हिम्मतले भेडीगोठ धानेका हिमबहादुर | Khabarhub Khabarhub

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ ।

धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्‍याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताए ।

मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्‍याएकाे उनले बताए । ‘वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ’, उनले भने ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुर्ख्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकोमा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनको भनाइ छ । ‘मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुर्ख्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ’, उनी भन्छन् ।

४७ वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताए । ‘भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ  र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन’, उनले भने । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ०१ बजे

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा

तरकारी तथा फलफूलको मूल्य निर्धारण, मालदह आँप प्रतिकेजी ११० रुपैयाँ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि