संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी | Khabarhub Khabarhub

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद्मा आन्दोलनरत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षबीच दूरी बढ्दै गएको छ ।

सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेसको दूरी झन् बढेको हो ।

प्रतिपक्षी कांग्रेस समिति गठनको माग अघि सार्दै वेल घेराउ गरेर नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले आरोपी गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको अवस्था आएको थियो ।

कांग्रेस सांसदहरु नाराबाजी गर्दै उपसभामुख इन्दिरा रानामगरको आशन नजिक पुगेपछि सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षको कुर्सी भएतर्फ नआउन भनेका थिए ।

ओलीले सत्तापक्षको कुर्सी भएतर्फ नआउन भनेपछि कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ भनाभन भएको थियो । भनाभन चर्किने देखिएपछि सभामुख घिमिरेले बोल्नका लागि समय दिइएका गृहमन्त्री लामिछानेलाई बस्न आग्रह गर्दै सदन स्थगित गरेका थिए ।

सदन स्थगित भएपछि बिहीबार प्रतिनिधिसभामा सिर्जना भएको अवस्थालाई लिएर सत्तापक्ष र प्रतिपक्ष एक–अर्कामाथि दोष थोपरिरहेका छन्। कांग्रेसलेसदन स्थगितपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्रमै पत्रकार सम्मेलन गरेर सत्तापक्षले भिडन्त निम्त्याएको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताए । ‘संसदमा भएको घटनाको मूल जिम्मेवारी सम्माननीय सभामुखज्यूले लिनुपर्छ। किनकी सदनमा जबरजस्ती विषय कार्यसूचीमा प्रवेश गराएर अप्रिय र अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी उहाँको हो,’ उनले पत्रकार सम्मेलनमा भने ।

थापाले सभामुख घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आदेश पालकका रुपमा देखिनु दुःखद भएको पनि बताए । ‘सभामुख एउटा नेताको आदेशपालकका रुपमा भूमिकामा रहने कुरा दुःखद विषय हो,’ थापाले भने, ‘यो यसरी निरन्तर रुपमा जाँदैन भन्ने कुराको अपेक्षा गर्छौँ ।’

कांग्रेसले घिमिरेलाई सभामुखको भूमिका जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्न पनि सचेत गराएको छ । ‘सम्माननीय सभामुखज्यूलाई भूमिका जिम्मेवार ढंगबाट निर्वाह गर्न सचेत गराउन चाहन्छौँ,’ महामन्त्री थापाले भने ।

सत्तापक्षले परिस्थितिलाई मुठभेटतर्फ लैजाने स्थिति सिर्जना गरेको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबारको बैठक सूचना जारी गरेर स्थगित गर्न प्रस्ताव गरेको पनि थापाले बताए ।

कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले सभामुख घिमिरे पार्टी नेतृत्वको निर्देशनमा चल्नु दुर्भाग्य भएको बताए । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा (वेल) घेराउ गरिरहँदा सभामुखले आरोपित गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि यस्तो आरोप लगाएको हो ।

‘प्रतिपक्षी वेलमै आइसकेपछि संसभालाई अगाडि बढाउने काम गर्न हुँदैनथ्यो। तर, सिधै तलबाट नेताहरूले अगाडि बढा भन्ने र सभामुखले जबरजस्ती सभा सञ्चालन गर्न थाल्नुभयो,’ बैठकबाट बाहिरिने क्रममा महतले भने, ‘यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा अमर्यादित, गर्न नहुने, संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेका सभामुखले पार्टी नेतृत्वको निर्देशनमा हुनु दुर्भाग्य हो ।’

उता सत्ता साझेदार दलहरुले प्रतिपक्षी कांग्रेस गैरजिम्मेवार ढंगले संसद्मा प्रस्तुत भएको आरोप लगाएका छन् । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रतिपक्ष दल जिम्मेवार नहुँदा संसद्मा अराजनीतिक गतिविधि देखिएको बताइन् ।

‘गृहमन्त्रीलाई बोल्नै नदिने, प्रश्नको जवाफ दिनै नदिने र संसद्मै धकेलाधकेल गरेर प्रतिपक्ष दलले गैरजिम्मेवार काम गर्‍यो,’ उनले भनिन् । प्रतिपक्षी कांग्रेस आफ्नो ‘रो’ छोडेर सरकारको ‘रो’ मा प्रवेश गरेको मन्त्री शर्माको भनाइ थियो ।

सत्ता साझेदार एमालेले संसदमा कांग्रेस सांसदहरुले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए ।

‘हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गर्नुभयो । हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो’, उनले भने, ‘कांग्रेसले आजको संसदमा घोर अलोकतान्त्रिक र असंसदीय व्यवहार प्रदर्शन गर्‍यो ।’
सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको व्यवहारले संसदीय छानबिन समिति नबन्ने अडान सार्वजनिक गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद मनिष झाले अब समिति बन्न नसक्ने स्थिति आएको बताए ।

‘अब समिति बन्दैन, अघि हामीले दुई सर्त मान्दिनू, हामी समिति बनाउन तयार छौँ भनेका थियौँ । अब समिति बन्दै बन्दैन । समिति त्यो बेला मात्रै बन्छ, जब नेपाली कांग्रेस आफ्ना सभापति र पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ’, झाले भने ।

सांसद झाले आफ्ना सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगी प्रकरण पुष्टि भएमा आफूहरू सबैले राजनीति छाड्न तयार रहेको पनि बताए । लामिछानेमाथि छानबिन गर्न अब पहिलो शर्त कांग्रेस सभापति शेरबहादुर देउवा परिवारको सम्पत्ति खोजबिन हुनुपर्ने उनको माग छ ।

‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्न सक्छु मेरो सभापतिको सबै छानबिन गर । तयार छु, हामी सबै राजनीति छोड्न तयार छौँ । उहाँको केही खोट निस्किए एक्लैले राजनीति छोड्छु भन्नु भएको छ, अब हामी सबै राजनीति छोड्छौ,’ झाले भने, ‘के कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छन् ? मेरो सभापतिको सबै छानबिन गर । कांग्रेस सभापति शेरबहादुर, उनका छोरा र श्रीमती (आरजु) को पनि गर । त्यो हिम्मत राख्नसक्छन् ? सक्छन् भने हामी च्यालेन्ज गर्छौं ।’

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : २६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य