माओवादी अहिले नै छिन्नभिन्न हुँदैन, फेरि शक्तिमा फर्किन्छ : गणेश साह (अन्तर्वार्ता) | Khabarhub Khabarhub

माओवादी अहिले नै छिन्नभिन्न हुँदैन, फेरि शक्तिमा फर्किन्छ : गणेश साह (अन्तर्वार्ता)



केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग सत्ता साझेदारी गरेको नेकपा माओवादी केन्द्र १८ महिनामा असार २८ गते सत्ताबाट धकेलिएको छ । २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरे पनि पुस १० गते ओलीको पहलमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । तर ओली र दाहालको सत्ता सहयात्रा तीन महिनामै टुंगियो । फेरि २०८० फागुन २१ गते सत्ता सहयात्रामा जोडिएका प्रचण्ड र ओलीको सहयकार्य चार महिना पनि टिकेन । ओलीकै कारण सत्ताको  नेतृत्वमा पुगेका दाहाल फेरि उनकै कारण बालुवाटारबाट खुमलटार फर्किसकेका छन् । ओलीले कांग्रेससँग काँध मिलाएको परिणाम प्रचण्डले आकस्मिक बहिर्गमन गर्न बाध्य  बाध्य हुनुपरेको छ । एमाले र कांग्रेस दुवै शक्तिलाई संसदीय राजनीतिको अंकगणितमा प्रयोग गर्दै अगाडि बढेका प्रचण्डलाई यस पटक भने झट्का लागेको छ । एमाले–कांग्रेसले सत्ता समीकरणमा साझेदारी गरिदिएपछि अब प्रचण्डलाई सत्तामा पुनरागमन सजिलो छैन । अहिले माओवादी प्रतिपक्षी बेन्चमा पुगेको छ । माओवादीको अबको बाटो र रणनीति के त ? अब माओवादी कसरी अगाडि बढ्छ ? शान्ति प्रक्रियापछि का अधिकांश समय सत्तामा बिताएको माओवादीले प्रतिपक्षमा आफूलाई कसरी प्रस्तुत गर्ला ? यिनै कुराबारे माओवादी केन्द्रका सचिव गणेश साहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानी :

आकस्मिक रुपमा सत्ता गुमेपछि माओवादीको अबको रणनीति के होला ?

हो, हामी लामो समय सत्तामा बसेका हौँ । सरकारमा बस्दा कम्युनिस्ट पार्टीले कस्तो भूमिका निर्वाह गरे ? हामी त्यो भूमिकामा खरो उत्र्यौँ कि उत्रिएनौँ यो समीक्षाको विषय हो । सरकारमा हुँदा पार्टी कसरी चल्यो भन्ने कुरा पनि अब समीक्षाको विषय भएको छ ।

२०७९ को चुनावअगाडि नेपाली कांग्रेससँग ५ दलीय गठबन्धन थियो, त्यसले सबैलाई संरक्षण गर्दै चुनाव लडेको थियो । त्यो गठबन्धनको बहुमत पनि करिब आएको थियो । त्यसबेला पहिलो चोटि प्रचण्ड प्रधानमन्त्री हुने र दोस्रो पटक शेरबहादुर देउवा हुने सहमति थियो । दोस्रो चोटि प्रधानमन्त्री बनेर देउवाले नै २०८४ को चुनाव गराउने सहमति थियो ।

तर चुनावपछि कांग्रेसले हामीलाई दिएको बचन र समझदारी परिपालन गर्न सकेन । उनसले सहमतिबाट पछि हट्दा एमालेसँग मिलेर सरकार बनाउनु पर्‍यो, तर लगत्तै हामी कांग्रेससँग जानु पर्‍यो । मूलरुपमा यो मुलुकमा अहिले पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । र, कहिलेकाहीँ एक-अ र्कालाई कमजोर बनाउन हाम्रोसहितका पार्टीलाई अगाडि सार्नु भयो ।

तर अहिले त्यो स्थिति उल्टिएर प्रधानमन्त्री एमाले केपी शर्मा ओली बनिसक्नु भयो । संविधानले गठबन्धन वा संयुक्त सरकार बनाऊ भनेको छ तर त्यसमा हाम्रा नेताहरूको बुझाइ कम भएको जस्तो लाग्छ, किनकि संविधानले एउटा कुरा गर्न भन्छ तर नेताहरूले त्यो अनुसार चलाउन नसक्दा १९ महिनामा प्रधानमन्त्रीलाई ६ चोटि विश्वासको मत लिनुपर्ने अवस्था आयो । अहिले ओली नेतृत्वको सरकार बनेपछि पनि त्यसैगरी विश्वासको मत लिनु पर्ने हो कि ! यस्तो नहोस् भन्ने त हाम्रो शुभकामना छ ।

अब नेकपा माओवादी केन्द्रको भूमिकाबारेमा जुन कुरा आएको छ, सरकारमा नहुँदा आफ्नो कार्यकालमा जे जस्ता काम र अग्रसरताहरू देखाएका छौँ, तिनलाई पूरा गर्न हामीले संघर्ष जारी राख्छौँ ।

संसद्को अंकगणित त्यस्तै छ।  तर पटक पटक सत्तामा रहँदा पनि आफ्ना एजेन्डा लागू गर्ने अवसर हामीले गुमायौँ कि भनेर समीक्षा गर्नु पर्दैन ?

हामीले १९ महिना सरकारमा रहँदा मुलुकमा व्याप्त भ्रष्टाचार हटाएर सुशासन कायम कोसिस गरेका छौँ । यसबीचमा धेरै काण्डहरू आए । ललिता निवासको जग्गा हिनामिना र सुन तस्करीको जालो तोड्ने हाम्रो प्रयास थियो । देशलाई सुशासन दिने कोसिस भएको छ । सुशासन र समृद्धिका कुरा गर्दा केपी ओलीले हामीले भन्दा बढी गर्नुहोला । हामीले गरेका कोसिसलाई कार्यान्वयन गराउन सक्रिय हुन्छौँ ।

समावेशी न्याय (दलित, उत्पीडित) का लागि वा मुलुकका हरेक समस्या समाधानका लागि पहिलो आवश्यक सुशासन नै हो । समावेशीता र संघीयताबारे नकारात्मक भाष्य निर्माण हुनुमा केही दोष त हाम्रो पार्टी नेतृत्वको पनि छ । किनकि समावेशीता जुन प्रयोजनका लागि आयो, त्यो परिवारवादतिर या नातागोता र निकटहरूसँग जोडियो । अहिले बिचौलियातिर मुलुक जाँदै छ ।

तपाईंका पार्टी अध्यक्षले पनि बिचौलियाको घेरामा बसेर सरकार चलाउनु भएको हो  नि । बिचौलिया शब्दको प्रयोग पनि दुरुपयोग होला, पार्टी राजनीतिभित्र तपाईंहरू पनि त्यसबाट मुक्त त हुन भएन ?

अङ्ग्रेजीमा यसलाई कुनै कम्पनीको एजेन्ट हो भन्ने किसिमले हेरिन्छ । अधिकार लिएर गर्ने काम हो । अर्को बिचौलिया भनेको आफू देखा नपर्ने, अरुलाई खेलाउने र बीचमा फाइदा लिने चरित्रको हो । राजनीतिमा मात्रै होइन, बिचौलिया सानो-सानो कुरामा पनि हुन्छ । जग्गा बेच्न पनि बिचौलिया चाहियो भनेको सुनिन्छ ।

मुलुकको बिचौलिया समस्या र भ्रष्टाचारको रोगलाई कानुन व्यवस्थामार्फत वा हाम्रो पार्टीको अनुभवका आधारमा हटाउँदै जाने हो ।

