सीमाक्षेत्रका पुल निर्माणका अवरोध हटाउन छलफल | Khabarhub Khabarhub

सीमाक्षेत्रका पुल निर्माणका अवरोध हटाउन छलफल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुजफ्फरपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुजफ्फरपुरमा मङ्गलबार छलफल भएको हो ।

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताए ।

उनले दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुन नसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्ने बताए ।

उनले भने, ‘दश वर्षअघि म भौतिक पूर्वाधारमन्त्री भएका बेला यहाँ सीमाक्षेत्रमा चारवटा पुल निर्माणका लागि शिलान्यास गरिएका थिए । केही काम भएको छ । तर एसएसबीले ‘नो म्यान्स ल्याड’मा संरचना बन्न नदिने माथिको निर्देशन भन्दै अवरोध गरिरहेको छ ।’

नेता निधिले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारतीय जनताको भावना पनि सुनाउन आएको बताएका थिए ।

छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिए ।

नेता निधिसँगै नेपालबाट नगराइन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अरुणकुमार लाल कर्णलगायत प्राविधिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

यहाँ नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडकअनुसार स्तरोन्नति, नगराइन –६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुल, मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित जमुनी नदीको अखरहैर घाट र सोही पालिकाको वडा नं ५ बैरियाटोलस्थित थल्हीघाटस्थित निर्माणाधीन पुलमा भारतीय सुरक्षा बलबाट अवरोध भइरहेको जनगुनासो छ ।

डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख इन्जिनियर कर्णले उल्लेखित चारवटै पुल निर्माणका लागि आधाभन्दा बढी काम भइसके पनि पुलले आफ्नो भूमि छोएको भन्दै भारतीय पक्षले अवरोध गरेका कारण समस्या भएको बताए । अब उच्चस्तरबाट पहल भएमा मात्रै पुलको अवरोध हट्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ११ : ३१ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा