किन मनाइएन राष्ट्रिय चलचित्र दिवस ? | Khabarhub Khabarhub

किन मनाइएन राष्ट्रिय चलचित्र दिवस ?


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वसनीय मानिएका वा चल्तीका क्यालेन्डरमा असोज १ गते (आज मङ्गलबार) ‘राष्ट्रिय चलचित्र दिवस’ पर्ने लेखिएको छ । सो दिवस अवसरमा मङ्गलबार कुनै विशेष कार्यक्रम भने भएन । बहुसंख्यक चलचित्रकर्मीहरूले यो दिवस सन्दर्भमा कुनै शुभकामना समेत आदानप्रदान गरेका छैनन् ।

चलचित्रको विकास र प्रवर्द्धन लागि स्थापित सरकारी निकाय चलचित्र विकास बोर्डले पनि कुनै गतिविधि गरेन । बरु, इन्द्र जात्राको सार्वजनिक बिदाले बोर्डको नियमित कार्य बन्द रह्यो । बोर्ड अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डीसी’ भने कार्यकक्षमै भेटिए ।

अध्यक्ष डीसीले पनि बोर्डको र व्यक्तिगत तर्फबाट दिवस अवसरमा शुभकामना दिइएको पाइएन । भन्छन्, ‘म बोर्डमा नयाँ हुँ । मैले यसबारे धेरै कुरा त थाहा पाएको छैन, तर विवाद रहेछ । सोही कारण औपचारिक कार्यक्रम भएन । छिट्टै नयाँ मिति तय गरी चलचित्र दिवसको मिति टुङ्गो लगाउँछौं ।’

उनका अनुसार चलचित्रकर्मीहरूले तार्किक तथ्य बोकेको मितिलाई दिवस घोषणा गर्न माग राखेका छन् । उनी थप्छन्‌, ‘मेरो बुझाइमा चलचित्रसम्बन्धी इतिहास बोकेको मिति आज होइन । सोहीकारण यही क्षेत्रका व्यक्तिहरूबाटै विवादित मानेको मितिमै किन दिवस मनाउनु ?’

नेपालको पहिलो फिल्मको शुभमुहूर्त वा प्रदर्शन भएको मितिमा दिवस मनाउनपर्ने उनको तर्क छ । अर्कोतर्फ नेपालको पहिलो फिल्म कुन हो भन्ने विवादले नै यो विषय थप गिजोलिएको उनी बताउँछन् ।

दिनेशका अनुसार नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ र नेपालमा बनेकाे पहिलो चलचित्र ‘आमा’मध्ये कुनलाई पहिलो मान्ने निर्क्योल हुन नसकेकाले पनि दिवसबारे विवाद भएको हो । ‘कसैले आमा फिल्मको प्रदर्शन मितिका दिन चलचित्र दिवस मनाउनुपर्छ भन्नुहुँदो रहेछ, कसले के भन्नु हुँदो रहेछ, विवाद रहेछ,’ उनी भन्छन् ।

चलचित्र दिवसबारे दिनेशलाई मात्रै विवाद महसुस भएको होइन । निवर्तमान अअध्यक्ष भुवन केसीले सम्बन्धित निकायसँग छलफल नै चलाएको बोर्डका प्रवक्ता अधिकारी खेटुलाल बीसी बताउँछन् ।

तर, पूर्वअध्यक्ष केसीले पनि यसबारे ठोस निर्णय दिन सकेनन् । सोहीकारण गत महिनाअघि मात्रै अध्यक्षमा नियुक्त डीसीले पनि आज दिवस मनाउन उपयुक्त नठानेका हुनसक्छन्‌ ।

बहालवाला मात्र होइन, बोर्डका पूर्वअध्यक्षहरू भुवन केसी, दयाराम दाहाल र निकिता पौडेल लगायतले पनि चलचित्र दिवस अवसरमा शुभकामना दिएका छैनन् ।

बोर्ड राष्ट्रिय चलचित्र दिवस मनाउन गम्भीर देखिँदैन । वि.स‌. २०७९ मा तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीको कार्यसमितिले दिवसबारे अघि बढाइएको प्रक्रियाबारे बोर्डका अधिकारीहरू चासो दिन चाहँदैनन् ।

प्रवक्ता बीसी भन्छन्, ‘उहाँको बेला बोर्ड समितिले निर्णय गरेको चाहिँ हो । यसको प्रक्रिया कहाँ पुग्यो थाहा छैन ।’

पूर्वअध्यक्ष भण्डारी भन्छन्– ‘मन्त्रालयले आजको मिति चिन्छ’

वि.सं. २०६९ देखि राष्ट्रिय चलचित्र दिवस मनाउन थालेको पाइन्छ । यसको सुरुवात बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।

भण्डारीका अनुसार त्यतिबेला चलचित्रकर्मीहरूको सहमतिमै बोर्डले दिवसको मिति तय गरेको हो । यद्यपि दिवसको मितिमा असहमति राख्ने केही व्यक्ति थिए ।

भन्छन्, ‘केही व्यक्तिले मान्नुभएको थिएन । तर, फिल्मसम्बन्धी धेरै संस्थाका पदाधिकारीसँगको छलफलमा यो मितिबारे टुङ्गो लागेको हो । त्यसपछि मात्रै बोर्डले निर्णय गरेको हो ।’

बोर्डको सो निर्णयलाई तालुकदार सरकारी निकाय हालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति समेत दिएको पूर्वअध्यक्ष भण्डारीको दाबी छ ।

उनी भन्छन्, ‘स्वीकृति दिएपछि हामीले मन्त्रालयका तत्कालीन सचिव सहितलाई सहभागी गराएर र्‍याली नै निकालेका थियौँ ।’ सोहीकारण राष्ट्रिय दिवसको दिन बोर्डले शुभकामना पनि व्यक्त नगर्नु अस्वाभाविक रहेको उनको तर्क छ ।

उनी प्रश्न गर्छन्, ‘सबैले मानेर दिवसको मिति तय गरेको हो । अहिले दिवस मान्नु नपर्ने कारण के छ ?’

उनले भने सामाजिक सञ्जालमा आजकै मितिलाई राष्ट्रिय चलचित्र दिवस रहेको भन्दै शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘मेरो पालामा उत्साहका साथ सुरु गरिएको राष्ट्रिय चलचित्र दिवसको हार्दिक मंगलमय शुभकामना !’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : २५ बजे

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

काठमाडौं– एभरेष्ट बैंकले बिहीबार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका वडा नं

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

गलकोट– जैमिनी नगरपालिकाले एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी

कर्णाली राजमार्गमा ठूला सवारिसाधन सञ्चालनमा रोक

काँक्रेविहार– कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको