बढ्दै छ 'साइलेन्ट किलर' उच्च रक्तचाप जोखिम, कसरी जोगिने ? | Khabarhub Khabarhub

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली मुख्य कारण



काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यस दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न निकाय लगायत संघसंस्थाले चेतनामुलक कार्यक्रम गर्दैछन् ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । यस वर्षको दिवसको नारा ‘ब्लड प्रेसर उचित तरिकाले नापौं, बढी छ भने नियन्त्रण गरौं र दीर्घजीवी बनौं’, भन्ने छ ।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थको प्रयोग तथा सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या बढदै गएको छ । यसविरुद्ध सचेतनाका लागि हरेक वर्ष मे १७ तारिखमा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ ।

उमेरको असर, खानपिन, जीवनशैली, वातावरण र वंशाणुगत कारणले पछिल्लो समय उच्च रक्तचापको समस्या भयावह बन्दैछ ।

उच्च रक्तचापको अवस्था

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३० देखि ७९ वर्ष उमेर समूहमा एक अर्ब २८ करोड मानिसलाई उच्च रक्तचापको समस्या छ । नेपालका सहरी क्षेत्रमा २९.८ प्रतिशत, उपनगरीय क्षेत्रमा २५.५ प्रतिशत र ग्रामीण क्षेत्रका २४.४ प्रतिशत मानिसमा यस्तो समस्या छ ।

धुमपान गर्ने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने, लामो समय बसेर काम गर्ने, अत्यधिक मात्रामा नुन, बोसो तथा चिल्लो पदार्थ खाने, मदिरा पिउने, सानै उमेरदेखि पत्रु खाना (जङ्कफुड) प्रयोग गर्ने, तनाव, देखावटी प्रतिष्पर्धी जीवन जिउने, हरियो सागसब्जी र फलफूल कम खाने लगायतले उच्च रक्तचाप बढ्दो क्रममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर कमल लम्सालले बताए ।

उच्च रक्तचापका जटिलता

उच्च रक्तचापले शरीरको मुख्य अङ्गहरुमा असर गर्छ ।

अकस्मात हुने ब्लड प्रेसरका कारण हृदयघात हुन सक्छ । अर्कातिर हाई ब्लड प्रेसरका कारण आँखाको ज्योति गुम्न सक्छ । ब्लड प्रेसरको असर दीर्घकालीन हुन्छ, ब्लड प्रेसरको समयमा उपचार नभए त्यसको असर दुई चार महिना तथा वर्षौंपछि पनि देखिन सक्छ, मुटुमा बोसोजन्य पदार्थ जमेर रक्त नलीहरु तन्किने हुनसक्छ ।

यस्तै उच्च रक्तचापले मष्तिष्कमा ‘ब्रेन ह्याम्रेज’को पनि सम्भावना हुन्छ । त्यस्तै मृत्युको मुख्य कारण जसलाई कार्डियो भास्कुलर डिडिज भनिन्छ, त्यो पनि रक्त नलीहरुसँग सम्बन्धित छ । त्यसको मुख्य कारण उच्च रक्तचाप नै हो । विश्वमा मासिको मृत्युको मुख्य कारण पनि यही हो ।

उच्च रक्तचापका लक्षण

सबैलाई यसको लक्षण नदेखिन पनि सक्छ ।

कहिलेकाहीँ उच्च रक्तचापको लक्षण नदेखिए पनि नाप्दा थाहा हुन्छ । त्यसैले यसलाई ‘साइलेन्ट किलर’ भनिन्छ । केही लक्षण नदेखिएर ह्वात्तै बढेर जटिल अवस्थामा पुग्ने सम्भावनाले यसको जोखिम धेरै छ । तर केही व्यक्तिमा टाउको दुख्ने, रिँगटा लाग्ने, आँखा धमिलो हुने, झुम्म हुने, थकान, आलस्य हुने, नाकबाट अकस्मात रगत बग्ने, मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुने र खुट्टा सुनिने जस्ता लक्षण देखिन सक्छन् ।

त्यस्तै कुनै रोगका कारण उच्च रक्तचाप भए, त्यो रोग अनुसारको लक्षण पनि देखिन्छन् । मिर्गौलाको रोगका कारण भए खुट्टा सुन्निने, आँखा धमिलो देखिने हुनसक्छ । लक्षण नदेखिए पनि रक्तचाप उच्च हुनसक्छ, त्यसैले उमेर बढ्दै गएपछि समय समयमा रक्तचाप नाप्न जरुरी छ ।

नियन्त्रणका उपाय

औषधोपचार सक्रिय जीवनशैली नै उच्च रक्तचाप व्यवस्थापनको मुख्य विधि हो । आधुनिक विज्ञानमा उच्च रक्तचापका सुरक्षित औषधिहरू पाइन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अर्काे रोगको बिरामी नभएको अवस्थामा सिस्टोलिक रक्तचाप १४० एमएमचजी र डास्टोलिक रक्तचाप ९० एमएमएचजी वा बढी भए औषधि लिनु पर्छ ।

यस्तै, पहिलेदेखि नै मुटुसम्बन्धी रोग भए वा हुने जोखिम भए, मधुमेह भए, मिर्गौलासम्बन्धी रोग भएमा सिस्टोलिक रक्तचाप १३०–१३९ एमएमएचजी वा त्यसभन्दा बढी भए औषधि लिनुपर्छ ।

खानपान र जीवनशैली बदलौँ

उच्च रक्तचाप नियन्त्रणमा राख्न मानसिक तनाव व्यवस्थापनसहित स्वस्थ जीवनशैली अपनाउनु पर्छ । योग र ध्यान गर्नुपर्छ । आफूलाई मन पर्ने मनोरञ्जनमा सहभागी हुनुपर्छ । यस्तो जीवनशैलीले उच्च रक्तचाप व्यवस्थापनमा सहयोग गर्छ । उच्च रक्तचाप नभएकालाई हुनबाट जोगाउँछ । त्यस्तै खानामा नुनको मात्रा घटाउनु पर्छ ।

उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । नेपालमा औषतमा एक व्यक्तिले दैनिक १०–१५ ग्राम नुन उपभोग गर्छन् । उच्च रक्तचाप नियन्त्रण गर्न दिनमा पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

नुन घटाउन केही अभ्यासहरू गर्न सकिन्छ, जस्तै– खाना पकाउँदा नुन कम राख्नेस, नुन थपेर नखाने,बट्टाका तयारी खाद्य पदार्थ नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन, बिस्कुट, चिज, बटर आदि नखाने । स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्न सकिन्छ ।

तौल घटाउने

धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको तौल आवश्यकताभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । तौल घटाउने विभिन्न उपाय छन् ।

तौल घटाउने मुख्य उपाय खाद्य पदार्थबाट लिने क्यालोरी (शक्ति) भन्दा कामबाट खर्च गर्ने क्यालोरी बढी हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित छ ।

अर्थात् खाएर जम्मा हुने शक्तिभन्दा खर्च हुने शक्ति बढी हुनु पर्छ । जंक फुड पूर्णरूपमा बन्द गर्नुपर्छ । त्यस्तै सक्रिय जीवनशैली अपनाउने, सधैँ केही समय हिँडडुल गर्ने, जसको परीवारमा पहिलेदेखि नै मुटुरोगको समस्या छ, त्यस्ता व्यक्तिमा जोखिम अलिक बढी हुने हुँदा बेला बेला जाँच गराइरहनुपर्छ । उच्च रक्तचाप देखिएमा डाक्टरको सल्लाह बमोजिम उपयुक्त औषधि नियमित सेवन गर्नुपर्छ ।

औषधि सेवन गर्नुपर्ने अवस्थामा नपुग्नु नै बुद्धिमानी हुनेछ । समयमै स्वस्थ जीवनशैली अपनाउनु पहिलो उपचार हो । खानपान र जीवनशैलीमा ध्यान दिए भविष्यमा रक्तचापको रोगी हुनु पर्दैन। यसले खुसीका साथ स्वस्थ जीवन जिउन दिन्छ । त्यसैले समयमै सावधानी अपनाए उच्च रक्तचापबाट बच्न सकिन्छ ।

(ओम अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर कमल लम्सालसँग खबरहबकर्मी पवन मुडभरीले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ३ : ४२ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल