एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ? | Khabarhub Khabarhub

गोलार्ध

एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ?

बङ्गलादेश-पाकिस्तानको निकटताले बदलिँदो दक्षिण एसियाको शक्ति सन्तुलन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राकृतिक मामिलामा विषमताको महादेश भनी चिनिने एसियाको महत्वपूर्ण हिस्सा दक्षिण एसिया अस्थिर राजनीतिको केन्द्र मानिन्छ । यो क्षेत्रको राजनीतिक अस्थिरताले विश्वकै कूटनीति र सामरिक नीतिसमेतलाई निर्देश गर्ने गरेको छ ।

भारत र पाकिस्तानलाई लिएर विश्वका शक्ति राष्ट्रहरूले अपनाउने परराष्ट्र नीति होस् या बंगालको खाडीदेखि हिन्द महासागर हुँदै गल्फ अफ ओमानसम्म सामरिक उपस्थिति देखाउन महाशक्तिहरूको खिचातानीको दक्षिण एसियाको रणनीतिक महत्व पुष्टि गर्छ ।

यतिखेर चाहिँ विषमताको महादेशको करिब ५२ लाख वर्ग किलोमिटर क्षेत्रफलमा नयाँ तरङ्ग निम्तिएको छ । आफैँले युद्ध लडेर सन् १९७१ डिसेम्बर १६ मा छुट्याइदिएका पश्चिम पाकिस्तान र स्वतन्त्र भएको पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) बीचको निकटताले भारतलाई सबैभन्दा बढी झस्काएको हो ।

उपनिवेशपछि युद्ध लडी छुट्टिएका पूर्व र पश्चिमका यी मुलुकबीच बढ्दो निकटताको तरङ्ग भूमध्य सागर, कालसागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागर छिचोल्दै परपर पुगिसकेको छ ।

सेनाका पुस्तैनी सन्तानलाई दिइएको कोटाविरोधी आन्दोलनमा राज्य–नृशंसता देखाएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले बुमर्‍याङ ब्यहोर्नुपर्‍यो । देशबासीका नाममा सम्बोधनसमेत गर्न नपाई उनी २०८१ साउन २१ गते भारततर्फ भाग्नुपर्‍यो । उनी भारत भागेपछि बङ्गलादेशमा जे भइरहेको छ – त्यो भारतका लागि अनुकूल देखिएको छैन ।

गत बुधबार पाकिस्तानको एक मालवाहक पानीजहाज कराँची बन्दरगाहबाट बङ्गलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगावँ बन्दरगाहमा पुग्यो ।

सन् १०७१ मा भएको बङ्गलादेश मुक्तियुद्धपति दुई देशबीच भएको यो पहिलो समुद्री सम्पर्क हो । यसअघि दुई देशबीच सिङ्गापुर या श्रीलङ्काको कोलम्बो हुँदै समुद्री व्यापार चल्थ्यो ।

बङ्गलादेशका लागि पाकिस्तानी उच्चायोगले सीधा समुद्री सम्पर्कबारे विज्ञप्तिमा लखेको छ, ‘पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगावँ बन्दरगाहमा कार्गो जहाज पुगेको छ, दुई देशबीच द्विपक्षीय सम्बन्धमा यो महत्वपूर्ण कदमको शुरुवात हो ।’

सो विज्ञप्तिमा उल्लेख भएअनुसार यो नयाँ समुद्री मार्गले आपूर्ति श्रृङ्खलालाई थप सहज बनाउनेछ । मालसामान ढुवानीमा कम समय लाग्नेछ । दुबै देशमा व्यवसाय गर्न नयाँ अवसरको ढोका खोल्नेछ ।

वास्तवमा यो सीधा समुद्री सम्पर्क पाकिस्तान र बङ्गलादेशबीच कायम पारम्पारिक जटिल कूटनीतिक सम्बन्धमा एक ऐतिहासिक परिवर्तनको रूपरेखा हो ।

साथै, भारतको निकट रहने गरेकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि बङ्गलादेशको सत्तामा आएका मोहम्मद यूनुस अगुवाइको नयाँ अन्तरिम सरकारसँग पाकिस्तानको सम्बन्धमा न्यायोपनाको सङ्केत पनि हो ।

पछिल्लो नयाँ खबरले भारतमा अवश्य चिन्ता बढाएको छ । हसीना सत्ताच्यूत भएपछि बङ्गलादेशसँग भारतको सम्बन्ध निकैए कमजोर स्तरमा झरिसकेको छ ।

बङ्गलादेशको नीतिमा परिवर्तन

सत्ताबाट शेख हसीना हटेपछि इस्लामाबाद र ढाका दुबैले आपसी सम्बन्धमा सुधारको कुरा गरेका छन् ।

यसै वर्षको सेप्टेम्बरमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभा बैठक क्रममा बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुस र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच भेटघाट भएको थियो । सो भेटघाट क्रममा दुई देशबीच ‘द्विपक्षीय सहयोग पुनःजीवित गर्न’ जोड दिइयो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसबीच गएको सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा भेट भएको थियो ।

न्यूयोर्कमा यूनुसले भनेका थिए, ‘हामीले आपसी सम्बन्धलाई पुनःजीवित गर्न अत्यावश्यक छ ।’ साथै, उनले विभिन्न क्षेत्रमा सहयोग बढाउन दुई देशबीचको सम्बन्धमा ‘एक नयाँ अध्याय’ थाल्ने कुरा गरेका थिए ।

यूनुसको यो कदम हसीना प्रशासनद्वारा जारी विदेश नीतिलाई ठीक उल्टो पार्ने एक महत्वपूर्ण परिवर्तन हो । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित एक खबर अनुसार, हसिना प्रधानमन्त्री रहँदा सन् २०२२ अगष्टमा बङ्गलादेश सरकारले चीननिर्मित फ्रिगेट युद्धपोत पीएनएस तैमूरलाई चटगावँ बन्दरगाह हुँदै यात्रा भर्न दिएकी थिइनन् ।

कम्बोडिया र मलेसियासँग नौसैनिक अभ्यास गरी पाकिस्तानतर्फ यात्रा भरेको सो युद्धपोतलाई अन्त्यमा श्रीलङ्काले आफ्नो बन्दरगाहमा रहन दिएको थियो । बङ्गलादेशको तत्कालीन सरकारले चटगावँ बन्दरगाहमा अडिन नदिएको सो युद्धपोतलाई श्रीलङ्का सरकारले कोलोम्बो बन्दरगाहमा आउन अनुमति दिएको थियो ।

अब सैन्य सम्बन्धमा पनि भारतको पूर्व र पश्चिमतर्फ रहेका दुई देशबीच नयाँ अध्याय शुरु हुँदैछ । सन् २०२५ मा पाकिस्तानमा हुने एक नौसैनिक अभ्यासमा सहभागी हुने बङ्गलादेशले यसअघि नै पुष्टि गरिसकेको छ । यो घोषणाले पहिलेका एक देश र हालका दुई फरक देशबीचको सैन्य सहयोगलाई पनि उजागर गर्दैछ ।

हसिनाको बहिर्गमन : पाकिस्तानलाई मौका

देशव्यापी विरोध प्रदर्शनपश्चात् सन् २०२४ अगष्ट ५ मा शेख हसीनाले बङ्गलादेशको सत्ता गुमाउनुपरेको थियो ।

भारतका लागि पाकिस्तानका उच्चायुक्त अब्दुल बासितले एक पाकिस्तानी टेलिभिजनसँग कुरा गर्दै बङ्गलादेशको सत्तापलट पाकिस्तानका लागि अवसर भएको बताएका थिए । सत्ता गुमाउनुअघि हसीनाले बङ्गलादेशलाई पूरापूर भारतको समर्थनमा लगाउने गरेकी थिइन् ।

बङ्गलादेशसँग पाकिस्तानको सम्बन्ध खराब बन्नुमा हसिनालाई जिम्मेवारी ठहर्‍याउँदै बासितले भनेका थिए, ‘शेख हसीना भारतको काखमा खेलिरहेकी थिइन् । केही एजेण्डा बोकेर उनी अघि बढिरहिन् ।’

बङ्गलादेशकी सत्ताच्यूत निवर्तमान प्रधानमन्त्री शेख हसीना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

पाकिस्तानको कराँचीबाट पहिलो कार्गो पानीजहाज बङ्गलादेश पुग्नुलाई अब्दुल बासित निकै महत्वपूर्ण ठान्छन् ।

उनले भने, ‘पाकिस्तानको मालवाहक पानीजहाज पहिलोपटक सीधै बङ्गलादेशको चटगावँ पुर्‍याइएको छ । यसअघि दुई देशबीच जति पनि व्यापार हुन्थ्यो – त्यो सिङ्गापुर र श्रीलङ्काको बाटोबाट हुनेगथ्र्यो । पछिल्लो घटनाले भारत आतङ्कित भएको छ । अहिले बङ्गलादेशको नेतृत्व निकै खुला विचारको छ, उनीहरू भारतसँगको सम्बन्धका विरुद्ध छैनन्, तर अब विकल्प खुला राखेका छन् र पाकिस्तानसँग सम्बन्ध अघि बढाएका छन् ।’

बासितले अब व्यापार र उद्योगका सङ्गठनहरू एक–अर्को देशमा जाने र आउँदो वर्षसम्म विदेश सचिवस्तरीय वार्ता शुरु हुनसक्ने उल्लेख गरेका छन् । बङ्गलादेश र पाकिस्तानको सम्बन्ध टाढिनुमा शेख हसीनाकै पूर्वाग्रही नजर कारक भएको पनि उनले जनाएका छन् । उनी थप्छन्, ‘अब हाम्रा अघि एक मौका छ । यो मौकालाई द्विपक्षीय लाभका निम्ति उपयोग गर्नुपर्छ ।’

पाकिस्तानले बङ्गलादेशसँग व्यापारका अतिरिक्त अन्य क्षेत्रमा पनि सहयोग बढाउने कदम चालेको छ । बङ्गलादेशी नागरिकलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा सुविधा कार्यान्वयनमा ल्याइसकेको छ ।

बङ्गलादेशका लागि पाकिस्तानका उच्चायुक्त सैयद अहम मारूफले नोभेम्बर ६ मा भनेका थिए, ‘बङ्गलादेशी नागरिकका लागि पाकिस्तानमा निःशुल्क प्रवेशाज्ञा दिइनेछ । ४८ घण्टाभित्र यसबारे फैसला हुनेछ । बिजनेश र पर्यटक गरी दुई प्रकारका भिसा दिइनेछ । यात्रा गर्नेहरूले फिर्ता हुने टिकट र पाकिस्तानमा रहन चाहेको ठाउँबारे जानकारी दिए पुग्छ ।’

पाकिस्तान र बङ्गलादेशबीच सन् २०२३ मा ८० करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो ।

भारतमा चिन्ता

पाकिस्तान र बङ्गलादेश बीचको सम्बन्धमा देखिएको यस ऐतिहासिक फेरबदलप्रति भारतमा चिन्ता प्रकट हुन थालेको छ ।

कलकत्ताबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द टेलिग्राफसँग विदेश मामिलाका एक विज्ञले भनेका छन्, ‘चटगावँ र मोङ्गला बङ्गलादेशका दुई ठूला बन्दरगाह हुन् । यी दुबै बन्दरगाह पाकिस्तानका लागि पाँच दशकदेखि टाढा थियो । यसअघि दुई देशबीच श्रीलङ्काबाटै समुद्री सम्पर्क हुने गथ्र्यो । अब पाकिस्तानी जहाज सीधै चटगावँ पुग्नेछ । यसो हुँदा प्रतिबन्धित सामान बङ्गलादेश पुग्ने या भारतका पृथकतावादी समूहले हात पार्ने आशङ्कालाई अस्वीकार गर्न सकिन्न ।’

भारतीय विदेशमन्त्री एस. जयशङ्कर ।

नाम उल्लेख नगरिएका ती विज्ञले सन् २००४ मा चटगावँमा अवैध हतियारको हालसम्मकै ठूलो परिमाण बरामद भएको जिकिर गरेका छन् । सन् २००१ र २००६ बीच खालिदा जियाको नेतृत्वमा बनेको सरकारलाई ती घटनाले चिन्तित तुल्याएको थियो । १० ट्रक हतियार बरामद भएको घटना सबैभन्दा ठूलो मामिला थियो ।

सन् २००४ अप्रिल १ मा बङ्गलादेशकै इतिहासमा सबैभन्दा धेरै परिमाणमा हतियार र गोलाबारुद जफत भएको थियो । ती हतियार ठूला दुई डिब्बामा राखेर समुद्री बाटो हुँदै चटगावँस्थित यूरिया फर्टिलाइजर प्लान्टमा लगिएको थियो । सोही घटनापछि भारत र तत्कालीन बीएनपी सरकारको सम्बन्धमा दरार आएको ती विज्ञले दाबी गरे ।

दक्षिण एसियाकै शक्ति सन्तुलनमा असर

बङ्गलादेश र पाकिस्तानबीच बढ्दो सम्बन्धलाई लिएर भारतमा आशङ्का बढ्नुको उचित कारण छ । यी दुई देशबीचको नयाँ समीकरणले लामो समयपछि दक्षिण एसियाकै भूराजनीतिक समीकरणमा असर पार्न सक्छ ।

अङ्ग्रेजी अखबार टेलिग्राफलाई भारतीय सुरक्षा एजेन्सीसँग जोडिएको एक सूत्रले भनेका छन्, ‘गत वर्ष जब भारतलाई मोङ्गला बन्दरगाह सञ्चालन गर्ने अधिकार मिल्यो । त्यो घटना चीनमाथि भारतको एक रणनीतिक हावीपना थियो । तर अब पाकिस्तानको पहुँच बङ्गलादेशको चटगावँ बन्दरगाहसम्म विस्तार भएको छ, दुबैए बन्दरगाहको समुद्री च्यानलमा पाकिस्तानी जहाजलाई इजाजत मिल्नेछ । क्षेत्रीय भूराजनीतिमा यसको असर अवश्य पर्दैछ, किनकी चटगावँ म्यानमार नजिक छ ।’

वास्तवमा भारतीय सुरक्षा एजेन्सीहरू पूर्वोत्तर क्षेत्रका विद्रोही समूहले म्यानमारमा आश्रय लिएको हुन सक्नेमा सशंकित छन् । उनीहरूलाई हतियार पनि पाकिस्तानी पानीजहाजले चटगावँसम्म यात्रा भरेको बाटोबाटै प्राप्त भएको हुनसक्ने आशङ्का छ ।

बङ्गलादेशले कट्टरपन्थी पार्टी जमात ए इस्लामीमाथि लगाएको प्रतिबन्ध हटाएपछि नै झस्किएको भारतको चिन्ता बङ्गलादेशको संविधानबाट धर्मनिरपेक्षता शब्द हटाइने खबरले झनै बढाइदिएको छ ।

भारतीय रक्षा विशेषज्ञ ब्रह्मा चेलानीले सामाजिक सञ्जाल एक्समा एक पोष्टमा लेखेका छन्, ‘बङ्गलादेशमा बहुलतावादी र समन्वयवादी परम्परा सिध्याउनकै लागि अनिर्वाचित शासन ल्याउने प्रयास भएको देखेर महान्यायाधीवक्ता कार्यालयले ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको मुलुकमा धर्मनिरपेक्षता मेल नखाने तर्क दिएको थियो ।’

बङ्गलादेशमा पाकिस्तानसँग सुमधुर सम्बन्ध राख्ने सरकार बनेको यो नै पहिलोपटक भने होइन । १६ वर्षसम्म सैनिक तानाशाह र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको सरकारले पनि पाकिस्तानसँग निकट सम्बन्ध राखेका थिए ।

यद्यपी सो अवधिमा भारतसँग पनि बङ्गलादेशको सम्बन्ध निकै निकट थियो । द्विपक्षीय आर्थिक क्षेत्रतर्फ पनि सहयोगको उछाल थियो । दुबै देशबीच व्यापार, ऊर्जा र रक्षा क्षेत्रमा व्यापक सहयोग भयो ।

दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार नै बङ्गलादेश हो । यी दुई देशबीच वार्षिक करिब १६ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार हुने गरेको छ ।

(एजेन्सीहरूको सहयोगमा ।)

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : ०३ बजे

एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट

काठमाडौं – नेपाल राष्ट्र बैंकले एकै वर्ष ३५ करोड ३७

उपनिर्वाचन : मोरङको ग्रामथान गाँउपालिका अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको

ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन

काठमाडौं – आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी

पोखराका प्रेमप्रसादको एकीकृत कृषि 

गण्डकी– पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका