नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ।

देश/प्रदेश

सोलुखुम्बुका सिडिओलाई प्रधानमन्त्रीको फोन : थप क्षति हुन नपाओस्

By खबरहब

August 16, 2024

काठमाडौं – सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ थामेमा बाढीले पुर्‍याएको असरका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग जानकारी लिएका छन् ।

शुक्रबार दिउँसो अकस्मात् थामे खोलमा आएको भाषण बाढीले थामेका १२ वटा घर, एउटा विद्यालय तथा एउटा स्वास्थ्य संस्थामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रधानमन्त्रीलाई जानकारी दिएकी छन् ।

खोलामा कसरी अकस्मात् बाढी आयो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रधानमन्त्रीलाई जानकारी दिए । मानववस्ति रहित ठाउँबाट बाढी आएकोले त्यति ठुलो बाढी के कारणले आयो भन्ने जानकारी लिन नसकिएको उनले प्रधानमन्त्रीलाई अवगत गराए ।

बस्तीको बीचबाट खोला पस्यो, त्यहाँ एउटा स्कुल थियो त्यो पनि पूर्ण रूपमा क्षति भयो, एउटा स्वास्थ्य क्लिनिक थियो त्यो पनि क्षति भयो, १२ वटा घर पनि पूर्ण क्षति भए, अन्य पाँचवटा घर पनि जोखिममा छन्’, उनले प्रधानमन्त्रीलाई अवगत गराउँदै भनिन् ।

घटनास्थलमा अहिले नेपाली सेना र नेपाल प्रहरी उद्धारमा खटिएको उनले बताए । सो गाउँको एकजना काना नसुन्ने मान्छे सम्पर्कमा नभएको भन्ने सूचना आएको भए पनि उनको पहिचान भने नखुलेको पाण्डेले जानकारी दिइन् । बाढी आएको क्षेत्रमा धन माल झिक्न कोही जालान् र दलदलमा फस्लान् भनेर उच्च सतर्कता अपनाइएको उनले बताइन् ।

अहिले खोलको बहाव केही घटेको प्रमख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई जानकारी दिइन् । बाढीको कारण एउटा पक्की पुल समेत भत्किएको उनले बताइन् ।

सो गाउँसम्म पुग्ने पैदल मार्ग पनि टुटेको कारण सदरमुकामबाट पैदल पुग्न सकिने अवस्था नरहेको उनले बताइन । सदरमुकामबाट तीन दिनको दुरीमा रहेको उक्त गाउँको माथिसम्म पुग्ने सडक पनि अहिले बिग्रिएको पाण्डेले प्रधानमन्त्रीलाई जानकारी दिइन् । ‘हेली बाहेक हामी त्यहाँ पुग्ने अवस्था छैन, हेलीको लागि आज दिनभरि मौसम खराब रह्यो’, प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा पाण्डेले भनिन् ।

भोलि बिहान काठमाडौंबाट रक्षा मन्त्री सहितको टोली सोलुखुम्बु आउने र आफू तथा प्रहरी प्रमुख समेत हेलिकप्टरबाट घटना भएको ठाउँमा जाने योजना रहेको उहाँले सुनाउनुभयो । ‘तत्काल राहतको लागि केही राहत रकम लिएर जाने भनेका छौँ’, उनले भनिन् ।

बाढी पीडितलाई अहिले अर्को गाउँको होटेल लगायतका सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिइन् ।

प्रधानमन्त्रीले सो स्थानमा कुनै पनि मानवीय क्षति नहोस् भन्ने कुरामा ध्यान दिन निर्देशन दिए । ‘मानव जीवनको मूल्य बराबर अरू केही पनि कुरा छैन, धनमालको क्षति त भइहाल्यो, त्यसलाई सरकारले केही गरौँला, राहत उपलब्ध गराउँला, पुनर्निर्माण गरौँला, केही न केही गरौँला, तर मानवीय क्षति भनेको त फेरी पुन प्राप्ति गर्न, पुनर्निर्माण गर्छु भन्ने कुरा होइन, त्यस कारण मानवीय क्षति हुन नपाओस् भन्ने कुरामा बढी ध्यान दिनुस्, अरू पनि क्षति हुन नपाओस्, केही पनि क्षति हुन नपाओस्, तर मानवीय क्षति हुन नपाओस् भन्ने कुरामा ध्यान दिने भन्ने कुरा’, उनले भने।

पीडितलाई तत्काल जसले सक्छ त्यसैबाट राहत दिने व्यवस्था मिलाउन आग्रह गर्दै ओलीले त्यसमा सरकारले हेर्ने बताए। उनले नियमित औषधि खानु पर्ने बिरामी छन् छैनन् भन्ने कुरा बुझेर त्यस्ता मानिसहरू तत्काल औषधि पुर्‍याउन पनि उनले निर्देशन दिए ।