हामीले संसदीय राजनीति अपनाएपछि त्यसको मर्म र भावनालाई पनि बुझ्नु पर्छ । तर हाम्रोमा त एकले अर्कोलाई कमजोर बनाएर अगाडि जाने काम भएको छ । हामीलाई पनि कसैले तेस्रो पार्टी भएकोले किन सरकार चलाउनु पर्‍यो भनेका छन् । किनकि त्यो जनताले दिएको म्यान्डेट होइन, तर भएको भनेको यो गठबन्धनबाट आएको हो र यसमा गठबन्धनले नेतृत्व गर्ने हो कि प्रधानमन्त्रीले हो त । प्रधानमन्त्री जो भए पनि नेतृत्व समग्र गठबन्धनको थियो। तर नेतृत्वलाई तोड्ने काम भयो ।

सुशासन र भ्रष्टाचारबारे पनि प्रतिपक्षमा उठेर प्रश्न गर्ने नैतिक धरातल बाँकी रह्यो र ? छानबिनका क्रममा बलियाका दैलामा पुगेपछि लम्पसार भएर फर्किएको भन्ने एउटा भाष्य त स्थापित भयो यो १८/१९ महिनाबीचमा ?

समीकरणबाट सत्तामा हाम्रा जुन जुन सहयोगी हातहरू थिए, तिनीहरूको सहयोग नपाइ एक्लैले काम गर्न सकिँदैन। हाम्रा सहयात्रीले हामीलाई सक्दो सहयोग नगरेकोले त्यसो गर्न सकेनौँ । प्रयास त गरेका हौँ । प्रधानमन्त्री हुँदैमा सबै हुँदैन, किनकि सरकारको नेतृत्व मात्रै प्रधानमन्त्रीले गरेको हो । सबैले देखेकै कुरा हो, एमाले-कांग्रेसका मान्छेले असहयोगको वातावरण सिर्जना गरेको ।

उनीहरूले असहयोग गरेको भनेर त्यतिबेलै सरकार छोडेर जनतालाई भनिदिएको भए हुन्थ्यो नि ! अहिले सबै गुमाइसकेपछि आरोप लगाएर त भएन ?

आरोपका आधारलाई लिएर हामीले संसद्मा पनि भूमिका खेल्छौँ । अहिले हाम्रो पार्टी जे हुन्छ राम्रो हुन्छ भने सरकारबाट बाहिरिएको छ । अब हामी पार्टी बलियो बनाउँछौँ । त्यसैले अबको नेतृत्व सरकारको अनुभवको लागि संसद्मा जाने साथीहरूको बढी भूमिका होला ।

हाम्रो पार्टी नेतृत्व र अध्यक्षहरूले अब पार्टीलाई वैचारिक रुपमा, संगठनात्मक रुपमा, आमजनतामाझ पार्टीलाई स्थापित गर्न मेहनत गरे, समर्पणका साथ लागे पार्टी उठ्ने सम्भावना छ । नत्र हामी संसदीय अभ्यासमै त्यसको सङ्क्रामक रोग लागेर थला पर्ने अवस्था आउन सक्छ ।

२०७२ पछि पार्टीलाई थिलथिलो बनाएर, कार्यकर्तालाई रुखमा भोट हाल, सूर्यतिर हाल भनेर खेल मैदान बनाउने काम त भयो नि । वैचारिक हिसाबबाट केन्द्रमा विचलन आउने तर तल्लो तहका कार्यकर्तालाई पार्टी बलियो बनाऊ भनेर पार्टीको शुद्धीकरण सुरु हुन्छ ?

पार्टीको शुद्धीकरण गर्नुपर्ने माथिबाटै हो । त्यसैले माथिल्लो नेतृत्वले पाठ सिकेर कम्युनिस्ट आचरणमा वामपन्थी आन्दोलनलाई अगाडि बढाए पार्टी सप्रिन्छ । अन्यथा ०७५ वर्ष राज गरेको सोभियत कम्युनिस्ट पार्टी पनि ढलेको इतिहास हामीसामु छ ।

करिब ३०/३५ पश्चिम बंगालमा वर्ष शासन गरेका कम्युनिष्टहरूको नामो निशाना मेटिएको छ। त्यसैले अहिले सूचना प्रविधिको, औद्योगिक क्रान्तिको चौथो चरणको क्रान्ति भइरहेको छ । राजनीतिक क्रान्तिसँगै विश्वमा ठूला संस्थागत क्रान्तिहरू भइरहेका छन् । यो सबैले नेपालका मार्क्सिस्टहरू सबै वामपन्थी शक्तिलाई मिलाएर अगाडि बढे कम्युनिष्ट आन्दोलन टिक्ला नत्र नयाँ सिराबाट आएर अरुले नै उछिन्छ । यो चुनौती हाम्रो लागि मात्रै होइन, एमाले र  कांग्रेसका लागि पनि हो ।

अब तपाईंहरूले आत्मसमीक्षा कहिले गर्ने ? अन्तरसंघर्ष कहिले पार लगाउने, वर्गसंघर्षका कुरा कसरी कुन नैतिकताले बोकिरहने ?

हरेक राजनीतिक पुस्ताहरूको एउटा जिम्मेवारी हुन्छ । नेपाल आफैंमा पनि परिवर्तन आएको छ । सूचना प्रविधिको विकास भएको छ । विदेशबाट फर्किएको मानिसको चेतनाको विकास कति छ । यो सबैलाई विश्लेषण गरेर अगाडि बढ्नु पर्छ । विगतमा जे गरे पनि अब पार्टी नेतृत्वले कम्मर कसेर हिजोका कामलाई जनताबीच राखेर पार्टीको शुद्धीकरणसहित सङ्गठन सुधार गर्नुपर्छ ।  माओवादी केन्द्रले राम्रो काम गर्छ भनेर देखाउन सके पार्टी पलाएर आउँछ ।

समाजवादी मोर्चाले ठूलो अर्थ राख्छ कि युद्धकालीन माओवादी शक्ति एक हौँ भन्ने भन्ने कुराले प्रभाव पार्छ माओवादीको पार्टी जीवनमा ? 

माओवादी मात्रैले अब पुग्दैन । अब वाम–लोकतान्त्रिक मोर्चा बन्छ । जस्तो : अहिले हामीले भनेको समाजवादी मोर्चा पनि बृहत् वाम लोकतान्त्रिक मोर्चा बन्ने सम्भावना छ । किनकि सरकारबाहेक साना दल र अरु विभिन्न उत्पीडितका साना आन्दोलनहरू सबैलाई मोर्चा बनाएर अगाडि बढेका थियौँ । आगामी दिनमा कम्युनिष्ट पार्टीहरू, वाम लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू र प्रगतिशील आन्दोलनलाई सँगै लिएर भ्रष्टाचारविरुद्ध संघर्ष गर्छौँ । पहिला हामीलाई धेरैले पत्याउँथे तर अहिले धेरैले पत्याउन छाडिसके ।  त्यसमा कसरी विश्वास जगाउने भन्ने पनि हामीलाई चुनौती छ ।

यो बीचमा तपाईंहरूको पार्टी छिन्नभिन्न भएर कोही एमाले वा अन्त गएर मिल्ने सम्भावनालाई कसरी टार्ने ?

पार्टीभित्रको असन्तुष्टि साथीहरूमा छ । त्यो शुद्धीकरण गर्ने सन्दर्भमा भएको भन्ने बुझ्छु । शुद्धीकरण गर्ने बेलामा जो जो निस्किनु हुन्छ, त्यो चाहिँ असन्तुष्टि वा अरु कारणले हो । त्यसैले अहिले पार्टी छिन्नभिन्न हुने अवस्थातिर जाँदैन । केही साथीहरू जाने-आउने त होला । अब हामी प्रतिपक्षमा बसेर संसद्बाहिरका शक्तिहरूलाई पनि  लिएर जान्छौँ । हामी फेरि शक्ति आर्जन गरेर अगाडि बढ्छौँ । नेताले धैर्य गरेर सुद्धीकरण गरे पार्टी बलियो हुन्छ, हिजोको शक्ति फर्किन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ५५ बजे

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको

सकियो रविको बयान, थुनछेक बहस आज नहुने

बुटवल– रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो

एजेन्सी – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ ।

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक