ठिमुरा-देवघाट जोड्ने पुल दश वर्षपछि सञ्चालनमा « Khabarhub

ठिमुरा-देवघाट जोड्ने पुल दश वर्षपछि सञ्चालनमा


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न हुँदैछ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।

भरतपुर-१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पौडेलका अनुसार निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माण सुरु हुनुअघि बनाइएको नक्सांकनबीचमा संशोधन गर्नुपर्दा समय लागेको उनले बताए ।

निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए।

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको  हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । दुईपटकसम्म पुल भत्किएपछि काममा थप ढिलाइ भएको हो । 

पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्सांकन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको स्वीकारे । 

डिभिजन सडक कार्यालयका तत्कालीन डिभिजनल प्रमुख हरिकुमार पोख्रेल हुँदा निर्माण सम्झौता गरिएको यो पुल आठौँ प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित हुने भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३१ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा