केशब बडालको प्रश्न– एउटै व्यक्तिलाई सर्वत्र सहकारीको बोर्ड झुण्ड्याउने अधिकार कसले दियो ? | Khabarhub Khabarhub

केशब बडालको प्रश्न– एउटै व्यक्तिलाई सर्वत्र सहकारीको बोर्ड झुण्ड्याउने अधिकार कसले दियो ?



जनताको जीवनस्तर उठाउन भन्दै सरकारले वर्षौँ अघि सहकारीलाई तीन खम्बे नीति लिएर अर्थतन्त्रमा एउटा भरलाग्दो आशाको सञ्चार गरायो । सरकारी नीति पछ्याएर घरलौरी सहकारी खुले । हलोदेखि हाइड्रोसम्म सहकारीको लगानी विस्तार भयो । कालान्तरमा त्यही सहकारी आन्दोलन, सिद्धान्तसंगै अपराधका हरेक पाटोमा जोडियो । रगत, पसिनाबाट जनताले सहकारीमा राखेको निक्षेपमाथि नाङ्गो आक्रमण भयो । दोषीले राजनीतिक र प्रशासनिक संरक्षण पाउँदा पीडितहरू थप पीडित बन्दै गए । यस अवस्थामा सरकारको एउटा पाङ्ग्रो मानिएको सहकारी बदनाम हुँदा यसप्रतिको सोचमै पुनर्विचारको आवश्यकता भएन ? सहकारीलाई किन वित्तीय अपराधको अखडा बनाइयो ? यिनै विषयमा सहकारी अभियन्ता तथा नेकपा एमाले नेता केशव बडालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

सहकारी अर्थतन्त्रको एउटा मेरुदण्ड हो भनेर राज्य तहमै मान्यता स्थापित गर्न तपाईँको ठूलो योगदान छ, अहिले यही सहकारीले लाखौँ नेपालीलाई सडकमा पुर्‍याइदियो । रुवाबासी गर्दै न्यायका लागि हजारौं सडकमा आएका छन् । यो परिस्थिति कसरी आयो ?

यो भनेको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भने झैँ हो । किनकि सहकारी क्षेत्रमा पहिला र ०४८ सालको ऐनमा पनि म आफै प्रतिनिधिसभाको प्राकृतिक स्रोतसाधन, वातावरण समितिमा रहेर हाम्रो बुद्धिले भ्याएसम्म बनाएको हो । ०७४ को ऐन पनि हामी बसेर नै बनाएको हो । त्यसैले अहिले सहकारीको सर्वनाश मात्रै भएको देख्नु हुँदैन ।

अहिले ३० हजार प्राइमरी सहकारी छन् । त्यसमा सय वटा जति नियतवश गलत उद्देश्य लिएर दर्ता गरिएका संस्था हुन् । अरु चार सय भनेको कम्पनी र सहकारी पनि छुट्याउन नचाहने, नजान्नेहरूले गर्दा समस्यामा छन् । त्यो भनेको १.५ प्रतिशत हो ।

सहकारी क्षेत्रमा ७५ लाख सदस्य छन् । २ लाख ४७ हजार सञ्चालक समिति सदस्य र लेखा समिति सदस्य मात्रै छन् । त्यसपछि कुल ग्रार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान गरेको छ । र वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान गरेको छ । ७५ लाख मध्ये ५६ प्रतिशत महिला छन् । त्यसमा पनि राउटे, कुसुण्डा, चेपाङ, थामी लगायतका अल्पसंख्यकहरुको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । अनेक जात, भाषा, धर्म भएको देशमा एकता निर्माण गर्न सहकारीले जति योगदान कसैले गरेको छैन ।

केही संस्थाले नियतवश दर्ता गर्दै ठग्न आएको हो कि भन्ने भएकोले त्यस्ताले गरेको समस्यालाई सर्वपक्षीय अनुगमन गरौँ भन्दा नटेरेको हुँदा केहीले सहकारीको साइनबोर्ड झुन्ड्याएर ठग्न चाहनेले यो समस्या ल्याए ।

यो समस्याको स्थायी समाधान के हो ?

सहकारी ऐन ०७४ ले समान प्रकृति र तहको एउटा भन्दा बढीमा सदस्य बन्न पाइँदैन ।  त्यो सहकारी दर्ता गर्ने राज्यले हो । नामै भन्दा जीबी राईको पुस ९ देखि १४ सम्म दैनिक छापामार्फत निरन्तर समाचार बाहिर आएको छ । एउटै मान्छेले काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र वीरगन्जमा दर्ता गराउने को हो ? त्यसलाई दण्डित गर्नुपर्‍यो । एउटा भन्दा बढी वित्तीय संस्थामा सदस्य हुन नपाउनेमा यस्तो बेथिति कसरी भयो ? त्यसको जरामा पुग्न आवश्यक छ ।

०७४ को ऐनले सहकारीको सदस्यता प्राप्त गरेको तीन महिना पहिले सदस्यले पनि कारोबार गर्न पाउँदैन । तर अनाधिकृत व्यक्तिले करोडौँको कारोबार गरेको देखिन्छ । यस्तो मनपरी हुँदा नियमनकारी निकाय आँखा चिम्लिन मिल्छ ?

समस्या कसरी हल गर्ने भन्दा, सदस्यहरूले पनि राम्रो सहकारी जुन व्यवस्थित ढंगको छ, त्यसले ८ प्रतिशत मात्रै ब्याज दिने हुनाले २२ प्रतिशत ब्याज दिने भनेर कुनै फटाहाले फैल्याएको हल्लामा विश्वास गरी पैसा खन्याएका छन् । घर बेचेर, सञ्चय कोषको पैसा लगेर हालेका छन् । सहकारीमा लाग्नेहरू चाहे सेयर सदस्य हुन् कि कारोबार गर्ने हुन् , उनीहरूमा धन, यौन र पदको लोभमा फसेपछि त्यो मान्छे उठ्न सक्दैन ।

त्यस कारण ८ प्रतिशत ब्याज दिने इमानदार सहकारीबाट झिकेर लगेर २२ प्रतिशत ब्याज दिन्छ भनेर जसले राख्नु भयो, उहाँहरूको व्यक्तिगत समस्या हो । जुन संस्थाको अध्यक्ष र महाप्रबन्धकसँग प्रत्यक्ष चिनजान छैन भने त्यहाँ वित्तीय कारोबार नगर्नुहोस् भन्न चाहन्छु । जे नहुनु भइसक्यो । नागरिकको सुरक्षा गर्ने राज्यले हो । त्यसैले राज्यले सर्वोच्च अदालतका नै न्यायाधीशकै अध्यक्षतामा उच्चस्तरीय आयोग बनाएर पीडामा परेकालाई न्याय र पीडकलाई दण्डित गर्नुपर्छ ।

सहकारीमा कति पैसा राख्ने, कति शाखा विस्तार गर्न पाउने भन्ने त कानुनमै व्यवस्था होला नि ?

पैसा कति राख्न पाउने कति नपाउने भन्ने कुरा हाम्रो संविधानको प्रस्तावना देखिकै ३०८ धाराले गर्दैन । तर हरेक पैसा राख्दा श्रोत नखुलाई राख्न पाइँदैन । तर सहकारीले सहकारी भन्दा बाहिर कारोबार गर्न हुँदैन । ग्यालेक्सीमा हालेको रे ! त्यसो भए ग्यालेक्सी टिभी सहकारी सदस्य हो ? त्यस्तोमा कारोबार गर्न पाइँदैन । त्यसलाई कानूनी ढंगले कारबाही गर्नुपर्छ ।

कांग्रेसले यही कुरा उठाउँदा एमाले किन चुप बस्यो त ?

संसदीय समितिले त्यस्तो निर्णय गर्न सक्दैन । यसको निम्ति उच्चस्तरीय समिति बनाएर समग्र यस्ता समस्या हेर्ने गरी सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी दूधको दूध र पानीको पानी छुट्ट्याउनु पर्छ । आयोग बनाउन सरकारले खुट्टा कमाउनु हुँदैन । दलीय व्यवस्थामा सरकार बन्छ, ढल्छ तर राज्यले गर्ने नियमित काम ढल्नु हुँदैन । अहिले पनि एक वर्षमा ३ सरकार बनिसक्यो । राष्ट्रलाई संवृद्ध नेपाल निर्माण गर्ने सन्दर्भमा बाधक के छन् , त्यसलाई पन्छाएर साधक अघि बढाउनु पर्‍यो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ४ : ४७ बजे

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं– हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य

हिमाल हेर्न कोखेडाँडा

पर्वत – मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक ३० गते शुक्रबार सन्