अर्थसंक्षप : धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता बुधबार पनि हुने, नेप्से १७ अंकले घट्यो  | Khabarhub Khabarhub

अर्थसंक्षप : धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता बुधबार पनि हुने, नेप्से १७ अंकले घट्यो 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तरवार्ता बुधबारलाई सारिएको छ । ५ जनाको अन्तरवार्ता लिनु पर्नेमा २ जना मात्र उपस्थित भएपछि अन्तरवार्ता सारिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । त्यस्तै आज नेपाल स्टक एक्सजेञ्ज पनि १७ अंकले घटेको छ ।

हेर्नुहोस् बाँकी समाचारहरू 

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तरवार्तामा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका छन् । आइतबार अध्यक्ष सिफारिसको लागि बनेको सिफारिस समितिले सर्टलिस्टमा परेकालाई अन्तरवार्ताका लागि बोलाएकोमा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका हुन् ।

आज अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले मात्रै व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका दिएका छन् । सर्टलिसटमा परेका अन्य तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि उनीहरूलाई बुधबारको मितिमा बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यालयको काममा हाल काठमाडौं बाहिर रहेको भनी जानकारी गराएको, त्यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ सम्पर्कमा नआएकाले उनीहरूको अन्तरवार्ता पुनः बुधबार गरिने भएको हो ।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

सर्टलिस्टमा परेका मध्ये एक जनाले आफ्नो अन्तरवार्ता अर्को दिनमा सारिदिन आग्रह गरेबमोजिम आज सहभागी नभएका ३ जनालाई बुधबार पुन बोलाइएको हो। बुधबार पनि सहभागिता नभएमा दुई जनाको नाम मात्र अध्यक्षको लागि सिफारिस गरी मन्त्रीपरिषद्मा पठाउने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार दिउँसोसम्म अध्यक्षको सिफारिसमा परेका उम्मेद्वारहरुको नाम पठाउन निर्देशन दिएका छन् । साथै शुक्रबारै मन्त्रीपरिषद्को बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।

पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व विहीन रहेकाले सरकार प्रक्रिया लम्ब्याउने पक्षमा छैन। अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

चिरञ्जीवी चापागाईंलाई चन्द्र ढकाल र नवराज अधिकारीलाई उपेन्द्र महतो समूहले बोकेको स्रोतको दाबी छ। सर्टलिस्टमा परेका नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाईँ तीनै जना माओवादी निकट मानिन्छन् । खबरहबले आज अन्तरवार्ता तथा प्रस्तुतीकरणमा भएको अनुपस्थितिको विषयमा जानकारीका लागि सम्पर्क गर्दा कार्की, श्रेष्ठ र चापागाईँको फोन स्विच अफ भएको पाइएको छ ।

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ ।

यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकमा सरकारले तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । पुँजीगत शीर्षकमा हालसम्म खर्च भएको यो रकम सुरुआती लक्ष्यको ४४ दशमलव ६८ प्रतिशत बराबर मात्रै हो ।

वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि  तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकामा ७२ दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवा ब्याज तिर्नमा खर्च हुने गरेको छ ।

यो अवधिसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव १५ प्रतिशत बराबर मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा नौ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ बराबर खर्च भएको छ । सोमध्ये, कर राजस्व शीर्षकमा १३ खर्ब पाँच अर्ब ४९ करोड ९६ लाख रुपैयाँ बराबर असुली गर्ने सरकारी लक्ष्य रहेकामा हालसम्म ६३ दशमलव पाँच प्रतिशत अर्थात् आठ खर्ब २९ अर्ब तीन करोड ९२ लाख रुपैयाँ बराबर सङ्कलन भएको छ ।

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । उनले नीतिगत असहमतिको ब्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरूले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने बताए ।

‘पदाधिकारीहरूको पारिश्रमिक र अन्य तलब भत्तालगायत व्यवस्था गरिएको छ’, सांसद खतिवडाले भने, ‘यसबाट खर्चमा अपारदर्शिता, फजुल खर्च देखिने हुँदा आव २०८९÷८० मा एक लाख रुपैयाँ र आगामी आव २०८१/८२ मा पनि एक लाख रुपैयाँ विनियोजन गरिएको छ । तसर्थ यस शीर्षकलाई एक रुपैयाँ गरियोस् ।’

नैतिकताको कसीमा कुलमान

‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ महसुल विवादका सन्दर्भमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा उद्योगी व्यवसायी सशंकित बन्न थालेका छन् ।

सरकारले यसअघि नै आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित तालुकदार निकाय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाएको थियो ।

मन्त्रालयले पनि नेपाल विद्युत् प्राधिकरणलाई गत जेठ २० मा पत्र काट्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । तर, प्राधिकरणले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न चासो नदेखाएपछि उद्योगीहरू सशंकित हुन थालेका हुन् ।

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको लामो समय हुँदा समेत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रतिवेदन कार्यान्वयन भन्दा उल्टाउनेतर्फ लागेको उद्योगीहरूको आरोप छ ।

प्राधिकरणले प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेपछि सशंकित उद्योगीहरूले गत जेठ ३१ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् ।

एमाले मुख्यालय च्यासल पुगेर उद्योगीहरूले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि पहल गरिदिन ओलीसमक्ष आग्रह गरे ।

उद्योगीसँग भेटमा ओलीले मुख्यसचिव दस्तखत गरिसकेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने आश्वासन दिलाए ।

ओलीले उद्योगीलाई चिन्ता नलिन र जहाँतहीँ धाइरहनु नपर्ने बताएका थिए ।  ओलीलाई भेटेको अघिल्लो दिन  जेठ ३० मा उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका थिए ।

१७ अंकले घट्यो शेयर बजार

महिनाको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४ अंकले ओरालो लागेको छ । आइतबार परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेर २०९५ को विन्दुमा पुगेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इडेक्स पनि ३ दशमलव २५ अंकले ओरालो लागेको छ । आज ७१ हजार ९सय ९७ कारोबारबाट ३ सय १७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच भएका छन् ।

आज दिनभरीमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : २९ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

एजेन्सी– प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा