धरान डेन्टल कलेजको कन्तबिजोग | Khabarhub Khabarhub

धरान डेन्टल कलेजको कन्तबिजोग

एक्स-रे मेसिन नहुँदा बिरामी इटहरी र विराटनगर जान बाध्य



धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल कलेजमा गतिलो एक्स-रे नहुनु लाजैमर्दो भएको छ।

‘फलोअप’ सहित दैनिक पाँच सय जनाभन्दा बढी बिरामी दाँतको समस्या लिएर त्यहाँ पुग्छन् तर जब एक्स-रे गर्नुपर्ने अवस्था आउँछ, तब डेन्टलमा त्यो सुविधा नपाउँदा बिरामी बाहिरको डेन्टल अस्पतालमा पुगेर महँगो शुल्कमा एक्स-रे गर्न बाध्य छन्।

बीडीएस (स्नातक) देखि एमडीएस (स्नातकोत्तर) सम्म पठनपाठन हुने डेण्टलमा दाँतसम्बन्धी उपचार गर्ने ९ विभाग छन्। यति विस्तारित डेन्टलमा गतिलो एक्स-रे मेसिन नहुनु बिडम्बना भएको छ।

डेन्टलका एक्स-रे विभागका एक चिकित्सकले भने, ‘दाँतको एक्सरे गर्ने गतिलो मेसिन अभावले दाँतको उपचार गर्न आएका मानिसको भनेजस्तो उपचार गर्न पाएका छैनौँ। विद्यार्थीले पनि सिक्ने अवसरबाट बन्चित हुँदैछन्। यति भएपछि प्रतिष्ठानको आम्दानी बाहिरिने त भइगयो।’

नेपालमै सबैभन्दा धेरै फ्याकल्टी भएको बीपी प्रतिष्ठानको डेन्टल कलेज।

ओपिजी र ल्याटरल सेफालोग्राम एक्स-रेको व्यवस्था नभएकाले बीपी प्रतिष्ठानको डेन्टल कलेजले नै बिरामीलाई धरान, इटहरी र विराटनगरका विभिन्न डेन्टल अस्पतालको फोन नम्बरसहितको सूचना टाँसेर ती अस्पतालमा गएर एक्सरे गर्न सुझाव दिन बाध्य भएको छ। जबकि प्रतिष्ठानले अधिकांश उपचार सेवा, ल्याब टेस्ट, रेडियोलोजी सेवा बीपी प्रतिष्ठानभित्रै सहज रूपमा उपलब्ध हुने भन्दै बाहिर नपठाउनका लागि सर्कुलर र सार्वजनिक सूचना पनि जारी गर्दै आएको छ।

दाँतमा आएको समस्या देखाउन उपचारका लागि आएकी इटहरी उपमहानगर-४ बस्ने सुमन कार्कीले भनिन्, ‘म इटहरीबाट सस्तो हुन्छ भनेर आएँ तर ल्याटरल सेफालो एक्सरे गर्न त फेरि इटहरीकै एक डेन्टल अस्पतालमा जानु भनेर रिफर गरे।’

उनले थपिन्, इटहरीको त्यो सानो डेन्टल अस्पतालमा चाहिँ एक्स-रे हुने तर ठूलो सरकारी लगानीको डेन्टल कलेज (अस्पताल) मा किन नभएको हो, कुरै बुझ्न सकिएन ।’

दाँतका बिरामीले सास्ती खेपेर भए पनि अन्यत्र डेन्टल अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्ने नै भए, गतिलो एक्सरे मेसिन नहुँदा पोस्टग्राजुएट अध्ययरत दन्तचिकित्सा शास्त्रका विद्यार्थीले पनि ल्याटरल सेफालोग्राम, सिविसिटी (कोनविम कम्प्युटेड टोमोग्राफी) जस्ता एक्सरे गर्न र सिक्नका लागि काठमाडौं जानुपर्ने बाध्यता छ।

डेण्टलमा बीडीएस (स्नातक तह) मा २ सय जना र एमडीएस (स्नातकोत्तर तह) मा ६६ जना अध्ययनरत छन्।

दाँतसम्बन्धी सबै प्रकारका रोग र समस्याको निदानका लागि स्नातकोत्तर तहसम्म पठान पाठन हुने डेन्टलमा आइओपिए (इन्ट्रा ओरल पेरियापिकल रेडियोग्राफी) एक्स-रेले काम चलाउँदै आएको लामो समय भएको छ।

दाँतको विभिन्न खाले एक्स-रेका लागि बिरामी रिफर गर्न डेन्टलमा टाँसिएको सूचना।

विद्यार्थीलाई सिकाउन र दन्तरोग सम्बन्धी उपचार गर्न बीपी प्रतिष्ठानको डेण्टलमा आरभिजी (रेडियोभिजनग्राफी), ल्याटेरल सेफालोग्राम, अर्थोपेन्टोमोग्राफ (ओपिजी), सिविसिटी (कोनविम कम्प्युटेड टोमोग्राफी) जस्ता डेन्टलउपकरण हुनुपर्ने हो तर आइओपिए एक्स-रे मेसिनको भरमा दाँतको उपचार गर्न बाध्य छन् दन्त विशेषज्ञ।

दाँतको उपचारमा आइओपिए सामान्य एक्स-रे नै हो। तर, डेन्टलमा आउने मध्ये अधिकांशका दाँतको समस्या निदान गर्न ओपिजी, ल्याटरल सेफालोग्राम, सिबिसिटी जस्ता एक्सरे गर्नुपर्ने हुन्छ।

डेन्टल, रेडियोलोजी विभागका डा. इच्छा महर्जनले खबरहबसँग भने, ‘ओपिजी मेसिन बिग्रेको छ। यो १० वर्ष पुरानो हो। आरभीजी मेसिन पनि बिग्रेको छ। व्यवस्थापन पक्षसँग माग गरिरहेका छौँ। नयाँ मेसिन खरिद गर्ने प्रक्रियामा रहेको आश्वासन पाएका छौँ। ’

डेन्टलमा दाँतको उपचार गर्न पुगेका व्यक्तिलाई ओपिडीमा दाँत र मुखको निरीक्षण गरेपछि चिकित्सकले आवश्यकताअनुसार ओपिजी वा ल्याटेरल सेफालोग्राम एक्सरेको रिपोर्ट (फिल्म) ल्याउन भनेर लेखिदिने गरेका छन्।

बीपीको डेन्टल कलेजमा नाम मात्रको ओपिजी एक्स-रे कक्ष।

डेन्टलको एक्स-रे युनिटमा गएर सोध्यो भने चिकित्सकले लेखिदिएअनुसार दाँतको एक्स-रे गर्ने मेसिन नभएकाले प्रतिष्ठानको डेन्टलबाहिरको कुनै निजी डेन्टल अस्पतालमा एक्स-रे गरेर आउन सुझाव दिने गरेको छ।

बीपी प्रतिष्ठान बाहिरका केही डेन्टल क्लिनिक र अस्पतालमा भने प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालयले खरिद गरेर जडान गर्न नसकेका अत्याधुनिक एक्स-रे मेसिन राखेर महँगो शुल्क लिएर उपचार गरिरहेका छन्।

डेन्टलमा जति पनि उपकरण आपूर्ति हुन्छन्, सबै एउटै परिवारले सञ्चालन गरेको कम्पनीबाट हुने गरेको छ 

दाँतका विभिन्न एक्सरे गर्ने मेसिनको मूल्य खासै महँगो पनि पर्दैन। दुई लाख रुपैयाँदेखि बढीमा ३० लाख रुपैयाँ सम्ममात्र पर्छन्। आवश्यक ती मेसिन डेन्टलमा जडान गरे त्यसमा गरेको लगानी उकास्न बीपी प्रतिष्ठानलाई एक वर्ष पनि नलाग्ने एक कर्मचारीले बताए।

‘थोरै बजेटको मेडिकल उपकरण खरिदमा न बीपी प्रतिष्ठानलाई रुचि छ न स्वास्थ्य मन्त्रालयलाई। ठूलो बजेटको मेडिकल उपकरण खरिदमा ठुलै फाइदा हुने भएकाले होला सानातिना एक्सरे मेसिनतिर ध्यान नगएको’, ती कर्मचारीले भने।

डेन्टलका ९० प्रतिशत मेडिकल उपकरण एउटै आपूर्तिकर्ताबाट खरिद

सात वर्षदेखि बिग्रेको ओपिजी एक्स-रे मेसिन

डेन्टलमा दक्ष चिकित्सक नभएका होइनन् तर चिकित्सकले आफ्नो ज्ञान र सिप मात्र प्रयोग गर्ने हो। बाँकी काम मेसिनले दिएको रिपोर्टको आधारमा दाँतको उपचार गर्ने हो तर मेडिकल उपकरण र एक्स-रे मेसिन अभाव भएपछि जतिसुकै दक्ष चिकित्सक भए तापनि गुणस्तरीय उपचार सेवा दिन नसकेको डेन्टलका चिकित्सकले बताए।

ओपिजीसहित ल्याटरल सेफालोग्राम एक्सरे गर्ने मेसिन धरानकै चेतन अग्रवालको गर्ग डेन्टल सप्लायरले १० वर्षअघि आपूर्ति गरेको थियो। तर चलाउँदा चलाउँदै बिग्रेपछि मर्मत सम्भार गर्दा पनि नचलेको एक चिकित्सकले बताए।

ती चिकित्सकले भने, ‘डेन्टलमा जति पनि डेन्टल चियरदेखि मेडिकल उपकरण आपूर्ति हुन्छन्, सबै एउटै परिवारले सञ्चालन गरेको कम्पनीबाट हुन्छ। त्यो कम्पनी धरानका चेतन अग्रवालको हो।’

ती चिकित्सकका अनुसार अग्रवालको कम्पनीले आपूर्ति गरेका उपकरण डेन्टलमा ९५ प्रतिशत छन्, जुन गुणस्तरहीन छन्।

उनी भन्छन्, ‘अग्रवालका दाजुभाइका दर्जन बढी कम्पनी छन्। बीपी प्रतिष्ठानले यो-यो मापदण्डको उपकरण चाहियो भनेर टेन्डर आह्वान गर्छ। तर, खोइ कसरी हो, सधैं उसैको कम्पनीले मात्र पाउँछ। यदि उसको कम्पनीले नपारे त्यो टेन्डर नै रद्द गरिन्छ, अब आफै‌ं बुझ्नुस्।’

काम नलाग्ने  अवस्थाका डेन्टल चियर

मेडिकल उपकरण आपूर्तिमा एकाधिकार जस्तै पाएका अग्रवाल परिवारका कम्पनीले आपूर्ति गरेका डेन्टलचियर र एक्स-रे मेसिन नबिग्रेको कुनै छैन। डेन्टल चियरको हालत पनि त्यस्तै छ।

डेन्टल कलेजमा रहेका नौवटा विभागमा आवश्यक डेन्टलचियर पर्याप्त छैनन्। ओरल मेडिसिन एन्ड रेडियोलोजी, ओरल एन्ड मेगजोलोफेसियल सर्जरी, प्रोस्थोडोन्टिक्स, पेडोडोन्टिक्स, अर्थोडोन्टिक्स, पेरियोडोन्टिक्स, पब्लिक हेल्थ डेन्टिस्ट्री, कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिक्स र ओरल प्याथोलोजी हिस्टोलोजीका लागि आवश्यक मेडिकल उपकरण र एक्स-रे मेसिन अभाव भएको छ।

डेन्टल कलेजलाई थप सय थान डेन्टलचियर आवश्यक परेको छ। एक चिकित्सकले भने, ‘डेन्टलचियरलगायतका अन्य सामग्रीको अभावले ‘अपोइन्टमेन्ट’ समय लम्बिएको छ। यसले गर्दा बिरामीले समयमा उपचार पाइरहेका छैनन्। यसै कारणले बाहिर गएर एक्स-रे र उपचार गर्नुपर्ने अवस्था आएको हो।’


ओपिजी एक्सरे, जुन एक्सरेको सुविधा  वीपीको डेन्टलमा छैन

चिकित्सकका अनुसार बीपीको डेन्टलमा आएका बिरामीले बाहिरको डेन्टलमा दैनिक सय जनामात्र जानु भनेको बीपी प्रतिष्ठानलाई पनि बार्षिक अढाइ करोड रुपैयाँ भन्दा बढी आर्थिक घाटा हुनु हो।

एक दुई दिनमा पूर्ण हुने उपचार बाहेक लामो समयसम्म फलोअपमा आउनुपर्ने र उपचार गराउने बिरामीमध्ये ४० देखि ५० प्रतिशतले बाहिर आफैं उपचार गराउन बाध्य भइरहेको चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ९ : ५६ बजे

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी