काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीले उनलाई कपिलवस्तुबाट आज बिहान पक्राउ गरेको नेपाल प्रहरीका सुचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए । महरा रुपन्देही हुँदै रोल्पा जाने तयारीमा रहेका थिए ।
गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरा लगायत सबैमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीलाई निर्देशन दिएका थिए ।
सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो । आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको छ ।
सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएर छाडेको थियो।
पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
प्रतिक्रिया