महाभारत र रामायण टेलिसिरियल यो शताब्दीमा मानिसले मानिसलाई दिएको अमूल्य उपहार हो। युट्युब तथा सामाजिक सञ्जालको विकाससँगै यसका प्रति मानिसको आकर्षण झन् बढेको छ। कोभिडलाई संसारले आतंक पारेका बेला विश्वका करोडौँ मानिसले यिनै ग्रन्थमा आधारित भिडियो हेरेर समय कटाए। महाभारत र रामायणको प्रसङ्गले ब्रम्हनालदेखि सिंहदरबारसम्म ठाउँ पाउँछ।
भाषणलाई रोचक, घोचक बनाउनुपर्यो भने यहीभित्रका घटना लगेर बुट्टा भरिन्छ। कसैलाई खुइल्याउनुपर्यो भने महाभारत पात्र हाजिर, कसैलाई देवत्व आरुढ गराउनुपर्यो महाभारत, हाजिर, नीति, अनीति, सदाचार, व्यभिचार हरेक प्रश्नका उत्तरमा यी ग्रन्थ हाजिर छन्।
विश्वका हरेक समुदाय, धर्म र भूगोलका मानिसले रुचाएको धार्मिक सिरियल अहिले पनि उतिक्कै जिज्ञासा, चर्चा र बहसको विषय बनेको छ। धार्मिक बाहेक सामाजिक, आर्थिक र राजनीतिका हरेक सन्दर्भमा रामायण र महाभारतका प्रसङ्गले अग्रस्थान पाउँछन्। यी धार्मिक सिरियलमा अभिनय गर्ने पात्रहरू यति लोकप्रिय भए कि तिनीहरूले अन्य ठाउँमा कामै पाउन सकेनन्।
रामायणका राम अरुण कोविलले आफ्नो अनुभव सेयर गर्दै भनेका छन्– ‘एकदिन म कतै आफ्नै सुरमा चुरोट तानिरहेको थिएँ। पछाडिबाट एक समूह आएर मेरो चुरोट खोस्दै हामी देउता मानेर पूजा गर्ने तपाईँ चाहिँ चुरोट तानेर बस्ने भनेर घोक्र्याए। अझ मरिससमा मलाई देखेपछि बीच सडकमा गाडी ठप्प पारेर मेरो अगाडि सयौँ मानिस लम्पसार पर्न आए। हामीले पाएको लोकप्रियता यति उच्च थियो कि तपाईँहरूले निर्वाह गरेको भूमिका भन्दा पनि हामीले सिर्जना गर्न सम्भव छैन भन्दै निर्माता निर्देशकहरुले हामीलाई काममै बोलाएनन्।’
अझ महाभारत सुटिङ हुँदा पाण्डवमाथि अन्याय नगर्न सम्झाउँदै गाउँ नै उल्टिएर आएर कौरवलाई सम्झाएको स्मरण कलाकारको छ। धृतराष्ट्रले त रेलको डब्बाबाट समेत लखेटिनु प-यो। कृष्ण, अर्जुन, भीष्म पितामह, युधिष्ठिर, विदुरजस्ता पात्रको भूमिका निर्वाह गर्नेले अभूतपूर्व सम्मान पाए।
हजारौं वर्षदेखि हाम्रो जनजीवन नीति, अनीति, पूजापाठ धर्मकर्म तथा अन्य कुनै पनि शुभकार्य सम्पादनका हरेक क्षेत्रमा रामायण र महाभारतका चरित्रगाथा जोडिएका छन्। गाउँ चौतारी, सहरबजार, पार्टी पौवा होस वा कसैको घरआँगन जतासुकै महाभारतसँग जोडिएका कथा सुन्नका लागि केटाकेटीदेखि बुढाबुढी, जवानदेखि अधबैंसेसम्म कान ठाडो पार्छन्।
साधारण साक्षरसम्मले पनि महाभारत अठार पर्व भाषा श्लोक खोजी खोजी पढ्ने गर्छन्। नेपालीका अति लोकप्रिय महाभारत त्यसमा पनि पाण्डव कौरवको युद्धका विषयले व्यापकता पाउने गर्छ। भारतको बीआर फिल्मस्ले निर्माण गरेको श्रृंखलाको टेलिफिल्म महाभारतलाई लिने जगतको अभूतपूर्व उपलब्धि मान्नु अनुचित नहोला। महाभारत हाम्रो आदर्श, संस्कृति र मूल्य मान्यताको धरोहर हो। महाभारत शृङ्खलाले यसलाई सजीव र सरल ढंगले मानिसको घरघर पुर्याउने काम ग-यो।
कसरी बन्यो महाभारत ? महाभारतबारे यसका निर्माता, निर्देशक, कलाकारहरूको अनुभव कस्तो रह्यो ? आफ्नो भूमिकाका विषयमा सम्बन्धित कलाकार के भन्छन् त ? गज्जब संयोग त के छ भने महाभारतका कथा, पटकथा र संवादका लेखक डा. राही मासुम रजा मुसलमान समुदायका थिए।
महाभारतबाट उनको लोकप्रियताको शिखर छुन लागेपछि केही धर्मान्ध व्यक्तिहरूले मुसलमानलाई महाभारत लेख्ने अधिकार छैन भन्ने नकारात्मक टिप्पणी भए पनि राहीको इच्छाशक्तिले तमाम आलोचना निस्तेज ग-यो। महाभारतका निर्माता तथा निर्देशक बीआर चोपडाको जन्म सन् १९१४ मा पञ्जाब लुधियानामा भएको थियो। सन् २००८ मा दिवंगत चोपडा सुरुमा एउटा पत्रकारको रूपमा बम्बई पसेर कलाकारको ढोका ढोका चहार्दै अन्ततः सिनेमा उद्योगका एक बडा हस्ती बन्न सफल भए।
उनीहरूको कम्पनीले अहिले सयौंलाई रोजगार दिएको छ। महाभारत निर्माणमा निकै कठिन कार्य भएको स्मरण गर्दै बीआर भन्ने गर्थे- ‘मैले महाभारत अध्ययनमै दुई वर्ष खर्चिएँ। डेढ वर्ष त धेरै मानिस भेटेर कुरा गर्नुपर्यो। फिल्म अभिनय गर्न आवश्यक डेढ, दुई सय मानिस जुटाउन ४० हजार माथि निवेदनबाट छनोट गर्ने काम कम चुनौतीपूर्ण थिएन।’
भूमिका निर्वाहका लागि लाखौं इच्छुक थिए। एउटै भूमिकाका लागि हजारौंको आवेदन पथ्र्यो। अहिलेजस्तो त्यतिबेला न सामाजिक सञ्जाल, न इमेलको पहुँच नै थियो। चिठीकै माध्यमबाट मानिसको छनौट गरियो। त्यसो भए छनोटको आधार के त ? उनको जवाफ हुने गथ्र्यो– ‘म त त्यस्तो मानिस छान्ने गर्छु, जसको अनुहारमा निर्दोषीपन झल्कियोस्। कुनै सामान्य मानिसबाट कला बाहिर निकालेर प्रस्तुत गर्न सक्नु नै कुशल निर्देशकको कमाल हो। महाभारत सफलताको श्रेय भगवानलाई जान्छ।’ चोपडाले महाभारतको निर्माणमा १२ करोड लगानी गरेका थिए।
एउटा दृश्य खिच्न ७२ घण्टा !
कुनै पनि चलचित्र निर्माणमा क्यामेराम्यानको निकै महत्त्वपूर्ण भूमिका हुन्छ भन्नेमा विवाद रहेन। यो झट्ट हेर्दा फिल्म खिच्ने सामान्य प्राविधिक कामजस्तो देखिए पनि त्यति सजिलो अवश्य हुँदैन । त्यसमा पनि महाभारतजस्तो गतिशील फिल्म खिच्नु त फलामको च्यूरा चपाउनुसरह थियो।
महाभारतमा बीआर चोपडाको भूमिका त्यही कठिन कार्य सम्पन्न गर्ने थियो। सन् १९४९ देखि एउटा सोखिन फोटोग्राफरको रुपमा फोटो खिच्ने काममा अनवरत लागेका चोपडा महाभारतजस्तो ग्रन्थलाई छायांकन गरेर जनमानसको कोरा कल्पनालाई वास्तविकतामा उतार्न पाउँदा ठूलो गर्व गर्थे।
अरु सामान्य फिल्म खिच्नु भन्दा त गाह्रै भयो होला हैन ? डीआरले आफ्नो अनुभव शेयर गर्दै भनेका छन्- ‘हैन त्यति कठिन भएन। तर पनि महाभारतको ठूलो अध्ययनपछि मात्र मैले त्यसलाई चित्रमा उतार्न सकेँ। कुनै कुनै त एउटा शट लिन पनि ७२ घण्टासम्म काम गर्नुपरेको थियो।’
पौराणिक सिनेमा र आधुनिक सिनेमाको छायांकनमा हुने अन्तरका विषयमा पनि उनको स्पष्ट दृष्टिकोण थियो- ‘समय परिवर्तनशील छ। यो परिवर्तन सँगसँगै क्यामेराको महत्त्व बढ्दै गएको छ। महाभारतमा देखिने उड्ने, गुड्ने ठूलो सानो राक्षस र जनावरका सबै दृश्यहरु दुईवटा क्यामेराबाट उत्पन्न गर्न सकिने स्पेशल इफेक्टका कमाल हुन्। यसले पौराणिक होस् या आधुनिक जुनसुकै विषयवस्तुलाई पनि तद्नुरुप ढाल्न सकिन्छ।’
एउटा छायांकार, निर्माताको हैसियतले महाभारतमा कस्को अभिनय राम्रो लाग्यो ? उनको जवाफ थियो- मुकेश खन्नाको। महाभारतको ‘अथ श्री महाभारत कथा…’ देखि अन्तिम धूनसम्म सम्पूर्ण संगीत तयार संगीतकार राजकमलले गरेका थिए। उनी पनि यो लोकबाट बिदा भएको दुई दशक भइसकेको छ। त्यस्तो अमर ग्रन्थमा तयार पारिएको फिल्ममा संगीत भर्न पाउनुलाई अहोभाग्य राजकमल भन्ने गर्थे- ‘म त सबैलाई महाभारतको लागि बनाएको संगीतलाई आधार बनाएर संगीत भर्न सल्लाह दिन्छु। सबै पाण्डव होउन, एकताको मुठ्ठी नखोलून। राष्ट्रियताप्रति अडिग रहून।’
महाभारतको प्रत्येक भागमा बज्ने ‘यदा यदाही धर्मस्य’ लगायत कयौं गीतहरुमा महेन्द्र कपुरले स्वर दिएका छन्। यसैगरी लतामंगेशकर, अनुराधा पौड्वाल, कविता कृष्णमूर्ति, नितिन मुकेशको पनि स्वर समेटिएको छ। नेपाली गीत गाएका महेन्द्र कपुरले दश भाषाका ३० हजार गीत रेकर्ड गरेका छन्।
मै समय हुँ…
महाभारतको सुरुदेखि अन्तिमसम्म प्रत्येक अंकमा तपाईं एउटा उद्घोष सुनिन्छ– मै समय हुँ। यो आवाज हो, हरिश भिमानीको। प्रसिद्ध भारतीय गायिका लतामंगेशकरका रुचाइएका उद्घोषक रहेका भिमानी त्यस्ता उद्घोषक हुन, जो आफ्नो कार्यकालमा चारजना सेक्रेटरी राख्न सफल भएका थिए। विनोदप्रिय स्वभाव र कर्णप्रिय स्वर नभएको मानिस सफल उद्घोषक हुन सक्दैन भन्ने उनको मान्यता छ।
हरिश भिमानी सुरुमा एक फोटोग्राफर थिए। एकपल्ट सन् १९७२ मा कलेजमा कुनै कार्यक्रम हुँदा संयोगवश कसैले उनलाई लहैलहैमा उद्घोषक बनाइदियो। त्यसपछि साथीसंगीले नचाहँदा नचाहँदै पनि हरेकजसो कार्यक्रममा उनलाई उद्घोषक बनाइदिन थाले। यसरी रहरैरहरमा उनी कार्यक्रम सञ्चालक बनेर उदाए।
बीआर चोपडाले उहाँलाई सबैभन्दा लामो भूमिका दिइने तर पर्दामा देख्न नपाइने सर्त राखेका थिए अन्तत : यो जीवनको अविस्मरणीय क्षण बन्नपुग्यो। महाभारतमा दश मिनेट बोलेबापत २० हजार पारिश्रमिक प्राप्त भएको थियो। रियाज गर्ने, खानपीपनमा पथपरेजमा बस्ने उनी धेरै ट्याक्स तिर्नुपरेकोमा दुखी थिए।
काकतालीले प्राप्त ‘भीष्म’ भूमिका
६ फिट २ इन्च अग्ला र क्वीन्टल तौलका मुकेश खन्ना महाभारतको लोकप्रिय पात्र भीष्म पितामहको भूमिका पाएका कलाकार हुन्। यो भूमिका उनलाई संयोगले मिलेको थियो। महाभारत सुरु हुनुअघि उनलाई अर्जुन, कर्ण, कृष्ण, द्रोण र दुर्योधन समेतको प्रस्ताव आएको थियो। अन्ततः द्रोणको भूमिका स्वीकृत भयो। तर मुर्हूतको दिन कुनै कारण भीष्मको भूमिका खेल्नुपर्ने बिजेन्द्र काडके आएनन्। त्यो भूमिका मुकेशको भाग्यमा लेखियो।
कतिको सफल भएजस्तो लाग्छ ? ‘म हैन, भीष्म पितामह सफल भएको हो। मैले यो भूमिकाबाट यति इज्जत कमाएँ कि अरु भूमिकाबाट शायदै कमाउन सक्थेँ। मेरा अरु फिचर फिल्म असफल भए पनि साँचो कमाई महाभारत नै बन्यो। मान्छेलाई अझै मलाई पूजा गर्छन्। एकाध घटना स्मरण गरौँ। म र गुफी (भीष्म सकुनी) जहाज छुटेकाले विना टिकट रेल यात्रा गर्दै थियौं। त्यो डब्बामा एउटा गुजराती परिवारको रिजर्भेशन रहेछ। अलिकति बस्ने ठाउँ माग्दा एउटी महिलाले तपाईंलाई त बस्न दिन्छु तर त्यो पापी शकुनीलाई चाहिँ दिन्न भनेकी थिइन। यही कारण हामीले त्यो डब्बा नै त्याग्ने निर्णय लियौं।’ उनी थप अनुभव सुनाउँदै भन्छन्- ‘एकपटक एउटा केटाले आफू गणितमा फेल भएको कृष्णलाई भनेर पास गराइदिन भनेर चिठी लेखेको थियो।’ स्वयं निर्माता निर्देशकलाई यो भूमिका यति प्रभावकारी होला भन्ने लागेको थिएन। महाभारतमा विवाह नगर्ने प्रतिज्ञा गरेका मुकेश खन्ना अविवाहित रहे।
महाभारतले आफ्नो युगको राजनीति पनि बोकेको छ। तपाईंको राजनीतिप्रति कस्तो धारणा छ ? भन्ने प्रश्नमा मुकेशको उत्तर थियो- ‘राजनीतिबाट म त्यति टाढा छु, जति झूटसँग किनभने म इमान्दार मानिस हुँ र इमान्दार नै रहन चाहन्छु।’
स्क्रीन टेष्ट विनै इन्ट्री
गिरिजाशंकरलाई बीआर चोपडाले बुनियाद टेलिश्रृंखला हेरेपछि स्क्रीन टेष्ट विनै धृतराष्ट्रको भूमिका प्रस्ताव गरेका थिए। महाभारतमा जतिकै चिन्तित, कपटी, महात्त्वाकांक्षी देखिए पनि वास्तविक जीवनमा मेल खाँदैन। आफ्नो अभिनयबारे उनको स्वमूल्यांकन छ- ‘महाभारतमा सबैभन्दा राम्रो अभिनय एउटै व्यक्तिले ग-यो, त्यो हो धृतराष्ट्र। त्यो भूमिका असाध्य जटिल थियो।’ उनलाई महाभारतमा भीमसेनलाई अंगालो हालेर दबाएको क्षण अत्यन्तै अविस्मरणीय लागेको रहेछ। त्यसदिन म साँच्चिकै धृतराष्ट्र भएको थिएँ। यदि त्यहाँ साँच्चिकै भीष्म भएको भए दबाइदिने थिएँ। सन् १९६० मा पञ्जावको पटियालामा जन्मिएका गिरिजाशंकरले वास्तवमा पाइलट बन्ने लक्ष्य राखेका थिए।
आँखाको पट्टीले निम्त्याएको दुर्दशा
महाभारतमा आँखामा पट्टी बाँधेर गान्धारीको अभिनय गर्ने कलाकार दिल्ली पटेल नगरकी रेणुका इसरानी हुन। डाक्टर हुने लक्ष्य रहे पनि उनी कलाकार हुन पुगिन। दर्शकको ताली प्रिय बनेपछि आफ्नो यही रोजाइमा गर्व गर्न पुगिन्। आँखामा पट्टी बाँधेर गान्धारीको अभिनय गर्दा पछि त रेणुकालाई पट्टीबिना अभिनय अप्ठ्यारो लाग्यो रे ! पट्टी बाँधेर अभिनय गर्दा एकचोटी उनी नराम्रोसँग लडेकी रहिछन्।
श्रीकृष्णले गोपिनीसँग रचेको लीला तपाईंले पचाउन सक्नुभयो ? भन्ने प्रश्नमा उनको उत्तर थियो- भगवान श्रीकृष्णको म जस्ती सामान्य महिलाले कसरी बुझ्न सकुँली र ? तै पनि मलाई ती दृश्य भने पचेनन। नारीहरुबारे रेणुकाको धारणा नारीहरु पनि पुरुषसँगै जाउन, निडर हुनु, शारीरिक रुपले कमजोर भएपनि आत्मिक रुपले बलियो हुन र वर्षौंदेखिको थिचोमिचोका विरुद्ध एकजुट हुन भन्ने छ।
नितिशको कृष्ण लीला !
सन् १९६४ मा बम्बैको जुहुमा जन्मिएका पेशाले पशु चिकित्सक नितिश भारद्वाज महाभारतमा कृष्णको भूमिकाका लागि आवेदन दिने ५० हजारलाई पछारेर श्रीकृष्ण बन्न सफल भए । उनी रंगमञ्चबाट फिल्म क्षेत्रमा आएका हुन् । तपाईँलाई मानिसहरू साँच्चिकै कृष्ण ठानेर फूल बर्साउँछन् । वास्तविक जीवनमा कस्तो हुनुहुन्छ ? अहिले उमेरले ६ दशक नाघेका नितिश भन्छन्- ‘केही हदसम्म त त्यस्तै छु होला । नत्र त अभिनय गर्न पनि त कठिन हुन्छ। तैपनि कहाँ कृष्ण कहाँ म सामान्य मानिस। तुलना गर्न योग्य मानिस त हैन म। मानिसले भगवानप्रतिको श्रद्धाले त्यसो गरेका होलान्। सुरुमा मलाई जनताको कल्पनाको कृष्ण हुन सक्दिन कि भन्ने डर थियो। मानिसहरू सामान्य मानिसको भूमिकाबाट त्यति आशा राख्दैनन्, जति कृष्णजस्तो भगवानबाट राख्छन् ।’ आफ्नै भूमिकाको मूल्यांकन कस्तो गर्नुहुन्छ ? मेरो भूमिका निक्कै कठिन थियो। अरुहरु त रुन, हाँस्न, कराउन जे गर्न पनि सक्थे। तर मैले जे गर्दा पनि शान्त र धीर भएर गर्नुपर्थ्यो।
म भित्र भगवानको आत्मा छ : विदुर
महाभारतका सर्वाधिक बुद्धिमान पात्र मानिन्छन् महामन्त्री विदुर अर्थात् वीरेन्द्र राजदान। राजदान साह्रै मेहनती र औसत फिल्मी कलाकारको तुलनामा कम सम्पन्न हुनुहुँदो रहेछ। उहाँको निवास र काम गर्ने दूरी धेरै टाढा छ। संघर्षशील जीवनमा पत्नीमाको ठूलो भूमिका रहेको बताउनुहुन्छ। राजदानका लागि पनि दर्शकको वाहवाह र ताली नै यस क्षेत्रमा पदार्पणको कारण बन्यो। उहाँको पहिलो फिल्म गान्धी थियो। जसमा उहाँले मौलादा आजादको भूमिका निर्वाह गर्नुभएको थियो। महाभारतमा उहाँलाई अर्कै कुनै भूमिकाको प्रस्ताव आएको थियो रे, तर उहाँले आफ्नो दक्षता देखाउन नपाउने स्पष्ट गर्दै विदुरको जस्तै सटिक र संवेदनशील भूमिका माग्नुभयो। तपाईँ वास्तविक जीवनमा पनि अन्तर्यामी हुनुहुन्छ कि ? उहाँले भन्नुभयो, तपाईँको प्रश्न सुनेपछि मलाई त्यो समयको सम्झना आयो। एक पटक जम्मु कश्मिरतिर मलाई मर्यो भनेर छोडेका थिए रे। बाबुले तैपनि पर्खेर बसेछन्। संयोगले त्यही बाटो भएर एक डाक्टर आए। कठोर अप्रेसन गरी मलाई बचाए छन्। त्यसपछि सबैले मलाई यो मान्छेभित्र भगवानको अंश छ भन्न थाले। म ज्योतिष विद्या पनि जान्दछु। म अन्तर्यामी भएर मात्र होइन, अरु कुरामा पनि विदुर जस्तै छु। यद्यपि आजको युगमा त्यो चरित्र धारण गर्न कठिन छ।
बालबाल बच्यो कर्णको आँखा
हिन्दी फिल्ममा प्रसिद्ध हास्य अभिनेता कलाकार पेन्टलका दाजु गुफी पेन्टलको महाभारतमा निक्कै ठूलो भूमिका छ। उनी त्यहाँ शकुनीको भूमिका निर्वाहमा छन्। अभिनयमा मात्र नभई फिल्मी निर्देशनमा पनि उनको प्रसिद्धि छ। ‘वास्तवमा म टाटा कम्पनीमा एक इन्जिनीयर थिएँ। पछि सेनामा भर्ती भएर चीन, पाकिस्तानसँगको लडाइँ पनि लडेँ। अहिले कहाँ छु, तपाईंले देख्नुभएकै छ।’ फिल्म क्षेत्रमा कसरी प्रवेश गर्नु भो ? भन्ने प्रश्नमा उनी आफ्ना लागि इन्जिनीयरिङ, सैनिक र कला सबै कठिन रहेको अनुभव सुनाए।
शकुनी चरित्र निर्वाह गरेपछि आफूले पाइला पाइलामा पाएको गोता चिरस्मरणीय रहने उनले बताए। मसँगको सहयात्राका कारण मैले र मुकेश खन्नाले रेलको डिब्बामा बस्नै पाएनौं। दूरदर्शनमा महाभारत प्रदर्शन भइरहेको बेला मेरा भूमिका देखेर कसै कसैले त आफ्नो घरको टेलिभिजन सेट नै फुटाइदियो भन्ने पत्र पनि मैले पाएको थिएँ।’
महाभारतको सुटिङको बेलाका केही खतरनाक घटनाहरुको स्मरण गर्दै भने, एकपटक कृष्ण र अर्जुनको घोडा बहुलायो। नितिश भेटनरी डाक्टर नभएको भए दुईमध्ये एकको मृत्यु हुने करिब करिब निश्चित थियो। अर्को पल्ट कर्ण र अर्जुनको लडाइँ हुँदा कर्णको आँखा वाणले गर्दा झण्डै सिद्धिएको थियो।
टेष्टविनै ‘द्रोण’ गाथा
सुरेन्द्र पालले महाभारतमा खेल्ने सम्झौता गरेका दिन उनको छोरो जन्मेको रहेछ। उही छोरा देखाउँदै पाण्डव र कौरव दुवैथरिका गुरु द्रोणाचार्यले कुराकानीको दृश्य खिचिएको रहेछ। हैदरावादमा सन् १९५८ मा जन्मेका पाललाई फिल्मी कलाको क्षेत्रमा पटक्कै चाख थिएन रे ! उनको रुचि सैनिक सेवामा जाने रहेछ। तर एकपटक फुटबल खेल्दा खुट्टा भाँचिएकाले आर्मीमा सेनामा भर्ती हुने सपना पूरा भएन। महाभारतलगत्तै बनेको ‘चाणक्य’मा उनलाई अमात्य राक्षसको भूमिकामा देख्न सकिन्छ।
तपाईं भाग्यमा कतिको विश्वास गर्नुहुन्छ ? उनले भने, जब म गुफीको फोन आएर बीआरको कार्यालयमा गएँ, द्रोणको खोजीमा बीआर, रबिजी, डा. राही सबै तालुमा हात लगाएर बसका रहेछन्। म भित्र पस्न पाएको थिइनँ बीआरले मलाई खुट्टादेखि टाउकोसम्म नियाल्नु भयो र खुशीले झण्डै चिच्याउनुभयो- मलाई मेरो द्रोण मिल्यो। स्क्रीन टेष्टबिना मेरो भूमिका स्वीकृत भयो।
अब युधिष्ठिर बन्न असम्भव !
स्नातकसम्मको अध्ययन पूरा गरेर अभिनय क्षेत्रमा प्रवेश गरेका गजेन्द्र चौहान नै महाभारतका एक प्रमुख पात्र हस्तिनापुरका युवराज युधिष्ठिर हुन्। उनी हिन्दी कलाक्षेत्रका कलाकार जगतका रौशन तलेजालाई आफ्नो प्रेरणाको श्रोत मान्दा रहेछन्।
अभिनय कलामा एक वर्षको प्रशिक्षण एवं चार वर्षको यात्री नाट्य समूहमा कामको अनुभव प्राप्त चौहान महाभारतको कृष्णको भूमिकाको लागि निवेदन दिएका थिए। सुटिङ दुई वर्षपछि नसरेको भए उनी कृष्ण हुने निश्चित थियो। युधिष्ठिर बनेकोमा कुनै पछुतो छैन। दर्शकले ममता श्रद्धा दिएकोमा मख्ख छन्। युधिष्ठिर बनेको र त्यो भूमिका पूरा भएको क्षणलाई आफ्नो जीवनको अमूल्य घडी मानेका छन्। अहिले पनि तपाईंलाई साँच्चिकै युधिष्ठिर भएजस्तो लाग्छ हो ? उनी भन्छन्– अहँ यो सम्भव छैन। अहिलेका मानिसमा धर्मको भावना मरिसक्यो। निष्ठा, नैतिकता भन्ने विषय बजारमा बिकाउ हुन्छन्। अनि कसरी सम्भव हुन्छ त्यो आदर्श ?
दुर्योधनको दशा
हस्तिनापुरका अर्का युवराज दुर्योधनको भूमिका ६ फिट ३ इन्च अग्ला, ८८ किलो वजनका पुनित इसरले निर्वाह गरेका छन्। पुनामा दुई वर्ष प्रशिक्षण लिएका इसरको पहिलो फिल्म कुल्ली थियो।
दुर्योधनको जस्तो कठिन भूमिका कसरी निर्वाह गर्ने भनेर उनी कति दिन त निदाउनै सकेनन्। उनी भन्छन्।- ‘यसका लागि पहिला त मैले आफूलाई दुर्योधनजस्तै भएको आत्मविश्वासको विकास गरेँ। सफलताको कडी यही नै हो।’महाभारतमा गान्धारीको रुपमा चिनिने पुनित वास्तविक जीवनमा स्वर्णपदकधारी कराँते मास्टर हुन्।
फिरोज खानदेखि अर्जुनसम्म
महाभारतमा अर्जुनको भूमिका निभाउने कलाकारको वास्तविक नाम फिरोज खान हो। तर उनी आफूलाई अर्जुन नै भन्न रुचाउँछन। फिल्मी जगतमा एकजना फिरोज भन्ने पहिले नै भएकाले उनले आफ्नै खुशीमा अर्जुन नाम राख्नु परेको बताए।
महाभारतमा फिरोजले भगवान कृष्णका चहेता, द्रौपदी विजेता, द्रोण शिष्य सुविख्यात धनुर्धारी अर्जुनको अभिनय उतारेका छन्। सन् १९६० मा बम्बैको मोहम्मद अलिरोडमा जन्मिएका अर्जुन बालक कालदेखिकै सोख र आफ्ना काकाको प्रेरणाले कलाक्षेत्रमा लागेका हुन्।
फिरोजकाअनुसार तीन हजार प्रत्यासीलाई पछारेर उनी अर्जुनको भूमिकामा देखिएका हुन्। जातले मुसलमान भएर पनि हिन्दुको धर्मग्रन्थमा आधारित फिल्ममा अभिनय गर्नुपर्दा केही बाधा अड्चन भोग्नुप-यो कि ? उनी भन्छन्- ‘जातभातको कुरा मान्दिन। मलाई मुसलमान भएर पनि गीता पढ्ने, सुन्ने सौभाग्य मिल्यो। म अत्यन्त खुशी छु। फेरि महाभारत आफैंमा यस्तो कलाकृति हो, जुन पटक पटक बन्दैन। बनेपछि सधैंका लागि कीर्तिमान रहन्छ। त्यसैले यसमा काम गर्न पाउनु जस्तो सौभाग्य मेरा लागि अरु थिएन।’
द्रौपदीको बिहे ?
रामायणको सीता जस्तै द्रौपदीकी महाभारतको पनि बहुचर्चित पात्र हुन् भन्नेमा शंका छैन। सीता हरेक पीडा चुपचाप सहेर नारीको एउटा महान् आदर्श कायम गर्ने चरित्रका रुपमा चिनिएकी थिइन् भने द्रौपदी पति भक्तिमा निष्ठावान हुँदाहुँदै पनि नारी जातिमाथिको अपमान र अत्याचारलाई खुलेर विरोध गर्ने स्वभावकी थिइन। महाभारतकी बहुचर्चित पात्र रुपा गाँगुलीको इन्जिनियर ध्रुव मुखर्जीसँग विवाह भयो।
महाभारतको सफलतापछि आफ्नो आफ्नो घरजम हुनुलाई रुपा संयोग ठान्छिन्। महाभारतको विवश पात्र द्रौपदीजस्तो विवश पात्र भएर वास्तविक जीवनमा कुनै महिलाले बाँच्न नपरोस् भन्ने उनको कामना रहेको छ। यद्यपि हजारौं प्रतिस्पर्धीलाई उछिनेर जनजनमा अमिट छाप छोड्ने द्रौपदी पात्रको भूमिका निर्वाह गर्न पाउनुलाई जीवनको ठूलो उपलब्धी ठान्छिन्।
प्रतिक्रिया