‘शाम्बाला’ जस्तो बन्नुपर्छ नेपाली चलचित्र | Khabarhub Khabarhub

‘शाम्बाला’ जस्तो बन्नुपर्छ नेपाली चलचित्र



गत शुक्रबार अफिसबाट डेरामा फर्केपछि साँझ ७ बजेतिर आँखा फेसबुकमा डुलाएको थिए । खाना पकाउने तरखर थियो । खाना बनाउँदै मोबाइल हेर्ने बानी भएकाले होला, एउटा समाचारको शीर्षकमा ध्यान गयो । कलाकर्मी डटकम अनलाइनले लेखेको थियो,‘नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने’ शीर्षक थियो ।

लिंक ओपन गरी समाचार पढेँ । फिल्मको देशभर पहिलो दिनको ‘शो’ शुक्रबार नै रहेछ । शनिबार पनि फिल्मले राम्रै व्यापार गर्ने आंकलन सामाजिक सञ्जालमा भइरहेको थियो । त्यस समाचारप्रति मेरो चासो हुनुको पछाडि तीन वटा कारण छन् ।

एउटा नेपाली फिल्म त्यो पनि अन्तर्राष्ट्रिय मुलुकहरूमा समेत प्रदर्शन भएर नेपालमा पनि उक्त फिल्म किन नदेखाउने त ? भन्ने खालको अनुभूति मीनबहादुर भामलाई परेको हुनसक्छ । भाम फिल्मका निर्देशक हुन् ।

पुनः प्रसंगमै फर्कियौं । यो फिल्मप्रति मलाइ रुची लाग्नुको दोस्रो कारण हो, ओस्कार अवार्डमा जाने उक्त नेपाली मूभी हामी नेपालीले किन नहेर्ने त ? भन्ने पनि हो । अर्कोतर्फ, हुम्ला र डोल्पाको माथिल्लो हिमाली भेगमा सेट तयार गरि छायांकन गरिएको उक्त फिल्म नेपाली मौलिक कथामा बनेको फिल्म निर्देशक मीनबहादुर भामले एउटा अन्तरवार्तामा भनेको सुनेको थियो ।

छुट्टीको दिन के गर्ने त भनेर एकछिन घोरिए । काठमाडौं आएको ८ वर्ष बितेहोला, मुस्किलले ३ वटा मात्र फिल्म हलमै पुगेर हेरेको छु । त्यो पनि २ वटा फिल्म त साथीले टिकट काटेर । शनिबार फिल्म हेर्न जाने योजना बनिसकेको थियो । फिल्म ‘राम्रो बनेको छ रे, हेर्न जाँदा हुन्छ भनेर’ भान्जा दिनेश ढकालसँग शनिबार साँझमै ‘म्यासेन्जर’मा कुराकानी भइसकेको थियो । उहाँले पनि भारत भएकोले मात्र हो, नेपाल हुन्थे म भने सँगै फिल्म हेर्न जान हुन्थ्यो भन्ने यस्तै यस्तै कुराहरू भए ।

भोलीपल्ट, शनिबार बिहान एक घण्टा जति मर्निङ वाक गरियो । मर्निङबाट फर्केर बिहानको खाना तयार गरेँ । खाना बनाएर खाइवरी नुहाइ–धुवाईको काम सकाएर फिल्म हेर्न जान म तयार भएँ ।

त्यति बेलासम्म घडीले दिउँसोको १ बजेर ४५ मिनेट बजाइसकेको थियो । मोटरसाइकल झिकेँ, र, कमलपोखरीस्थित सिटी सेन्टरतर्फ मोडिए ।
दिउँसोको २ः१५ को ‘शो’ थियो मेरो । २ बजेर २० मिनेटमा बिग मुभिज पुगिसकेको थिएँ । हतार–हतार साम्बालाको टिकट छ भनेर काउन्टरमा सोधेँ । टिकट कुन गरौं भनेर टिकट काउण्टरवालाले बाहिरबाटै रोजाएँ । अलि पछिको सीट रोजेँ । टिकट बोकेर फिल्म हलभित्र छिर्दा ‘शाम्बाला’ को कथा सुरु हुनै आँटेको थियो । केहीबाहेक फिल्ममा सबैजसो सीट प्याक भइसकेको थियो ।

काठमाडौं झरेपछि तेस्रो पटक आफैं टिकट काटेर, त्यो पनि एक्लै फिल्म हेर्न म पुगेको थिए । उता फिल्म सुरु भइसकेको थियो । हिमाली भेषभूषा, रहनसहन, संस्कृति र जीवनशैली देखिने सिनेमाको मूख्य पात्र ‘पेमा’ को प्रेमकहानीबाट सुरु हुन्छ ।

तीन दाजुभाइसँग विवाह गरेकी पेमाका जेठो श्रीमान टासी व्यापारका लागि ल्हासा जान बिदाइ भइसकेको हुन्छ । श्रीमानबाट टाढा भएकी पेमा भने दावासँग भन्छिन् । दावा पेमाको कान्छो श्रीमान । दावा भने पेमाका लागि छोरा बराबर हेरचाह गरेकी हुन्छिन् ।

दावाले पनि श्रीमतीजस्तै पेमाको केयर गरिरहेको हुन्छ । सानै उमेरको दावालाइ पेमाले शिक्षादिक्षा दिनुपर्छ भनेर विद्यालयमा पुग्छिन् । त्यहाँ उनी शिक्षक राम सरसँग नजिकिन्छन् । त्यतिबेलासम्म पेमा गर्भवती हुन्छिन् । टासीबाट टाढिएकी पेमाको पेटमा हुर्कदै गरेको बच्चा राम सर(कर्मा शाक्य) को हो भनेर समाजले उनीमाथि कुरा काट्न थाल्छ । बालमस्तिकतका दावालाई पनि त्यो कुरा सत्य लाग्छ ।

पेमालाई समाजले पनि राम सरसँगको नाजायज सम्बन्ध राखेकाले पेटमा बच्चा बसेको भनेर लाञ्छना लगाउँछ । तर, पेमा भने समाजले लगाएका लाञ्छना र घृणाबाट कत्ति पनि नआत्तिकन अग्निपरीक्षा दिन तयार हुन्छिन् ।

पेमा गर्भवती भएको खबर उता ल्हासामा रहेका टासीको कानमा पुग्छ । आफ्नो प्रेमिका अरूसँग जोडिएको हल्लाले टासी पनि चिन्तित हुन्छ । र, बरु घर फर्कने तरखर गरेको टासीले बाटो बदल्छ । पतिले बाटो बदलेको थाहा पाएकी पेमा उनकै खोजीमा निस्किछिन् । उनलाई केबल टासीलाई भेटेर साँचो र सत्य कुरा भन्न हतार भइसकेको हुन्छ । गर्भवती अवस्थाकी पेमा हिमालको थुम्की हुँदै सयौँ पहाडहरू छिचोल्दै टासीको खोजीमा हुन्छिन् । पति खोज्ने यात्रामा निस्केकी पेमाले अनुभव, भोगाइ र संघर्षबीच उम्रिएको प्रेम कहानी हो भन्दा फरक नपर्ला फिल्म–शाम्बाला ।

पति खोज्न निस्केकी पेमाले यात्राका क्रममा आफू सवार गर्ने घोडा हराउँछ । पति खोज्न गएकी पेमा घोडाको खोजीमा भुल्न पुग्छिन् । घोडा र पति दुवैको खोजी गर्ने यात्रामा रहेकी पेमा अन्ततः पेमाबाट कसरी ‘शाम्बाला’ मा रुपान्तरण भइन भन्ने कुरा फिल्मले उठाउन खोजेको छ ।

परिवारको वियोग र समाजको लान्छनाबाट उम्किएर पेमाले संसारिक मोहलाई त्यागेर आत्ध्यात्म र शान्तिको बाटो रोज्छिन् । हेर्दा, मदनको वियोगमा रन्थनिएकी मुनाजस्तै लाग्छ, फिल्ममा पेमाको जीवन कहानी ।

हिमालका थुम्का मुनी कहिले घोडा त कहिले चौँरीसगै जीवनसँग पौंठेजोरी गरिरहेकी पेमा समाजले लगाएको लाञ्छना असत्य सावित गर्न सबै खालको अग्नि परीक्षा दिन पनि तयार भएकी हुन्छिन् । तर, उनी हार्दिनन्, समाजसँग विचलित हुँदिनन् । राम सरकारको भूमिका देखिने कर्मा शाक्यको अभिनय गज्जब छ । पेमासँग नजिकिन राम सरले प्रेममा रचेको नाटक गज्जबको लाग्छ । सुरु देखि नै फिल्म सकिँदासम्म हिमाली भेगका दृश्यहरू छुट्दैनन् ।

फिल्मको पहिलो भागभन्दा दोस्रो भागको पेमाको कहानीले दर्शकलाई बढी तान्छ । कर्णालीको हिमाली गाउँमा हुने बहुपति प्रथालाई निर्देशक भामले निकै मौलिक र परम्परागत ढंगबाट पर्दामा उतारेका छन् । अरु फिल्म हेर्ने बानी परेकालाई यो फिल्ममा अडिन समय भने लाग्नेछ ।

अर्थात, फिल्मको भाषाशैली सजिलै बुझ्न सकिन्छ । कतै तिब्बतीयन र नेपाली भाषाको समेत शशक्त सम्मिश्रण रहेको छ । सरल कथावस्तु भएकाले दर्शकलाई साढे २ घण्टा सजिलै ‘होल्ड’ गर्ने खालको चलचित्र बनेको मैले पाएँ । चलचित्रले मनोरञ्जनभन्दा समाजको यर्थाथ कहानी उजागर गरेको छ भन्दा फरक नपर्ला ।

फिल्म सकिएपछि हलबाट बाहिरिनै लाग्दा चलचित्रका मूख्य पात्रमा देखिएकी ‘पेमा’ अर्थात थिन्ले ल्हामो र राम सरको भूमिकामा देखिने कर्मा शाक्यले फिल्म हेरिदिएप्रति धन्याद दिन मञ्चमा आइपुगे । मैले कर्मा शाक्य अभिनित फिल्म ‘नाङ्गो गाउँ’लगायत अन्य फिल्म हेरिसकेको थिएँ ।

अभिनयमा कर्माको लगनशीलता र भूमिका मलाई अब्बल लाग्छ । चलचित्र हेरेपछिको दर्शकको प्रतिक्रिया बुझ्न कर्मालगायतका कलाकारहरू ढोका बाहिर उभिएका थिए ।

ढोकाबाट निस्किँदै गर्दा कर्मा शाक्यसँग हात मिलाए । फिल्म कस्तो लाग्यो ? कर्माले सोध्नुभयो । मैले ‘नेपाली फिल्म यत्तिको हुनुपर्छ, गज्जब छ सर’ भनेँ । उहाँले धन्यवाद फर्काउनुभयो । त्यति बेलासम्म अन्य दर्शकहरु कलाकारसँग सेल्फी र फोटो खिच्न हानथाप गरिसकेका थिए ।  मेरो पनि हातमा मोबाइल थियो । कर्मा दाइसँग हात मिलाइवरी एउटा सेल्फी लिएर बाहिरिए ।

मैले ‘शाम्बाला’ हेर्न जानुको तेस्रो कारण यो फिल्म युट्युबमा हेर्न पाइने छैन भन्ने पनि हो । फिल्मले नेपालमा भन्दा नेपाल बाहिर राम्रो व्यापार गरिसकेको फिल्म निर्माताको भनाइ छ । अन्तर्राष्ट्रिय जगतले रुचाएको नेपाली समाजको मौलिक र यर्थापरक कथामा आधारित फिल्म तपाइ, हामी नेपाली हेर्नुपर्छ । फिल्मले मनोरञ्जन मात्रै दिनु हुँदैन । फिल्मले केही न केही ‘म्यासेज’ छोड्नुपर्छ ।  हाम्रोजस्तो पितृसत्ताले गाँजेको समाजमा महिलाहरूको अनुभव, व्यवहार, पीडा र संघर्षलाई पेमाको कथासँग जोड्न खोजिएको छ ।

फिल्म चल्न र दर्शकले रुचाउन कुनै पनि तडकभडक हुनुपर्दैन भन्ने ज्वलन्त उदाहरण चलचित्र ‘शाम्बाला’ ले दिएको छ । फिल्म चल्न कुनै ‘फेशभ्यालू’ भएका अभिनेता/अभिनेत्री नै चाहिने रहेनछ । समाजको यथार्थ घटनालाई सशक्त ढंगले कथावस्तुमा ढालेर पर्दामा उतार्न सक्नु नै ठूलो कुरा हो ।

हुन त ‘फेशभ्यालू’ भएका वा चलेका कलाकारले अभिनय गरेका फिल्म समेत नचलिरहेको अवस्था छ । वर्षमा धेरै चलचित्र निर्माण हुन्छ, कति चल्छन्, कति फिल्मले हलमा ‘पानी माग्न’ समेत नपाउने अवस्था देखिएको छ ।

यसरी हेर्दा, वर्ष भरी सफल हुने चलचित्रहरू भने हातमा गन्न सकिने अवस्था छ । चलचित्र निर्देशक भामले यसअघि पनि माओवादी द्धन्द्धकालको कथालाई पर्दामा उतारेर ‘कालो पोथी’ निर्माण गरेका थिए । दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय मुलुकका हल र महोत्सवमा राम्रो व्यापार गरेको उक्त चलचित्रलाई धेरैले रुचाएका थिए ।

मिनबहादु भाम मुगुमा जन्मेका नेपाली उम्दा चलचित्रकर्मी हुन् । उनले बनाउने अधिकांश फिल्म अन्तर्राष्ट्रिय रूपमा सफल भइसकेका छन् । नेपाली जनजीवनमा बनेको यो फिल्मले अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाउनु र सबैभन्दा ठूलो ओस्कार अवार्डमा समेत छनौटमा पर्नु नेपालीलाई खुसीको कुरा हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ३७ बजे

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला

धनगढी उप-महानगरद्वारा १७ करोड राजस्व संकलन

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार

जुम्लाका नौ हजार परिवार खानेपानीको पहुँचमा

जुम्ला – जिल्लाका आठ वटै स्थानीय तहका ६० वडाका करिब

दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने

सियोल– दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

दमौली– निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रूपमा