परम्परागत झारफुकमा लाग्दा सर्पदंशले मृत्यु दर बढ्दो | Khabarhub Khabarhub

परम्परागत झारफुकमा लाग्दा सर्पदंशले मृत्यु दर बढ्दो


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसम सुरु भएसँगै नेपालको तराईं क्षेत्रमा सर्पदंशले धेरै मानिसको मृत्यु हुने गरेको छ। भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अत्याधिक खतरा हुन्छ। विगतका वर्षमा जस्तै योवर्ष पनि सर्पदंशबाट मृत्यु भएका घटना धेरै सार्वजनिक भएका छन्। उपचारभन्दा पनि झारफुकमा लाग्दा हरेक वर्ष धेरै जनाले अकालमा ज्यान गुमाउने गरेको विज्ञको भनाइ छ।

विश्व स्वास्थ्य संगठनको अनुसार वर्षेनी नेपालमा सर्पको टोकाइबाट २० हजार जना पीडित हुने र त्यसमध्ये एक हजार जनाको मृत्यु हुने गरेको अनुमान छ। नेपालमा गरिएका अध्ययन अनुसार ८९ प्रजातिका सर्प पाइनछन् र त्यसमा १७ प्रजातिका सर्प बिषालु हुन्छन्।

नेपालमा भेटिनेमध्ये झन्डै ८० प्रतिशत सर्प विषालु छैनन्। नेपालमा विशेषतः तराई भेगमा सर्पको टोकाइबाट बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। सो ठाउँमा कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्प पाइने गर्छन्। कतिपय विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन नपाएरै पनि ज्यान गुमाएका घटना आउने गरेको चिकित्सकको भनाइ छ।

बिगतका वर्षमा झै यसवर्ष पनि सर्पदंशले ज्यान गुमाउनेको संख्या रहेको सेती प्रोदेशिक अस्पताल, धनगढीका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले जानकारी दिए।

डा. शर्माका अनुसार विशेष गरेर पानी पर्न थालेपछि रोपाइँको बेलामा शितल खोज्दै सर्पहरु छाया भएको ठाउँमा जाने गर्छन्। यसक्रममा घरभित्र पस्ने, पानीको मुलको छेउमा बस्ने, खाटको कोप्चामा छिर्ने गर्छन्। जसले गर्दा सर्पदंशबाट राति धेरै मानिस प्रभावित हुने गरेका छन्। प्राय दैनिक रुपमा नै सर्पदंशका बिरामी तराईंका अस्पतालमा पुग्ने गरेका छन्।

सर्पले टोक्दा देखिने लक्षण
दिउँसोको समयमा सर्पले टोकेमा थाहा भइहाल्छ। तर बाहिर ठुलो पानी पर्दा वा एकदमै गर्मी हुँदा सर्प आहारा, शितल वा ओभानो खोज्दै घरभित्र पस्छन्। त्यसैबेला खाटमै पनि बसिरहेको हुनसक्छन्। सुतेको बेला उसलाई हात खुट्टाले छोएपछि असुरक्षित भएको महसुस गर्दै टोक्ने गर्छ। कतिपयले सर्पले टोकेको भनेर थाहा नै नपाउने अवस्था हुनसक्छ। बिहान उठ्दा सर्प देखिँदैन त्यस्तो अवस्थामा गाला भन्दा तल घाँटी दुख्ने, चलाउनै गाह्रो हुने, पेट दुख्ने र विस्तारै पुरै शरीर दुख्ने हुन्छ। त्यस्तै निल्न गाह्रो हुने, आँखा बन्द हुने हेर्न खोज्दा पनि नसकिने जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकलाई भेटेर उपचार गर्नुपर्छ।

डा. शर्मा भन्छन्, ‘यदि त्यस्तो अवस्थासम्म पनि उपचार भएन भने बिरामीलाई बोल्न गाह्रो हुन्छ र बेहोस भएर ढल्ने, मुखबाट फिज आउने हुन्छ।’ कुनै कुनै सर्पले टोकेको दाग देखिन्छ भने करेत सर्पले टोकेको दाग पनि नदेखिन सक्छ। चिकित्सकले लक्षणको आधारमा एण्टीभेनम औषधी चलाउने गर्छन्। ‘त्यसैले सर्प देखिहाल्यो भने त टोक्यो भनेर थाहा हुने हुन्छ। सर्प देखिएन तर बिरामीमा यस्ता लक्षण देखिएका छन् भने जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ’, डा. शर्माले भने।

परम्परागत झारफुकमा समय खेर फाल्दा मृत्यु बढ्यो
मान्छे जति नै विकसित भए पनि परम्परागत कुरा समाजमा रहिरहने हुन्छ। पहिलेको तुलनामा केही सुधार भएको छ तर आजभोलि पनि सर्पले टोक्नेबित्तिकै अस्पताल पुग्नेको संख्या बढ्न नसकेको डा. शर्माको भनाइ छ। ‘सुरुमा वैद्यकहाँ जाने र अन्तिममा अस्पताल ल्याउने प्रवृत्ति अहिले पनि छ। जसका कारण कतिपय बिरामीको अस्पताल पुग्दा मृत्यु भइसकेको हुन्छ’, उनले भने।

सर्पले टोकिसकेपछि जब बिष शरीरमा फैलिने क्रम सुरु हुन्छ त्यसबेलामा नै अस्पताल पुगेमा राम्ररी उपचार हुन्छ। कतिपय बिरामी निको भएर हिँडेरै घर जान सक्ने अवस्थामा हुन्छन्। तर अस्पताल पुर्याउन ढिला भएर विष दिमागमा, रगतमा र मुटुमा फैलिसकेको अवस्थामा अस्पताल लगे पनि उपचारमा कठिनाइ हुने डा. शर्मा बताउँछन्।

घरमा गर्न सकिने प्राथमिक उपचार
-सर्पले नै टोकेको हो भनेर थाहा भयो भने चिच्याउने, कराउने आत्तिने गर्नु हुँदैन,
-टोकेको ठाउँमा चुस्ने काम नगर्ने,
-हातखुट्टामा टोकेको छ भने चलाउँदा झन् चाँडो विष फैलिने भएकाले नचलाई बस्ने,
-कपडाले हलुका रुपमा बाँधेर टोकेको भागलाई नचलाई जतिसक्दो चाँडो अस्पताल पुग्ने,
-बिरामीलाई आँखा खोल्न गाह्रो हुने समस्या देखियो भने बिरामीलाई तत्काल सुत्न नदिने उसँग कुरा गरिराख्ने, सान्त्वना दिने गर्नुपर्छ।

कुन सर्प कति विशालु ?
डा. शर्माका अनुसार नेपालमा विशेष गरेर करेत सर्प एकदमै विषालु हुन्छ। अर्को कोब्राको प्रजाति र रसोल भाइपर जसलाई हामी हरियो सर्प भनेर चिन्छौं। यो पनि एकदमै विषालु हुन्छ। यसको पुच्छर हल्लियो भने कराउँने गर्दछ। यसको विषले रगतलाई पातलो बनाएर कामै नलाग्ने बनाउँछ।

सर्पले टोकेको बिरामीलाई आँखा खोल्न गाह्रो हुने समस्या देखियो भने बिरामीलाई तत्काल सुत्न नदिने उसँग कुरा गरिराख्ने, सान्त्वना दिने गर्नुपर्छ।

नेपालमा पानी सर्पको टोकेपछि उपचारका लागि बिरामी अस्पताल पुग्छन्। जुन विषालु हुँदैन। यस्ता सर्पले टोके पनि ज्यानै जाने खतरा हुँदैन तर टोकेको ठाउँमा दुखाई हुने, घाउ हुने सुन्निने समस्या हुन्छ।

सर्पदंशको उपचार विधि
प्रतिविष (एन्टी स्नेक भेनम) को प्रयोग विषालु सर्पको डसाइको अन्तिम र एकमात्र उपचार हो। जुन औषधी सरकारले निःशुल्क दिँदै आएको छ।

यदि बिरामीको स्वासप्रस्वासमा समस्या आइसकेको छ, बिरामीको चेतनाको स्तर पनि कम भइसकेको छ भने तुरुन्तै फोक्सोसम्म पुग्ने एउटा पाइप राखेर बिरामीलाई स्वासप्रस्वासमा सजिलो बनाउन मेकानिकल भेण्टीलेशन या कमन रुपमा भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ। यसको उपचार जटिल हुन्छ।

त्यो सँगसँगै विष मार्ने औषधी, टिटानसको औषधी र घाउ छ भने त्यो पनि निको पार्ने औषधी चलाउनुपर्ने डा. शर्माको भनाइ छ। ‘कतिपयलाई रगत धेरै पातलो भएको अवस्था छ भने रगत दिनुपर्ने अवस्था पनि आउनसक्छ। त्यसैले कुन सर्पले टोकेको हो र बिरामीको अवस्था कस्तो छ त्यही अनुसार उपचार हुन्छ’, डा. शर्माले भने।

सर्पदंशबाट बच्न के गर्ने ?
संसारमा जति पनि जीवजन्तु छन् तिनीहरुको सामना मानवजातिले गर्नु पर्छ। जङ्गल मासिदै गएर घर बन्न थालेपछि सर्पको बासस्थान घट्दै गएको छ। त्यसैले जङ्गलको वरीपरी बस्नाले मानिसले जङ्गली जनावरसँगै सर्पको सामना गर्नुपर्ने अवस्था छ। यी सबै कुराबाट बच्नका लागि सर्वप्रथम हामी आफैले सजगता अपनाउनुपर्ने डा. शर्मा बताउँछन्।

‘कतिपयलाई रगत धेरै पातलो भएको अवस्था छ भने रगत दिनुपर्ने अवस्था पनि आउनसक्छ। त्यसैले कुन सर्पले टोकेको हो र बिरामीको अवस्था कस्तो छ त्यही अनुसार उपचार हुन्छ।’

आफ्नो घर वरिपरिको झाडीहरु नष्ट गर्ने, सरसफाई गर्ने, अन्न भण्डारण गर्ने ठाउँमा मुसा आउने भएकाले आहारा खोज्दै सर्प आउनसक्ने भएकाले मुसा आउन नदिने, कुखुराको खोर घरभन्दा टाढा राख्ने गर्नुपर्छ। कुखुराको खोरमा नहेरी हात लगाउनु हुँदैन। तराईमा एकदुई दिन राखेको जुत्तामा पनि सर्प आएर बसेको हुन्छ। जुत्ता नहेरी लगाउनु जोखिम हुन्छ। कुना काप्चामा हेरेर मात्रै हात लगाउनु राम्रो हुने डा. शर्माको सुझाव छ।

खेतवारीमा काम गर्दा गमबुट लगाएर हिँड्ने गर्नुपर्छ। राति कतै हिँड्नुपर्दा हातमा लौरो र टर्चलाइट बोकेर मात्रै हिड्नुपर्छ। सर्पको प्रकोपजन्य क्षेत्रमा भएका मानिसले सयमै सचेत बन्नुपर्ने डा. शर्माको भनाइ। बाँके, बर्दिया, कैलालीजस्ता ठाउँमा बस्नेलाई सर्पको बारेमा थाहै नभएर भएन हुँदैन। वैशाखदेखि असोजसम्म सर्पको खतरामा छौँ भन्ने ज्ञान त्यहाँका स्थानीयलाई हुनुपर्ने डा. शर्माको बुझाइ छ।

सुत्ने समयमा झुल लगाउने, सुत्नु अगाडि ओछ्यान राम्ररी टकटक्याउने मात्र गरेमा राति सर्पले टोक्ने समस्याबाट ९० प्रतिशत जोगिन सकिन्छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : २१ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार