अन्तर्राष्ट्रिय

भारत र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

By खबरहब

September 17, 2024

काठमाडौँ– भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेको छ । राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा दुई मुलुकका सेनाबीच अभ्यास भइरहेको छ । ‘युद्ध अभ्यास’ नाम दिइएको सैन्य अभ्यासमा अमेरिकी सेनाका तर्फबाट ११ औँ एअरबोन डिभिजनका सैनिक सहभागी छन् ।

त्यसैगरी, भारतीय सेनाको तर्फबाट राजपुत रेजिमेन्टका ६ सय सैनिक अभ्यासमा सहभागी रहेको इण्डियाब्लुम्सले जनाएको छ । अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले सैन्य क्षमता तथा उपकरण प्रयोगको प्रशिक्षण लिने जनाइएको छ ।

दुई मुलुकबीच सन् २००४ देखि युद्ध अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त राष्ट्रसंघ बडापत्रको सातौँ परिच्छेद अनुसार दुबै मुलुकले सैन्य अभ्यास सञ्चालन गरेका हुन् । 

यो अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले अर्धमरुभूमि क्षेत्रमा हुने कारवाहीबारे प्रशिक्षण प्राप्त गर्ने अपेक्षा गरिएको छ ।