लोसपा सत्ता गठबन्धनमै छ « Khabarhub

लोसपा सत्ता गठबन्धनमै छ



नेपालमा पहिचानसहितको संघीयता आउनुपर्ने थियो । हामीले अधिकारसम्पन्न प्रदेशको कुरा गरेका थियौँ तर पहिचानको मधेसमा मात्र आयो । आंशिकरूपमा मधेस प्रदेशमा आयो, बाँकी ठाउँमा आएन । अधिकारको कुरामा केन्द्रले दिएको अधिकारमा नै यसले काम गर्ने हो । जुन अधिकार संविधानले दिएको छ, त्यो पनि संघले छाडेन । 

मधेस केन्द्रित दलहरुको अवस्था केही कमजोर भएको अवश्य हो । कुनैबेला मधेसमा नेपाल सद्भावना पार्टी भन्ने थियो । शोषण उत्पीडनले गर्दा समय–समयमा ठूला पार्टीहरू छाडेका विभिन्न नेताहरूबाट पार्टी गठन भयो । ती विभिन्न अवस्थामा फुटे । 

अहिले पनि चारवटा पार्टी छन् । दुई पार्टी हराए । यो अवस्था अरु पार्टीमा पनि छ । टुटफुट सबैमा हुन्छ । तर, हामी आज मधेस र जनजातिका लागि जुन प्रतीक्षा गरेका थियौँ, त्यसै उद्देश्यमा लागेका छौँ । म पार्टीमा लागेको गजेन्द्रनारायण सिंहको आस्था र विश्वासका कारणले नै हो ।

मधेसका विभिन्न पार्टीमा टुटफुट हुँदा आज हामी लोसपासम्म पुगेका छौँ । गजेन्द्रनारायण सिंहले उठाएको जुन मुद्दा हो, त्यसबाट केही आंशिक नै भए पनि प्राप्ति भएको छ ।

नागरिकताको विषय मधेसमा ठूलो समस्या छ । ४० लाख व्यक्ति यो देशमा नागरिकताविहीन थिए, धेरै मधेशमा र पहाडमा पनि छन् । यो समस्या सधैँका लागि समाप्त गर्नुपर्छ भनेर हामी लागेका थियौँ ।

हामीले पहिचान अनुरूपको प्रदेश हुनुपर्छ र प्रदेश स्वायत्त हुनुपर्छ भन्ने कुरा पनि उठाएका थियौँ । मधेसको विकासका कुरा उठाएका थियौँ । त्यो प्राप्ति गर्न अझ धेरै बाँकी छ ।

हामीले पार्टीमा भएका नेता र एजेन्डाको व्यवस्थापन  गर्नुपर्छ । मधेसमा जनजातिको प्रतिनिधित्व गर्ने दुई उमेदवारलाई उठायौँ । किनकि जहाँ शोषण र भेदभाव छ, त्यो हटाउन नै हामीले पार्टी बनायौँ । यो पार्टी बनाउँदा हामीले ठूलो शाहदत पनि दियौँ । त्यसैका आधारमा पार्टी चलेको छ । हामीले मधेसको रगतबाट जन्मेको सन्तानसँग यो प्रदेश र सङ्घीय व्यवस्था हामीले रगत दिएर साटेको हो । 

हाम्रो देशको सम्पूर्ण खेतीयोग्य जग्गा तराई मधेसमा छ । तर, हामीले त्यसको उपयोग सही ढङ्गबाट गर्न सकेका छैनौँ । हाम्रो देशमा सिँचाइ, मलको सधैँ अभाव हुन्छ । यसका लागि पनि हामी प्रयासरत छौँ । केही त हामीले प्राप्ति गरेका पनि छौँ । 

सबै कुराको योजना हुन्छ । देशभरिको योजना कसले बनाउने ? हामीकहाँ के भयो भने स्थानीय निकायले देशभरि अधिकार पायो । प्रदेशले जति अधिकार प्राप्त गर्नुपर्ने थियो, त्यति त गरेन, तर बजेट उसले पनि पाइराखेको छ । 

संघले पनि केही काम गरेको छ । हामीले समन्वय र सहकार्यद्वारा संघ र प्रदेश चलाउँछौँ भन्यौँ, तर त्यो गर्न सकेका छैनौँ । संघले अहिले पनि आफ्नो खल्तीमा अधिकार राखेर बसेको छ ।

सत्ता गठबन्धनमै छौं
भर्खरै लोकतान्त्रिक समाजवादी पार्टीका पदाधिकारी र केन्द्रीय समितिका दुईवटा बैठक बसे । यी बैठकमा सत्ता गठबन्धनबाट अलग हुने कुरा भएको छैन । दुवै समितिले त्यस्तो छलफल गरेको छैन ।

अहिले सरकारसँग प्रदेशहरूको सन्दर्भमा र मुद्दा फिर्ताका सन्दर्भमा छलफल भएको छ । जिल्ला अदालतमा एउटा मुद्दा थियो, जुन बर्षाैंदेखि चलिरहेको छ, त्यसलाई फिर्ताका लागि सरकारसँग हामीले माग गरेका छौं ।

केपी ओलीको सरकार हुँदा उहाँ पनि मुद्दा फिर्ताका लागि तयार हुनुभएको थियो । वर्तमान सरकारसँग पनि हामीले प्रयास गर्याैं तर त्यो मुद्दामा टेक्निकल कारण देखाएर फिर्ता भएन । त्यसमा अहिले फैसला भएको छ । कतिपयले सफाइ पाएर कसैलाई कदै भएको छ ।

जिल्ला अदालतबाट भएको फैसला भएका कारणले त्यसको उच्च अदालतमा पुनरावेदन लाग्छ । त्यसकारण कानूनी बाटो छोडेर हामीले अलग बाटो अपनाउने अवस्था छैन  । त्यसैले हाम्रो सरकारसँग भएको मागमा टेक्निकल कुरा हो भने त्यसलाई पूरा गर्न हामी प्रयासरत छौँ । हामी कानून र डेमोक्रोसीमा विश्वास गर्छौँ । कानूनको बाटो मानेर अगाडि बढेका छौँ । 

गत चुनावका बेला हामीले अन्तिम समयमा कोशिस गर्दागर्दै, वार्ता हुँदाहुँदै मुद्दा फिर्ता गर्ने कुरामा कांग्रेसको गठबन्धनमा अन्तिममा हामी प्रवेश  गर्‍यौं। करिब नोमिनेशनको तीन-चार दिन अगाडि मात्र प्रवेश  गर्‍यौं । त्यो गर्दा थोरै सिट पायौँ । संघमा ८ र प्रदेशमा १६ सिट पायौँ । जति पाएका थियौं, त्यसको अधिकतम सिटमा जितेका छौँ ।

सबै सिट जित्ने अवस्था कसैको पनि हुँदैन । गठबन्धनको यस्तो अवस्था हुनु हाम्रो निर्वाचन प्रणाली नै हो । हामीले निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिक दुवैलाई अटाइराखेका छौँ । यो दुवै प्रणालीमा कसैको बहुमत आउला भन्ने छैन । गठबन्धनको संस्कार  संस्कृतिलाई अगाडि बढाउनुपर्छ । स्थायी सरकार राख्ने हो भने योबाहेक अर्को विकल्प छैन । 

(लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णसँग कृष्ण तिमल्सिनाले रेडियो क्यान्डिडका लागि गरेको कुराकानीको सारांश)

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : ३७ बजे

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज