शालिनका डिभोर्सी आमाबुबामाथि सामाजिक हिंसा | Khabarhub Khabarhub

शालिनका डिभोर्सी आमाबुबामाथि सामाजिक हिंसा

सम्बन्ध विच्छेदको बहसले अपराधको विषयान्तर गर्छ : विज्ञ



काठमाडौं- चितवनको एकता शिशु निकेतनको होस्टेलमा गत फागुन १२ गते १४ वर्षीया शालिन पोखरेल मृत भेटिइन् । उनी पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा बुबा–आमालाई सम्बोधन गर्दै ‘सरी’ भनिएको सुसाइड नोट फेला परेको थियो ।

शालिन सानै छँदा बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । बाबुआमाले बेग्लै घरजम गरेर शालिनलाई होस्टलमा राखेर पढाइरहेका थिए ।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल, मिडिया, नागरिक समाज र सार्वजनिक वृत्तमा शालिनका बुबा–आमाको समेत चौतर्फी आलोचना भयो । जबकि शालिनको हत्या नभई झुन्डिएर आत्महत्या गरेको व्यहोराको पोस्टमार्टम रिपोर्ट आएको बताइएको छ ।

शालिनका बुवा दीपेन्द्र पोखरेलले अर्को घरजम गरिसकेका छन् । आमाले पनि अर्कै घरजम गरेकी छिन् । शालिन चितवनको रत्ननगर–१५ माधवपुरमा रहेको मामाघरमा बस्दै आएकी थिइन् । दुई वर्षदेखि उनी शिशु निकेतनको होस्टलमा थिइन् ।

यो घटनापछि शालिनको मृत्युमा उनका आमाबाबु समेत दोषी रहेको जस्ता टिप्पणी सामाजिक सञ्जालमा आए । आमाबाबु सँगै बसेर छोरीको हेरचाह नगरेकाले यस्तो घटना घट्न गएको आरोप आमाबाबुमाथि लाग्यो ।

आमाबाबु व्यक्तिगत मोजमस्तीमा रमाएको र विवाहलाई खेलौना मान्दा त्यसको मारमा छोरी परेको जस्ता टिप्पणीहरु सामाजिक सञ्जालमा आए ।

शालिन पोखरेल

शालिनको मृत्यु हत्या थियो कि आत्महत्या ? यो बेग्लै अनुसन्धानको पाटो हो । यसमा प्रहरीले अनुसन्धान गरेर पक्कै किनारा लगाउला । पिता दिपेन्द्रले आफ्नी छोरीको नियोजित हत्या भएको गुनासो गर्दै आएका छन् ।

चितवनको एकता शिशु निकेतन स्कुल यति शक्तिशाली मानिन्छ कि यहाँ ठूला नेताहरुको पनि पावर लाग्ने गर्छ । यही भएर प्रहरीले शुरुमा ४ दिनसम्म पिताले दिएको जाहेरी नै लिन मानेको थिएन । पछि मिडियाको दाबावमा मात्रै प्रहरीले जाहेरी लिएको थियो । यतिसम्म कि यो घटनामा पक्राउ परेका विद्यालयका कर्मचारीको बचाउमा निजी विद्यालय एशोसिएसन प्याप्सनका पदाधिकारीसमेत उत्रिएका थिए ।

प्रहरी र अन्य शक्तिकेन्द्रहरुको यस्तो व्यवहारले परिवारजनमा आशंका र प्रश्नहरु जन्मिनु अस्वाभाविक थिएन । तर, समाजले शालिनका आमाबुबालाई यसरी लखेट्यो कि मानौं उनीहरु नै अपराधी हुन् जस्तो गरियो । छोरीको मृत्युमा उनीहरुले शोक मनाउनसमेत पाएनन् ।

यहाँ हामीले शालिनको मृत्यु प्रकरणको अनुसन्धानात्मक पाटोको चर्चा गर्न खोजेका होइनौं । शालिनका माता-पिताजस्तै डिभोर्सी आमाबुबाको विषयमा मात्र चर्चा गर्न खोजिएको हो । साथै,  साथै छोराछोरीलाई होस्टलमा राखेर पढाउनेहरु डिभोर्सी मा छैनन् भनेर सम्झाउन खोजिएको हो ।

बालबालिका माथि हुने अत्याचारका केही घटनाहरुलाई सामान्यीकरण गरेर हेरौं–

घटना एक- माघ २७ गते ललितपुरको इमाडोलमा एक महिलाले छोरा र छोरीको हत्या गरेपछि आफूले आत्महत्या गरिन् । ३६ वर्षीया रविना महर्जनले आफ्नो घरको चार तलाबाट हाम फालेकी थिइन् ।

घरभित्र दुई बालबालिका अचेत अवस्थामा भेटिएका थिए । अस्पताल लग्दै गर्दा छोरा र छोरी बाटोमै मृत्यु भयो । केही घण्टापछि रविनाको पनि मृत्यु भयो । ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको उनले तकियाले मुख थुनेर हत्या गरेकी थिइन् । त्यसपछि आत्महत्या गरिन् । पतिपत्नीबीचको बेमेलले एउटा परिवार सखाप भयो ।

घटना दुई – फागुन ४ गते झापामा एक महिलाले ५ वर्षीया छोरीसहित आत्मदाहको प्रयास गरिन् । २८ वर्षीया माया रम्तेलले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेकी थिइन् । शरीरको अधिकांश भाग आगोले जलेको अवस्थामा उनीहरुलाई अस्पताल पु¥याइएको थियो । छोरीको त्यही दिन मृत्यु भएको थियो । केही दिनपछि आमाको पनि मृत्यु भयो ।

घटनास्थल नजिकै मायाको ‘सुसाइड नोट’ फेला परेको थियो । नोटमा रम्तेलले आफ्नो पतिको परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेकी थिइन् ।

घटना तीन – गत फागुन ९ गते काठमाडौंको नागार्जुनमा एक पतिले श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरे । राजु भनिने काजी विश्वकर्मा (घिमिरे) ले आफ्नी श्रीमती प्रेमकुमारी श्रेष्ठ, छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र नातिनी (छोराको छोरी) २ वर्षीया सिवाना श्रेष्ठको हत्या गरेर आत्महत्या गरेका थिए ।

काजीले मर्नुअघि ससुरा र सालीलाई फोन गरेर आफूले हत्या गरेको र आफू पनि मर्न जान लागेको बताएका थिए । छोराको मोबाइलमा काजीले हत्या गरेको भिडियो भेटिएको थियो । भिडियोमा श्रीमतीको विवाहेत्तर सम्बन्धले अप्रिय घटना हुने स्थिति आएपछि हत्या गरेको उनले बताएका थिए ।

माथिका प्रतिनिधिमूलक घटनाहरूले पतिपत्नी मन नमिल्दा नमिल्दै पनि सँगै बस्दा छोराछोरीले मृत्यु नै वरण गर्नुपरेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ अनुसार माघ महिना मात्रै पतिपत्नीको झगडाले तीन परिवारका सन्तानले ज्यान गुमाएका छन् ।
सन्तानहरु आफ्नै बुवाआमाद्वारा मारिएका घटना हुन् यी । डिभोर्स भएर हैन, डिभोर्स नहुँदाका आपराधिक घटना हुन् यी ।

सम्बन्ध विच्छेदको बहसले अपराधको विषयान्तर गर्छ : विज्ञ

महिला अधिकारकर्मी सावित्रा ढकालले सम्बन्ध विच्छेद कानुनले सुनिश्चित गरेको कानुनी अधिकार भएको बताउँछिन् । उनी भन्छिन्, ‘आमाबाबुको सम्बन्ध विच्छेदलाई लिएर बहस गर्नु अपराधको विषयान्तर गर्नु हो ।’

अहिलेको समयमा कसैले किन सम्बन्ध विच्छेद गर्‍यो र गर्छ भन्ने छलफलको विषय हुनु उचित नभएको ढकालको भनाइ छ । ‘सम्बन्ध विच्छेद गर्ने र नगर्ने व्यक्तिका वैयक्तिक र निजी विषय हुन् ।’

सावित्रा ढकाल

निजी विषयको सम्मान र संरक्षण गर्ने दायित्व राज्य, समाज र हरेक नागरिकको भएको बताउँदै ढकालले खबरहबसँग भनिन्, ‘शालिनका आमाबुवाको सम्बन्ध विच्छेदलाई लिएर उनीहरुलाई अपराधी करार गर्नु पनि हिंसा हो ।’

‘सम्बन्ध विच्छेदपछि पनि शालिनका आमाबुबाले छोरीलाई मामाको घरको संरक्षणमा प्रतिष्ठित विद्यालयको होस्टलमा राखेका थिए । उनीहरुले आमाबाबुको जिम्मेवारी निर्वाह गरेकै देखिन्छ’, ढकालले खबरहबसँग भनिन् ।

सम्बन्ध विच्छेदलाई अझै लडाइँका रूपमा लिइनु गलत भएको ढकाल बताउँछिन् । सम्बन्ध विच्छेदपछिको सम्बन्ध कसरी मानवीय बनाउने भनेर सोच्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘सम्बन्ध विच्छेद भएपछि एक अर्कालाई कट्टर दुश्मन मान्ने प्रचलन सही होइन ।’

ढकाल अगाडि भन्छिन्, ‘हामीले सबै तथ्यहरूलाई नजरअन्दाज गर्दै ‘सम्बन्ध विच्छेद गर्नु थियो त बच्चा किन जन्माएको ?’ भनेर प्रश्न गरिदिन्छौं । तर, मुख्य सवाल बच्चा किन जन्माएको भन्ने नभएर आमाबाबु, समाज, परिवार र राज्यले बालबालिकाको सुरक्षाको सुनिश्चितता कसरी गर्ने भन्ने हो ।’

परिवर्तनलाई स्वीकार गर्दै नयाँ परिवेशमा सम्बन्ध, जिम्मेवारी र भूमिकालाई कसरी नयाँ र न्यायिक बनाउने भन्नेतर्फ उन्मुख हुनुपर्ने ढकालको राय छ । उनी भन्छिन्,‘नयाँ पुस्ताका सबै लिंगको भूमिकामा आएको परिवर्तनले जीवन जिउनका लागि नयाँ सोचको जरुरत बढ्दै छ ।’

डिभोर्स गलत होइन : प्रसाईँ

कानुनविद एवं समाजशास्त्री सविता प्रसाइँ पनि श्रीमान–श्रीमतीले डिभोर्स गर्नु गलत नभएको बताउँछिन् । यो शताब्दीमा छोराछोरी बिग्रनुमा आमाबुवाको डिभोर्सलाई कारण देखाउनु समय सान्र्दभिक नभएको उनले बताइन् ।

सबिता भन्छिन्, ‘आमाबुवाको साथ नहुँदा एक्लोपन हुन्छ । साथीका आमाबुवाको मायाप्रेम सद्भाव देखेर वालवालिकाको मन भकानिन्छ । तर मृत्यु नै रोज्नुपर्ने कारणहरु अरु पनि खोज्नुपर्ने हुन्छ ।’

आमाबुबासँगै बसेका छोराछोरी पनि बिग्रएको बताउँदै उनी भन्छिन्, ‘आमाबुवासँगै बसेका युवा धुम्रपान र मद्यपानमा लागेका छन् । छोराछोरीलाई त्यो लतमा लाग्न नदिन कयौं अभिभावकका प्रयास असफल भएका छन् ।

प्रसाईले खबरहबसँग भनिन्, ‘छोराछोरीले गलत बाटो अपनाउने अवस्था बुवाआमाले ख्याल नगरेर हो भन्ने आरोप नै अन्तिम सत्य होइन । गलत निर्णय लिने सवालमा आमाबुवा मात्रै नभएर परिवार, आफन्त, समाज, विद्यालय पनि जिम्मेवार हुन्छ ।’

सविता प्रसाइँ

सम्बन्ध विच्छेदका सम्बन्धमा कुरा गर्दै सविता भन्छिन्, ‘सकेसम्म पति–पत्नी अलग भएर बस्नुपर्ने स्थिति नआओस् । डिभोर्स गर्ने बेलामा पनि निकै सोचेर सम्झेर गर्नुपर्छ । तर, मन नमिल्दा–नमिल्दै पनि सँगै बस्ने हो भने त्यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।’

उनी थप्छिन्, ‘एकले अर्काको हत्या गर्नु मात्रै दुर्घटना होइन । आत्मा नमिलेर सँगै बस्दा मानिसलाई डिप्रेसन हुँदै मानसिक बिरामी हुन पुग्छन् । त्यो मान्छे ज्युँदो त हुन्छ तर सास मात्र फेरेको अवस्थामा हुन्छ ।’

शालिनका सन्दर्भमा सबताले भनिन्, ‘ती अभिभावकले उनलाई मामाघरको निगरानीमा राखेको देखिन्छ । राम्रो शिक्षाका लागि बोर्डिङ स्कुल र होस्टलमा थिइन् । खान, लाउन र शिक्षा दिएपछि अभिभावकको जिम्मेवारी सकिँदैन तर वेवारिसे नछोडेका कारण ती अभिभावकलाई अपराधी करार गर्दा अन्याय हुन्छ ।’

‘बालबालिकालाई होस्टलमा राख्नु अपराध होइन’

सम्बन्धविच्छेद नै नगरेका आमाबुबाले पनि आफ्ना छोराछोरालाई बोर्डस गर्ने र होस्टलमा राख्ने गरेको सविता बताउँछिन् । उनी भन्छिन्, ‘९/१० मा पढ्ने अधिकांशले पढाइका लागि अभिभावक छोड्छन् । त्यो समय भनेको एसईइ तयारीको समय पनि हो । विद्यालयहरुले पनि त्यतिबेला होस्टलमै राखेर आफ्नो निगरानीमा पढाउने गरेको पाइन्छ ।’

नेपाल होस्टेल एशोसियसनका अध्यक्ष अरुण पराजुलीले सुरक्षाको हिसाबले होस्टल घर जत्तिकै भएको दाबी गरे । उनले खबरहबसँग भने, ‘सुरक्षाका लागि वार्डेनहरुको व्यवस्था मिलाइएको हुन्छ । छात्राहरुको हकमा होस्टेलहरुले अझ सावधानी अपनाउने गरेको छ ।’

अरुण पराजुली

पराजुलीले थपे, ‘पढाइलेखाइ, खानपिन, मनोरञ्जन र इन्टरनेट चलाउने लगायतका सबै गतिविधिमा समय निर्धारण गरिएको हुन्छ । बाहिरको कुसंगत र लागु पदार्थ दुव्र्यसनबाट जोगाउन होस्टेलले विशेष निगरानी राख्ने गरेको हुन्छ ।’

होस्टेल पूर्णतः शैक्षिक वातावरणमा केन्द्रित भएकाले विद्यार्थी र अभिभावकहरूप्रति भरोसा भएको पराजुलीको बुझाइ छ । उनी भन्छन्, ‘विद्यार्थीहरूले शारीरिक र मानसिकरूपमै होस्टेललाई घरकै रूपमा ग्रहण गरुन् भन्नेमा हामी केन्द्रित छौं ।’

चितवनमा एक नाबालिका छात्राले होस्टलमा आत्महत्या गरेको घटनाले होस्टलप्रति असुरक्षा महसुस बढ्ने कुरामा उनी सहमत छैनन् । उनी भन्छन्, ‘आफ्ना छोराछोरी होस्टलमा राख्ने चलन भर्खर सुरु भएको होइन ।’

गाउँमा स्कुलहरुको स्थापना नभएको अवस्थामा अभिभावकले विगतदेखि नै आफ्ना छोराछोरीलाई शहरका होस्टलमा राखेर पढाउने गरेको पराजुली सुनाउँछन् । उनी भन्छन्, ‘राजाका छोराछोरीले पनि जंगलमा गएर ऋषिमुनिकोमा शिक्षा लिन्थे । शिक्षाका लागि घर र अभिभावकबाट टाढा बस्ने अवस्था सत्ययुगदेखि नै सुरु भएको हो ।’

उनले थपे, ‘एएईईको तयारी, ब्रिजकोर्षको तयारी र कलेज पढ्दा धेरै विद्यार्थीहरु बाबुआमाको साथ छाडेर होस्टलमै बस्छन् । विदेश पढ्न जाँदा झन् परिवार र देशै छोडेर जाने हो ।’

शालिनलाई उनका आमाबुबाले होस्टलमा किन राखेको भन्दै विरोध गर्नेहरुले के कुरा ख्याल गरेको देखिँदैन भने चितवनको एकता शिशु निकेतनको होस्टेलमा डिभोर्सीका छोराछोरी मात्र बस्दैनथे, त्यहाँ सम्बन्धविच्छेद नै नभएका आमाबुबाका छोराछोरीहरु नै बढी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : १५ बजे

युवालाई स्वदेशकै विकासमा आबद्ध गर्न सक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा

श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर)

इलाम– पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन

युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य

आजदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

काठमाडौँ– सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र

वर्ष फिल्म : दयाहाङको वर्चस्व, उपेन्द्रको डेब्यू

काठमाडौं- चलचित्र विकास बोर्डका अनुुसार ०८० सालमा ५१ वटा नेपाली