शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री « Khabarhub

शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शिक्षा दिवस– २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

उनले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण र प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरू लाग्नुपर्नेछ ।’

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मेहेनत गर्नुपर्ने देखिएको उनको कथन छ । उनले त्यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने गरिएको छ ।

यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ शिक्षा दिवस मनाइँदैछ । 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ५८ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