‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ | Khabarhub Khabarhub

‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ



काठमाडौं– सेतो सर्ट र पाइन्टमा सजिएका केदार कार्कीको कपाल पनि सेतै छ । हँसिलो मुद्राका उनी फरासिला पनि छन् । कोशी प्रदेशमा करिब ७ महिना मुख्यमन्त्री सम्हालेका उनी आफ्ना भनाइले पटक पटक चर्चामा आइरहन्छन् । उनलाई भाइरल मुख्यमन्त्रीको संज्ञा दिँदा पनि फरक पर्दैन । उनी सामाजिक सञ्जालमा ‘लास्ट बेन्चर मुख्यमन्त्री’ का रूपमा परिचित छन् । निजामती कर्मचारीहरू पनि उनलाई ‘लास्ट बेन्चर मुख्यमन्त्री’ का रुपमा चिन्छन् ।

उनी २०८० असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भए । कांग्रेसको विद्रोही समूहमा रहेका कार्की त्यहीकारण मुख्यमन्त्री भए । डा. शेखर कोइरालानिकट उनी आफ्ना विचार र सिद्धान्तमा अडिग रहनेमा पर्छन् ।

अध्ययन गरेर मात्रै कुनै पनि विषयमा धारणा बनाएर मात्रै उनी सार्वजनिक रूपमा बोल्छन् । राम्ररी अध्यय न गरेर बोल्दा पश्चाताप नहुने उनको बुझाइ छ । मुख्यमन्त्री भएको बेला उनले दिएको एउटा सार्वजनिक अभिव्यक्ति अहिले पनि चर्चामा छ । उनी त्यसबेला भाइरल भए भने निजामती कर्मचारीले उनको भनाइमा चित्त पनि दुखाए, विभिन्न लेखहरू नै छपाए ।

२०८० माघ २४ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा उनले विद्यालय तथा स्कुलका ट्यालेन्ट विद्यार्थी फस्ट बेन्चहरू खरदार भएको तर आफू लास्ट बेन्चर भए पनि मुख्यमन्त्री बनेको दाबी गरेका थिए ।

उनले भनेका थिए–  ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ?’

उनले अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने समेत बताएका थिए । ‘चाणक्यले  कुन विश्व विद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस्’, उनले विद्यार्थीलाई प्रश्न समेत गरेका छन् । मुख्यमन्त्रीले गरेको भाषणप्रति विद्यार्थीले समर्थनमा हुटिङ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ ।

त्यसपछि उनी सामाजिक सञ्जालमा र सोसल मिडियामा भाइरल भए । फेसबुकमा सबैले ‘म पनि लास्ट बेन्चर’  भनेर स्ट्याटस समेत लेखे । तर कार्कीलाई यसले कुनै असर नगरेको बरु भनाइको प्रभाव र आफ्नो महत्त्व बढेको उनको दाबी छ ।

‘लास्ट बेन्चर’ हुनुको आत्मगौरव

कार्कीले नम्बर लिनका लागि पढेको नभएर ज्ञान आर्जनका लागि पढेको सुनाउँछन् । उनी आफू कक्षा १ देखि मास्टर्स सम्म पढ्दा पनि  लास्ट बेन्चमा बसेर पढेको अनुभव सुनाउँछन् । उनले भने, ‘बीएमा पनि म लास्ट बेन्चमा बस्थेँ । फस्ट बेन्चमा छात्रवृत्ति पाउने बस्थे । उसले पहिलो वर्षमा छात्रवृत्ति खायो । सेकेन्डमा ऊ माइक्रो इकोनोमी र म्याक्रोमा फेल भयो । म पास भएँ ।’

उनी प्रदेश सांसद भएपछि पनि आफू लास्ट सिटमा बसेर सांसदहरूको कुराहरू नियाल्ने गरेको बताउँछन् । उनले भने, ‘म मुख्यमन्त्री हुँदा बाहेक अन्य संसद् बैठकका पछाडि नै बस्छु । पछाडि बसेर अगाडिका विषयवस्तु नियालिरहेको हुन्छु ।’

धेरैले उनलाई त्यो अभिव्यक्ति पूर्व योजना अनुसार गरिएको हो भन्ने शंका गरेका थिए । तर उनी त्यो कुरा कुनै योजना र सोचमा नभएर यथार्थमा भनेको खबरहबलाई बताउँछन् ।

‘लास्ट बेन्चर’ उत्साही भए

कार्कीले साजिलाल माध्यमिक विद्यालयमा दिएको अभिव्यक्तिप्रति आफूलाई कुनै पछुतो नभएको दाबी गर्छन् । बरु त्यो  अभिव्यक्तिका कारण राजनीतिमा निखारिएर आउनेहरूलाई बल पुगेकाले र लास्ट बेन्चमा बस्ने गरेका  विद्यार्थीहरूलाई पनि आफूले त्यो कुरा बोलेर ऊर्जा भर्न सकेको उनको निष्कर्ष छ ।

उनले ठट्यौली पारामा भने, ‘मलाई फोन म्यासेज र सामाजिक सञ्जालमा पनि विद्यार्थीहरूले म पनि लास्ट बेन्चमा बस्छु तर यहाँले यसो भनेपछि हामीलाई हाम्रो बसाइप्रति अझ गौरव भएको छ ।’

उनले अगाडि भने, ‘हाम्रो विद्यालयहरूको अभ्यास हेर्दा पहिलो बेन्चमा बस्ने विद्यार्थी मात्र धेरै जान्ने हुन्छ भन्ने मानसिकता छ । मास्टरले पनि पहिलो बेन्चलाई मात्र फोकस दिएर लास्ट बेन्चमा भएकालाई डोमिनेट गरेको जस्तो देखिन्छ । म लास्ट बेन्चवर नै हुँ तर मैले पढाइलाई कहिले कमजोर बनाइँन । पहिलो बेन्चमा बस्नेले किताब रट्थे तर मैले समाज विद्यालय र मेरा साथीहरूको अभाव र समस्या पढेँ ।’

उनी एउटा लास्ट बेन्चमा बस्ने विद्यार्थीले होपलेस फिल गरे पढाइको औचित्य नै नहुने अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘यदि लास्ट बेन्चमा बस्ने विद्यार्थीले केही जान्दैन भन्ने मानसिकता रहन्छ भने एउटा क्लासमा ७ देखि ८ जना मात्र पढाउनुपर्ने हुन्छ । एपीजे अब्दुल कलामलाई गाली गर्नुपर्छ । उनले कुनै पनि स्कुलमा ट्यालेन्ट स्टुडेन्ट लास्ट बेन्चमा पनि हुन सक्छ भन्नुहुन्थ्यो । जर्ज बोडार्न सबैभन्दा बढी विश्वमा नाम चलेको व्यक्ति हुनुहुन्छ । उहाँले म पढ्न चाहन्थें त्यसकारण स्कुल  गइन भन्नुहुन्छ । रूपमा मात्र एजुकेसन हुँदैन रुम बाहिर पनि हुन्छ भनेर अहिले दीपेन्द्र ऐरी, महेद्रसिंह धोनी, कुशल भुर्तेल, सन्दीप लामिछाने, सोमपाल कामीले रूप बाहिरको शिक्षाबाट देशको गौरव बढाएका छन् ।’

चौरको शिक्षाले पनि विश्वमा नाम कमाउन सकिन्छ भन्ने मान्यता राख्ने कार्की कक्षा कोठाको कपी र कलमले मात्र कुनै पनि  विद्यार्थीको ट्यालेन्ट नदेखिने मान्यता राख्छन् । अविभावकहरुले पनि आफ्ना  बालबच्चालाई रुचि अनुसारको पठनपाठनको वातावरण दिनुपर्ने बताउँछन् ।

हुन त ठेकीमा दूध राखेपछि दही, घिउ र मही पनि बन्छ । एउटै कक्षा कोठामा एउटै शिक्षकले पठाएको भए पनि उनीहरूको बुझाइको तरिका फरक हुने तरिका हामीले अभिभावकलाई पनि बुझाउन  सकेको छैनौँ । यो कुरामा बल गर्नुपर्ने कार्कीको मान्यता छ ।

त्यस कारण उनी अहिलेसम्म क्लासमा पहिलो बेन्चमा नबसेको बताउँछन् । आफूलाई पहिलो बेन्चमा बस्दा जान्ने होइन्छ भन्ने भावनाको सधैँ विरोध नै गर्ने गरेको सुनाउँदै उनी भन्छन्, ‘अगाडिको बेन्चमा बसेपछि एकदम जान्ने होइन्छ भन्ने भएन । मैले मोरङमा पढेको हो । ४० जना विद्यार्थी थियौँ । म  पछाडिको बेन्चमा बस्थेँ । म  सबै  साथी चिन्थेँ तर अगाडि बस्नेले सर र किताब मात्र चिन्थ्यो । जुन विद्यालयमा पढ्थे त्यसमा कति सर छन् । कति टोटल  विद्यार्थी थिए  कति फी तिर्थे सबै थाहा छ ।’

जुन विद्यालयमा आफू पढिन्छ त्यो शिक्षकको विद्यालय नभएर आफ्नो भएको हुनाले आफूले समग्र कुराको बारेमा जनकारी राख्न उनी अन्य विद्यार्थीहरूलाई सुझाव दिन्छन् । ‘मैले त यो विद्यालयको बारेमा सबै अध्ययन गर्थेँ । मलाई क्लासमा आफूले लेखेको कुरामा पुरै जानकार हुनुपर्छ भन्ने लाग्थ्यो ।’

स्कुलमा अहिले फेल नभएका कार्की कलेजमा भने सिएलमा १ विषयमा फेल भए । सुनसरीमा जन्मिएका कार्कीका बुबा कांग्रेसबाट जनप्रतिनिधि थिए । उनलाई बुबाले सानैबाट राजनीतिक, सामाजिक विषयमा अग्रसर रहन र अन्याय विरुद्ध लड्न प्रोत्साहन दिन्थे । राजनीतिक माहोलमा हुर्किएका कार्की जनआन्दोलनको बेला बाबु भागेर हिँडेको देखिरहन्थे ।

२०४६ सालको पञ्चायत फाल्ने र प्रजातन्त्रको स्थापना गर्ने आदोलनमा उनी राती राती आफ्ना बुबालाई बीबीसीको समाचार टिपेर पढ्न पठाउँथे । त्यो बेला नै उनले आफूलाई राजनीतिमा स्थापना गर्ने सोच बनाएका थिए । महेन्द्र मोरङ कलेज विराटनगर २०४८ सालमा पढ्न गए । त्यसपछि उनी नेपाल विद्यार्थी संघमा आबद्ध उनी कलेज पढ्दा र सभा समारोहमा पनि लास्ट बेन्चमा बस्ने अनुभव सुनाउँछन् ।

अरूको लागि पनि पढ्थेँ 

केदार कार्कीमा सानैबाट नेतामा हुनुपर्ने गुण थियो । उनी साथीहरूको परीक्षा फारम पनि झरिदिन्थेँ । क्लास भएन भने शिक्षकको अगाडि गएर क्लास नभएको पोल हेडसर कहाँ पुर्‍याउन समेत माहिर थिए ।  कमजोर आर्थिक अवस्था भएका साथीहरूलाई छात्रवृत्ति अप्लाइ गर्न आग्रह गर्ने गरेका  कारण उनीसँग निक्कै विद्यार्थीहरू  झुमिन्थे । उनी भन्छन्, ‘मेरा साथीहरू आफ्नो लागि पढ्थेँ । म अरूका लागि पढ्थे । उनीहरू कक्षा कोठाभित्र पढ्थे म कक्षा बाहिर पनि पढ्थेँ । मेरो पढाइ फरक थियो ।’

कलेज फोहोर भए सफा गर्ने पानी खान नपाए आन्दोलन गर्ने उनी टिचरका अगाडि छुच्चो भएको आफू बताउँछन् । पढाइ भन्ने किताबको शब्द मात्र होइन भन्ने मानसिकता भएका कार्की  शिक्षकलाई थुनेको र अरूको विषमा आफू बोल्दा हेड मास्टरले पनि आफूलाई थुनेको उनीसँग अनुभव छ । महेन्द्र मोरङ क्यासमा  मास्टर थुनेपछि कार्कीलाई अझ विद्यार्थीहरूले चिनेका थिए । विराटनगरबाटै मास्टर्स गरेका कार्की अहिले पनि विभिन्न विद्यालयमा गएर आफ्ना अनुभव सुनाउँछन् ।

उनी अविभावकहरुलाई आफ्ना बालबच्चाको रुचिअनुसार विद्यालयका जुन  बेन्चमा बसेर पढ्न पनि स्वतन्त्र दिन आग्रह गर्छ । यस्तै उनी बाल बच्चालाई पढाइमा मात्र नभएर क्षमता र रुचि अनुसारको शिक्षा दिन प्रेरित गर्छन् । विद्यालयमा  पनि पालैपालो अगाडि पछाडि बसेको अनुभव लिनुपर्ने उनको मान्यता छ । कार्की  प्रदेशको मुख्यमन्त्री भइसकेपछि आफूलाई अदालतले पुनः मुख्यमन्त्री बनाउनुपर्ने दाबी गर्दै आएका छन् । केन्द्र सत्ता गठबन्धन भत्किएपछि उनी अल्पमतमा परेका थिए । तर संविधानको धारा ५ अनुसार उनी मुख्यमन्त्री भएको हुनाले अल्पमतमा नहुने दाबी गर्दै आए । तर एमाले, माओवादी लगायतको गठबन्धनले उनलाई हटायो । तर आफूलाई पुनः बहालीको माग गर्दै सर्वोच्चमा रिट हालेका छन् । उनी त्यही रिटको अन्तिम सुनुवाइको पर्खाइमा छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ०८ बजे

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास

पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै

वीरगञ्ज – सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर