लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प « Khabarhub

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– मौसम प्रतिकूलताका कारण सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

अतिव्यस्त सो विमानस्थलमा गत जेठ २६ गतेदेखि कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको जानकारी दिए ।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए ।

सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए ।

भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए ।

यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनको भनाइ छ ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौं फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

मौसममा सुधारको सङ्केत छैन
मौसम पूर्वानुमान महाशाखाले मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने  जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

यहाँ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३१ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले