यी हुन् विश्वका उत्कृष्ट युनिभर्सिटी, जेहेन्दारका लागि अवसरै अवसर | Khabarhub Khabarhub

यी हुन् विश्वका उत्कृष्ट युनिभर्सिटी, जेहेन्दारका लागि अवसरै अवसर



अघिल्लो महिना त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भए । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीलाई दीक्षित गरेसँगै विश्व कीर्तिमान बनाएको भन्दै अफिसियल वर्ल्ड रेकर्डले प्रमाणपत्र समेत दियो । तर, त्रिविले आफ्नो कमजोरी लुकाउन विश्व कीर्तिमानको फण्डा रचेको भनेर आलोचना पनि भइरहेको छ । हुन पनि त्रिविमा समस्या नै समस्याका चाङ छन् ।

समयमा परीक्षा र नतिजा सार्वजनिक नहुनु, शैक्षिक पूर्वाधारको दुरावस्था, मृतप्रायः प्राज्ञिक शोध र अनुसन्धान, दलीय भागबण्डा, विद्यार्थी राजनीतिजस्ता कारणले त्रिविको शैक्षिक गुणस्तर कतै गर्व गर्न लायक छैन । यसैले गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपालको जेठो शैक्षिक स्थल त्रिविले दिने प्रमाणपत्रको ओज कम छ ।

बेलायतको क्वाक्वारेल्ली सिमन्ड्स (क्यूएस) नामक प्रतिष्ठित कम्पनीले हरेक वर्ष विश्वभरका विश्विद्यालयको वरीयता निर्धारण गर्छ । यस वरीयतामा त्रिविको स्थानमा १०५१ देखि ११०० मा छ ।

एसियाली स्तरमा क्यूएसले त्रिविलाई ५०१ देखि ५५० सम्मको वरीयता दिएको छ । दक्षिण एसियामै पनि त्रिविको वरीयता टिठलाग्दो छ । दक्षिण एसियाली विश्वविद्यालयमध्ये क्यूएसको वरीयतामा त्रिवि १४३ औँ स्थानमा छ ।

यस सूचीको शीर्ष स्थानमा अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) छ । त्यसैगरी, दोस्रोमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालय रहेको छ भने तेस्रोमा बेलायतकै अक्सफोर्ड विश्वविद्यालय रहेको छ । चौथोमा अमेरिकाको हार्वड र पाँचौमा अमेरिकाकै स्ट्यानफोर्ड विश्वविद्यालय छन् ।

अहिले नेपालबाट राम्रो शिक्षा खोज्न विदेश जाने क्रम बढेको छ । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्न अमेरिका, बेलायत, अस्ट्रेलियाजस्ता मुलुक जाने क्रम पनि बढेको छ । गुणस्तरीय शिक्षा, प्राज्ञिक शोध एवम् अनुसन्धान, शैक्षिक पूर्वाधार र संसारको जुनसुकै स्थानमा पनि अध्ययनको मूल्याङ्कन हुने यस्ता उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्नु धेरै नेपाली विद्यार्थीको पनि सपना हुन सक्छ । यसखाले विश्वविद्यालयमा अध्ययन गर्नु सबैको सामथ्र्यमा पनि नहुन सक्छ । तर, यस्ता विश्वविद्यालयहरुले विद्यार्थीलाई छात्रवृत्ति र सहायता पनि उपलब्ध गराउँदै आएका छन् ।

आज हामी विश्वकै उत्कृष्ट विश्वविद्यालयहरुमा कसरी छात्रवृत्ति र सहुलियत शुल्कमा अध्ययन गर्न सकिन्छ भन्नेबारे चर्चा गर्नेछौं ।

मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी

निजी शोध विश्वविद्यालयका रुपमा मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना सन् १८६१ मा स्थापना भएको हो । यो विश्वविद्यालयको मुख्य शिक्षालय अमेरिकाको मासाचुसेट्स राज्यस्थित क्याम्ब्रिजमा रहेको छ । १२ हजारभन्दा कम विद्यार्थी अध्ययन गर्ने यस विश्वविद्यालयमा भर्ना हुन निकै कठिन मानिन्छ ।

आधुनिक विज्ञान र प्रविधिका विभिन्न क्षेत्रको विकास र अनुसन्धानमा यस विश्वविद्यालयले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रमा संलग्न १०१ जनाले हालसम्म विभिन्न विधामा नोबेल पुरस्कार जितिसकेका छन् ।

भर्ना प्रक्रिया

एमआईटीमा कुन देशका कति विद्यार्थीलाई पढाउने भनेर कुनै कोटा वा मापदण्ड छैन । हरेक विद्यार्थीलाई शैक्षिक योग्यता हेरेर मात्रै भर्ना लिइन्छ । यसका लागि हरेक विद्यार्थीले औपचारिक रुपमा भर्ना हुनुपूर्व ‘क्याल्कुलस’ मा आधारित भौतिकशास्त्रका दुई–दुई, रसायनशास्त्र र जीवविज्ञानको एक एक सेमेस्टर अध्ययन गर्नैपर्छ ।

त्यसबाहेक जुनसुकै संकायमा अध्ययन गर्ने भएपनि हरेक विद्यार्थीले मानवशास्त्र, कला र समाजविज्ञान पनि पढ्नैपर्छ । त्यसबाहेक अङ्ग्रेजी, इतिहास वा समाजविज्ञानका अन्य विषय, विदेशी भाषाजस्ता विषयको पनि अध्ययन गर्नुपर्छ ।

त्यस्तै, यहाँ भर्ना हुनका लागि एसएटी वा एसीटीको परीक्षा पनि दिनुपर्छ । यहाँ भर्ना हुन चाहने मातृभाषा अङ्गे्रजी नभएका विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा पनि दिनुपर्ने व्यवस्था छ ।

खर्च कति ?

कलेज डाटाका अनुसार एमआईटीमा ४ वर्षे कोर्स अध्ययन गर्न औसतमा ३ लाख १९ हजार ४ सय डलर खर्च हुन्छ । यद्यपि हरेक शैक्षिक कार्यक्रमको शुल्क फरक हुने भएकाले कोही विद्यार्थीको खर्चमा घट्बढ हुनसक्छ ।

एमआईटीको शुल्क अमेरिकाका अन्य निजी विश्वविद्यायको भन्दा बढी छ । एमआईटीजस्तै अमेरिकाका अरु निजी विश्वविद्यालयको औसत खर्च ३ लाख ३० हजार २ सय ८० डलर रहेको कलेजडाटाको तथ्याङ्क छ । तर, यहाँ पढ्न चाहने विद्यार्थीले यतिका धेरै खर्च गर्नुपर्ने बाध्यता भने छैन । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई एमआईटीले विभिन्न शीर्षकमा आर्थिक सहायता तथा छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

यस विश्वविद्यालयले ‘निड ब्लाइन्ड’ भर्ना प्रणाली लागू गरेको छ । यसको अर्थ यस विश्वविद्यालयमा भर्ना हुन योग्यता पुगेका विद्यार्थी र परिवारको आर्थिक अवस्था र अध्ययन शुल्क तिर्नसक्ने क्षमतालाई ध्यान दिइन्न । यहाँ भर्ना भएका हरेक विद्यार्थीका लागि आर्थिक सहायता परामर्शदाता छुट्याइएको हुन्छ । ती परामर्शदाताले विद्यार्थीको आर्थिक आवश्यकता निर्धारण आर्थिक सहायताका लागि सिफारिस गर्छन् ।

विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न विभिन्न मापदण्ड तयार पारिएको छ । विद्यार्थीको आर्थिक अवस्था निर्धारण गर्न उसको परिवारका सदस्यको सङ्ख्या, हाल कलेजमा स्नातक तहमा अध्ययनरत केटाकेटीको सङ्ख्या, विद्यार्थीको स्थायी ठेगाना, अभिभावकको कूल आय, अभिभावकले तिरेको कर, तिर्न बाँकी स्वास्थ्य खर्च, भाइबहिनीको विद्यालय शुल्क र कूल सम्पत्तिलाई मुख्य आधार मानिएको छ । एमआईटीले विद्यार्थीको अध्ययन खर्चलाई पनि विभाजन गरिदिएको छ ।

लागत

यस शीर्षकमा विद्यार्थीले एक वर्षमा निश्चित विषयको अध्ययन गर्न कूल कति पैसा खर्च गर्नुपर्छ भन्ने उल्लेख गरिएको हुन्छ । यसमा अध्ययन खर्च र शुल्क जस्ता प्रत्यक्ष खर्च तथा व्यक्तिगत खर्च, खानेकुरामा हुने खर्चजस्ता अप्रत्यक्ष खर्च पनि समावेश हुन्छन् । विद्यार्थीले कहाँ र कस्तो खाना खाने हो, कहाँ बस्ने हो, व्यक्तिगत खर्च कति गर्ने जस्ता विषयले यसको निर्धारण गर्छ ।

अध्ययन शुल्कमा परिवारको योगदान

यस शीर्षकमा विद्यार्थीको अध्ययन खर्चमा परिवारले कति योगदान दिन्छ भन्ने निर्धारण हुन्छ । यसको निर्धारण गर्न एमआईटीले विभिन्न कलेज बोर्डको मापदण्ड तय गरेको छ । यसमा अभिभावक र विद्यार्थीले कति पैसा तिर्नसक्छ भन्ने विषय तोकिएको छ । यसका लागि परिवारको आर्थिक अवस्था र आर्थिक सहायता आवेदनमा दिइएको विवरणको अध्ययन गरिन्छ । राम्ररी अध्ययन गरिसकेपछि विद्यार्थीलाई आवश्यक पर्ने आर्थिक सहायता निर्धारण गरिन्छ ।

विद्यार्थीको योगदान

यस शीर्षकमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीले आफ्नो अध्ययन शुल्कमा कति योगदान दिनसक्छ भन्ने निर्धारण गरिएको छ । विद्यार्थीले गर्मीयाममा हरेक साता ८ देखि १० घण्टासम्म काम गर्न पाउँछन् । यसबाट विद्यार्थीले ५ हजार ४ सय डलरसम्म योगदान पु¥याउने एमआईटीको अपेक्षा हुन्छ । गर्मीयाममा स्नातकमा अध्ययन गर्ने विद्यार्थीले २ हजार डलरसम्म बचत गर्ने एमआईटीले अपेक्षा गरेको हुन्छ । त्यसबाहेक विद्यार्थीले रोजगारीमार्फत् ३ हजार ४ सय डलर योगदान गर्ने एमआईटीको अपेक्षा हुन्छ ।

एमआईटी छात्रवृत्ति

एमआईटीले छात्रवृत्ति दिँदा आर्थिक आवश्यकतालाई मात्रै ध्यान दिने गरेको छ । एमआईटीको कोष, एमआईटीका अध्यापक र साथीहरुले दिने उपहार र अक्षय कोषबाट छात्रवृत्ति दिइन्छ ।

एआईटीका अनुसार यहाँ अध्ययन गर्ने ५८ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शैक्षिक सत्र २०२२–२३ मा एमआईटीले ६३ हजार ७ सय २९ डलर औसत छात्रवृत्ति दिएको छ ।

एमआईटीमा आर्थिक सहायताका लागि आवेदन दिने र कलेज छात्रवृत्ति सेवा (सीएसएस) को फाराम भर्ने जो कोही पनि छात्रवृत्तिका लागि स्वतः योग्य मानिन्छ । एमआईटीले छात्रवृत्तिका लागि छनौट गरिसकेपछि विद्यार्थी सूचना समीक्षा फाराम भर्ने प्रावधान रहेको छ । त्यसपछि बल्ल विद्यार्थीलाई कुन दाताले प्रदान गर्ने कस्तो किसिमको छात्रवृत्ति दिने भनेर निर्धारण गरिन्छ ।

त्यसबाहेक पहिलो वर्ष अध्ययन गरिरहेका कम आय भएका विद्यार्थीका लागि एमआईटीले अनुदान पनि दिने गरेको छ । एमआईटीले पहिलो वर्षको अध्ययन अनुदानबापत २ हजार डलर प्रदान गर्छ ।

यसबाहेक एमआईटीले विद्यार्थीलाई विभिन्न शीर्षकमा सङ्घीय अनुदान पनि दिने गरेको छ । यस्ता अनुदानमा सङ्घीय पेल अनुदान, सङ्घीय पूरक शिक्षा अवसर अनुदान, कलेज र उच्च शिक्षा अनुदानका लागि शिक्षक शिक्षा सहयोग, इराक र अफगानिस्तान सेवा अनुदान पर्छन् । त्यसबाहेक विद्यार्थीले अन्य निजी अनुदान र छात्रवृत्ति पनि पाउँछन् ।

एमआईटीमा कसरी पाउने छात्रवृत्ति ?

एमआईटीका अन्तर्राष्ट्रिय विद्यार्थीले कलेज छात्रवृत्ति सेवा (सीएसएस) फाराम भरेर छात्रवृत्तिको दाबी गर्न सक्छन् । यसका लागि अभिभावकको ज्याला र करसम्बन्धी जानकारी, आयको अन्य स्रोत, हाल कायम बैंक ब्यालेन्स, लगानी र कर तिर्नुअघिको आयबारे जानकारी दिनुपर्छ ।

त्यसबाहेक छात्रवृत्तिका प्राप्त गर्न अभिभावकको कर फिर्ता तथा आय दस्तावेज पनि उपलब्ध गराउनुपर्छ । यसका लागि सीएसएस फाराम भरेर आवेदन दिइसकेपछि आफ्नो अभिभावकको कर फिर्ता तथा आय दस्तावेज प्रदान गर्नुपर्छ ।

यदि अभिभावक अमेरिका बाहिर बसोबास गर्छन् भने अङ्ग्रेजी भाषामा अनुवाद गरेको सोही मुलुकको दस्तावेज उपलब्ध गराउनुपर्छ । यदि आमाबाबुको सम्बन्धविच्छेद भइसकेको रहेछ भने दुबैको दस्तावेज आवश्यक पर्छ ।

क्याम्ब्रिज विश्वविद्यालय

बेलायतको क्याम्ब्रिज सहरमा रहेको क्याम्ब्रिज विश्वविद्यालयको स्थापना आजभन्दा ८ शताब्दीअघि सन् १२०९ मा भएको हो । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययरत विद्वानहरुले स्थानीयबासीसँग झगडा गरेपछि क्याम्ब्रिजमा गएर नयाँ विश्वविद्यालय स्थापना गरेको बताइन्छ । यस विश्वविद्यालयमा हाल करिब २५ हजार विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयलाई बेलायतमात्रै होइन, विश्वकै प्रतिष्ठित विश्वविद्यालय मानिन्छ । यस विश्वविद्यालयका १ सय २१ जनाले सन् १९०४ यता विभिन्न विधामा नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् ।

भर्ना प्रक्रिया

यस विश्वविद्यालयमा भर्ना पाउनु पनि निकै कठिन मानिन्छ । क्याम्ब्रिजले आफ्नो विश्वविद्यालयको भर्ना प्रक्रिया अरुभन्दा फरक रहेको दाबी गर्छ । क्याम्ब्रिजमा भर्ना आवेदन प्रक्रिया अरुभन्दा छिटो सुरु हुन्छ ।

भर्ना हुन चाहने हरेक विद्यार्थीको आवेदन पत्रको अध्ययन गरी विद्यार्थीको शैक्षिक रेकर्ड, शिक्षकको सिफारिस, व्यक्तिगत जानकारी, लेखन सामग्रीजस्ता मापदण्डका आधारमा कुन विद्यार्थीलाई भर्ना गर्ने भन्ने निर्धारण गरिन्छ । शैक्षिक योग्यता, भर्नापूर्व जाँच परीक्षामा प्राप्त अंक र अङ्ग्रेजी भाषामा दक्षताजस्ता विषयले क्याम्ब्रिजमा कोही विद्यार्थी भर्ना हुने नहुने निर्धारण गर्छ ।

कसरी पाउने क्याम्ब्रिजमा छात्रवृत्ति ?

क्याम्ब्रिजले विभिन्न विधामा छात्रवृत्ति प्रदान गर्छ । क्याम्ब्रिजले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्याम्ब्रिज ट्रष्ट छात्रवृत्ति दिने गरेको छ । यस किसिमको छात्रवृत्ति प्रायः विद्यार्थीको शैक्षिक योग्यताका आधारमा र कुनै अवस्थामा आर्थिक आवश्यकताका आधारमा दिइन्छ ।

त्यसबाहेक विद्यार्थीले गेट्स क्याम्ब्रिज छात्रवृत्तिका लागि पनि आवेदन दिनसक्छन् । गेट्स क्याम्ब्रिज छात्रवृत्ति धेरै नै प्रतिस्पर्धात्मक मानिन्छ । बेलायतबाहिरका विद्यार्थीले आफूलाई अब्बल साबित गरेको खण्डमा बल्ल यस छात्रवृत्ति पाउन सक्छन् । यस छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन खर्च र अन्य सुविधा पनि पाउँछन् ।

त्यसैगरी, क्याम्ब्रिजले क्याम्ब्रिज कमनवेल्थ, युरोपेली र अन्तर्राष्ट्रिय ट्रष्ट छात्रवृत्ति पनि दिने गरेको छ । कमनवेल्थमा आबद्ध मुलुकहरु, केही युरोपेली र अन्य देशका विद्यार्थीले यस छात्रवृत्ति पाउँछन् । यस छात्रवृत्ति पनि शैक्षिक योग्यताकै आधारमा दिइन्छ ।

त्यसैगरी, क्याम्ब्रिजले स्नातक अध्ययन गर्ने विद्यार्थीलाई पनि क्याम्ब्रिज अण्डरग्राजुएट छात्रवृत्ति शीर्षकमा छात्रवृत्ति दिन्छ । यस छात्रवृत्ति दिँदा विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक आवश्यकतालाई पनि ध्यान दिइन्छ । विद्यावारिधि अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्ब्रिजले प्रदान गर्ने अन्तर्राष्ट्रिय छात्रवृत्तिमा दाबी गर्न सक्छन् । यस छात्रवृत्तिमा विद्यार्थीको सम्पूर्ण अध्ययन खर्च र केही व्यक्तिगत खर्च पनि दिइन्छ ।

त्यस्तै, क्याम्ब्रिज विश्वविद्यालय मातहत रहेका कलेजहरुले पनि आ–आफ्नै नीतिअनुसार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छन् । क्याम्ब्रिजमा पाइने विभिन्न छात्रवृत्तिको प्रकृति र योग्यता फरक फरक हुन्छन् । सोही कारण आफूले कुन छात्रवृत्ति पाउन चाहेको भन्ने निश्चित गरेर सोही छात्रवृत्तिका लागि आवेदन दिनुपर्छ ।

अक्सफोर्ड विश्वविद्यालय

अक्सफोर्ड विश्वविद्यालय अङ्ग्रेजी भाषा बोल्ने देशमा स्थापित पहिलो विश्वविद्यालय हो । यहाँ सन् १०९६ देखि नै अध्यापन हुँदै आएको प्रमाण भेटिन्छ । सन् ११६७ मा तत्कालीन बेलायती राजा हेनरी द्वितीयले अङ्ग्रेजी विद्यार्थीलाई फ्रान्सको पेरिस विश्वविद्यालयमा पढ्न नपठाउने घोषणा गरेपछि अक्सफोर्डमा विद्यार्थीको चाप बढेर गएको थियो ।

विश्वकै अब्बल यस विश्वविद्यालयका ७३ जनाले विभिन्न विधामा नोबेल पुरस्कार जितेका छन् भने यहाँ अध्ययन गरेका ३० जना त बेलायतको प्रधानमन्त्री नै बनेका छन् । यहाँ करिब २७ हजार विद्यार्थी अध्ययन गर्छन् ।

अक्सफोर्डमा छात्रवृत्ति

अक्सफोर्ड विश्वविद्यालयले पनि विभिन्न शीर्षकमा छात्रवृत्ति दिन्छ । अक्सफोर्ड विश्वविद्यालयले क्लारेन्डोन छात्रवृत्ति शीर्षकमा दिने छात्रवृत्तिमा विद्यार्थीको अध्ययन शुल्क र केही व्यक्तिगत खर्च आउँछ ।

जुनसुकै विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थी पनि यस छात्रवृत्तिका लागि दाबी गर्न सक्छन् । यस विश्वविद्यालयले रोड्स छात्रवृत्ति शीर्षकमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको छ । रोड्स छात्रवृत्तिलाई विश्वबै सबैभन्दा प्रतिष्ठित छात्रवृत्ति पनि मानिन्छ ।

अक्सफोर्ड विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले यस छात्रवृत्तिमा दाबी गर्न सक्छन् । यस छात्रवृत्तिका लागि विद्यार्थीको शैक्षिक योग्यता, नेतृत्व क्षमता र सेवामा निष्ठालाई प्रमुख आधार मानिएको छ ।

मानविकीका लागि एर्टेगन स्नातक छात्रवृत्ति कार्यक्रम शीर्षकमा अक्सफोर्डले अर्को छात्रवृत्ति दिन्छ । मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यस छात्रवृत्ति दिइन्छ । यस छात्रवृत्तिमा विद्यार्थीको सबै अध्ययन खर्चका साथै व्यक्तिगत खर्चबापत अनुदान पनि दिइन्छ । शैक्षिक योग्यता र विद्यार्थीले मानविकी संकायमा पु¥याउनसक्ने सम्भावित योगदानका आधारमा यस छात्रवृत्ति दिने गरिन्छ ।

विकासशील एवम् उदीयमान अर्थतन्त्र भएका मुलुकका विद्यार्थीलाई अक्सफोर्डमा वेइडेनफिल्ड हफमान छात्रवृत्ति पनि दिइन्छ । नेतृत्व क्षमता र सम्भावना देखाउनसक्ने विद्यार्थीलाई अक्सफोर्डले यस छात्रवृत्तिका लागि योग्य मान्छ । यस छात्रवृत्तिले विद्यार्थीको अध्ययन खर्च र व्यक्तिगत खर्च धान्छ । अक्सफोर्डमा पढ्ने विद्यार्थीले चेभेनिङ छात्रवृत्तिका लागि पनि दाबी गर्न सक्छन् ।

बेलायत सरकारले अक्सफोर्डसहित बेलायतका विश्वविद्यालयमा अध्ययन गर्ने विवेशी विद्यार्थीका लागि यस छात्रवृत्ति दिने गरेको छ । एक वर्षे स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीले यस छात्रवृत्तिमा दाबी गर्न सक्छन् । विद्यार्थीको नेतृत्व क्षमता, शैक्षिक योग्यता र क्षमताका आधारमा मात्रै यस छात्रवृत्ति प्रदान गरिन्छ ।

हार्वर्ड विश्वविद्यालय

अमेरिकाको मासाचुसेट्स राज्यस्थित क्याम्ब्रिज सहरमा रहेको हार्वर्ड विश्वविद्यालयको स्थापना सन् १६३६ मा भएको हो । धर्मगुरु जोन हार्वर्डको नाममा स्थापित यो अमेरिकाकै सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालय पनि हो । यस विश्वविद्यालयमा आबद्ध १५० जनाभन्दा धेरैले नोबेल पुरस्कार पाइसकेका छन् । यहाँ हाल करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

हार्वर्डमा छात्रवृत्ति

हार्वर्ड विश्वविद्यालयले पनि विभिन्न शीर्षकमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । यस विश्वविद्यालयले भर्ना लिँदा विद्यार्थीको शुल्क तिर्ने क्षमतालाई खासै ध्यान दिँदैन । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यस विश्वविद्यालयले विभिन्न छात्रवृत्ति, अनुदान र सहायता दिने गरेको छ ।

विद्यार्थीको शैक्षिक योग्यताभन्दा पनि यस विश्वविद्यालयले आवश्यकताका आधारमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । अध्ययनका लागि आफ्ना लागि आर्थिक समस्या रहेको देखाएमा हार्वडले त्यसैका आधारमा पनि विद्यार्थीलाई सहायता दिन्छ । यहाँ पढ्न शैक्षिक ऋण लिइरहनुपर्ने आवश्यकता रहँदैन । यस विश्वविद्यालयले प्रदान गर्ने आर्थिक सहायतामा अनुदान, विद्यार्थी रोजगार कार्यक्रमसमेत पर्छन् ।

यस विश्वविद्यालयले विज्ञान र इन्जिनियरिङको शोधमा हार्वर्ड कलेज कार्यक्रममार्फत् स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहायता दिने गरेको छ । खासगरी वैज्ञानिक शोधमा लागि परेका विद्यार्थीले यस्तो सहायताका लागि दाबी गर्न सक्छन् ।

त्यस्तै, यस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले डेभिड रकफेलर अन्तर्राष्ट्रिय अनुभव अनुदान पनि प्रदान गर्न सक्छन् । यस्तो अनुदान हार्वर्डमा अध्ययनरत रही अन्तर्राष्ट्रिय अनुभव, शोधकार्य, इन्टर्नसिप र सेवाकार्यतर्फ लागेका विद्यार्थीले यस अनुदान प्राप्त गर्न सक्छन् ।

त्यस्तै, हार्वर्ड कलेजका विद्यार्थीले हुप्स पुरस्कारमा पनि दाबी गर्न सक्छन् । परम्परागत रुपमा छात्रवृत्ति नभएपनि प्राज्ञिक कार्य गरेबापत प्रदान गरिने हुप्स पुरस्कारलाई निकै प्रतिष्ठित मानिन्छ ।

यहाँ अध्ययन गर्ने विद्यार्थीले फुल्ब्राइट ट्रुमान छात्रवृत्ति पनि पाउँछन् । अन्तर्राष्ट्रिय अध्ययन, शोध र सार्वजनिक सेवाका लागि यस छात्रवृत्ति दिने गरिन्छ ।

स्ट्यानफोर्ड विश्वविद्यालय

स्ट्यानफोर्ड विश्वविद्यालयको स्थापना सन् १८९१ मा भएको हो । क्यालिफोर्नियाको स्ट्यानफोर्डमा अवस्थित यस विश्वविद्यालयमा हाल १७ हजार विद्यार्थी अध्ययनरत छन् । यस विश्वविद्यालयका ५८ जनाले हालसम्म विभिन्न विधामा नोबेल पुरस्कार पाइसकेका छन् ।

स्ट्यानफोर्ड विश्वविद्यालयमा छात्रवृत्ति

हार्वडजस्तै स्ट्यानफोर्ड विश्वविद्यालयले पनि विद्यार्थीको आर्थिक अवस्था हेरेर छात्रवृत्ति र अन्य आर्थिक सहायता प्रदान गर्छ । यसका लागि विद्यार्थीले आर्थिक सहायताका लागि आफू किन योग्य छु भनेर खुलाउनुपर्छ । स्ट्यानफोर्ड विश्वविद्यालयले प्रदान गर्ने आर्थिक सहायतामा पनि अनुदान, विद्यार्थी रोजगार कार्यक्रम पर्छन् । यहाँ अध्ययन गर्दा पनि शैक्षिक ऋण लिइरहनुपर्ने आवश्यकता रहँदैन ।

यस विश्वविद्यालयले नाइट हेनेसी छात्रवृत्ति कार्यक्रम प्रदान गर्छ । स्नातक तहमा अध्ययनरत विद्यार्थीले यस छात्रवृत्तिमा दाबी गर्न सक्छन् । नयाँ पुस्ताका विश्व नेताहरुलाई तयार पार्ने उद्देश्यले नाइट हेनेसी छात्रवृत्ति कार्यक्रम अघि सारिएको हो । यस छात्रवृत्तिले विद्यार्थीको शिक्षा शुल्क, व्यक्तिगत खर्च पनि धान्छ ।

त्यसबाहेक स्ट्यानफोर्डले स्नातककोत्तर फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्छ । त्यस्तै, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई पनि शोधका आधारमा यस विश्वविद्यालयले विभिन्न अवसरहरु प्रदान गर्छ । त्यसबाहेक यस विश्वविद्यालयले विद्यार्थीलाई ‘अर्थ फेलोसिप’ पनि प्रदान गर्छ । स्ट्यानफोर्डको पृथ्वी, ऊर्जा र वातावरण विज्ञान विद्यालयका विद्यार्थीले अर्थ फेलोसिप प्राप्त गर्न सक्छन् ।

प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्ति पाउन के गर्ने ?

यस्ता विश्वविद्यालयको छात्रवृत्ति धेरै नै प्रतिस्पर्धात्मक मानिन्छ । यद्यपि केही प्रक्रिया पूरा गरेमा विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना धेरै हुन्छ ।

विश्वविद्यालयमा छात्रवृत्ति पाउनका लागि सर्वप्रथम आफूले कुन विषयको अध्ययन गर्ने हो, त्यो निर्धारण गर्नुपर्छ । यसका लागि भविष्यमा आफू कुन क्षेत्रमा अघि बढ्ने हो त्यो निर्क्यौल गरेर त्यहीअनुसार विषय छनोट गर्नुपर्छ ।

आफूले अध्ययन गर्न चाहेको विषय छनोट गरिसकेपछि विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिबारे जानकारी लिनुपर्छ । प्रतिष्ठित विश्वविद्यालयले आ–आफ्नै नीतिअनुसार शैक्षिक योग्यता, वित्तीय आवश्यकता र अध्ययनका लागि विशिष्ट मापदण्ड हेरेर बल्ल छात्रवृत्ति उपलब्ध गराउँछन् ।

प्रतिष्ठित विश्वविद्यालले प्रायः उच्च क्षमता र शैक्षिक योग्यता भएका विद्यार्थीलाई मात्रै भर्ना र छात्रवृत्ति प्रदान गर्छन् । त्यसपछि आफू किन विश्वविद्यालयको छात्रवृत्तिका लागि योग्य छु भनेर आवेदन लेख्नुपर्छ । विश्वविद्यालयलाई पठाइने छात्रवृत्तिको आवेदनमा आफ्नो शैक्षिक उपलब्धि, पढाइप्रति आफ्नो रुचीबारे स्पष्टसँग उल्लेख गर्नुपर्छ । त्यसबाहेक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आफू किन योग्य छु भन्ने बलियो आधार पेश गर्नुपर्छ ।

त्यस्तै, आफ्ना शिक्षक, प्राध्यापक र आवश्यक परे सँगै काम गरेका सहकर्मीले लेखिदिने लेटर अफ रिकमेन्डेसनको व्यहोरा पनि प्रभावशाली हुनुपर्छ । सम्भव भएको खण्डमा शोध अनुसन्धानको क्षेत्रमा आफ्नो अनुभव पनि पेश गर्नुपर्छ । त्यसका लागि आफूले यसअघि प्रकाशित गरेका शोधपत्र अथवा प्रोजेक्ट पनि उपलब्ध गराउनुपर्छ ।

यदि आर्थिक कारणले आफूले छात्रवृत्ति चाहेको हो भने त्यो पनि खुलाउनुपर्छ । आफ्नो आवश्यकता र छात्रवृत्तिबाट आफूले के अपेक्षा गरेको हो भन्ने सबै विवरण खुलाएर आवेदन दिए छात्रवृत्ति पाउने सम्भावना पनि धेरै हुन्छ ।

विश्वविद्यालयमा छात्रवृत्तिको आवेदन दिने समयसीमा कहिले सकिने हो, त्यो ख्याल गरेर समयमै सबै कागजात पेश गर्नुपर्छ । ढिलागरी आउने आवेदन स्वीकार गरिन्न ।

कुनै छात्रवृत्ति पाउन आफूले अन्तरवार्ता पनि दिनुपर्ने हुनसक्छ । त्यसका लागि अन्तरवार्तामा सोधिने सम्भावित प्रश्न र आफूले दिने जवाफबारे पूर्वतयारी गर्नुपर्छ ।

तर, यति हुँदा पनि छात्रवृत्ति पाइन्छ नै भन्ने ढुक्क हुँदैन । त्यसका लागि अरु विकल्प पनि हुन सक्छन् । कुनै विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अन्य वाह्य शैक्षिक संस्थाहरुले पनि विभिन्न छात्रवृत्ति दिने गर्छन् । त्यसबारे पनि आफू जानकार हुनुपर्छ ।

विश्वविद्यालयले छात्रवृत्तिसम्बन्धी आफ्नो नीतिमा केही परिवर्तन ल्याउँछ कि ? भन्नेबारे आफू चनाखो हुनुपर्छ । यसो हुँदा छात्रवृत्तिका लागि आवेदन दिन र छनोट हुन आफूलाई सहज हुन्छ ।

प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्तिका लागि तीव्र प्रतिस्पर्धा हुन्छ भन्ने आफूले ख्याल गर्नुपर्छ । त्यसैले, छात्रवृत्ति पाउन अरुभन्दा आफू किन बढी योग्य छु भनेर बलियो आधार पेश गर्नुपर्छ । आवश्यक परेको खण्डमा आफ्ना शिक्षक, प्राध्यापक वा साथीहरुसँग पनि यसबारे सुझाव र जानकारी लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ०६ बजे

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।