आज चैते दसैँ । यस वर्ष तीन वटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाडका रूपमा मानिन्छ । पहिलेपहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो भनेर पुराना कथनहरूमा सुन्न सकिन्छ । यो समयमा खडेरी पर्ने, मौसम बदली साथै दसैँको खानेकुरा अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भनेर मनाउने चलन छ । नेपालका सुदूरपश्चिम भेगमा पनि मुख्य चाडकै रूपमा मनाउने गरिन्छ ।चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भनेर मान्ने चलन छ ।
देवी शक्तिको दानवीय शक्तिमाथि विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरेर मनाइन्छ ।
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।
धार्मिक मान्यता अनुसार आजकै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको खुसियालीमा चैते दसैँ मनाउन थालिएको हाे ।
त्यसै गरी भगवान् रामलाई रावणको वध गर्न देवी दुर्गाले मद्दत गरेको विश्वासमा राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरेर चैते दसैँ मनाइन्छ ।
चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई छोरी चेली लगायत दिदी–बहिनीलाई बोलाएर खुवाउने र रमाइलो गर्ने चलन छ ।
प्रतिक्रिया