‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’ | Khabarhub Khabarhub

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा- माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए ।

सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ?

उनले गठबन्धन गर्ने अनि सधैं एउटै व्यक्तिले शासन गर्ने प्रवृत्तिसँग रिस उठेर आफू राजनीतिमा आएको उनले सुनाइन् । ‘गठबन्धन गर्छु भन्ने भएपछि पैंतलादेखि रिस उठ्यो । सधैं एउटै मान्छे हुँदैन भनेर म राजनीतिमा आएँ,’ उनले सुनाइन्, ‘म जब राष्ट्रिय स्वतन्त्र पार्टीमा गएँ । रविजी एक जनाले जितेपनि म्यासेज दिनपर्छ भन्ने भयो ।’ राजनीति समाजसेवा भएको र देश विकासका लागि चाहिने नीति बनाउन आफू रजनीतिमा आएको उनले बताइन् ।

जता गएपनि भनसुन गर्ने प्रवृत्ति अन्त्य गरेर सिस्टम बसाइनुपर्ने उनले बताइन् । ‘जता गएपनि भनसुन गर्नुपर्ने अवस्था छ । लोकतन्त्र भन्छौं तर के हामी फ्री छौं ? केही गर्छु भन्नेलाई थकाएको थकाइ गर्छ । जता गयो त्यतै दाम चढाउनुपर्छ,’ सुमनाले भनिन्, ‘परिवर्तन गर्नुपर्ने एकजना नेपाली, नेपाली भएर काम सक्न पाउनपर्छ । दलमा आबद्ध हुनुनपर्ने, ठूलो नेतालाई चिन्नुनपर्ने स्वतन्त्रता चाहियो ।’

पर्यटनमन्त्री किराँतीले क्षमता भएकाहरूलाई राजनीतिमा आउन आव्हान् गरे । नभए क्षमताहीनले शासन गर्ने र देशले दुःख पाउने उनको भनाइ थियो । उनले आफ्नो हालसालै भाइरल भएको मन्त्रालयमा पोछा लगाएको भिडियोको प्रसंग पनि झिके । कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको मन्त्री किराँतीले बताए । ‘नगर्नुपथ्र्यो । मलाई पनि हाकिम हुन मन छ । सुविधामै बस्न मन छ । तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने ?’ मन्त्री किराँतीले भने, ‘अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किरातीले पोछा लगाउन नहुने ? ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु । मैले सक्ने र भ्याउने काम म गरिरहन्छु ।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नयाँ आएकालाई अवसर दिइएमात्र आकर्षण बढ्ने बताए । उनले राजनीति निरन्तरताको आधारमा नभई भिजनको आधारमा हुनुपर्ने जिकिर गरे । ‘राजनीति निरन्तरताको आधारमा होइन कन्टेन्टको आधारमा हुनपर्छ । देश कसरी बनाउने हो भनेर त्यसको फेहरिस्तको आधारमा हुनपर्छ । कांग्रेसमा यस्तो व्यवस्था गर्नुपर्छ कि ३५ वर्ष भएको प्रदिपसँग ३५ दिनअघि आएको मान्छेले जित्यो भने जित्न दिनपर्छ,’ उनले भने ।

गठबन्धन गरेर लोकतन्त्रलाई साँघुरो बनाइएको, विचारको राजनीतिको स्पेसलाई घटाउने काम भइरहेको पौडेलले दाबी गरे । सत्तामुखी नभई जनमुखी भएर काम गर्ने गरी गतिविधि किन हुन सकेको छैन भन्ने आफैंले बुझ्न नसकेको उनले बताए । पार्टी सिस्टममा आफूले नचाहेका विषयमा पनि सहमति जनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । ‘सत्य र सही कुराको पार्टीको सीमा बाहिर गएर वकालत गर्नुपर्छ कि ? पार्टीभन्दा बाहिर कुरा मिले भने सँगै भएर त्यसलाई लिएर जान सक्छौ कि ? गलत र सही के हो छुट्याउने अनि सही छ भने सही ठान्ने सबै एक ठाउँमा जाने । पार्टी नियन्त्रणको प्रक्रिया बढी भयो कि भन्ने लाग्छ ।’

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले क्षमता भएकालाई अवसर दिने परिपाटी दलहरूले बनाउन आवश्यक रहेको बताइन् । ‘क्षमता भएका र केही नयाँ गर्छु भनेर राजनीतिमा आएकालाई नेतृत्वमा ल्याउन ऐंठन (थिचाइ) छ । यो पद्धति र प्रणालीको कुरा हो,’ उनले भनिन् । व्यक्तिको असक्षमतामाथि हेरेर राजनीतिक र लोकतान्त्रिक व्यवस्थामाथि आलोचना गर्ने काम गलत रहेको बताइन् । राजनीतिलाई सफा गर्न स्वच्छ व्यक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ३४ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल