किन मनाइएन राष्ट्रिय चलचित्र दिवस ? | Khabarhub Khabarhub

किन मनाइएन राष्ट्रिय चलचित्र दिवस ?


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वसनीय मानिएका वा चल्तीका क्यालेन्डरमा असोज १ गते (आज मङ्गलबार) ‘राष्ट्रिय चलचित्र दिवस’ पर्ने लेखिएको छ । सो दिवस अवसरमा मङ्गलबार कुनै विशेष कार्यक्रम भने भएन । बहुसंख्यक चलचित्रकर्मीहरूले यो दिवस सन्दर्भमा कुनै शुभकामना समेत आदानप्रदान गरेका छैनन् ।

चलचित्रको विकास र प्रवर्द्धन लागि स्थापित सरकारी निकाय चलचित्र विकास बोर्डले पनि कुनै गतिविधि गरेन । बरु, इन्द्र जात्राको सार्वजनिक बिदाले बोर्डको नियमित कार्य बन्द रह्यो । बोर्ड अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डीसी’ भने कार्यकक्षमै भेटिए ।

अध्यक्ष डीसीले पनि बोर्डको र व्यक्तिगत तर्फबाट दिवस अवसरमा शुभकामना दिइएको पाइएन । भन्छन्, ‘म बोर्डमा नयाँ हुँ । मैले यसबारे धेरै कुरा त थाहा पाएको छैन, तर विवाद रहेछ । सोही कारण औपचारिक कार्यक्रम भएन । छिट्टै नयाँ मिति तय गरी चलचित्र दिवसको मिति टुङ्गो लगाउँछौं ।’

उनका अनुसार चलचित्रकर्मीहरूले तार्किक तथ्य बोकेको मितिलाई दिवस घोषणा गर्न माग राखेका छन् । उनी थप्छन्‌, ‘मेरो बुझाइमा चलचित्रसम्बन्धी इतिहास बोकेको मिति आज होइन । सोहीकारण यही क्षेत्रका व्यक्तिहरूबाटै विवादित मानेको मितिमै किन दिवस मनाउनु ?’

नेपालको पहिलो फिल्मको शुभमुहूर्त वा प्रदर्शन भएको मितिमा दिवस मनाउनपर्ने उनको तर्क छ । अर्कोतर्फ नेपालको पहिलो फिल्म कुन हो भन्ने विवादले नै यो विषय थप गिजोलिएको उनी बताउँछन् ।

दिनेशका अनुसार नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ र नेपालमा बनेकाे पहिलो चलचित्र ‘आमा’मध्ये कुनलाई पहिलो मान्ने निर्क्योल हुन नसकेकाले पनि दिवसबारे विवाद भएको हो । ‘कसैले आमा फिल्मको प्रदर्शन मितिका दिन चलचित्र दिवस मनाउनुपर्छ भन्नुहुँदो रहेछ, कसले के भन्नु हुँदो रहेछ, विवाद रहेछ,’ उनी भन्छन् ।

चलचित्र दिवसबारे दिनेशलाई मात्रै विवाद महसुस भएको होइन । निवर्तमान अअध्यक्ष भुवन केसीले सम्बन्धित निकायसँग छलफल नै चलाएको बोर्डका प्रवक्ता अधिकारी खेटुलाल बीसी बताउँछन् ।

तर, पूर्वअध्यक्ष केसीले पनि यसबारे ठोस निर्णय दिन सकेनन् । सोहीकारण गत महिनाअघि मात्रै अध्यक्षमा नियुक्त डीसीले पनि आज दिवस मनाउन उपयुक्त नठानेका हुनसक्छन्‌ ।

बहालवाला मात्र होइन, बोर्डका पूर्वअध्यक्षहरू भुवन केसी, दयाराम दाहाल र निकिता पौडेल लगायतले पनि चलचित्र दिवस अवसरमा शुभकामना दिएका छैनन् ।

बोर्ड राष्ट्रिय चलचित्र दिवस मनाउन गम्भीर देखिँदैन । वि.स‌. २०७९ मा तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीको कार्यसमितिले दिवसबारे अघि बढाइएको प्रक्रियाबारे बोर्डका अधिकारीहरू चासो दिन चाहँदैनन् ।

प्रवक्ता बीसी भन्छन्, ‘उहाँको बेला बोर्ड समितिले निर्णय गरेको चाहिँ हो । यसको प्रक्रिया कहाँ पुग्यो थाहा छैन ।’

पूर्वअध्यक्ष भण्डारी भन्छन्– ‘मन्त्रालयले आजको मिति चिन्छ’

वि.सं. २०६९ देखि राष्ट्रिय चलचित्र दिवस मनाउन थालेको पाइन्छ । यसको सुरुवात बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।

भण्डारीका अनुसार त्यतिबेला चलचित्रकर्मीहरूको सहमतिमै बोर्डले दिवसको मिति तय गरेको हो । यद्यपि दिवसको मितिमा असहमति राख्ने केही व्यक्ति थिए ।

भन्छन्, ‘केही व्यक्तिले मान्नुभएको थिएन । तर, फिल्मसम्बन्धी धेरै संस्थाका पदाधिकारीसँगको छलफलमा यो मितिबारे टुङ्गो लागेको हो । त्यसपछि मात्रै बोर्डले निर्णय गरेको हो ।’

बोर्डको सो निर्णयलाई तालुकदार सरकारी निकाय हालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति समेत दिएको पूर्वअध्यक्ष भण्डारीको दाबी छ ।

उनी भन्छन्, ‘स्वीकृति दिएपछि हामीले मन्त्रालयका तत्कालीन सचिव सहितलाई सहभागी गराएर र्‍याली नै निकालेका थियौँ ।’ सोहीकारण राष्ट्रिय दिवसको दिन बोर्डले शुभकामना पनि व्यक्त नगर्नु अस्वाभाविक रहेको उनको तर्क छ ।

उनी प्रश्न गर्छन्, ‘सबैले मानेर दिवसको मिति तय गरेको हो । अहिले दिवस मान्नु नपर्ने कारण के छ ?’

उनले भने सामाजिक सञ्जालमा आजकै मितिलाई राष्ट्रिय चलचित्र दिवस रहेको भन्दै शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘मेरो पालामा उत्साहका साथ सुरु गरिएको राष्ट्रिय चलचित्र दिवसको हार्दिक मंगलमय शुभकामना !’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : २५ बजे

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले