समाचार

रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा : प्रवक्ता महत

By खबरहब

September 16, 2024

काठमाडौं– नेपाली कांग्रेसका  प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा  भएको बताएका छन् । 

उनले सहकारीकै पैसाबाट उनको तलब भत्ता चलेको र रवि जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको थाहा पाएको कारण क्लीन चिट भएको कुरा गैरजिम्मेवारपूर्ण भएको बताए । 

‘प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको छैन । गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट लिएको छ । अन्य कहीँबाट पनि लिएको छैन । गोरखा मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर सूर्य थापाले त्यहीँ भने ।’ महतले भने, ‘गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नुभएको थियो । सहकारीकै पैसाबाट उहाँको तलब भत्ता चलेको रैछ । उहाँ जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको रछ ।’ 

उनले लामिछानेले लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर  तलब भत्ता खाएको पनि बताए ।

उनले भने, ‘हामी दोषी हुँदै होइनौँ भनेर घोषणा गर्दै हुनुहुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ?’