एमालेमा सल्किएको भुसको आगो ! | Khabarhub Khabarhub

एमालेमा सल्किएको भुसको आगो !

विश्लेषक भन्छन् : एमाले वैचारिक अवसाननजिक छ



काठमाडौं– आहानै छ, भुसको आगो बाहिर देखिँदैन, भित्रभित्रै सल्किरहन्छ । भुसको आगो रापले तातेर भित्रभित्रै सल्किएर सकिन्छ । भुसको आगोको धुँवाले निस्सासिने, रापले पोल्ने गर्छ । तर, आगो भने खरानीमा परिणत भएपछिमात्रै देखिन्छ । यस्तै भुसको आगो एमालेभित्र पनि सल्किएको छ तर बाहिर भने देखिइसकेको छैन । पार्टीभित्र असन्तुष्टि बढ्दा पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र एकलौटीविरुद्ध कसैले बोल्ने आँट गरेका छैनन् ।

कम्युनिस्टहरुले अन्तरविरोधलाई पार्टीको जीवन ठान्छन् । अन्तरविरोध नै भएन भने कम्युनिस्ट पार्टी जीवन्त रहन सक्दैन र एउटा जीवन्त पार्टीभित्र वैचारिक अन्तरविरोध अर्थात ‘दुईलाइन संघर्ष’ अनिवार्य शर्त हो भन्ने कम्युनिस्ट पार्टीका नेताहरु बताउने गर्दछन् । यो सिद्धान्तलाई मान्ने हो भने एमालेभित्र अहिलेको वैचारिक अन्तरविरोध वा दुईलाइन संघर्ष के हो ? जबकि माधव नेपाल समूह बाहिरिएपछि एमालेभित्र अन्तरविरोध समाप्त भएजस्तो देखिएको छ ।

तथापि यतिबेला ओली समूहभित्रै अन्तरविरोध बढेको र नयाँ गुट जन्मिन लागेको देखिएको छ । त्यसो त कम्युनिष्टहरुले नै भन्ने गरेका छन् – अन्तरविरोध हरेक चिजमा हुन्छ । अन्तरविरोध सार्वभौम र निरपेक्ष हुन्छ । एउटा अन्तरविरोधको समाधान हुनेवित्तिकै नयाँ अन्तरविरोध जन्मिइहाल्छ ।

माधव नेपाल समूह बाहिरिएपछि एमालेभित्र अन्तरविरोधको समाधान भएझैं देखिएको थियो । ओलीको विकल्पमा अर्को नेता नहुँदा त्यहाँको आगो निभेजस्तै देखिएको थियो । तर, पछिल्लो समय ओली समूहका नेताहरूसमेत प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिन थालेका छन्  । यसले गर्दा ओली समूहभित्रै अन्तर्विरोध देखापरेको छ ।

भिन्नमतको अन्त्य 

माधव नेपाल समूह एमालेमै रहँदा ‘ओली भर्सेस माधव’ का नाममा एमालेभित्र दुईलाइन संघर्ष चलेको थियो । माधव नेपाल र झलनाथ खनालहरु बाहिरिएपछि पनि ‘१० भाइ’ नेताहरु फरकमत सहित एमालेमै रहे, जसलाई पार्टीभित्रको फरक विचारका रुपमा हेरियो ।

माधव नेपाल टिममा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले तेस्रो धार बनाएर १० बुँदे सहमतिका आधारमा पार्टीमै बस्ने निर्णय गरे । तर, उनीहरूलाई भूमिकाविहीन बनाइएको गुनासोसहित भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर गए । भुसालले ०७९ को निर्वाचनमा एमालेबाट टिकट पाएनन् ।

एमालेमा  संस्थापन पक्षको विकल्पका रुपमा हेरिएकामध्ये एक नेता एवम् तत्कालीन उपाध्यक्ष भीम रावल १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उठेका थिए । तर, आफूलाई चुनौती दिएपछि रावलसँग ओली रिसाए । त्यसपछि अहिले उनलाई पार्टीमा भूमिकाविहीन बनाइएको छ । रावलले पनि भुसालले जस्तै चुनावमा टिकट पाएनन् । पार्टीमा कुनै जिम्मेवारी नदिएपछि उनी अहिले एमालेमा भूमिकाविहीन छन् । उनी ०७९ को निर्वाचनदेखि नै निष्कृय बसेका छन् ।

आफूविरुद्ध उभिनेलाई ओलीले कुनै न कुनै रुपमा जिम्मेवारविहीन बनाउने कारण पनि नेताहरू आफूमाथि आउन सक्ने खतराको हिसाब गरेरै औपचारिक रुपमा बोल्न चाहँदैनन् । यो कुरा रावलले पटक–पटक भन्दै आएका छन् ।

 

एमालेमै रहेका नेताले पनि अझै ओलीको फरक व्यवहार सहनु परेको नेताहरू बताउँछन् । एमाले उपाध्यक्ष शाक्यलाई ओलीले हस्तक्षेपकारी र निर्णायक भूमिका दिएका छैनन् । उनी पार्टी उपाध्यक्ष भए पनि निष्कृय जस्तै छिन् । अध्यक्षले गतिलो भूमिका नदिएको विषयमा उनी पनि खुलेर बोल्न चाहन्नन् ।

यस्तै उपाध्यक्ष ज्ञवालीलाई पनि ओलीले बेवास्ता गरेका नेताहरू बताउँछन् । पार्टी सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराईको नाम पछिल्लो पटक मन्त्री बन्ने सूचीमा भएर पनि अन्तिममा ओलीले काटिदिएका थिए । दौरासुरुवाल लगाएर आउन खबर गरिसकेको अवस्थामा भट्टराईले मन्त्री बन्न पाएनन्, जिल्लिए । तर यसबारे भट्टराई बोल्न तयार छैनन् ।

०७९ पछि एमाले तीन पटक सरकारमा गए पनि १० बुँदेअघि नै नेपाललाई छाडेर एमालेमै रहेका उनले जिम्मेवारी दिएका छैनन् । यसअघि पाएको भूगोलको जिम्मेवारी पनि खोसिएको छ ।

ओलीकै समर्थक रहेका नेताहरू महेश बस्नेत, सूर्य थापा, सचिवद्वय छविलाल विश्वकर्मा, पद्मा अर्याल, उपमहासचिव प्रदीप ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शंखर पोख्रेल पनि पछिल्लो समय कुनै न कुनै समस्यामा छन् । तर उनीहरू कोही बोल्न तयार छैनन् ।

नेपाली कांग्रेससँगको गठबन्धनपछि पनि ओलीको एकल निर्णयले पार्टी तहसनहस हुने चिन्ता नेताहरूमा छ । सरकारले गति नलिएको विषयमा उपमहासचिव ज्ञवालीले पछिल्लो समय ओलीलाई भेटेर नेताहरूको असन्तुष्टिका स्वर सुनाएको स्रोतले दाबी गरेको छ ।

ओलीको अलोकप्रियता बढ्दै गएपछि नेताहरू विकल्पको खोजीमा छन् । तर विकल्प के त ? ओलीको विकल्पका रुपमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई हेरिएको छ । तर उनलाई एमालेको राजनीतिमा फर्किन सजिलो छैन । ओलीको विकल्प ठानेरै एमाले संस्थापन समूहकै धेरै नेता भण्डारी निवास धाइरहन्छन् ।

तर भण्डारीलाई एमालेमा सक्रिय बनाउने विधि र उपाय अहिलेसम्म भेटिएको छैन । बालकोट धाएर ओलीलाई रुझाउने नेताहरू बुढानीलकण्ठस्थित भंगाल धाइरहे पनि भण्डारीलाई एमालेमा फर्काउन कम्तीमा ११ औँ महाधिवेशन कुर्नुपर्ने हुन सक्छ । ११ औँ महाधिवेशनमा भण्डारी एमालेको नेतृत्वमा फर्किने कोसिसका लागि छलफलमा रहेको स्रोतहरूले बताएका छन् ।

विवाद

संयुक्त राष्ट्रसङ्घको महासभाबाट फर्केको केही घण्टा नबित्दै गत असोज १४ गते बालुवाटारमा प्रधानमन्त्री ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबीच भेट भयो । प्रधानमन्त्रीलाई भेट्न मीनबहादुर श्रीमतीसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा गुरुङ दम्पतीले कीर्तिपुरस्थित आफ्नो १० रोपनी १४ आना जग्गा एमालेको मुख्यालय बनाउन दिने निर्णय सुनाए ।

उनीहरूले एक वर्षभित्र आफैँ भवनसमेत बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । दशैँकै बेला भवन शिलान्यास गर्ने सल्लाह भयो । त्यसको विरोधमा एमाले नेताहरू रावल, केन्द्रीय सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाए ।

त्यसपछि उनीहरूलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय ग¥यो । तर, यो सर्वोच्च अदालतले हस्तक्षेप गरिदिएपछि ओलीले तीन नेतामाथि कारबाहीको डन्डा चलाउन पाएका छैनन् । त्यहीकारण अहिले उक्त स्पष्टीकरण अलपत्र छ । पार्टी सचिवालय बैठकमा उपाध्यक्ष ज्ञवाली र शाक्यले यसबारे टिप्पणी गरेका थिए । तर उनीहरू बाहिर बोल्न सकेका छैनन् ।

जग्गा दानको विषयमा ओली पक्षीय नेताहरू पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, उपमहासचिव ज्ञवाली, सचिव अर्याल, शिक्षा मन्त्री विद्या भट्टराई र पूर्वमन्त्री विमला राई पौडेल लगायत नेताहरू पनि असन्तुष्ट छन् । तर उनीहरू सार्वजनिक रुपमा बोल्न तयार छैनन् । अनौपचारिक कुराकानीमा उनीहरू सबैले कुनै विमत्ति नरहेको जवाफ दिएका छन् ।

सरकारले गत असोजको बाढी पहिरोपछि उद्दार र राहतको काममा नतिजामुखी काम गर्न नसक्दा पनि ओली आलोचनामा परेका छन् । त्यसबेला काम गर्न नसक्ने एमाले र कांग्रेस दुवै दलका मन्त्रीहरू नै फेनुपर्ने दबाब पनि बढिरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग प्रधानमन्त्री जस्तो मान्छे भिडेको भन्दै आलोचना भइरहेको छ । यसबारे एमाले नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । पहिले आफैंले गृहमन्त्री बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेको आरोप पनि ओलीलाई छ ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाको मात्रै कुरा सुनेर निर्णय गर्न थालेको आरोप पनि लागिरहेको छ। सरकारले गर्ने निर्णयबारे पार्टीभित्र कुनै छलफल नगरे कुराले पनि एमाले नेताहरूमा असन्तुष्टि देखिएको छ ।

ओलीनिकट मानिने संघीय संसद्का प्रमुख सचेतक महेश बर्तौला पार्टी र सरकारका निर्णय सल्लाहमै हुने गरेको तर्क गर्छन् । उनी एमालेलाई हानी पु¥याउने र प्रगतिमा डाहा गर्नेहरूले अनावश्यक हल्ला चलाएको दाबी गर्छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि ओलीबारे प्रश्न गर्ने नेता हुन् । उनले गण्डकीको मुख्यमन्त्री हुँदा पनि ओली प्रधानमन्त्री रहेका बेला संघीय सरकारलाई चुनौती दिने गरेका थिए । तर अहिले उनी पनि एमालेमा कुनै अन्तर्विरोध नभएको बताउँछन् ।

अन्तर्विरोध कहाँसम्म जान्छ ?

एमाले नेतृत्वसँग अरु नेताको अन्तर्विरोध तत्काल सतहमा देखिने सम्भावना छैन । तर भविष्यमा यसले कम्युष्ट सिद्धान्त र विचारधाराकै मूल्य मान्यतालाई तहसनहस गर्ने अवस्था आउन सक्ने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।

‘यो कुरा भन्न गाह्रो हुन्छ । एमाले लामो समयदेखि अराजनीतिक बन्दै गएको छ । विशेषतः नेकपा विभाजनपछि अध्यक्षसँग टक्कर गर्न सक्ने नेता पार्टीमा नभएकाले एमालेमा वैचारिक स्वर निमोठ्ने काम भएको छ’, उनी भन्छन्, ‘विचार, सिद्धान्त र निष्ठा एमालेले बिर्सिएको हो कि ? जस्तो भएको छ । या त व्यवस्थापन कला नभएको हो भन्ने प्रश्न उठेको छ’

राजनीतिक संस्कृति र संस्कार हराएकाले एमाले अहिले सत्ताका लागि जोसँग पनि मिल्न थालेको बताउँछन् । ‘राजनीतिक संस्कार र संस्कृति हराएर कति बेला कोसँग मिल्ने, कतिबेला कोसँग मिल्ने भइरहेको छ । मुख्य कुरा एमालेको नेतृत्व र यसका नेताहरूले सिंगो भविष्यलाई नै सत्ता र सनकका भरमा अराजनीतिक बनाउँदै लगेका छन्’, उनले थपे, ‘कहिले कांग्रेससँग मिल्छ, कहिले राप्रपासँग मिल्छ । कोसँग मिल्दा फल पाइन्छ भन्ने तहमा मात्रै गएको छ । जनताको कुरा पटककै सुनेको छैन । राजनीतिक विचारधारा र कार्यक्रमसँग मिल्ने कुरा पटक्कै छैन ।’

उनले विवादित व्यक्तिबाट जग्गा लिएको र नयाँ शक्तिहरूप्रति असहिष्णु देखिएको विषयलाई पनि एमालेको नीति सिद्धान्तविपरीत भनेका छन् ।

‘मीनबहादुर कानूनको घेरामा भएको व्यक्ति भएकाले प्रधानमन्त्री जस्तो मान्छेले जग्गा दान लिएर एमालेको सिद्धान्त र मूल्यलाई मारिएको छ’, उनले भने, ‘पार्टीमा केही मतान्तर देखिए पनि बाहिर नआएकाले नेताहरू पनि गलत काममासमेत ओलीलाई साथ दिएर बस्नु कम्युनिस्ट सिद्धान्तविपरीत हो । पार्टीमा वैचारिक र वैकल्पिक धारका नेताहरूको अवसान भएको छ । यसले पार्टीप्रति जनताको दृष्टिकोण र आस्था मारेर जान्छ ।’

पार्टीको विमति बाहिर ल्याउने आँट भएको नेतालाई ओलीले देख्न नसक्ने हुँदा नेतृत्वको विचारमा वैचारिक बहस नगरेको रोक्का बताउँछन् ।

‘उनीहरू स्वार्थमा हिँडेको प्रस्ट छ । तर यो गलत हो । यसले पार्टीको भविष्य र जनताको कुरालाई कुण्ठित गर्छ । वैकल्पिक र वैचारिक धारले त नेताका गलत कामविरुद्ध बोल्ने आँट गर्नुपर्थ्यो नि । खैत एमालेमा त्यो नेता ?’, उनले भने, ‘राजनीतिमा रहे पनि एमाले विचार धारा नआएपछि त्यो खासमा नेता हुँदैन । एमालेमा जुनखालको असन्तुष्टि छ, यो बाहिरिएको दिन पार्टी निक्कै गिरिसकेको हुन्छ । ११ औँ महाधिवेशनुभन्दा केही महिनाअगाडि हेर्नुस्, एमाले कि बन्छ कि त अधोगतिको दिशामा निरन्तर झर्छ । पछिल्लो समय एमालेमा वैचारिक र वैकल्पिक धारका नेताको अवसान भएको छ । यो ठिक होइन, यसले पार्टीलाई हानी गर्छ ।’

कतिपय नेताहरू पार्टीमा अन्तर्विरोध नभएको भन्दै कम्युनिस्ट पार्टीमा यस्ता कुरा सामान्य रहेको तर्क गर्छन् । एमाले उपमहासचिव विष्णु रिमाल अध्यक्ष ओलीसँग कसैको अन्तर्विरोध नभएको तर्क गर्छन् । सरकार राम्रो चलेको देखेर केही व्यक्तिले अनावश्यक हल्ला गरेको दाबी उनको छ ।

‘सरकार ढल्छ भने तर सरकार मज्जाले चल्यो । अब अपराधी र ठगहहरू पक्रिने काम सुरु भएको छ । यो सबै एमाले र ओलीले राम्रो काम गरे भनेर हल्ला फैलाएका हुन्’, रिमालले भने, ‘यस्तो भइरहन्छ । हाम्रो अध्यक्ष पार्टीको निर्णयभन्दा बाहिर जानु भएको छैन । सबै सल्लाहमै हुन्छ ।’

११ औँमा भेटिएला ओलीको विकल्प ?

एमालेको ११ औँ महाधिवेशन विधानअनुसार ०८३ मंसिर दोसा्रे साता गरिसक्नु पर्छ । संवैधानिक व्यवस्थाअनुसार विशेष परिस्थितिमा ६/६ महिना गरी थप एक वर्ष सार्न पाइने व्यवस्था पनि छ । एमालेले महाधिवेशनबारे कुनै निर्णय गरेको छैन । ओलीनिकट नेताहरूका अनुसार ०८४ को निर्वाचनपछि मात्रै ओलीले महाधिवेशन गर्ने तयारी गरेका छन् । यसो हुँदा ०८४ को निर्वाचनपछि महाधिवेशन गरे पनि उनलाई अध्यक्षमा टक्कर दिने नेताका रूपमा पूर्वराष्ट्रपति भण्डारी र नेता रावलबाहेक अरू देखिँदैनन ।

पछिल्लो समय ओलीसँग असन्तुष्ट भण्डारी टिममा खुलिरहेका छन् । तर विगत हेर्ने हो भने ओली र भण्डारी एकै समूहका हुन् । त्यहीकारण नेताहरूले भण्डारीलाई पनि ढुक्कले भरोसा गर्न सकेका छैनन् । रावल पनि चुपचाप पार्टीमा सक्रिय छन् । यस्तोमा अहिलेसम्म यी दुईबाहेक ओलीलाई टक्कर दिने अरु नेता देखिएका छैनन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ५९ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत