गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ | Khabarhub Khabarhub

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल सुरु भएको छ । बुधबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएपछि गठबन्धन भत्किने आंशका पैदा भएको छ ।

दुई नेताको भेटमा वर्तमान सरकारको समीकरण तथा विभिन्न पक्षका सम्भावना बारे छलफल भएको नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेताहरुको भनाइ छ ।

कांग्रेसका एक नेताले खबरहबलाई भने, ‘भेटघाट सकारात्मक छ, नयाँ खबर पनि सुन्न पाइएला कि ।’

नेकपा एकीकृत समाजवादीले सोमबार सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससँग सहकार्य गरेपछि संघमा गठबन्धन फुट्ने संकेत देखिएको हो ।

मंगलबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा भेट गरेर नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम सरकारको दाबीबाट ‘ब्याक’ गराएका थिए ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुईजनाले मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनीहरुमध्ये दुबैलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त नगरी नयाँ प्रक्रिया अघि बढाएसँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सत्तापक्षमा सहमति जुटेको थियो ।

तर, एमालेले सोडारीलाई अगाडि बढाउन सहमति दिएन । त्यसबाट रिसाएका माधव नेपाल शेरबहादुुर देउवालाई भेट्न पुगे ।

 

याे पनि-

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

माधव नेपालनिकट स्रोतका अनुसार सोडारीलाई मुख्यमन्त्री दिन एमाले तयार नहुनुको कारण उनी एमालेबाट बाहिरिएका माधव नेपाल समूहका नेता हुन् । उनी र नेकपा एमालेको सम्बन्ध राम्रो छैन ।

एमाले उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्, ‘कसलाई मुख्यमन्त्री दिने–नदिने भन्दा पनि कसको सिट कति र व्यवहार कस्तो भन्नेमा निर्भर रहन्छ । सुदूरपश्चिममा मुख्यमन्त्री हुने विषय दाबीले मात्र मिल्दैन । दाबी त जसले जे गर्न पनि पाउँछ तर दाबी गर्नलाई क्षमतामा पनि भर पर्छ ।’

एमाले नेताहरुको भनाइअनुसार एकीकृत समाजवादीसँगको सम्बन्ध अझै नरम भइसकेको छैन । झलनाथ खनालसँग एमालेसँग नजिकिए पनि माधव नेपालसँगको दुरी कायमै छ । एमालेका एक नेता भन्छन्, ‘सम्बन्ध त थोरै सुधार भयो तर व्यवहार भएन । क्षमताभन्दा बढी ढर्रा देखिएपछि कसले मान्छ र ।’

फागुन ३० गते भएको सत्ता गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारमा नेतृत्व गर्न पाउने थियो । तर त्यसलाई तोडेको उपाध्यक्ष राजेन्द्र पाण्डेको गुनासो छ ।
पाण्डेले खबरहबसँग भने, ‘सुदूरपश्चिममा सत्ता गठबन्धनले हामीलाई दिएको जिम्मेवारी पूरा गरेन, अब जे पनि हुन सक्छ । हामी जसले जे–जे भन्यो, त्यतै लाग्ने हो र ?’

माओवादी केन्द्रका महासचिव देव गुरुङ भने सबैलाई आ–आफ्नो– दलीय स्वतन्त्रता भएको बताउँछन् । उनले खबरहबसँग भने, ‘के हुन्छ, उहाँहरूले निर्णय गर्ने कुरा प¥यो, राजनीतिमा भेटघाट र सम्बन्ध बन्नु राम्रो कुरा हो । भेट हुँदैमा केही हुँदैन । जसले जसलाई पनि सन्दर्भमा भेट्न पाउँछ ।’

नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखक कांग्रेस नेताहरु सरकार बनाउने र ढाल्ने खेलमा नलागेको बताउँछन् । उनले खबरहबसँग भने, ‘यो सरकारलाई कांग्रेसले ढाल्न पर्दैन, आफैं ढल्छ ।’
एमालेसँग सहकार्य गरेपछि प्रचण्डलाई अप्ठ्यारो परेको संकेत गर्दै कांग्रेस नेता लेखक भन्छन्, ‘कांग्रेसले जस्तो एमालेले प्रचण्डलाई कहाँ सजिलो वातावरण बन्न दिन्छ त । प्रचण्ड आफ्नो खेलमा आफै मुसा भएको देखिन्छ ।’

गठबन्धनभित्र एकखालको अविश्वास र समस्या पैदा भएको भन्दै यो समस्याले कस्तो गति लिन्छ, कांग्रेसले हेरेर बसेको तर यसमा कांग्रेसको कुनै भूमिका नभएको लेखक बताउँछन् ।

कांग्रेस नेता लेखकले भने, ‘सभापति र अध्यक्षबीच भेट भएको हो । यहाँहरुलाई थाहा नै छ सरकार असन्तुलित भएको छ । हामीले गम्भीरतापूर्वक हेरिरहेका छौँ । सरकार काम गर्नुको साटो गठबन्धन टिकाएर हिँड्छ । यसरी कति दिन चल्छ र?’

एमालेले भने सरकार तत्काल परिवर्तन नहुने बताएको छ । एमाले उपाध्यक्ष पोख्रेल सरकार परिवर्तन हुने कुनै छाँट नभएको बताउँछन् । उनले ‘अहिले सम्भावना छैन, घुक्र्याउनेले घुक्र्याउँछन् नि ।’

फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो । प्रचण्डको पक्षमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदले मत दिएका थिए ।

विपक्षमा कांग्रेसका, राष्ट्रिय प्रजातन्त्र पाटी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी उभिएका थिए ।

एकीकृत र जसपाले छाड्दा के होला ? 

संघीय सरकार गठनका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ मत आवश्यक पर्छ । नेकपा एकीकृत समाजवादीले सरकार छाड्दैमा प्रचण्ड अल्पमतमा त पर्दैनन् तर पुनः विश्वासको मत भने लिनुपर्ने हुन्छ ।

नेकपा एकीकृत समाजवादीले सरकार छाड्दा प्रचण्डको पक्षमा १४७ सांसद हुन्छन् । नागरिक उन्मुक्तिका ३ सांसदले मत नदिँदा पनि प्रचण्डलाई १४४ सांसदको समर्थन रहन्छ । तर, जसपाका १२ सांसदले सरकार छाडे भने प्रधानमन्त्री दाहाल अल्पमतमा पर्ने अवस्था आउन सक्छ ।

नेपाली कांग्रेसका ८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नाउपा रेशम पक्षका ३ संसद् जुटाएर १३७ सांसदको समर्थनमा नयाँ सरकार गठनको तयारी शुरु भएको स्रोतको दाबी छ ।

नागरिक उन्मुक्तिपछि एकीकृतमा गडबडी

सरकार र सत्ता समीकरणका सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद देखिएको छ ।

माधव कांग्रेससँग नजिक छन् भने झलनाथ एमालेसँग नजिक छन् । पछिल्लो समय प्रचण्ड र झलनाथको पनि सम्बन्ध सुध्रिएको स्रोतको भनाइ छ ।

माधव नेपाल गठबन्धनभित्र एक वर्ष जसरी पनि प्रधानमन्त्री पाउनुपर्ने अडानमा छन् । झलनाथ भने यसबारे मैन छन् । बरु उनी पार्टीको महाधिवेशन गरेर अध्यक्ष बन्ने लाइनमा छन् ।

त्यस्तै, खनाल वाम एकताको पक्षमा छन् भने माधव नेपाल चाहिँ लोकतान्त्रिक शक्तिवीच सत्ता सहकार्यको पक्षमा छन् । उनले यस अगाडि खबरहबसँगको कुराकानीमा भनेका थिए, ‘विचार नमिल्ने शक्तिमा एकताको कुनै तुक छैन । नेकपा एकता हुँदा के पाइयो ? देख्नुभएन, के के भयो ।’

प्रतिनिधि सभामा फागुन ३० गते प्रचण्डले विश्वासको मत लिँदा माधव नेपाल मौन देखिएका थिए । असन्तुष्ट रहेका नेपाल सरकार छाड्न तयार देखिएसँगै सुदूरपश्चिमबाट विद्रोहको नयाँ श्रृंखला सुरु भएको छ ।

एकीकृत समाजवादीका एक नेताले खबरहबसँग भने, ‘हामी आफ्नो अडानमा एक छौँ, हामीलाई हेपिएको महसुस भयो ।’

त्यसो त एमाले र कांग्रेस मिलेर दिगो सरकार बनाउनुपर्ने विषय पनि चर्चामा छ । यसबारे कांग्रेस सहमहामन्त्री बद्री पाण्डे जनताले दिएको सुझाव हेरिरहेको बताउँछन् । तर, एमालेसँग मिल्नु भन्दा साना दलसँग मिलेर सरकार निर्माण गर्ने कांग्रेसको प्रयास देखिन्छ।

तेस्रो पटक विश्वासको मत लिइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोहीदिनबाट विश्वासको मत दिने दलहरूले नै आलोचना गर्दै आएका छन् ।

संसदमा बोल्ने क्रममा जसपा नेता राजकिशोर यादवले आफूलाई भागवण्डा चाहिएको बताउँदै त्यो नपाए जे पनि हुनसक्ने चेतावनी दिएका थिए । त्यसैगरी विश्वासको मत लिएकै दिन एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले पनि प्रचण्डको भूमिकामाथि प्रश्न उठाएका थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : ४२ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५