पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी | Khabarhub Khabarhub

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान गर्न अध्ययन थालेको छ । 

हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाइ लम्बाउनका लागि नयाँ गन्तव्यको पहिचान तथा स्थापित गन्तव्यको प्रवर्द्धनका लागि स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली अन्नपूर्ण गाउँपालिका-६ घोडेपानी आएको छ । 

मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले सम्भावनायुक्त पर्यटकीय गन्तव्य पहिचान र स्थापित गन्तव्यको प्रवर्द्धनका लागि समस्या, आवश्यकता पहिचान गर्न मंगलबार र बुधबार स्थलगत अध्ययन गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव कुमानसिंह गुरुङको नेतृत्वमा आएको टोलीले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधि, पर्यटक, पर्यटन व्यवसायीसँग समस्या, सम्भावना र समाधानका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरेको थियो । 

सचिव गुरुङले पर्यटकीय क्षेत्रका सरोकारवालाको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा पनि सुझावलाई समावेश गरिने उनको भनाइ छ ।  

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुन र अन्नपूूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सडकको पहुँच, पोखरादेखि घोडेपानीसम्म बस सेवा सञ्चालन, प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको बताए ।

घोडेपानीमा पर्यटकको बसाइ लम्ब्याउन गुराँस पार्क, घोडा र साइकल मार्ग निर्माण गरिएको जानकारी गराउँदै घोडेपानीको सङ्ग्राहलयलाई व्यवस्थित बनाउन सहयोगको अपेक्षा गरे । घोडेपानी पर्यटक प्रहरी चौकीका अनुसार विसं २०८० मा ३१ हजार चार सय ३९ पर्यटकले घोडेपानीको भ्रमण गरेका छन् । 

समुद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । घोडेपानीमा साना ठूला गरी २७ होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्ने क्षमता रहेको छ ।

पुनहिलबाट धवलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

हिजोआज गुराँस फुलेर ढकमक्क बनेको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १ : ३४ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको