । हामी सरकार गठनका लागि कसैको बहुमत नपुगेर मात्रै गठबन्धनमा गएका हौँ । यसको मतलब, हामी आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जान्छौँ भन्ने होइन । उपराष्ट्रपतिको निर्वाचनमा पनि हामी गठबन्धनमा गएनौँ, अहिले राष्ट्रियसभा निर्वाचनमा पनि हामी गठबन्धनमा छैनौँ भने बाराको उपनिर्वाचनमा चाहिँ हामी किन गठबन्धनमा जान्छौँ त ?

तपाईँ सत्ताका लागि राजनीति गरेको होइन भन्नुहुन्छ । तर, अनिता देवी सामान्य प्रशासन मन्त्रीका रुपमा रहको अवस्था छ । सरकारको नेतृत्व गर्नेसँग एजेन्डा नै मिल्दैन भने सरकारमा किन ?

जति काम गर्न सकिन्छ, त्यो गर्नका लागि हामी त्यहाँ गएका थियौँ । कामै गर्न नसकिने भएपछि हामी फिर्ता बोलाउन पछि हट्दैनौँ । योभन्दा अघि खानेपानी मन्त्रालयबाट राजीनामा दिएका थियौँ नि त हामीले । त्यसबेला काम गर्न सकिएन । खानेपानी पुर्‍याउ भनेर जनताले हामीलाई भोट पनि दिएका हैनन् । त्यही भएर हामीले त्यस बेला राजीनामा दिएका थियौँ । आवश्यक पर्‍यो भने सरकारबाट जतिबेला पनि निस्कन सक्छौँ, त्यो ठुलो कुरा होइन ।

राष्ट्रियसभाको निर्वाचनमा जनमत पार्टीलाई पनि गठबन्धनबाट एक सिट छुट्याएको चर्चा थियो । पछि गठबन्धनले त्यो निर्णय पालना गरेन कि ? के भएर सहमति टुट्यो ?

गठबन्धन किन पछि हट्यो, त्यो उहाँहरूलाई नै सोध्नुपर्ने हो । गाउँघरतिर मासु बाँड्दा पनि यता कम भयो, यहाँ थप भनेर एउटा नपढेको मान्छेले पनि भनेको हुन्छ । उसलाई पनि कसैलाई कम नपरोस् भन्ने चेतना हुन्छ । सबैलाई न्यायोचित ढंगले भागबन्डा गर्नुपर्छ भन्ने हो । तर, जुन ठाउँमा देशका शीर्ष नेता बसेका छन्, त्यहाँ चाहिँ अरूको भाग कसरी खोस्ने भन्ने प्रवृत्ति देखिन्छ ।

पार्टीको मात्रै पनि होइन, कलस्टरको पनि । मधेसीको भाग कसरी खस्ने, आदिवासीको कसरी खोस्ने, मुस्लिमको कसरी खोस्ने भन्ने प्रवृत्ति छ । उहाँहरूमा ‘सेन्सअफ जस्टिक्स’ छैन । शीर्ष पाँच नेतामा यो ज्ञान छैन भने उनीहरूले जनतालाई कसरी न्याय दिन्छन् । यो कुरा मैले गठबन्धनकै बैठकमा राखेको थिएँ । त्यो खोसाखोसमा जनमत पार्टी बिलाएको हो क्या खासमा ।

कांग्रेसले तपाईंहरुलाई राष्ट्रियसभामा सिट दिन नखोजेको हो कि ?

मैले कसैलाई भन्न सक्दिनँ । उहाँहरूको आफैँमा भागबन्डा पुगेको छैन । अरू घटकहरू पनि असन्तुष्ट थिए । उहाँहरूमा ‘सेन्स अफ जस्टिक्स’ नै छैन । नभए त हामीलाई बोलाएर तपाईंहरुको भागमा एउटा सिट परेको छ भनेर दिनुपर्थ्यो । ३२ वटा सिटलाई ६ वटा पर्ने अनि ६ वटा सिटलाई एउटा पनि नपर्ने ? १० वटा सिटले दुई वटा पाउने अनि ६ वटा सिट भएको हामीले राष्ट्रिय सभामा एउटा पनि सिट नपाउने भन्ने हुन्छ ? उहाँहरूले हामी नजाँदा पनि बोलाएर हामीलाई सिट दिनुपर्थ्यो । तर, उहाँहरूमा त्यो प्रवृत्ति देखिँदैन ।

जहिले पनि कसरी अरूको हक खोस्ने भन्ने प्रवृत्ति देखिएकाले त्यो अवस्था सिर्जना भएको हो । यसमा म धेरै ठूलो आश्चर्य मान्दिनँ । यही कारणले पनि यो देश विकास नभएको हो । जहाँ पनि अर्काको अधिकार खोस्ने, बजेट खोस्ने । खोसाखोसमै बितिरहेको छ । यो एक वर्षमा पनि के भएको छ र ? सिट खोसियो । यसमा म चित्त दुःखाउदिनँ ।

चित्त नदुखेकै कारण जनमत पार्टी सरकारमा बसिरहेको हो त ?

प्रधानमन्त्रीलाई मैले पहिलादेखि नै सम्झाउँदै आएको छु कि– म आफ्नो सिद्धान्तमा हिँड्छु । तपाईंहरुलाई असहज लाग्छ भने जहिले पनि सरकार छोड्न सक्छु । राजीनामा त जहिले पनि लेखेर राखेको हुन्छ हाम्रोमा । मैले यो कुरा प्रधानमन्त्रीलाई हरेक महिना सम्झाइरहेको हुन्छु ।

सीके राउत शालीन, भद्र र इमानदार देखिनुहुन्छ । तर, तपाईँले सरकारमा पठाएका मन्त्रीले बेइमानी गर्नुभयो भनेर सामाजिक सञ्जालमा आयो नि कुरा ?

जसको काम हुँदैन, उसले अनावश्यक कुरा फैलाउँदै हिँड्छ । हामीले सुरुदेखि नै भन्दै आएका छौँ कि कसैलाई एक रुपैयाँ पनि दिनुपर्दैन, कसैले मागेको छ भनेर प्रमाण लिएर आउनू, हामी कारबाही गर्छौँ भनेका छौँ । हाम्रो तर्फबाट कुनै त्रुटि भएको छैन । हामीले सुशासन राखेका छौँ । जनताले त्यसको अनुभूति पनि गरेका छन् । तारिफ पनि गरेका छन् । अहिले अरू पार्टीका नेताहरु पनि हाम्रो पार्टीको नेता हुँदा सरुवाका लागि पाँच लाख बुझाउनुपर्थ्यो, अहिले तपाईँहरू हुँदा एकै दिनमा काम भयो भन्दै आउँछन् ।

अहिलेका नेताहरू राजाजस्तै देखिन थाले भन्ने जनताको गुनासो छ, तपाईले चाहिँ संगतमा कस्तो पाउनुभयो ?

भएकै हो । राणाकालामा भ्रष्टाचार गर्दा ठूलो सजाय हुनुसक्थ्यो । अहिले ठूला काण्डमा शीर्षनेताहरूको नाम आउँछ । प्रमाण नै भेटिन्छ, कोहीमाथि कारबाही हुँदैन । राजा र राणा हुँदा पनि अदालतको ठूलो महत्त्व हुन्थ्यो । अहिले अदालत त नेताको फोनका भरमा चल्छ । कसलाई के सजाय हुने, कसलाई उन्मुक्ति दिने, कसलाई भित्र राख्ने, यो सबै कुरा फोनकै भरमा हुन्छ । सर्वोच्च अदालत पनि नेताको फोनका भरमा चल्छ । निर्वाचन आयोग पनि फोनका भरमा घुम्छ । अख्तियार पनि फोनका भरमा चल्छ । सबैको फाइल हुन्छ, कसलाई तर्साउने हो, अनि त्यही अनुसार खुल्छ ।

अहिलेका कुन नेतालाई तपाईँ आफ्नो आइडलका रूपमा लिनुहुन्छ ?

म अहिलेका मध्ये कसैको नाम लिन सक्दिनँ ।

एमाले अध्यक्ष केपी शर्मा ओली कस्तो लाग्छ ?

हरेक नेतामा केही गुण र अवगुण हुन्छन् । आदर्श नै मान्नुपर्ने त म देख्दिनँ । केही गुण प्रचण्डजीको पनि राम्रो होला, केही शेरबहादुरजीको, केही कुरा ओलीजीको पनि राम्रो छ । ओलीजीको राम्रो पक्ष भनेको उहाँले भिजिनरी कार्यक्रमहरू ल्याउनुहुन्छ । हरेक निर्वाचन क्षेत्रमा एक करोडको सडक, हरेक पालिकामा एक अस्पताल, हरेक पालिकामा एक भ्यु टावर, पानीजहाजको कुरा ल्याउनुहुन्छ । शेरबहादुरजीमा एउटा लोकतान्त्रिक संस्कार छ । विरोध गरेपछि कारबाही हुनुपर्छ भन्ने उहाँको मान्यता छैन ।

प्रचण्ड  ?

प्रचण्डजी एउटा क्रान्ति गरेर आएको मान्छे हो । उहाँको नेतृत्व क्षमता र एसोसिएसन गर्ने क्षमता एकदमै ठूलो छजस्तो लाग्छ । त्यो सही दिशामा प्रयोग भएको छ कि छैन आफ्नो कुरा हो ।

माधवकुमार नेपाल ?

माधवजीसँग मेरो धेरै संगत भएको छैन । जानकार व्यक्तिजस्तो लाग्छ । संगठन बनाउन सक्ने, गहन अध्ययन गर्न सक्ने नेता हो जस्तो लाग्छ ।

रवि लामिछाने नि ?

रवि लामिछानेबाट मेरो पनि ठूलो आशा छ । देशले पनि आशा गरेको छ । ऊर्जाशील हुनुहुन्छ । जहाँ जाँदा पनि सकारात्मक भाव दिनुहुन्छ । राम्रो होस्, मेरो शुभकामना छ ।

काठमाडौँका मेयर बालेन्द्र शाह ?

राम्रो लाग्छ । उहाँ पनि युवाहरूको आशा हो । मेरो भेट भएको छैन ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नि ?

उहाँले पनि राम्रो गर्दै हुनुहुन्छ ।

यहाँले आफ्नो नेपालका कुनै नेतालाई राजनीतिक आदर्श किन भन्नुभएन ?

देशभित्र पनि प्रेरित गर्ने व्यक्तित्व नभएको होइन । मेरो राजनीतिक जीवनचाहिँ अलि गान्धीबाट प्रभावित छ । हाम्रो पार्टी बन्नुभन्दा अघिको आदर्श पात्र नै नेल्शन मण्डेला र महात्मा गान्धी हो । हामी अधिकतम कुरा नै महात्मा गान्धीको अनुसरण गर्दै अगाडि बढेका हौँ । प्रहरीले हाम्रो आन्दोलनमा जति दमन गरे पनि हामी फूल दिन्थ्यौँ । गान्धीबाट प्रभावित भएर नै मैले ‘मधेस स्वराज’ भन्ने किताब लेखेको हुँ ।

तपाईँ कस्तो विषय अध्ययन गर्नुहुन्छ ? कुन समयमा गर्नुहुन्छ ? 

राजनीतिज्ञले धेरै अध्ययन गर्नुपर्छ । धेरै अध्ययन चाहिन्छ । त्यो अध्ययन नगर्दा पनि धेरै कमी कमजोरी भएको हो जस्तो लाग्छ । विश्व परिस्थिति, देशको अर्थतन्त्र लगायत हरेक कुरामा अध्ययन चाहिन्छ । हरेक दिन बिहान म पढ्छु । केही न केही पढ्छु । बेलुका पनि केही न केही पढ्छु ।

अहिले जनमत पार्टीका सदस्य कति छन् ?

ठ्याक्कै भन्न हामीसँग यकिन तथ्यांक छैन । त्यही भएर पनि अलि भन्न गाह्रो होला । ठेलीको कुरा गर्नुहुन्छ भने आठ/नौ लाख छ । तर यति नै भनेर भन्ने अवस्था भने छैन । मोटामोटी मलाई लाग्छ तीन–चार लाख पुगेको होला ।

अब २०८४ मा  जनमत पार्टीको स्थान कता पुग्छ जस्तो लाग्छ ?

पक्कै पनि बढेर जान्छ । हाम्रो धेरै बढ्छ । किनभने, ०७९ को निर्वाचनमा हामीसँग केही थिएन । मान्छेमा पनि यो पार्टीले जित्छ भन्ने आत्मविश्वास थिएन । अहिले त सबैले देखे नि । राष्ट्रिय पार्टी पनि बन्यो । मान्छेहरू पनि आकर्षित भए । काम पनि राम्रो गरेर देखाउँदैछ ।

अन्तिममा, तपाईँ विदेशमा पढेर फर्किएको मान्छे, अहिले विदेशमा रहेका युवा र विदेश पढ्न जाने युवालाई के भन्न चाहनुहुन्छ ?

उहाँहरूले नेपाल फर्कनु त पर्छ । तर, अलिकति ठूलो हौसलाका साथ फर्किनुपर्छ । फर्कनोस्, स्वागत छ । तर, दृढ इच्छाशक्तिका साथ फर्कनु । केही समस्याहरू सुरुमा बढी नै हुन्छन् तर हामीले मिलेर समाधान गरौँला ।

तस्बिर : किशोर श्रेष्ठ/खबरहब

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ११ : ०४ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र