राजनीति

रास्वपाको राष्ट्रिय भेला आज पनि जारी

By खबरहब

September 18, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि जारी रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी भेलामा आज सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

मङ्गलवार सुरु भएको भेलामा कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि हिजो नै छलफल भएको छ ।

भेलाको पहिलो दिन हिजो सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिएको थियो ।

यस्तै, विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राखिएको थियो।

आज सबै प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल हुनेछ । आज प्रश्नोत्तरका लागि तीन घण्टाको समय छुट्याइएको रास्वपाले जनाएको छ ।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ। भेलामा देशभरबाट एकहजार पाँचसय प्रतिनिधि सहभागी छन् ।