समाचार

विद्युतीय जोखिम कम गर्न झाडी हटाइँदै

By खबरहब

September 17, 2024

भोजपुर– विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।

अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् ।

श्रमदान अभियान सञ्चालन गरेर विद्युत लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताए ।

वडा कार्यालयको अगुवाइमा भएको अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युतीय तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ ।